१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
विचार

नक्कली शरणार्थी मायावी विभ्रम

८ सय ७५ जना नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउन गरिएको प्रयास वा उद्योग प्रकरणले सडकदेखि सदन तातेको छ। प्रहरीको छानबिन र अनुसन्धान जारी छ। उच्च राजनीतिक तथा प्रशासनिक नेतृत्वसमेतको संलग्नताको कुरा सुन्नमा आएको छ। यस प्रकरणले विगत इतिहास संस्मरण गराएको छ। त्यसबेलाको नेपालले शरणार्थीप्रति अपनाएको व्यवहार र अहिले आफ्नै नागरिकलाई राज्यविहीन बनाउने प्रयास भयो भन्दा हामी कहाँ छौं? भन्ने लाग्यो। ‘शरणमा आएकालाई मरणमा पार्नु हुँदैन’ भन्ने आदर्श प्रेरित नेपालको विगतको इतिहास थियो। शमर्पा लामा त्यसबेला तिब्बती शरणार्थीका रूपमा नेपाल आएका थिए। सन् १९८८ मा पहिलोपल्ट नेपाल भोट अर्थात् तिब्बत युद्ध हुनुको कारणमध्येमा शमर्पा लामा पनि एउटा कारण भएका थिए।

विगतमा आफ्नो शरणमा रहेकाको जीवनरक्षा गर्न युद्धको समेत नेपालले सामना गरेको थियो। आज आफ्नै नागरिकलाई राज्यविहीन बनाउने कार्यमा उच्च राजनीतिक तथा प्रशासनिक संलग्नता भएको कुरा सार्वजनिक हुँदा आश्चर्य लाग्यो।

इतिहासमा उल्लेख भएअनुसार तिब्बतको दिगर्चा तासिलामा मठका मुख्य लामा पाल्देन यरो थिए। चीनका सम्राटलाई आर्शीवाद दिन भनी चीन गएका थिए। फर्कंदा बाटोमै उनको निधन हुन्छ। त्यसपछि उनका भाइ शमर्पा लामा अस्थायी रूपमा उक्त मठका लामा हुन्छन्। मठमा अस्थायी लामाका रूपमा कार्य गर्दा उनले केही सुन र पैसा हिनामिना गरे। त्यसैले नयाँ बालक लामा (पाल्देन यरोका छोरा) बनेपछि दुई जनाबीच विवाद हुन्छ। त्यसपछि शमर्पा लामा आफ्ना १४ जवान साथीहरूका साथ सिक्किममा खुलेको नयाँ बाटोबाट नेपाल प्रवेश गर्छन्। नेपालको सिमानामा आएर नेपाल सरकारसँग धर्म पत्र गर्छन्। धर्म पत्रमा नेपालप्रति बफादार रहने छु भनी प्रतिज्ञा गरिएको हुन्छ। त्यसपछि बहादुर शाहले उनीहरूलाई शरण दिई काठमाडौंको स्वयम्भूमा बस्ने व्यवस्था मिलाई दिन्छन्।

कुनै इतिहासकारको भनाइमा तिब्बतको तासिलामा (सर्वोच्च शक्तिका दलाइ लामा) को निधन हुन्छ। सम्पत्ति बाँडफाँडको सम्बन्धमा उनका दुई भाइ दुङपा त्रुलुक र समर त्रुलुक (शमर्पा लामा) बीच झगडा हुन्छ। दुङपा त्रुलुकले शमर्पा लामालाई उनको भाग अंश दिन मन्जुर भएनन्। त्यसैले सुरक्षाको समेत डर भएकाले तासिलम्पुको प्रशस्त सम्पत्तिसहित आफ्ना १४ जना समर्थकका साथ नयाँ बाटो सिक्किम हुँदै नेपाल आउँछन्। शमर्पा लामा र उनका साथीहरूले नेपालका राजाप्रति बफादार रहने धर्मपत्र गरिदिन्छन्। त्यसपछि उनीहरूलाई नेपालको नागरिक बनाएर स्वयम्भूमा बस्ने व्यवस्था गरिन्छ। त्यसरी नेपालले आफ्नो बागीलाई शरण दिएको भनेर तिब्बत रुष्ट हुन्छ। त्यसपछि तिब्बतले व्यावसायिक मार्ग बन्द गरिदिन्छ। नेपालसँगको आफ्नो सम्बन्ध विच्छेद गर्छ।

शक्ति, सत्ता र अर्थमा रमेको राजनीतिक पुस्ताकै कारण राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा निन्दा र आलोचना हुने यस्तो नक्कली भुटानी शरणार्थी प्रकरण घट्न गयो।

