१ श्रावण २०८१ मंगलबार
image/svg+xml
विचार

मोदीले जिते, मोदीले हारे !

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उनको दल भारतीय जनता पार्टीले पछिल्ला आमचुनाव जिते पनि उनीहरूले बहुमत ल्याउन नसक्दा हार जस्तो देखिएको छ। उता उर्लेर आएको प्रतिपक्षको हार पनि जित जस्तो बनेको छ। यो भारतीय प्रजातन्त्रका लागि सही समाचार र सन्देश हो।

जुन ४ मा भारतको आमचुनावको नतिजा सार्वजनिक हँुदै गर्दा सबैभन्दा ठूलो हार राजनीतिक पण्डित र मत सर्वेक्षकहरूको भएको थियो। उनीहरू सबैले एक स्वरमा प्रधानमन्त्री मोदी र उनको दल भारतीय जनता पार्टी (भाजपा) को प्रचण्ड विजयको आकलन गरेका थिए। अधिकांश राज्यको चुनावी नतिजा एक्जिट पोलको भन्दा प्रतिकूल आउँदा अंग्रेजी टेलिभिजन च्यानलको प्रत्यक्ष प्रसारणमै एक मत सर्वेक्षकको गहभरि आँसु देखिएको थियो।

हो, मोदीको भाजपा सत्तामा फर्किएको छ, तैपनि उनको जित, हार जस्तै देखिन्छ। लोकसभामा यसअघिको आफ्नो ३०३ संख्यालाई ३७० मा पु¥याएर आफ्नै प्रबल बहुमत ल्याउने प्रधानमन्त्री मोदी र उनका प्रमुख सेनापति मानिने गृहमन्त्री अमित शाहको अभीष्ट पूरा हुन सकेन। भाजपासँग हाल जम्मा २४० लोकसभा सदस्य छन् जबकि बहुमतका लागि आवश्यक संख्या २७२ हो। आफ्नै बुतामा बहुमत ल्याउन नसकेको भाजपा अब कुनै विधेयक अनुमोदन गर्न नेशनल डेमोक्रेटिक अलायन्स (एनडीए) गठबन्धनका सहयोगी क्षेत्रीय दलहरूको समर्थनमा भर पर्नुपर्नेछ।

यसपटकको चुनावमा सबैभन्दा ठूलो ‘हार’ स्वयं मोदीको भएको छ। उनले विगत वर्षमा हासिल गरेका व्यक्तित्वको आधारलाई पुँजीकृत गर्न समग्र चुनावलाई आफैँमा केन्द्रित गरेका थिए। उनको कतिपय दृष्टिकोण कतिसम्म निर्लज्ज थिए भने कोभिड–१९ को खोप प्रमाणपत्रमा खोप लगाएको व्यक्तिको फोटो हुनुपर्नेमा आफ्नै फोटो राखेका थिए। यसैगरी ८० करोड सर्वसाधारणलाई वितरित खाद्य अनुदानको श्रेय पनि आफ्नै रहेको दाबी गर्दै रेल्वे स्टेसनको सेल्फी पोइन्टमा आफ्नो ठूलो तस्बिर राखेका थिए। यी स्टेसनमा यात्रुले सेल्फी खिच्दा पृष्ठभूमिमा मोदीको तस्बिर सर्लक्क आउने बनाइएको थियो। मोदीमा महानताको भ्रम यतिसम्म बढेको थियो कि त्यो देवत्वको भ्रममा परिणत भएको थियो। चुनावी अभियानकै क्रममा एक अन्तर्वार्ताकारलाई आफू जैविकरूपमा जन्मेको नभै सर्वशक्तिमान ईश्वरले भारतको सेवा गर्न आफूलाई पठाएको महसुस भएको दाबी गरेका थिए।

कसै–कसैलाई यो डरलाग्दो कथन लाग्न सक्छ तर आमजनताले यसलाई खास ध्यान नदिएको देखिन्छ। उदाहरणका लागि एक सर्वेक्षणको नतिजालाई लिन सकिन्छ जहाँ ७५ प्रतिशतले मोदीलाई अनुमोदन (अप्रुभल रेटिङ) गरेका थिए। तर हाल आएर मोदीले आफ्नो रणनीतिको नकारात्मक पक्षको सामना गरिरहेका छन्। भाजपाले साधारण बहुमत हासिल गर्न नसक्दा उनी भारतीय मतदाताको नजरमा मात्र होइन, लामो समयदेखि गजबको प्रभुत्व राख्न सफल रहेको उनको आफ्नै पार्टीभित्रको प्रतिष्ठामा पनि आँच आएको छ।

वास्तवमा, मोदीले आफ्नो मन्त्रिपरिषद्सँग छलफल नगरिकन सन् २०१६ मा विनाशकारी विमुद्रीकरण र सन् २०२० मा कोभिड महामारी नियन्त्रण गर्ने नाममा कडा लकडाउन जस्ता अपरिपक्व निर्णयहरू लिएका थिए। तर अब आएर यस्तो प्रवृत्तिमा अंकुश लाग्ने देखिन्छ किनभने प्रमुख भाजपा नेता र सहयोगी गठबन्धनका नेताहरू आगामी दिनमा बढी आक्रामक र दृढ हुन सक्छन् र यसले मोदीको बढ्दो निरंकुश प्रवृत्तिमा लगाम लाग्न सक्छ। जसरी बिजेपीको जित एक प्रकारको हार बनेको छ।

