२ वैशाख २०८१ आइतबार
विचार

नोसिबो प्रभावमा नेपाली समाज

एउटा नगरमा जादुगर आइपुग्छ। हेर्दैको खाइलाग्दो जादुगर। मान्छेको खासखुस छ कि यो मान्छेले दृष्टिहीनको पनि उपचार गर्न सक्छ। नगरभरिका बिरामीहरू उसकहाँ पुग्छन्। र, एउटी दृष्टिहीन युवती पनि उपचारका लागि पुग्छे। नजाने कुन शक्तिले हो, युवतीले आँखा देख्न थाल्छे। जादुगरले त एउटा चुम्बक त्यो युवतीको शरीरभरि रगडेको मात्र हो। चुम्बक घर्षणका कारणले आँखा खुलेको भनुँ भने त्यसमा कुनै चामत्कारिक औषधि थिएन, होइन भनुँ भने हिजोसम्म आँखा नदेख्ने युवतीले प्रष्ट आँखा देखिरहेकी छ।

जब युवतीले आँखा देखी, छक्क परी। सामुन्ने यस्तो आकर्षक युवा छ, जसले उसको आँखा खोलेको दाबी गरिरहेको छ। नगरवासी पनि चकित छन्, अकस्मात एउटी दृष्टिहीन युवतीले आँखा देखी। जब कुनै उपचारमा तर्क हुँदैन, मात्र विश्वास हुन्छ र त्यो विश्वासका कारण परिणाम देखिन्छ भने त्यसलाई चिकित्सकीय भाषामा ‘प्लासिबो इफेक्ट’ भनिन्छ।

डा. हेनरी बिचेर दोस्रो विश्वयुद्धको बेला लडाइँको मैदानमा खटिएका थिए। उनीसँग ज्यादै दुखाइ कम गर्ने औषधि थिए। यस्तो बेला बिना कुनै औषधिको सलाइन पानी दिए। सेनाहरू औषधि पायौँ भनेर मख्ख परे, उनीहरूको पीडा पनि गायब भयो। यही अध्ययनलाई सन् १९५० को दशकमा डा. बिचेरले लोकप्रिय बनाए र ‘प्लासिबो इफेक्ट’ सर्वसाधारणमाझ पुग्यो। 

प्लासिबो यस्तो प्रभाव हो जसले औषधिजस्तै काम गर्न सक्छ तर यस्तो प्रतिशत कम हुन्छ। यसले काम गर्नका लागि शरीर संरचना, मान्छेको विश्वासको तहलगायतका धेरै मनोवैज्ञानिक विधि चाहिन्छ। र, मात्र यसले काम गर्छ।

आँखा देखेको दिनदेखि युवती त्यो जादुगरको प्रेममा लठ्ठ हुन्छे। उसका लागि जादुगर भगवान्सरह बन्न पुग्छ। युवतीको बुबा दुवैको बिहे गरिदिने निष्कर्षमा पुग्दै गर्दा एउटा दुर्घटना हुन पुग्छ। युवती जादुगरलाई भेट्न बिना कुनै सूचना घर पुग्दा ऊ कुनै स्त्रीसँग रतिरागमा व्यस्त हुन्छ। जब युवती त्यो दृश्य देख्छे, ऊ तत्काल पहिलेकै अवस्थामा पुग्छे। उसको अगाडि सारा संसार अँध्यारो हुन्छ। उसले देखिरहेको दृष्टि सोही क्षणबाट बन्द हुन्छ।

केटीलाई लाग्छ, जसलाई ऊ संसारमै सबैभन्दा बढी विश्वास गर्छे, ऊ त धोकेबाज रहेछ! उसको उपचारपद्धति पनि धोका नै हो। जब उसको दिमागमा यस्तो विचार छिर्छ, तत्क्षण ऊ दृष्टिहीन  हुन पुग्छे। चिकित्सकीय भाषामा यस किसिमको लक्षणलाई ‘नोसिबो इफेक्ट’ भनिन्छ। यो प्रभावले गाँजेका मानिसले राम्रै उपचार पाए पनि उनीहरूमा त्यसको सकारात्मक प्रभाव पार्न सक्दैन र उनीहरू अझ बढी बिरामी हुन पुग्छन्।

हुन त यो कथा ज्यादै फिल्मी हो। ‘म्याग्नेटिस्ट फिफ्थ विन्टर’ एउटा युरोपेली फिल्मको कथामार्फत यहाँ मनोवैज्ञानिक समस्यालाई हेर्ने प्रयास गरिएको हो। यो समस्या यति गहिरो गरी नेपाली समाजमा व्याप्त छ कि त्यसले नेपालको ठूलो समुदायलाई गाँजेको छ।

