९ वैशाख २०८२ मंगलबार
image/svg+xml १६:३४ अपराह्न
विचार

जोगाऔं धुलिखेलका धरोहर!

मोही माग्ने ढुुंग्रो लुकाउने!

राजधानीबाट अलमलमा परेको मनलाई सान्त्वना दिन सार्वजनिक बस चढेर धुलिखेल बजार चढ्दै गर्दा जहिले पनि डा. सुरेशराज शर्माको आवाज कानमा गुञ्जिरहन्छ। त्यो पनि तीन दशक पहिलेको। काठमाडौँको बसाइ त्यागेर र घरबार माया मारेर धुलिखेलको नेवार बस्तीमा एकाकार भइसकेका बयोवृद्ध शर्माको दलानमा भएको छलफल ताजा हुन थाल्छ। उनले काठमाडौँ विश्वविद्यालय स्थापना गर्दाताकाका उकालीओराली सुनाइरहँदा एउटा मानिस समाज बनाउन प्रतिबद्ध भयो भने कतिसम्म सम्भव हुँदोरहेछ भन्ने जानकारी पाइएको थियो। २०४६ सालको परिवर्तनबाट देशमा बहुदलीय प्रजातन्त्र पुनस्र्थापना भएपछि मुलुकले गर्व गर्न लायक र नेपालीको इज्जत प्रतिष्ठालाई शिखरमा पुर्‍याउने नमुना बनेको थियो, काठमाडौँ विश्वविद्यालय।

गत पुस अन्तिम र माघ दोस्रो साता सञ्चार माध्यममा आएका दुई समाचारले नङ्गसिरी लाग्ने चिसोमा कक्रिरहेको यो स्तम्भकारलाई कसैले एकाएक चिसो पानी खन्याइदिए जस्तो भयो। धुलिखेल अस्पताल र काठमाडौँ विश्वविद्यालयले लगभग तीन दशकबीचमा गरेको राष्ट्रसेवाबाट प्रभावित मलाई ती समाचारले सप्रँदो र हुर्कँदो शिक्षा र स्वास्थ्यको हलक्क बढेको बिरुवामाथि बतास लागेझैँ भयो।

राजधानी नजिकैको काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालले आफ्नो यात्रामा प्राप्त सफलता र अप्ठेराहरूलाई सप्ठेरामा बदल्न त्यसका सर्जकहरूले गरेको मेहनत, परिवारका आकांक्षा पर सारेर जसरी संस्थालाई दहो बनाए आज तिनको सपना र जपनामाथि हुन थालेको तुषारापातले केयुका संस्थापक डा. शर्मा र धुलिखेल अस्पतालका संस्थापक डा. रामकण्ठ माकजू श्रेष्ठलाई कसरी पोलिरहेको होला? तिनको नदेखिने तर भित्रभित्रै सैन भइरहेको घाउमा कसरी मलमपट्टी गर्ने होला ? यो सम्झना गरिरहँदा आफैँलाई भतभती पोल्न थालेको छ।

धुलिखेल अस्पताल र काठमाडौँ विश्वविद्यालय

यतिबेला ३३ वर्ष पहिलेको परिदृश्य झल्झली मानसपटलमा आइरहेको छ। जतिखेर नेपालमा बहुदलीय प्रजातन्त्र पुनस्र्थापना भइ संविधान जारी गर्न बनेको सरकार र प्रजातन्त्रपछि मुलुकको भविष्य कस्तो हुने भन्ने विषयमा भएका बहस, छलफल र चिन्तनको झल्को आइरहेको छ। काठमाडौँ विश्वविद्यालय बन्नुभन्दा अगाडि त्यसको प्रारम्भिक नक्सा मैले प्रारम्भमै देखेको हुँ। तत्कालीन सामाजिक सेवा समन्वय परिषद्को कानुनी सल्लाहकारका रूपमा अन्तरिम सरकारका कानुन मन्त्री एवम् संविधानविद् नीलाम्बर आचार्यले भावी समाज कल्याण परिषद्को ऐन बनाउनेलगायत कानुनी सुधारका काम गर्ने गरी यो पंक्तिकारलाई नियुक्त गर्नुभएको थियो।