त्यसपछि मुद्रा, व्यापारिक मार्ग, शपर्मा लामालगायत विभिन्न कारणबाट सन् १९८८ मा नेपाल तिब्बत पहिलो युद्ध हुन्छ। सन् १७८९ मा केरुङ सन्धि भएर युद्ध समाप्त हुन्छ। उक्त सन्धिमा नेपालको नागरिकका रूपमा शपर्मा लामाले सन्धिमा साक्षीका रूपमा हस्ताक्षरसमेत गरेका थिए। पछि केरुङ सन्धि भंग भएर फेरि नेपाल तिब्बत र चीन युद्ध भएको थियो। ती युद्धका कारणमा प्रत्यक्ष वा परोक्ष रूपमा शमर्पा लामाको विषय पनि थियो। नक्कली शरणार्थी प्रकरणको सम्बन्धमा मात्र यो आलेख केन्द्रित भएकाले इतिहासको त्यो तथ्यको उल्लेख गरिएको हो। विगतमा आफ्नो शरणमा रहेकाको जीवन सुरक्षा गर्न युद्धको समेत नेपालले सामना गरेको थियो। आज आफ्नै नागरिकलाई राज्यविहीन बनाउने कार्यमा उच्च राजनीतिक तथा प्रशासनिक संलग्नता भएको कुरा सार्वजनिक हुँदा आश्चर्य लाग्यो।

पाश्चात्य राजनीतिक चिन्तकका आधुनिक जनक मानिने मोकियाबेली ले (सन् १४६८–१५२७) आफ्नो राजनीतिक चिन्तनमा ऐतिहासिक पद्धतिलाई अनुशरण गरेका थिए। त्यसैले उनले प्राचीन युनान र रोमको इतिहासको अध्ययन गरे। लिवीको सुप्रसिद्ध इतिहासमाथि व्याख्यासमेत गरे। त्यसपछि आफ्नो प्रसिद्ध कृति प्रिन्सको पाना पानामा उनले आफ्नो मान्यता र धारणालाई रोम तथा युनानको प्राचीन इतिहासको साथ लिएर आफ्नो मान्यता, विश्वास र धारणालाई पुष्टि गरेका थिए। ‘प्रिन्स’ मा शासन कला सिकाएका मेकियावेलीको त्यसबेला दिएको इतिहासको महत्वलाई अहिले झन् अर्थ र सारपूर्ण हुन्छजस्तो लाग्यो। उनी भन्थे, वर्तमान कालको समस्याको समाधान भूत कालको इतिहासको गम्भीर अनुशीलनबाट हुन सक्छ। यसैका आधारमा अगाडि हुने घटनाको सम्बन्धमा भविष्यवाणी पनि गर्न सकिन्छ।

पाश्चात्य राजनीतिक चिन्तकका आधुनिक जनक मानिने मोकियाबेली ले (सन् १४६८-१५२७) आफ्नो राजनीतिक चिन्तनमा ऐतिहासिक पद्धतिलाई अनुशरण गरेका थिए। त्यसैले उनले प्राचीन युनान र रोमको इतिहासको अध्ययन गरे।

अहिले विद्यालय तथा विश्वविद्यालय तहमा इतिहासको के कति पठनपाठन हुन्छ वा हुँदैन, त्यो त पंक्तिकारलाई थाहा हुने विषय भएन। तर राजनीतिक वृत्तमा इतिहासको पठन भए जस्तो व्यवहारमा पाइँदैन, देखिँदैन। आत्ममुग्धतामा रमाउने चरित्र हाबी भएको देखिन्छ। शक्ति, सत्ता र अर्थमा रमेको राजनीतिक पुस्ताकै कारण राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा निन्दा र आलोचना हुने यस्तो नक्कली भुटानी शरणार्थी प्रकरण घट्न गयो। नियन्त्रण र सन्तुलनको अवस्था छैन। निष्पक्ष, स्वतन्त्र र निर्भीक संस्थाहरू भएनन्। संरक्षणवाद हाबी छ। त्यसैले यस्ता घटना घटिरहन्छन्।

नक्कली भुटानी शरणार्थी बन्ने, बनाउने र मध्यस्तताको भूमिका निर्वाह गर्ने त्रिपक्षीय संलग्नता छ भनेर सुन्नमा आएको छ। यसमा मायावी आकर्षणमा परेकालगायत विदेशप्रतिको मोह, चाहना र लालायित पक्ष अत्यन्त गम्भीर बन्नुपर्छ जस्तो लाग्छ। स्वप्नमा रहेको विदेश प्रवेश हुने साथै एकाएक स्वतस्फूर्त रूपमा सम्भावनाका सबै ढोका खुल्छन् भन्ने हुँदैन। जुन देशको आफूले चाहना गरेको हो त्यस देशको जनजीवन, रोजगार, शिक्षाजस्तो विषयमा पूर्ण जानकार हुनैपर्छ। त्यसका लागि प्रविधिलगायत विभिन्न कृति तथा यात्रा विवरण भएका नियात्रासमेत सहायक हुन सक्छन्।

