२३ भाद्र २०८१ आइतबार
image/svg+xml
विचार

वर्णविन्यासघातीको पाताल प्रवेश

हामी डाक्टर हौं। विद्यावारिधि हौं। हामीभन्दा बडा शिक्षित विश्वमा कोही छैनन्। नेपाली भाषाका शब्दको वर्णविन्यासमा कतिपय विद्वान् तथा विदुषीहरूले उफ्रीउफ्री खुटगोल खेले। तर बिचराहरूको बाँच्न पाउने आयु थाहै नपाई बीचैमा सिद्धिएछ। यमराजले तिनको उछित्तो काट्न आफ्नो प्रतिनिधि बनाएर यमदूतलाई गोप्य रूपमा पठाएछन्।

सर्वोच्च अदालतको संयुक्त इजलासले बिगारिएको वर्णविन्यासका विरुद्धमा २०८१ असार ९ गतेका दिन विवेकपूर्ण फैसला गरिदियो। १२ वर्षदेखि वर्णविन्यासमा पीडित रहेका हामीहरूको जीत भयो। हामी सम्पूर्ण नेपाली–भाषा–प्रयोगकर्ताहरूको गुमेको अधिकार दिलाउने न्यायाधीशज्यूहरूप्रति हामी धन्यवाद टक्य्राउँछौं। उहाँहरू दुवैलाई हाम्रो साधुवाद !

हे मभन्दा ठूलो नेपालमा अरू कोही छैन। म अरू तीनजना पछौटेहरूको अगुवा भएर गुवाहाटी विश्वविद्यालयमा पनि नेपाली शब्दको वर्णविन्यास भताभुङ्ग पार्न सकिन्छ कि भनी हुकुम जनाउन गएको हुँ। तर दुई दिनपछि कुहिएका चार दाना आलुझैं भएर काला भइसकेका मुख लिँदै हामीले मुख देखाउनै नहुने स्वदेश फर्कनुपर्‍यो। पहिलेको रजगज सम्झील्याउँदा ता छाती नै चरक्क चिरिन्छ नि। तर के गर्नु, हामीसँग यस जुनीमा अब न प्रतिष्ठा छ, न त इज्जत नै। साँच्चै भन्नुपर्दा अब के पो बाँकी छ र?

यस्तो मार्मिक कुरा घरकी पत्नीलाई पनि सुनाइसक्नु छैन। तैतै क्वाँक्वाँ रुन पाए हुन्थ्यो, तर सुनाउने साथीसम्म पनि अहङ्कारले गर्दा बाँकी राखिएन। हे प्रभु ! अब केवल तिम्रै शरणमा छु।

तिनले यौवनको उन्मादमा वर्ण वा अक्षरलाई हामीले जसरी प्रयोग गरे पनि हुन्छ भन्ने अहङ्कारमा गर्नु–नगर्नु गरे। बबुराहरूको शेखीविपरीत मनपरी गरे। अर्को जुनी पर्खनै परेन, यही जुनीमा उनीहरूले दुष्कर्मको फल भोग्नुपर्‍यो। अहिले घोसे मुन्टो लगाएर मुसाको दुलो खोज्दै हिँड्नुपर्‍या छ। छातीमाथि ढुङ्गा राखी रुन्चे हाँसो हाँस्नुपर्‍या छ।

हामीलाई के थाहा, यस्ता दुर्दिनले पनि टाउकामै वज्रपात गर्दै घेर्दा रहेछन् भनेर। डाँको छोडेर अघाउँजी आँसु बगाउन मन लाग्छ। चौबीसै घण्टा गह टल्पलिन्छन्। पुछ्दापुछ्दा रुमाल निथ्रुक्क भइसक्यो।

वर्णविन्यास बिगार्ने सर्वोच्च उद्देश्य बोकेका प्रा.डा. पदधारी विद्वान्–विदुषीहरूले नेपाली शब्दको वर्णविन्यास आफ्नै गोजीको सामानजस्तै ठानी जति बेला पनि, जे पनि गर्न सक्ने ठानेर अभूतपूर्व ३५ अक्षरी वर्णमाला बनाएका रहेछन्। उहाँहरूको तुलनामा म त थोरै पढेको, सानो होचो मान्छे, मेरो त हैसियत नै कति छ र? उनीहरू डा. भएर के भो त ? हुन त डा अक्षरको अर्को वास्तविक तर खतरनाक अर्थ पनि हुन्छ। यसको अर्थ लगाउने काम अरूकै जिम्मा छोडिदिऔं न। मैले छुचो मुख पार्नु किन  पर्‍यो र?

