१७ आश्विन २०७९ सोमबार
विचार

स्थानीय पाठ्यक्रम–पाठ्यपुस्तक खोइ ?

हाम्रो शिक्षाले स्थानीय कला, संस्कृति, सम्पदा, परम्परा, ज्ञान, सीपलाई समेट्न सकेको छैन । अहिलेसम्म केन्द्रीकृत पाठ्यक्रम प्रणालीअनुरूप निर्दिष्ट पाठ्यक्रम लागू भइरहेको छ । हुनत साबिक पाठ्यक्रममा पनि कक्षा १—८ सम्म १०० पूर्णांकको स्थानीय विषय पढाइनेछ भनिएको छ । तर, यस सम्बन्धमा धेरै विद्यालय वा शिक्षक नै अनभिज्ञ छन् । 

स्थानीय पाठ्यक्रम निर्माण गर्दा कक्षा १ देखि ५ सम्मका बालबालिकालाई आफ्नो क्षेत्रको प्राकृतिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक, तथा धार्मिक मठमन्दिरहरूबारे परिचित गराउने खालका विषय समावेश गरिनु उपयुक्त ठानिन्छ ।

स्थानीय पाठ्यक्रममा भौगोलिक स्थिति, त्यहाँको वातावरण, वनस्पति, पशुपक्षी र तिनको संरक्षण ज्ञान र सीप दिने खालका विषयवस्तु समावेश गरिनुपर्छ । स्थानीय तहमा आइपर्ने आपत्विपत्को व्यवस्थापन र न्यूनीकरणमा जोड दिनु बढी सान्दर्भिक हुन्छ । २०७२ वैशाखको भूकम्प आएका बेला टेबुल वा खाटमुनि बस्नू भन्ने ज्ञानले आफ्नो ज्यान नै गुमाउनुपरेको स्मरण गरिनुपर्छ । भूकम्पबाट सुरक्षित हुन दिइने शिक्षा पनि स्थानीयता र जोखिम हेरी बच्ने उपाय सिकाउनुपर्छ । 

विद्यार्थी जुन ठाउँमा हुर्केर बढेर अहिले पढ्दै छ, त्यस ठाउँबारे जान्नुप¥यो, त्यसको के महत्व छ थाहा दिनुप¥यो, अनि मात्र उसले आफ्नो ठाउँ चिन्छ । स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गर्ने कार्यमा स्थानीय शिक्षक नै सहभागी हुनु आवश्यक हुन्छ । यस सम्बन्धमा पनि स्थानीय व्यवस्थापन समिति वा स्थानीय सरकारबाट यथोचित ध्यान पु¥याउनु जरुरी छ । स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तकमा आफ्नो गाउँठाउँको ऐतिहासिक महत्व, भूगोल, संस्कृति, प्रकृति, परम्परागत ज्ञान–सीप समेट्न अति नै जरुरी छ ।

केन्द्रीकृत मात्र होइन, स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक पनि पढाइनुपर्छ । आफ्नो गाउँठाउँको ऐतिहासिक महत्व, भूगोल, संस्कृति, प्रकृति, परम्परागत ज्ञान–सीप जान्न–सिक्ने हक सबै बालबालिकालाई हुन्छ । आफूलाई नचिन्ने शिक्षाको के काम ? 

काष्ठकला, मूर्तिकला, माटाका भाडाहरू बनाउने सीप, राडीपाखी बनाउने सीप आज किन लोप हँुदै गएका छन् ? यसतर्फ सरोकारवाला कोही पनि संवेदनशील छैनन् । कमसेकम अब स्थानीय पाठ्यक्रम बनाएर यस्ता कुरा समावेश गरी पाठ्यपुस्तक लेखियो भने नानीहरूले परम्परागत सीपलाई धेरै हेलाँ गर्नेछैनन् । यी सीप नयाँ पुस्तामा हस्तान्तरण भएपछि यथास्थितिको सीपलाई समयानुकूल परिमार्जन गरी उनीहरू आत्मनिर्भर हुन सक्छन् । यसतर्फ स्थानीय अभिभावक, स्थानीय सरकार, बुद्धिजीवी सबैको ध्यान केन्द्रित हुन जरुरी छ ।

