३ असार २०८१ सोमबार
image/svg+xml
विचार

ताइवान तनाव

इतिहासले सुल्झाउन नसकेर थाती राखेका कतिपय घाउ बेला–बेला चहराउँदा आजको विश्वलाई समय–समयमा सम्भावित क्षयको भयले चिन्तित बनाउने गरेको छ। सन् २०२४ जनवरीमा ताइवानमा सम्पन्न चुनावबाट निर्वाचित प्रजातान्त्रिक प्रगतिशील दल (डिपिपी) का नेता लाइ छिंग थले गत मे २० मा पदको शपथ ग्रहण गरे।

आफूलाई ‘ताइवान स्वतन्त्रताको गतिशील कार्यकर्ता’ भन्न मन पराउने उनले शपथ ग्रहणका क्रममा दिएको ‘खतरनाक भाषण’ले पेकिंगलाई सजग बनाएको छ। शपथ ग्रहणमा लाइले ‘एक चीन नीति’ को उपेक्षा गर्दै खुलेरै ताइवानी स्वतन्त्रताको पक्षमा बोले। केही जापानी र पश्चिमी सञ्चारमाध्यमले लाइको भाषण उनका पूर्ववर्ती साइ इंग वन सरकारकै नीतिगत निरन्तरता भएको दाबी गरे पनि पेकिंगले भने लाइको भाषणलाई खतराको पूर्वसंकेत मानेको छ। त्यसैले गत मे २३ र २४ मा चिनियाँ जनमुक्ति सेनाले ताइवान जलडमरू र ताइवानकै नियन्त्रणमा रहेका टापुहरू वरपर ठूलो आकारको सैनिक अभ्यास गर्‍यो। ‘संयुक्त तरबार २०२४ ए सैनिक अभ्यास’ नाम दिइएको सो सैन्य अभ्यासका क्रममा चिनियाँ सेनाले जल, थल र हवाई सैनिक तथा रकेट आक्रमणको अभ्यास गरेका थिए।

नेता लाइको अहिलेको अभिव्यक्तिले मात्र पेकिंगलाई सजग बनाएको भने होइन। पेसाले चिकित्सक लाइले विगतमा ताइवानका विभिन्न राजनीतिक पदमा रहँदा दिएका एक चीन नीति विपरीतका आक्रामक अभिव्यक्तिका कारण पनि पेकिंगलाई उनको सत्तारोहणले सचेत बनाएको देखिन्छ। ताइवान सरकारको नेताका रूपमा दिएको पहिलो भाषणमा ‘संसारले नयाँ ताइवानको अपेक्षा गरेको’ भन्दै ‘ताइवान चीनको हिस्सा नभई अलग्गै सार्वभौम देश हुनुपर्ने’ र घुमाइफिराइ ‘दुई चीन नीति’को पक्षपोषण गरेको पेकिंगको बुझाइ छ।

भाषणमा उनले ताइवानलाई ‘प्रजातन्त्रको प्रकाशस्तम्भ’का रूपमा व्याख्या गरेर पश्चिमा देशहरूसँग आफ्नो पेकिंगप्रति असहिष्णु नीतिमा सदाशयता खोजेका छन्। उनले ताइवानको स्वतन्त्रतालाई समर्थन गर्नु प्रजातन्त्रको सम्वर्द्धन गर्नु हो भन्ने आशयका अभिव्यक्ति दिएर प्रजातान्त्रिक मूल्यका पक्षधर पश्चिमा देशहरूको समर्थन प्राप्त गर्न खोजेका छन्। जुन कुराप्रति पेकिंगको सबभन्दा ठुलो आपत्ति रहँदै आएको छ, त्यही काम गर्न नेता लाइ तम्सिएपछि पेकिंग यसपटक अझ आक्रामक देखिएको छ। पेकिंगले आफ्नो सैनिक सक्रियतालाई लुकिछिपी प्रदर्शन गरेको छैन। बरु सैनिक अभ्यास चीनलाई विखण्डन गर्ने विखण्डनकारीलाई सजाय दिने तयारी भन्दै खुलेरै प्रचार गरेको छ।