तत्कालीन रानी ऐश्वर्यको अध्यक्षतामा सञ्चालित त्यो संस्थाको कर्मचारीतन्त्र मिनी दरबारको शैलीमा सञ्चालित रहेछ। अनेकखालका पुनर्संरचनाका खाका बनाउने काम धमाधम सञ्चालित थिए। त्यही सिलसिलामा सानोथिमीस्थित १४, १५ वर्षदेखि अधिकारबिहीन बालबालिकाका लागि प्राविधिक तथा शैक्षिक तालिम कार्यक्रममा भएका गतिविधिबारे जान्न र त्यसलाई समयानुकूल सुधारका लागि सल्लाह गर्न त्यसका महासचिव डा. सुरेशराज शर्मालाई हाल उपराष्ट्रपति भवन बनाइएको लैनचौरमा बोलाइएको थियो। उहाँ एक मुठो नक्सा हातमा बोकेरै बैठकमा प्रवेश गर्नुभयो। बैठक सकिएपछि उहाँले आफूसँग ल्याएको कागजका नक्सा खोलेर नेपालको शैक्षिक सपना देखाउनुभयो। व्याख्या गर्नुभयो र बुझाउनु पनि भयो। उहाँको त्यो नक्सा र सपना अहिलेको काठमाडौँ विश्वविद्यालयको थियो।

काठमाडौँ विश्वविद्यालय नामक नयाँ विश्वविद्यालयले स्वीकृति पाउन लागेको र त्यो धुलिखेलमा स्थापना हुने बताउँदै भवनको नक्सा देखाउनुभएको थियो। उहाँले बताइरहँदा मलाई रत्तीभर विश्वास लागिरहेको थिएन। तर काठमाडौँ विश्वविद्यालय के भयो र कसरी यो सफलताको सिढी चढ्दै गयो? दोहोर्‍याइरहन पर्दैन। पाठकहरू आफैँ जानकार हुनुहुन्छ तर धुलिखेल अस्पतालबारे भने मैले पछि मात्र थाहा पाएँ।

एसएलसीमा बोर्डमा आएका धुलिखेलका प्रतिभावान युवा युरोपमा चिकित्सा शिक्षामा अब्बल भएर निस्केका र त्यही आकर्षक उन्नति फेला पारेका डा. रामकण्ठ विदेशको नाम, काम र अत्याधुनिक सुविधासहितको दाम छाडेर नेपाल फर्के। आफू जन्मेको ग्रामीण क्षेत्र, स्याल कराउने रुखो डाँडोमा समुदायलाई स्वास्थ्य उपचार सेवा सुरु गरे। सम्झदै सुनौला अवसर र सुविधा छोडेर आफ्नै बन्जर पाखोमा जनताको सेवा गर्छु भनेर कुन मुटु र मनले त्यो निर्णय गरेर फर्किएको थियो होला?

उनै रामले खोरिया फाँडेर धुलिखेल अस्पतालको जग हालेका थिए। जो अहिले एमबिबिएसका लागि विद्यार्थीको पहिलो रोजाइको अत्याधुनिक सुविधा सम्पन्न प्रतिष्ठित मेडिकल कलेज बनेको छ। सानो छाप्रोबाट सुरु गरेकोे स्वास्थ्य चौकी धुलिखेल अस्पतालमा रूपान्तरण भइसकेपछि मात्र मेरो डा. रामसँग चिनापर्ची भयो। उहाँको कुरा गर्ने शैली, समयप्रति सचेत, विषयवस्तुमा पकड र धेरै समयदेखि चिनापर्ची भएको मित्र जस्तो व्यवहारले छक्क पाथ्र्यो। तलदेखि माथिसम्मका सबै तह र तप्काका सहकर्मीसँग एउटै बोली र व्यवहार गर्ने, कुरा होइन, जिम्मेवारीअनुसारको काम गर्ने र त्यहीअनुसारको व्यवहार खोज्ने चम्किलो बानी/बेहोराले उनीप्रति थप कौतुहल जाग्यो। कुरा मात्र हो कि काम पनि गर्छन् यी डाक्टर भनेर अस्पताल परिसर घुमेँ। बिरामीहरूसँग कुराकानी गरेँ। उनले भने भन्दा पनि सफा अस्पताल, व्यावहारिक व्यवस्थापन तथा बिरामीप्रति संवेदनशील पाएँ।

