८ वैशाख २०८१ शनिबार
विचार

प्रधानमन्त्री ज्यू ! राष्ट्रघाती र पश्चगामी छ ‘पेट्रोलियम पाइप लाइन’ सम्झौता

व्यवस्था अग्रगामी खोज्ने, काम पश्चगामी गर्ने ?

सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ज्यू, तपाई जेठ १७ गते भारत भ्रमणमा जाने कार्यक्रम तय भएछ। नेपालका प्रधानमन्त्रीको छिमेक भ्रमण सधैँ सन्देहका रूपमा हेरिन्छ। यस पटक पनि तपाईको भ्रमणमा हुने भनिएकामध्ये केही सम्झौता नेपाल र नेपाली सन्ततिका प्रतिकुल छन्। यीमध्येको एउटा सम्भावित सम्झौताको चर्चा गर्न खोजेको छे, त्यो हो करिब १७ अर्ब रुपैयाँमा भारतीय लगानीमा बनाउने भनिएको ‘पेट्रोलियम पाइपलाइन’।

प्रधानमन्त्री दाहालको छिमेक भ्रमणमा यो अजेन्डा तय भइसकेको हो भने पनि यो तत्काललाई स्थगित मात्र होइन, यसको फाइल नै बन्द गर्नुपर्छ। यो पश्चगमन सम्झौता हुनेछ। यो राष्ट्रघाती सम्झौता हुनेछ। प्रधानमन्त्री दाहाल ज्यूकै भाषामा यो सम्झौता पछि मुलुकले अग्रगामी छलाङ होइन पश्चगामी छलाङ चाही पक्कै मार्नेछ। त्यो छलाङको प्रभावलाई तपाईँलाई त पर्दैन। यसको दीर्घकालीन असर राष्ट्र र यहाँ बसोबास गर्दै आएका सर्वसाधारण नेपालीमा पर्नेछ।

पेट्रोलियम पदार्थको खपत घटाएर अर्थतन्त्र र वातावरण जोगाउनुपर्ने बेलामा पेट्रोलियम पाइपलाइन थपेर पेट्रोलियम पदार्थ भण्डारण गर्ने सम्झौता गर्नु अग्रगामी छलाङ हो की पश्चगामी छलाङ, प्रधानमन्त्री ज्यू !

मुलुकको अर्थतन्त्र धराशायी बनाउने मध्येको एक हो, ‘पेट्रोलियम पदार्थको आयात र खपत।’  यसको नकारात्मक प्रभाव देशको अर्थतन्त्रमा अहिले पनि परिरहेको छ। पेट्रोलियम पदार्थ खरिद गर्ने नाममा हरेक वर्ष खर्बौँ रुपैयाँ छिमेकी भारतलाई बुझाउन परिरहेको छ। 

नेपालको अर्थतन्त्र ध्वस्त हुने कारणहरूमध्येमा यो पर्छ। पाइपलाइन थपेर पेट्रोलियम पदार्थको परिणाम बढाउँदै लैजाने हो भने देशको अवस्था के हुने हो? छिमेकी भारत त व्यापार गर्न तयार उसलाई त फाइदै फाइदा छ तर नेपालको अर्थतन्त्रको हालत के हुने हो? अनुत्पादक क्षेत्रमा भइरहेको लगानीले अर्थतन्त्र ध्वस्त हुनु स्वाभाविक हो।

अर्को कारण, पेट्रोलियम पदार्थ र तीबाट सञ्चालन हुने सवारी साधन, कलकारखाना र अन्य कुनै पनि उपकरणले विसर्जन गर्ने रसायन वा धुवाँ स्वास्थ्यकर मानिदैन्। पेट्रोलियम पदार्थ (पेट्रोल, डिजेल, मट्टितेल, एलपीजी) भनेका प्रज्वलनशील इन्धन हुन। यी इन्धन बलेपछि निस्किने धुवाँ मानव स्वास्थ्यका लागि त्यत्तिकै हानिकारक छन्। जुनसुकै उपकरणमा प्रयोग गरिएको भए पनि यो इन्धन पूर्ण रूपमा जल्दैन जलिहाले पनि यसबाट मानव स्वास्थ्यका लागि प्रतिकुल हुने रसायन तत्त्वहरू बाहिर निस्किन्छ। यस्ता इन्धनको बढ्दो प्रयोगले सहरी क्षेत्रमा हावाको स्तर खस्किने क्रम बढ्दो छ। नेपालका सहरी क्षेत्रको वायुको स्तर विश्व स्वास्थ्य संगठनले तय गरेको वायुको मापदण्ड भन्दा तीन/चार गुणा बढी छ। प्रदूषण बढ्नुको कारणमध्ये पेट्रोलियम पदार्थ र यसको अत्यधिक प्रयोग पनि एक हो। वायु प्रदूषणका कारण बर्सेनि हजारौँ सङ्ख्यामा नेपालीहरूले ज्यान गुमाइरहेका छन्। यसबाट वृद्ध र बालबालिकाहरू सबैभन्दा बढी प्रभावित छन्।