सन् १९७२ मा चीन पुगेका अमेरिकाका तत्कालीन राष्ट्रपति निक्सनले सांघाईबाट जारी वक्तव्यमा पहिलो पटक औपचारिकरूपमा ताइवानलाई चीनको भाग स्वीकारेका थिए। त्यसयता अमेरिकाले औपचारिकरूपमा सधैँ ताइवानलाई चीनको हिस्सा मान्दै आएको छ। तथापि निक्सनले वक्तव्य जारी गरेसँगै ताइवानलाई चीनको कमजोर विन्दुका रूपमा कुनै पनि बेला प्रयोग गर्न सकिने औजार बनाउने प्रयासमा भने अमेरिकाका हरेक सरकार सक्रिय छन्।

तत्कालीन विश्व भूराजनीतिको जोड/घटाउ मिलाउन पेकिंगसँग हात मिलाए पनि ताइवानलाई थप्थपाएर पेकिंगलाई असजिलो बनाउने खेल भने जारी नै छ। पेकिंगको आपत्तिबीच अमेरिकाले ताइवानलाई बारम्बार हातहतियार बेच्नुले यो तथ्य प्रष्ट हुन्छ।

ताइवानको पछिल्लो विकासक्रमलाई आजको विश्व राजनीतिसँग निरपेक्ष राख्ने गल्ती कसैले गर्न मिल्दैन। युक्रेन युद्धमा अपेक्षित परिणाम नआए पनि अमेरिकालगायत पश्चिमा शक्ति त्यहाँबाट तत्कालै उम्किहाल्ने अवस्थामा छैनन्। रुसलाई एक्ल्याउने पश्चिमा योजना चीन र रुसबीचको बाक्लिँदो सम्बन्धको कारण दुरुह बनेको छ। गत मे १६ र १७ मा चीनको भ्रमण गरेका पुटिनप्रति चीनको हार्दिकता पश्चिमा मोर्चाका लागि अग्राह्य हुनु स्वाभाविक थियो। यस्तो परिस्थितिमा फेरि पनि ताइवानको मुद्दा चर्किनु नौलो विषय भने होइन। पेकिंगलाई दबाब दिन अमेरिका र पश्चिमा शक्तिहरूले बेला–बेला ताइवान, सिन्च्यांग र सिजांग (तिब्बत) का मसला विगतमा पनि प्रयोग गर्ने गरेका थिए। उनीहरू चीनसँग गाजर र लठ्ठीको खेल खेलिरहेका हुन्छन्।

प्रष्टतः चीन अरू धेरै विषयमा लचक बने पनि एक चीन नीतिमा भने कति पनि सम्झौता गर्ने पक्षमा देखिँदैन। चीनका परराष्ट्र सम्बन्धका विभिन्न आधारमध्ये महत्वपूर्ण आधार एक चीन नीति रहँदै आएको छ। सन् १९७२ मा निक्सन सरकारसँग कूटनीतिक सम्बन्ध स्थापना गर्नुअघि एक चीनप्रति वासिङ्टनको समर्थन नै पेकिंगको एउटा प्रमुख पूर्वसर्त थियो। त्यसयता जति पनि देशले चीनसँग कूटनीतिक सम्बन्ध विस्तार गरे, उनीहरूले एक चीन नीतिप्रति औपचारिकरूपमा समर्थन गरेका छन्।