कोभिड–१९ को अवधिमा संसारभर त्यसको खोप बनाउने अभियान चल्यो। जब खोप तयार भयो, अमेरिकाका २० प्रतिशत जनताले खोपप्रति चासो देखाएनन्। उनीहरूले त्यसमा षडयन्त्र देखे। खोप लगाउनेहरूमा पनि अनेक किसिमका लक्षण देखिए। 

विज्ञहरू भन्छन्, ती नकारात्मक प्रभाव पनि अरू केही थिएन, नोसिबो प्रभावका कारण उत्पन्न भएको थियो। ‘नोसिबो इफेक्ट’ शब्दावली ल्याटिन शब्द ‘नोसिरे’ बाट आएको हो। यसको सिधा अर्थ ‘हानि गर्नु’ हुन्छ। प्लासिबो इफेक्टको नकारात्मक परिणाम नै ‘नोसिबो इफेक्ट’ हो। यस्तो लक्षणमा पेट दुख्ने, टाउको दुख्ने, वाकवाकी आउनेजस्ता समस्या देखिन्छन्। नोसिबोलाई हामीले प्लासिबोको जुम्ल्याहाका रूपमा हेर्न सक्छौँ तर नकारात्मक शक्ति भएको जुम्ल्याहा।

नोसिबो इफेक्ट नाम दिने पहिलो चिकित्सक वाल्टर केनेडी थिए। जब कुनै व्यक्तिले आफूलाई सञ्चो छैन भन्न थाल्छ, वास्तवमै ऊ बिरामी पर्न थाल्छ । यस्तो समस्या के आधुनिक समस्या हो त ? पक्कै पनि होइन। पूर्वीय समाजले ‘प्लासिबो इफेक्ट’ प्रयोग गरेर लामो समयदेखि ‘झारफुक’ गरिरहेको छ। नासिबो इफेक्ट धेरैजसो अवस्थामा ‘मास हिस्टेरिया’का रूपमा देखिन्छ। यसलाई अचेल साइकोजेनिक बिरामी भन्न थालिएको छ।

सन् २०१६ र २०१७ मा २१ जना अमेरिकी कूटनीतिकर्मीले अचानक पेट दुख्ने, कानमा ट्वाँ आवाज सुनिनेलगायतका समस्यादेखि वाकवाकी हुने समस्या झेलेका थिए। पछि त्यसलाई ‘हवाना सिन्ड्रोम’ नामकरण गरिएको थियो। यस्तो समस्या झेल्नेमा दुई सयभन्दा बढी अमेरिकी कूटनीतिकर्मी थिए।

कुनै किटाणुका कारण मात्र रोग लाग्दैन। मनको रोग सबैभन्दा खतरनाक हुन्छ र त्यो पनि रोग नै हो। बरू किटाणुबाट सर्ने रोग देखिन्छ, त्यसको निश्चित उपचार हुन्छ तर किटाणुबिनाका रोगहरूले पार्ने कुप्रभावको सितिमिति उपचार गर्न सकिँदैन। 

आधुनिक चिकित्साका जनक भनेर चिनिने विलियम ओस्लर भन्थे, ‘मान्छेको उपचारमा दुईपटक निको हुनुपर्छ। एक पटक रोगबाट र अर्कोचाहिँ औषधिबाट।’ नोसिबो प्रभावलाई अध्ययन गर्ने हो भने त उपचारका तीन चरण हुन्छन्। पहिलो रोगबाट निको हुनु, दोस्रो औषधिबाट निको हुनु र तेस्रोचाहिँ मनबाट निको हुनु। र, यो निकै लामो प्रक्रिया पनि हो।

नेपाली समाज यही नोसिबो प्रभावले गाँजिएको छ। जुनसुकै क्षेत्रमा जानूस्, त्यहाँ तपाईँले नकारात्मक कुरा मात्र सुन्नुहुन्छ। यहाँका सबै नेता चोर हुन्, यो देशका कर्मचारी सबै घुस्याहा छन्, यो सतीले सरापेको मुलुक हो, फलानोले गर्न खोजेको थियो तर गर्नै दिएनन्, यो देशमा बसेर केही हुनेवाला छैनजस्ता कुरा हाम्रो देशको दैनिकी नै बन्न पुगेको छ। यो दैनिकी नै हाम्रो विश्वासमा परिणत भएको छ। मिडियामा पनि यही घानमा परेको छ। ‘१२ भाइ मिडिया’को जुन भाष्य निर्माण गरियो, त्यही नोसिबो प्रभावलाई ‘क्यासआउट’ गरिएको एउटा उदाहरण हो।