परापूर्व कालदेखि प्रचलित ठूलो वर्णमालामा जम्मा ५२ वटा वर्ण वा अक्षर हुन्थे। हामीलाई पनि बाल्यकालमा गुरुले सोही वर्णमाला पढाउनुभएको हो। तर २०७८ सालमा सरकारको पाठ्यक्रम विकास वmेन्द्रद्वारा ‘नेपाली  (कक्षा ११)’ को पाठ्यपुस्तक (हेर्नुहोस् पृष्ठ ७) मा वर्णमालामा जम्मा ३५ अक्षर मात्र हुने भनेर पाठ्यपुस्तक–लेखक तथा लेखिकाले घोषणा नै गरे।

तिनीहरूमा धेरै पढेका भनिएका डाक्टर (वा विद्यावारिधि) हरूको समुदाय थियो। उनीहरूले कतिसम्म भन्न भ्याए भने बोलचाल वा उच्चारणमा आउने वर्ण भन्ने नाम दिएर आफ्नो बडप्पनको सङ्केत दिए। तिनको वर्णमालामा स्वरवर्ण ६ वटा र व्यञ्जनवर्ण  २९ वटा समेत ३५ अक्षर मात्र हुन्छन् रे। हरे कस्तो पाखण्डी बुद्धि !

वर्णविन्यासमा यस्तो घृणित विकृति घुसाएपछि दिव्य १२ वर्षको कालरात्रिमा पढ्ने लाखौं बाल–बालिकाले गलत शिक्षा लिएर वा सिकेर सम्पूर्ण जीवन नै बाध्यतावश ध्वस्त पार्नुपर्‍यो। यस्तो दुष्कार्यको क्षतिपूर्ति कसले दिने? तिनलाई नेपाली भाषाको वर्णविन्यास युवावस्थामै गलत सिक्नु परेको पीडाले जीवनपर्यन्त मर्माहत बनाउँछ कि बनाउँदैन? यस्तो दुष्कर्ममा लाग्ने ती शिक्षक–शिक्षिका सबै विद्यार्थीहरूका नजरमा धिक्कारका पात्र हुन् कि सच्चा उपदेशक?

नाथे तीनसय पृष्ठको बनिबनाउ तथा कथित शोधपत्रबाट बन्ने डाक्टरको वास्तविक योग्यता वा खुबी कुन गतिको होला र। ९९ प्रतिशत विद्यावारिधि वा डाक्टरले शोधपत्रको एउटा मात्र पुस्तक भए पनि प्रकाशित गराएको देखिएकै छैन। तिनमा रहेको योभन्दा भयानक आत्मग्लानि के हुन सक्छ र ?

लेख्ने कुरा नै गर्ने हो भने मैले पनि अहिलेसम्म ३० हजार पृष्ठ खाली फुल्स्क्याप कागजमा अंग्रेजी–नेपालीमा ग्य्रामर आदि साठियौं पुस्तक लेखेकै हुँ। म थोरै पढेको सानो मान्छे। कहिलेकहीं वृद्ध मानिसलाई पनि आफ्नै डम्फू बजाएर धाक देखाउन मन लाग्दो रहेछ। आफ्नै घरको पढ्ने कोठामा घोत्लिएर ८१ वर्षको वयमा पनि कनीकुथी कलम चलाउँदो छु। यसो गर्न पाउँदा मलाई अत्यन्त रमाइलो लाग्छ।

वर्णविन्यासको यस ऐतिहासिक घटनाले १२ वर्षमा खोलो पनि फर्कन्छ भन्ने कुराको अकाट्य प्रमाण पेश गर्‍यो। वर्णमालाका अक्षर–संख्या घटाएर ३५ वटामा झार्ने तथा वर्णविन्यास बिगार्ने सम्पूर्णले यस धरतीमा कठोर निराशा बोकेर लाज पनि लजाउने गरी निर्लज्जतापूर्वक जिउने चिरायु पाऊन्। तर हृदयमा तड्पाहट कोचेर केशवको नाम लिनुपर्ने बेलामा खलाँती चल्दै हावा भरेको शव भएर धिक्कार खाँदै तिनले बाँच्नुपरेको छ। पहिले बिगारसिङ बनेर गर्नु–नगर्नु गरियो। ईश्वरले माथिबाट नजर दिइरहेका रहेछन्। यसै जुनीमा कति कहर काट्नुपर्ने हो, थाहा छैन। सबै कुरा भविष्यको गर्भमा छ।

प्रकाशित: ११ श्रावण २०८१ ०५:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App