त्यसैले पाइपलाइन ओछ्याउने र पेट्रोलियम पदार्थ भण्डारण गर्ने यो सम्झौतालाई अग्रगामी भन्न कदापि मिल्दैन। यो पश्चगामी कदम हो।

प्रधानमन्त्री ज्यू , तपाई त संसार घुमेको मान्छे। ऊर्जा प्रयोगका क्षेत्रमा संसार वा विश्व अहिले कुन दिशा तर्फ गइरहेको छरु तपाईँलाई जानकारी होला। विकासशील र विकसित देशहरूले कस्तो ऊर्जालाई प्राथमिकतामा राखेर आफ्नो देशका विकास, निर्माण र समृद्धिका योजना बनाइरहेका छन भन्नेबारे तपाई पक्कै जानकार हुनुहुन्छ। तर पनि तपाई उल्टो बाटो हिँड्न खोजिरहनु भएको छ। आखिर किनरु यस्ता सम्झौता गरेर देशलाई उठ्नै नसक्ने गरी थला पार्दै हुनुहुन्छ, आखिर किन?

प्रधानमन्त्री दाहाल ज्यू, संसार अहिले स्वच्छ, नवीकरणीय र सौर्य ऊर्जाको प्रयोग बढाएर धेरै क्षेत्रमा यसलाई समेट्न खोजिरहेको छ। विकसित र विकासशील देशहरूले एउटै अजेन्डा राखेका छन्, आफ्नो देशका सबै क्षेत्रमा स्वच्छ ऊर्जा बढी भन्दा बढी कसरी प्रयोग गर्ने भन्नेमा उनीहरू छन्। उनीहरू बढी भन्दा बढी जलस्रोत प्रयोग गरेर विद्यूत उत्पादन गर्ने, सोलार र वायु ऊर्जालाई पनि सँगैसँगै लैजाने दौडमा छन्।

संसारले उल्लेखित यी कदम किन चालिरहेको छ भन्ने कुरामा प्रधानमन्त्री ज्यू पनि पक्कै अनभिज्ञ हुनुहुँदैन होला। पृथ्वीको तापक्रम पछिल्ला दशकहरूमा बढिरहेको छ। तापक्रम वृद्धिको एउटा कारण पेट्रोलियम पदार्थको अत्यधिक प्रयोग पनि हो। यसले गर्दा हरेक शतक, दशक र वर्षमा तापक्रम बढाइरहेको छ। पृथ्वी तातिएसँगै संसारभर जलवायु परिवर्तनका घटनाहरू बढिरहेका  छन्। यसले मानवीय र भौतिक क्षति बढिरहेको छ। वायुमण्डल प्रदूषण भइरहेको छ। सूर्यबाट पृथ्वीमा आउने ताप वायुमण्डल छिचोलेर पुनः फर्किन पाएको छैन। त्यसैले पृथ्वी तातिँदै छ।

पेट्रोलियम पदार्थले अर्थतन्त्र धराशायी बनाएको छ। मानवीय क्षति निम्त्याएको छ। पृथ्वी तातिएर बर्सेनि विश्वव्यापी रूपमा लाखौँको सङ्ख्यामा मानवीय र खरबौँ रुपैयाँ बराबरको क्षति भइरहेको छ। तर हाम्रा प्रधानमन्त्री दाहाल भने त्यही पेट्रोलियम पदार्थ भित्राउन पाइपलाइन ओछ्याउँदै हुनुहुन्छ। त्यसको भण्डारण बढाउँदै हुनुहुन्छ। र, छिमेकीले सित्तैमा पैसा दियो भन्दैमा त्यही परम्परागत, प्रदूषक र अर्थतन्त्र खोक्रो पार्ने पेट्रोलियम पदार्थ भित्राउने पाइप लाइनको सम्झौता गर्न तम्सिनुभएको छ।

यदि तपाईँको भारत भ्रमणमा यो अजेन्डा छ भने यस्तो राष्ट्रघाती कदम तत्काल रोक्नुहोस्। यसले तपाईँको राजनीतिक ‘करिअर’ सफल होला र सत्तामा पनि टिकिरहनु होला। तर यसले देशलाई सधैका लागि कमजोर बनाउनेछ। परनिर्भरता बढाउने छ। स्वच्छ, नवीकरणीय र सौर्य ऊर्जाको अपार सम्भावनाका बाबजुद नेपालको अर्थतन्त्र थप धराशायी हुनेछ। यसले नेपाललाई कहिल्यै अघि बढन दिनेछैन।

तपाईँले भारतसँग गर्नुपर्ने सम्झौता त ‘पेट्रोलियम पाइप लाइन’ ओछ्याउने होइन, ‘विद्यूत प्रसारण लाइन’को हो। पछिल्ला बर्सहरूमा विद्यूत उत्पादनमा नेपालले फड्को मारिरहेको छ। यसबारे तपाई अवगत हुनुहुन्छ। हो, त्यही विद्यूत छिमेकीहरूलाई बेच्नका लागि विद्यूत प्रसारण लाइन’ निर्माणको सम्झौता गर्नुहोस्। सौर्य ऊर्जा उत्पादनका लागि सोलार प्लान्ट निर्माणको सम्झौता गर्नुहोस्।