नक्कली भुटानी शरणार्थी बन्ने, बनाउने र मध्यस्तताको भूमिका निर्वाह गर्ने त्रिपक्षीय संलग्नता छ भनेर सुन्नमा आएको छ। यसमा मायावी आकर्षणमा परेकालगायत विदेशप्रतिको मोह, चाहना र लालायित पक्ष अत्यन्त गम्भीर बन्नुपर्छ जस्तो लाग्छ।

आदरणीय दाजु राममणि पोख्रेलमार्फत दुर्गाप्रसाद काफ्लेले लेख्नुभएको ‘अमेरिका यात्रा’ नामक कृति उपहार स्वरूप पाएको थिएँ। त्यो कृति उपहार गर्दा प्रेषित भावअनुसार प्रेमपूर्वक पढेको थिए। कृति निकै सरल र चिन्तकपरक लागेको थियो त्यसबेला।

अहिले आएको प्रकरणले यो कृति निकै सान्दर्भिक छ भन्ने लाग्यो। सगरमाथा वाङ्मय प्रतिष्ठान, कपन, काठमाडौं प्रकाशक रहेको यस कृतिमा जम्मा २१ शीर्षक छन्। डिभीमार्फत अमेरिका गएकी काफ्लेकी छोरी (साहिँली) इन्दिरा र ज्वाइँ दीपकका कारण उनको जोडी अमेरिका पुगेको हुन्छ। त्यहाँ ६ महिना बस्दा सँगालेको अनुभवलाई कृतिमार्फत उनले सार्वजनिक गरे। अमेरिकाको जनजीवन, कानुन, धर्म, संस्कृति, चाडपर्व आदिलाई बुझ्न यो कृति सहायक छँदै छ। त्यसका साथै वैधानिक बाटोबाट नभएर अवैधानिक बाटोबाट अमेरिका प्रवेश गर्नेहरूको जीवन कति जोखिम र कष्टपूर्ण छ भन्ने कुरा कृतिबाट थाहा हुन्छ। ‘अमेरिका प्रवेशको अवैध बाटो’ भन्ने शीर्षकको आलेख पढ्दा निकै समयसम्म विचलित र भावुक भएको थिएँ। यस्तो जोखिम लिएर किन जान्छन् भन्ने लागेको थियो।

अहिले आएको प्रकरणले यो कृति निकै सान्दर्भिक छ भन्ने लाग्यो। सगरमाथा वाङ्मय प्रतिष्ठान, कपन, काठमाडौं प्रकाशक रहेको यस कृतिमा जम्मा २१ शीर्षक छन्।

कुन–कुन मार्गबाट अमेरिका प्रवेश गराइन्छ भन्ने उल्लेख छ। त्यसमा अत्यन्त पीडादायी अभिव्यक्ति छन्। साभार गर्न पनि कष्टकर लाग्यो। उनको भनाइअनुसार जसले पुर्‍यायो उसैले अमेरिकी प्रहरीलाई सूचना दिन्छ। उनी लेख्छन्, ‘अमेरिकी प्रहरीले अवैध रूपमा प्रवेश गर्ने मानिसलाई पक्रेर कारबाही गर्दा रहेछन्। प्रहरी समक्ष उजुरी दिएर यो मानव व्यापारीहरूले गरेको पुण्यको कार्य नै मान्नुपर्छ। किनकि अमेरिकी सरकार समक्ष मानिस पुगेपछि मानवीय सुविधाबाट वञ्चित हुनुपर्दैन। मानिस स्वस्थसँग जीवन बिताउन सक्छ।

यी सबै प्रकारका मानिसलाई दया गर्ने अमेरिकी सरकार हो। यो मानसपटलको सिर्जना नभएर अमेरिकामा भएको यथार्थता हो।’ त्यस्तै एउटा जोडीको कथा छ। विदेशको सपनामा उनीहरूले आफ्नो सबै श्रीसम्पत्ति गुमाए। त्यति भएर पनि अवैधानिक रूपमा बसेका छन्। खानलाउन पुगेको छ तर भित्रँदाका ती कष्टकर यात्रा र आर्थिक क्षति कल्पनाभन्दा बाहिर छ।

अहिले आएको नक्कली भुटानी शरणार्थी प्रकरण छानबिन र अनुसन्धानको क्रममा छ। एउटा निष्कर्ष आउला। यो घटनाले विदेशको चाहना राख्ने जो कोहीले पनि विदेश जाँदा वैधानिक मार्ग छाडेर, मायावी मोह, भम्र र आकर्षणमा नपर्नाका लागि शिक्षा भने दिनेछ।

प्रकाशित: १ जेष्ठ २०८० ००:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App