स्थानीय पाठ्यक्रम निर्माणपूर्व राष्ट्रिय पाठ्यक्रमको रूपरेखा पनि स्थानीय सरकारको शिक्षा हेर्ने निकायलाई पूर्ण ज्ञान हुनु जरुरी छ । यसरी पाठ्यक्रमको निर्दिष्ट लक्ष्यअनुरूप राष्ट्रिय पाठ्यक्रम र स्थानीय पाठ्यक्रमसम्बन्धी व्यवस्था हुँदाहँुदै पनि पूर्णरूपले सबै विद्यालयमा स्थानीय पाठ्यक्रम हुन नसक्नु भनेको सरकारकै कमजोरी हो । स्थानीय पाठ्यक्रमलाई बहानाबाजी गरी अन्य अतिरिक्त विषयलाई ठाउँ दिनु शिक्षा–अधिकारको मर्म विपरीत हो ।

स्थानीय पाठ्यक्रमबारे स्पष्ट नीति र कार्यान्वयन विधि नै छैन । स्थानीय पेसालाई कसरी जोगाउने भन्ने सम्बन्धमा स्थानीय तहबाटै आवाज उठाइनुपर्छ । उपलब्ध जडीबुटी एवं आयुर्वेदिक उपचार पद्धतिबारे स्थानीयले जान्न पाउनु उनीहरूको हक हो । स्थानीय तहमा कैयौँ महत्वपूर्ण सांस्कृतिक सम्पदा, धार्मिक स्थल, अनेकन् चालचलन, रीतिरिवाज छन् । यी सबैको संरक्षण र यिनलाई माया गर्न सिकाउने पाठ्यक्रम निर्माण गरी सोहीअनुरूपको पाठ्यपुस्तक लेखी ज्ञान र सीप प्रदान गरिनु आवश्यक छ । पाठ्यक्रम निर्माणमा होस् वा पाठ्यपुस्तक लेखन, स्थानीय विज्ञतालाई कदर गर्नुपर्छ ।

स्थानीय सहभागितामा निर्माण गरिएको पाठ्यक्रममा स्थानीयहरूको पनि बढी मोह हुन्छ । विद्यालयले मात्र नभई त्यस पाठ्यक्रमलाई स्थानीयहरूले पनि अपनत्व ग्रहण गर्नाले स्थानीय पाठ्यक्रम कार्यान्वयन गर्न विद्यालयलाई सजिलै सहयोग पुग्नेछ । विद्यालय र स्थानीयहरू समेतको सहयोगले बालबालिकालाई स्थानीय मौलिक र उपयोगी ज्ञान, सीप र प्रविधिको विद्या हासिल गराउन सकिन्छ । 

अझै पनि हाम्रा दुर्गम जिल्लाका विद्यालयहरूलाई स्थानीय पाठ्यक्रम लागू गर्ने इच्छाशक्ति हँुदाहँुदै पनि आफूमा त्यससम्बन्धी  ज्ञान र आत्मविश्वासको कमीले लागू नभएको पाइन्छ । यस्ता विद्यालयहरूलाई शिक्षाका सरोकारवालाहरूले सहयोग पु¥याउनुपर्छ ।

स्थानीय सरोकारका विषयमा छलफल गर्दा प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, स्थानीय प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी आदिको भेला गराउनुपर्छ । उक्त भेलामा आपसी छलफल र अन्तक्र्रियाबाट स्थानीय आवश्यकताका विषयहरूको पहिचान गरी सूची तयार पारी तिनलाई समेट्नुपर्छ । 

(लामो शिक्षण गरेका गौतम शैक्षिक विषयमा लेख्छन् । उनी शिक्षाविद् हुन्)

प्रकाशित: २६ भाद्र २०७४ १०:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App