नेपाल त्यसैपनि स्वच्छ ऊर्जा उत्पादनमा प्रचुर सम्भावना भएको देश हो। यसमा संभवत कसैको दूतमत छैन। स्वच्छ ऊर्जा देश विकासका हरेक क्षेत्रमा प्रयोग गर्न सकिन्छ। अघिल्ला दशक र शतकहरूमा पो पेट्रोलियम पदार्थको विकल्प थिएन र भए पनि अत्यधिक महँगो थियो। त्यसैले सबैले यसैको प्रयोग बाध्यतावश गर्दै आएका थिए। तर अहिले अवस्था फेरिएको छ। समय परिवर्तन भएको छ। परिवर्तनलाई आत्मसात् गर्न सक्ने व्यक्तिनै सच्चा नेता हुन्छ।

तर नेपाललाई के बाध्यता आइलाग्यो यती सुन्दर, शान्त र सानो देशमा पेट्रोलियम पदार्थ भण्डारण गर्ने? खर्बौँ रुपैयाँ यसको नाममा छिमेकीलाई बुझाउनेरु देशको अर्थतन्त्र ध्वस्त बनाउने र सर्वसाधारणको स्वास्थ्य माथि खेलबाड गर्नुपर्ने यो कस्तो बाध्यता आइलाग्योरु प्रधानमन्त्री ज्यू ढिलो चाँडो तपाईँले यसको जवाफ दिनुपर्छ, ख्याल गर्नुहोला।

खासमा तपाईँले गर्नुपर्ने त देशमा बढी भन्दा बढी विद्युतीय ऊर्जा उत्पादन गर्ने, यसरी उत्पादन भएको विद्यूत छिमेकीलाई बिक्री गर्ने, बढी भन्दा बढी कलकारखाना र उद्योगहरू खोल्ने र तीनलाई सहुलियत दरमा विद्यूत प्रवाह गर्ने, आम नेपालीको जीवनसँग जोडिएका हरेक क्षेत्रलाई अहिले भन्दा सहुलियत दरमा विद्यूत दिने। विद्युतीय सवारी साधन र उपकरणहरू स्वदेशमै उत्पादन गर्ने वातावरण तयार गर्ने। आम सर्वसाधारणलाई बिहान उठेदेखि नसुत्दासम्म विद्युतीय साधन र उपकरण प्रयोग गर्न प्रोत्साहन गर्ने र त्यसका लागि सहुलियत दिने। र, नेपाललाई स्वच्छ ऊर्जाको देश भनेर विश्वमा परिचित गराउने। अनि बल्ल नेपालीले गर्व गर्नेछन्, वाह हाम्रा प्रधानमन्त्री पुष्पकमल दाहाल। यति बेला मात्र हुनेछ, तपाईँले भनेजस्तो अग्रगामी छलाङ।

धेरै भन्दा धेरै परिणाममा विद्यूत उत्पादन गरेर बढी भन्दा बढी आर्थिक आर्जन कसरी गर्न सकिन्छ भनेर लाग्नुपर्ने नेपालका प्रधानमन्त्री उल्टै खरबौँ रुपैयाँ बाहिर पठाउने सम्झौता हस्ताक्षर गर्न छिमेकी राष्ट्र भारत जानु नेपालीका लागि दुर्भाग्यपूर्ण हुनेछ। प्रधानमन्त्री दाहाललाई छिमेकी खुसी पार्नु पर्ने बाध्यता नै छ भने तेस्रो मुलुकको तुलनामा दुई छिमेकी (दक्षिण र उत्तर) लाई सस्तो दरमा विद्यूत बिक्री गरे भइहाल्यो नि।

तर सानो भूगोल र थोरै जनसङ्ख्या भएको मुलुक नेपाललाई सधैँ पर निर्भर बनाइराख्ने यो सम्झौता कुनै हालतमा पनि गर्न पाइँदैन। भूगोलको अनुपातमा विश्वका अन्य मुलुकहरूको तुलनामा हामी पानीका स्रोत, प्राकृतिक सम्पदा, जैविक विविधता र पारिस्थितिकीय प्रणालीमा धेरै धनी छौँ। त्यसैले हाम्रो अर्थतन्त्र स्वच्छ ऊर्जा उत्पादन र पर्यटनमा आधारित हुनुपर्छ।  

प्रधानमन्त्री ज्यू, तपाईले व्यवस्था मात्र अग्रगामी खोजेको हो? काम चाहीँ पश्चगामी नै गर्ने हो र?  तपाई आफै विचार गर्नुहोला, पाइपलाइन सम्झौता अग्रगामी छलाङ हो की राष्ट्रघाती र पश्चगामी। धन्यवाद।

subodh2060@yahoo.com

प्रकाशित: १२ जेष्ठ २०८० १२:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App