चीनको राज्य परिषद् कार्यालयको तथ्यांकअनुसार संसारका १८२ वटा देशसँग अहिले चीनको कूटनीतिक सम्बन्ध छ। उनीहरूले सबैले एक चीन नीतिलाई समर्थन गर्दै आएका छन्। चीनको आर्थिक विकास र समृद्धिसँगै विगतमा ताइवानसँग कूटनीतिक सम्बन्ध कायम राखेका देशहरूले समेत पछिल्ला वर्षमा पेकिंगसँग कूटनीतिक सम्बन्ध स्थापना गरेका छन्। ताइवानले पछिल्लो समय विश्व स्वास्थ्य संगठनमा पर्यवेक्षकको अलग उपस्थितिको हैसियतसमेत गुमाएको छ।

आफूले बोलेजस्तै ताइवान एउटा सार्वभौम देश हुने व्यावहारिक सम्भावना कमजोर भएको बोध हुँदाहुँदै पनि नेता लाइले आफ्नो भाषणमा पेकिंगलाई चिढ्याउने अभिव्यक्तिका केही कारण हुन सक्छन्। पहिलो कारण, पछिल्ला वर्षमा विभिन्न अन्तर्राष्ट्रिय संगठनमा ताइवानको उपस्थिति सीमित हुँदै गएको र कूटनीतिक सम्बन्धको परिधि पनि साँघुरो बन्दै गएको अवस्थामा ताइवानका राष्ट्रवादीहरूलाई हौसला दिन र आफ्ना पूर्ववर्ती नेता तथा विपक्षी कोमिंगतांग पार्टीभन्दा आफूलाई अलग र विशिष्ट देखाउनु उनको अन्तरनिहीत आशय हुन सक्छ। कोही पनि राजनीतिक नेताले आफ्नो सत्तारोहणको समयमा अरूभन्दा आफू विशिष्ट देखाउन खोज्नु नियमित र स्वाभाविक घटनाक्रम जस्तै देखिन्छ।

दोस्रो, मूलभूमि चीनको तुलनामा ताइवानको आर्थिक वृद्धि कमजोर बन्दै गएको अवस्थामा पश्चिमा शक्ति देशबाट आर्थिक सम्भावनाको खोजी उनको अर्को लक्ष्य हुन सक्छ। ताइवानलाई समर्थन गर्नु प्रजातन्त्रलाई समर्थन गर्नु हो भन्ने उनको अभिव्यक्तिको आशय ताइवानलाई आर्थिक तथा सैनिक सहायता बढाउन गरिएको आग्रह हुन सक्छ।

तेस्रो, पेकिंगको मूल मर्ममाथि प्रहार गर्ने थाइवानी नेताको अभिव्यक्ति र क्रियाकलाप रुससँग चीनको बढ्दो निकटतालाई चुनौती दिने पश्चिमा शक्ति देशहरूको दबाब हुनसक्छ। तर ताइवानकै कतिपय सञ्चारमाध्यमले लेखेजस्तै लाइको भाषणले न चीन न त ताइवानकै भलो गर्नेछ। ताइवानलाई सार्वभौम देश मान्ने वा नमान्ने विषयमा त्यहाँका राजनीतिक दल र शासकहरू विभाजित छन्। ताइवान जलडमरूपारि चिनियाँ सहरहरूमा भइरहेको विकास र समृद्धि तथा ताइवानका चिनियाँ जनताको शान्तिपूर्ण विकासको चाहनाका कारण आपसमा लड्नु दुवै पक्षको भावनाअनुकूल नहुनेमा प्रष्ट छन्।

पेकिंग एक चीन नीतिमाथिको आक्रमण सहन नसक्ने गुह्य बुझेका पश्चिमा शक्तिहरूले पनि ताइवानका केही नेताहरूलाई उपयोगसम्म गर्ने हुन्, खासमा वास्तविक लडाइँ हुने अवस्थामा उनीहरू कदापि अघि देखापर्ने छैनन्। नोक्सानी भोग्ने चिनियाँले नै हुन्। युक्रेन युद्धको दशाबाट पनि सहजै अनुमान गर्न सक्ने यो तथ्य ताइवानी जनताले नबुझ्ने कुरा छैन।

प्रकाशित: १३ जेष्ठ २०८१ ०९:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App