४० रुपियाँ तिरेर जुनसुकै विषयको विज्ञलाई जचाउन पाइने, फलोअप हुने र अस्पताल भर्ना भएपछि प्रत्येक बिरामीलाई तीन सय रुपियाँमा तीन छाक खाजा खाना, उपचार र बेड पाइने रहेछ। धनीमानीलाई विशेष सेवा र गरिबलाई त्यसपछि भन्ने चलनै रहेनछ। हाकिम र सामान्य कर्मचारीले खाने खाना पनि एउटै रहेछ, जहाँ अस्पतालका प्रमुख र अन्य कर्मचारी सँगसँगै बसेर क्याफ्टेरियामा खाने र समयाभावको आनीबानी र व्यवहारले साँच्चिकै समाजवादी मोडल त धुलिखेल अस्पताल पो रहेछ भन्ने महसुस गरायो। म मात्र होइन, जोकोही पाठकले धुलिखेल अस्पताल पुगेर र दुर्गम, विकट गाउँहरूमा सञ्चालित धुलिखेल अस्पतालको आउटरिचहरूले दिएको सेवा लिनेहरूले प्रत्यक्ष अनुभव गर्न सक्नुहुन्छ। औषधि पनि बजारभन्दा धेरै सस्तोमा त्यही उपलब्ध हुँदोरहेछ। बिरामी कुरुवाले पनि सय रुपियाँमा बस्न पाउने व्यवस्था रहेछ।

सबैभन्दा गजब त के भने अस्पताल सञ्चालनमा आएपछि धुलिखेलमा निजी क्लिनिक र नर्सिङ होम भन्ने नै नामोनिसान हराएछ। अस्पतालले नै त्यस्तो उत्कृष्ट सेवा दिएपछि डाक्टरहरूको व्यापारमै त्यहाँ पूर्णविराम लाग्न पुगेको देखियो।  

के हुण्डरी पस्यो?

यस्तो सामुदायिक अस्पताल र विश्वविद्यालयबीचको लामो समयदेखिको सम्बन्ध र सहकार्यमा अहिले के हुण्डरी पस्यो र यी दुई संस्थाको सहकार्य धरापमा पर्न पुगेको हो? काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको सम्बन्ध भर्खर सुरु भएको होइन। यो सम्बन्धले लामोसमय पार गरिसकेको छ। पाँच कार्यकाल उपकुलपति बनेका डा. सुरेशराज शर्मा र दुई कार्यकाल उपकुलपति बनेका डा. रामकण्ठ मकाजू काठमाडौँ विश्वविद्यालय हाँकिसकेका मुर्धन्य खम्बा हुन्। यी दुवैका कार्यकालमा केयु र धुलिखेल अस्पतालले शिखर चुमेका थिए। यस्ता संस्थापकहरूकै अगाडि यी दुई संस्थाबीच फुट पार्ने अहिलेका गतिविधि किमार्थ क्षम्य होइन। लिखित सम्झौता गरेर यति लामो समयसम्म गतिशीलरूपमा सञ्चालित संस्थाबीच फुटको बिजारोपण देश, जनता र कसैको पनि हितमा छैन। यी दुई संस्थाबीच चिरा पार्नु र टुटफुट हुनु भनेको कुत्सित मनसाययुक्त अपराध हो। जो क्षम्य छैन। यो देश, जनता र धुलिखेलबासीविरुद्ध छ।

चम्किरहेका काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पताललाई नेपालको शैक्षिक तथा स्वास्थ्य सेवाको क्षेत्रमा नमुना विश्वविद्यालय र नमुना अस्पताल भनेर गाउँगाउँ सातै प्रदेश पुर्‍याउनुपर्नेमा कतै विष त पसेको छैन ? जसरी विष राखेको पानीमा निरमसी मिसाउँदा विष फालिदिन्छ, त्यसैगरी यी दुई संस्थामा कहीँ कतै विष छ भने निरमसीको प्रयोग टड्कारो देखियो। यसका लागि काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालको स्थापना, विकास र समृद्धिमा सक्रिय सबै एकजुट हुनुपर्छ।

जनताको धरोहरलाई अहिलेको अवस्थासम्म ल्याउन लागिपरेका संस्थापकहरूसँगको हातेमालोबाट मात्र यो सम्भव छ। फौबन्जारहरूको कुत्सित र आपराधिक मनसायलाई मटियामेट पार्न लाग्नुपर्छ। २५ वर्षदेखिको सफलताको सूत्र भाँडेर मटियामेट पार्न उद्यतहरूलाई दण्डित गर्नुपर्छ। तिनका खुराफातलाई सचेत बुद्धिजीवी, प्राध्यापक र नागरिक समाजले टुलुटुलु हेर्न मिल्दैन।

जाग डा. सुरेशराज शर्मा र डा. रामकण्ठ मकाजु। आफू जिउँदो छँदाछँदै स्वास्थ्य र शिक्षाका गर्व गर्न लायक नेपाली धरोहरलाई भत्किन नदेऊ! 

प्रकाशित: १७ माघ २०८० ००:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App