नयाँ पुस्ताका नेताले जुन मिडियालाई गाली गरेर आफूलाई स्थापित गराएका छन्, तिनलाई स्थापित गर्न पनि आखिर मिडिया नै चाहिन्छ। तिनै मिडियाले उनीहरूले देखाएको बाटोलाई उजिल्याउने प्रयास गर्ने हो। त्यसमाथि स्वयं मिडिया पनि नोसिबोको कुप्रभावले गाँजिएको छँदैछ। जब कुनै समाज वा देश एक किसिमको समस्याले गाँजिएको छ, त्यसबाट निकाल्ने इमान्दार प्रयास त चाहिन्छ नै। त्यसो हुन सकेन भने नोसिबो इफेक्टबाट ग्रस्त समाज चाँडै नै नयाँ पुस्ताबाट अघाउने दिन पनि आउनेछ।

जुन दिन उनीहरूले ‘कानै चिरेका’ प्रमाणित हुनेछन्, त्यसपछि यो देश कहाँ पुग्ने हो कसैले पनि बताउन सक्दैन। त्यसैले ‘कानै चिरेका’ प्रमाणित हुनुअघि उनीहरूले आफैँ पनि जोगिने बाटो खोज्नु नितान्त जरुरी छ। त्यो बाटो भनेको विधि बसाउने बाटो नै हो। जबसम्म विधिप्रतिको सम्मान नयाँ पुस्ताले देखाउँदैन, त्यसलाई पुनस्र्थापित गर्दैन, जबसम्म विधिलाई अपमान गर्नेहरू दण्डित हुँदैनन्, सर्वसाधारणमा गहिरो गरी गढेको ‘नोसिबो खिल’को उपचार हुन सक्तैन।

नेपाली समाजको नोसिबो इफेक्ट उपचार एउटा लामो प्रक्रिया हो। चरण चरणमा यो अविश्वासको उपचार हुनु जरुरी छ। त्यसको सुरुवात ‘फलानोले चाहिँ काम गर्न सक्छ है’ भन्ने विश्वास बढाउनु र त्यस विश्वासलाई कायम गर्न सक्ने इच्छाशक्ति भएको पुस्ता निर्माण गर्नु आजको आवश्यकता हो। उचित ठाउँमा उचित तरिकाले गरिएका राम्रा कामको प्रचार गर्न मिडिया चाहिन्छ।

मिडियामाथिको अविश्वास बढाइँदा मिडियाले गरेका कैयौँ राम्रा काम ओझेलमा परेका छन्। जब आफ्नो राम्रो काम प्रचार गर्नुपर्ने हुन्छ, त्यो बेला प्रभावहीन मिडियाबाट चाहेजस्तो परिणाम निकाल्न सकिँदैन। त्यसैले नयाँ पुस्ताले स्थापित मिडियाको धज्जी उडाउने, तिनको प्रभाव शून्य बनाउने खेलोले उनीहरूलाई पनि कालान्तरमा घाटा पुर्‍याउँछ।

खासमा उनीहरूलाई चाहिएको बेला पनि प्रभावशाली मिडियाले प्रभावकारी कार्य गर्न सक्तैनन्। त्यसैले मिडिया जति प्रभावशाली भयो, नोसिबो इफेक्टबाट उति प्रभावशाली तरिकाले उपचार गर्न सकिन्छ। राम्रो कामको सुविचारित प्रचारले अझ राम्रा कामलाई प्रेरित गर्छ भन्ने कैयौँ उदाहरण  समाजमा छन्।

एक, नेपाली समाज बिरामी छ। नोसिबो कुप्रभावबाट यो ग्रस्त छ। हरेक कुरामा नकारात्मक पक्ष हावी छ। दुई, यसबाट निस्कन उसलाई उपचार चाहिएको छ। त्यो उपचार प्रभावशाली ठाउँबाट हुनुपर्छ। त्यो भनेको हाम्रो राजनीतिक समुदाय नै हो। अधिकांश जनसंख्या पहिला राजनीतितिर मुख ताक्छ अनि त्यसैलाई अनुशरण गर्छ। 

राजनीतिक वृत्तबाट जुटाइएको उपचार, त्यसको समुचित शक्तिशाली प्रचार र नेपालीजनलाई आफैँप्रतिको विश्वास पुनस्र्थापित नहुञ्जेल, त्यसका लागि सशक्त र प्रभावशाली भूमिका नखेलुञ्जेल नेपाली मनोदशा परिवर्तन हुने छैन। यो नोसिबो प्रभावलाई उपचारको खाँचो छ र त्यसका लागि सामूहिक प्रयत्न गर्न ढिला भइसकेको छ। 

प्रकाशित: १३ चैत्र २०८० ०८:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App