२२ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

तबमात्र समृद्धि सम्भव छ

नेपाली जनताले ६ दशकदेखि चाहिरहेको सामाजिक न्याय र समृद्धिको आधार हो। समाजमा अन्याय, अत्याचार, विसंगतिका चाङ छन्। जमिन हुनेले खेती गर्दैनन्, बाँझै छ। खेती गर्नेसँग जमिन छैन। जमिन छ, सिँचाइ छैन। वर्षभरि खेती गर्‍यो, खानै पुग्दैन। लगाएको बालीमा बाँदर, हात्ती, गैँडा, बँदेल, दुम्सी, मुसाले रजाइँ गर्छन्। यही समाजमा सुकुमबासी/भूमिहीन पनि छन्। मानिस कुनै ठाउँमा स्थायीतवरले बस्न पाउँदैनन्। बसेर पनि के गर्ने ? पानी पिउन धारा दिँदैनन्। बत्ती बाल्न बिजुली पाउँदैनन्।

नेपाली नागरिकता छ। मतदाता नामावलीमा नाम पनि छ। राष्ट्रिय परिचयपत्र पनि बनेको छ। यति भएपछि नेपाली हुन अरू के चाहियो प्रमाण? तर पनि मानिसलाई विभिन्न समितिमा सहभागी हुनबाट रोक लगाइएको छ। कारण ऊसँग जमिन छैन रे। जग्गा धनी पुर्जा नभएकाको समाजमा गनितो नै हुँदैन। एउटै समाज हो। जातजाति पनि विभिन्न प्रकारका छन्। विभिन्न संस्कृति पनि कायम छ तर यसैभित्र चर्को विभेद पनि छ। दलित समुदायभित्र पनि विभेद छ। दमाईँले छोएको सार्की खाँदैनन्। सार्कीले छोएको कामी खाँदैनन्। दमाईँ, वादी जस्ता समुदायमा दलितभित्र मात्र नभई बाहिरका अन्य समुदायबाट छुवाछूत, भेदभाव, तिरस्कार, बहिष्कार इत्यादि खेप्नुपरेको छ।

शिक्षा छैन। यही कारण चेतनाको कमी छ। चेतनाको कमी भएपछि अवसरबाट वञ्चित हुने नै भए। अनि राज्य र समाजबाट पनि तिरस्कृत हुनु कुन ठूलो कुरा भयो र ? मुख्य कुरो हामीले लगाउँदै आएको समृद्धिको नाराले यो वर्ग/समुदायको पीडा चिनेकै छैन। सर्वसाधारणको कुरै छाडौँ, जनप्रतिनिधि चुनिएको दलितलाई समेत छुवाछूत गरिन्छ।

३५–४० जना शिक्षक/शिक्षिका भएका विद्यालयमा त्यसमध्ये एकजना पनि दलित हुँदैन। तर विद्यार्थीचाहिँ पाँच सयमा तीन सय दलित हुन्छन्। यस्तो अवस्थामा दलितमैत्री पढाइ कसरी होला ? प्रत्येक वडामा हुने एकजना दलित महिला सदस्यको आवाज त्यत्तिकै बिलाउँछ। वन, खानेपानी, विद्यालय व्यवस्थापन, विद्युत्, निर्माण उपभोक्ता जस्ता कुनै पनि समितिमा दलित सिला खोज्दा पनि भेटिन गाह्रो छ। हामी भने यो अवस्थामा समृद्धि बोलाइरहेका छौँ, त्यो पनि चिच्याएर। यो भन्दा विडम्बना अरू के हुनसक्छ?

सामाजिक परिवेश कानुनमा अडिएको छ । जसले हुनेखानेकै प्रबद्र्धन गरिरहेको छ। नयाँ नेपाल भजाउने गतिलो हतियार बनेको छ। भूमि, वन, पानी जस्ता सबै स्रोतको स्वामित्व धनाढ्य वर्गसँग छ। भुइँ तहकाले पिउने पानीको मुहानसमेत किन्नुपर्छ। उनीहरूले प्रयोग गरेर फ्याँक्ने पानी सिँचाइका लागि कुर्नुपर्छ। बरु वनमा कुहाइन्छ काठ तर गरिबलाई दाउराका रूपमा लैजान निषेध छ। तर पनि हामी समृद्धि फलाकेर थाकेका छैनौँ।

तर पनि तारे होटलमा हुने कार्यक्रममा सरकार र विकासे मिलेर समृद्धि उकालो लागेको ग्राफ बढाएको बढायै छन्। सबैलाई सुरक्षित बास, खान पुग्ने अनाज र एकसरो कपडाबिनाको समृद्धि के समृद्धि? बिरामी परेका बेला उपचार नपाएर मर्नुपर्ने अवस्था कसरी समृद्धिको आधार बन्न सक्छ? त्यसैले समृद्धि असम्भव हैन, सम्भव छ तर यसका लागि विशेषगरी हुँदा खानेलाई सन्तुष्टि दिलाउन सक्नुपर्छ। किनकि समृद्धि ठूला संरचनाले भित्र्याउने हैन, प्रत्येक मानवको मुहारमा छचल्किनुपर्छ। त्यो पो वास्तविक समृद्धि हो। यो कुरा शासनसत्ताको डाडु/पन्युँ हातमा लिएर बस्नेले कहिले बुझ्ने?

 

– दर्जी राष्ट्रिय भूमि अधिकार मञ्चका अध्यक्ष हुन्।  

प्रकाशित: १२ माघ २०८० ००:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App