यो चुनावमा भारतीय कांग्रेस पार्टीले आफ्नो कुल सिट संख्या लगभग दोब्बर बनाएको छ। उत्तर प्रदेशमा इन्डिया गठबन्धनमा सहभागी दल समाजवादी पार्टीले ३७ सिट जितेको छ। यसैगरी पश्चिम बंगालको तृणमूल कांग्रेसले २९ सिटमा आफ्नो वर्चस्व राखेको छ। इन्डिया गठबन्धन अब एक शक्तिशाली शक्ति बनेको छ। भारतीय लोकसभामा यो गठबन्धन मोदीका एजेन्डाका लागि अब फगत रबर स्ट्याम्प बन्ने छैन।

यसपटको चुनावको अर्काे एउटा उल्लेखनीय विशेषता भनेको भाजपाको अन्धविश्वासकारी हिन्दुत्व सिद्धान्तप्रतिको अस्वीकृति पनि हो। यसअघि आफ्नै वर्चस्व रहेका र सुरक्षित मानिएका कैयन् निर्वाचन क्षेत्रहरूमा भाजपाले हार बेहोरेको छ। आफैँले उद्घाटन गरेको राम मन्दिर रहेको अयोध्याका निर्वाचन क्षेत्रमा समेत भाजपाको हार भएको छ। हिन्दु वर्चस्व रहेका क्षेत्र र भाजपाका महत्वपूर्ण नेताका क्षेत्रमा पनि विपक्षी दलहरूले यसपटक महत्वपूर्ण उपलब्धि हासिल गरेका छन्। समग्रमा भारतको राजनीतिक नक्सा बहुआयामिक बनेको छ।

निसन्देह, यसपटकको भारतीय चुनावको सबैभन्दा ठूलो विजेता भारतीय लोकतन्त्र हो जसले पछिल्लो दशकमा ठूलो तनाव बेहोरेको थियो। विश्वव्यापी सूचकांक यसका उदाहरण हुन्। फ्रिडम हाउसको सूचकांकमा राजनीतिक र नागरिक अधिकारको हिसाबमा यसअघिको ‘स्वतन्त्र’ अर्थात ‘फ्रि’ राष्ट्रको हैसियतबाट भारत ‘आंशिक स्वतन्त्र अर्थात ‘पार्टली फ्रि’ मा झरेको छ। यसैैगरी भेराइटिज अफ डेमोक्रेसी (भि–डेम) ले भारतलाई ‘चुनावी निरंकुशता’ रहेको देश भनेर पुनः वर्गीकृत गरेको छ।

भाजपाको शासनकालमै अन्तर्राष्ट्रिय जगत्मा भारत ‘लोकतान्त्रिक हिसाबले कमजोर’ रहेको राष्ट्रको एक प्रमुख उदाहरण बनेको छ। यसैगरी, भारत अहिले ग्लोबल हंगर इन्डेक्समा एक सय २५ देशमध्ये एक सय ११औँ स्थानमा छ। विश्व प्रेस स्वतन्त्रता सूचकांकमा एक सय ८० राष्ट्रमध्ये भारत एक सय ५९औँ स्थानमा छ। जर्मनीको विदेश मन्त्रालयले भारतमा प्रेस स्वतन्त्रतामा ह्रास आएकोबारे चिन्ता व्यक्त गरेको छ भने बेलायतले गुजरातमा २००२ मा मुस्लिम विरोधी नरसंहारमा मोदीको भूमिका रहेको बिबिसी वृत्तचित्रलाई भारतमा प्रतिबन्ध लगाउने विषयमा प्रश्न उठाएको छ। मोदी सन् २००२ ताका गुजरातका मुख्यमन्त्री थिए।

अन्य राष्ट्र तथा निकायले भारतबारे विभिन्न चिन्ता व्यक्त गरेका छन्। संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता आयोगले भारतमा अल्पसंख्यकहरूप्रति भैरहेको व्यवहारलाई लिएर चिन्ता व्यक्त गरेको छ भने अमेरिकाकै विदेश विभागले भारतमा भैरहेका मानव अधिकार उल्लंघनका घटनाप्रति आफ्नो ध्यान गएको बताएको छ। विश्व स्वास्थ्य संगठनले भाजपा सरकारको कोभिड–१९ मृत्यु दरको तथ्यांकमाथि प्रश्न गरेकोछ भने विश्व बैंकले मानव–पुँजी सूचकांकमा समावेश हुन भारतले गरेको अस्वीकारलाई लिएर प्रश्न उठाएको छ।

सौभाग्यवश, यी प्रवृत्तिहरूमा अब सुधार हुन सक्ने देखिएको छ। भारतका विपक्षी दलहरू आफ्नो विरासतलाई पुनस्र्थापना गर्ने लडाइँ जारी राख्न कटिबद्ध देखिन्छन्। प्रसिद्ध बंगाली कवि रवीन्द्रनाथ टैगोरको ‘दिमागमा डर नहुँदा शिर ठाडो हुन्छ’ भन्ने भनाइलाई आत्मसात गर्न उनीहरू उद्यत छन्। मैले चुनाव हुनुअघि नै ‘परिवर्तन हावामा छ’ भनेर लेखेको थिएँ। परिवर्तन आइसकेको छ। यही परिवर्तनका कारण अधिकांश भारतीयले स्वतन्त्रतवरले सास फेर्न सक्नेछन्।

 

– भारतका पूर्वपरराष्ट्र राज्यमन्त्री समेत रहेका थरुर भारतीय कांग्रेसबाट विजयी लोकसभाका सदस्य पनि हुन्।  

(प्रोजेक्ट सिन्डिकेटबाट। 

प्रकाशित: २९ जेष्ठ २०८१ ०७:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App