२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
विचार

कृषि प्रसारमा कृषि पाठशाला

फाइल तस्वीर

भौगोलिक तथा जलवायु विविधतालाई मनन् गर्दै कृषि प्रसार सेवा टेवालाई व्यक्तिगत भेटघाटको परिपाटीअनुसार प्रवाह गर्नु भन्दा छिटोछरितोरूपमा बढी भन्दा बढी कृषकको सहभागिता गराउँदै तिनको क्षमता विकास गरी स्थानीय सोत र साधनको समुचित प्रयोग गर्दै कृषि विकासका खातिर कृषि प्रसारका पद्धतिहरू अवलम्बन हुँदै आयो। खासगरी समूह गठन तथा सञ्चालन निर्देशिका २०५० निर्माण भई कृषि प्रसारमा समूह पद्धति सञ्चालन गरी किसानसम्म सरकारका प्रयासहरू जोडिँदै आयो। 

जिल्ला तहमा रहेका साविक कृषि विकास कार्यालय र कृषि सेवा केन्द्रमार्फत किसानहरूले कृषि प्रसार सेवा प्राप्त गरिरहेका थिए। राज्यको पुनर्संरचनासँगै मुलुकमा तीन तहको सरकारले शासन गर्दै आएको छ। संघीयताको अभ्याससँगै नेपालको संविधानले कृषि तथा पशुपक्षी विकासका लागि नीति निर्माणदेखि कार्यान्वयन तहसम्मका लागि स्थानीय सरकारको एकल अधिकारका रूपमा प्रदान गरेको छ।  

संघीयता अभ्यासको ६ वर्ष बितिसक्दा पनि न किसानलाई सेवा टेवा दिन कुनै प्रणाली स्थापित हुन सक्यो न त कृषि प्राविधिकहरूमा उत्साह र जाँगर नै। यसले कृषि प्रसार सेवा कृषक स्तरमा पुर्याउन रिक्तता सिर्जना भएको छ।

कृषि क्षेत्रलाई एकल अधिकारसहित स्थानीय सरकारलाई जिम्मा लगाउने गरी नीतिगत व्यवस्था त गरियो तर स्थानीय पालिकाअन्तर्गतका कृषि शाखाले किसानलाई प्राविधिक सेवा टेवा पुर्याउने, किसानको खेतबारीमा गएर समस्या समाधान गर्ने अभ्यास व्यवहारमा लागु भएन। सेवा टेवाका लागि कृषि एकाइको स्थानीयकरण हुन सकेन र कृषि प्रसारको साङ्लो टुट्यो। पालिकामा सीमित मात्रामा रहेका कृषि प्राविधिकहरू किसानको खेत, गोठको सारथि भन्दा पनि सिफारिस र कृषि बजेट कार्यान्वयनमा नै व्यस्त रहँदै आएका छन्। 

संघीयता अभ्यासको ६ वर्ष बितिसक्दा पनि न किसानलाई सेवा टेवा दिन कुनै प्रणाली स्थापित हुन सक्यो न त कृषि प्राविधिकहरूमा उत्साह र जाँगर नै। यसले कृषि प्रसार सेवा कृषक स्तरमा पुर्याउन रिक्तता सिर्जना भएको छ। किसानी बलबुताले कृषि धानिएको अवस्था छ। आयात प्रतिस्थिापन एवं उत्पादन दोब्बर कागजमा र नारामा सीमित हुँदै गर्दासमेत वस्तविक समस्यालाई मनन् र समाधानमा राज्यको तर्फबाट ठोस पहलकदमी देखिँदैन।

कृषि ज्ञान केन्द्र र पालिका स्तरमै अल्झिएका कृषि प्रसार सेवालाई भुइँ किसानसम्म पुर्याउन साथै किसान तहमा रहेका परम्परागत ज्ञानको उपयोग गर्दै पर्यावरण मैत्री दिगो कृषि अभ्यासमा किसान स्वयंसेवकको अगुवाइ नयाँ आयामको सुरुवात गरेको छ, राष्ट्रिय कृषक समूह महासंघले। बन्द कोठाबाहिर,खेतीपातीमा संलग्न किसानका व्यावहारिक सिकाइ नै सबै भन्दा महत्वपूर्ण सिकाइ हो। खेतीमा आहालित किसान नै सबै भन्दा विद्वान् गुरु हुन् भन्ने मान्यतामा आधारित किसान पाठशालाको सुरुवात गरिएको छ।

कृषक पाठशाला कृषि प्रसारको स्थापित माध्यम हो। खेतबारीलाई सिक्ने र सिकाउने थलोका रूपमा विकास गरी व्यावहारिक तथा नवीनतम तौरतरिकाबाट एक बाली चक्रको सुरुबाट अन्त्यसम्म सहभागितामूलक तथा समावेशीरूपमा सुक्ष्म अध्ययन हुने गर्छ। “खोजमा आधारित” सिकाइको माध्यमबाट र वयस्क शिक्षा सिद्धान्त पालना गरेर कृषक पाठशाला सञ्चालन हुने गर्दछ। इन्डोनेसियामा सन् १९८९ मा किसानको खेतमा आयोजना भई एकीकृत रोग कीरा व्यवस्थापनको तालिम सञ्चालन गरेर सुरु भएको कृषक पाठशाला नेपालमा सन् १९९७ मा धानमा लाग्ने खैरो फड्के कीरा व्यवस्थापनबारे सिकाउन सञ्चालन भएको थियो।  

किसानको अगुवाइ तथा सहजकर्ताको निगरानीमा उनीहरूकै खेतबारीमा एकीकृत रोग कीरा व्यवस्थापनबारे तालिमबाट सुरुवात भएको कृषक पाठशाला अहिले जलवायु, पोषण, स्वास्थ्य, लैङ्गिकता, महिला सशक्तीकरण, प्रकोप जोखिम न्यूनीकरण, उद्यमशीलता जस्ता कृषि, वातावरण, खाद्य, सामाजिक मूल्य मान्यता तथा आर्थिक विकासका विभिन्न पक्षसँग सम्बन्धित विषयमा केन्द्रित भई सञ्चालन गर्ने गरिएको छ।

कृषि अनुसन्धान केन्द्र तथा कृषि कार्यालयहरूमा किसानका लागि उपयुक्त भनी विकसित वा भित्रिएका विधि प्रविधि साँच्चै किसानको रुचि तथा आवश्यकताअनुरूप भए÷नभएको परीक्षण गर्न, नतिजाअनुरूप आफ्नो भूगोल, समाजिक तथा आर्थिक अवस्थाअनुसार उपयुक्त र दिगो प्रविधि छनोट गर्न र विस्तार गर्न पाठशाला प्रयोग हुन थालेको छ। कृषक पाठशाला एक विधि मात्र नभइ सिद्धान्तका रूपमा परिष्कृत हुँदै गइरहेको छ।  

कृषक पाठशालाले कृषि वा कुनै विषयबारे जानकारी बटुल्ने मात्र भन्दा पनि किसानको सिप र क्षमता विकास गर्नुपर्छ भन्ने मूल्य आत्मसात गर्छ। किसानलाई ‘कसरी’ पछाडि लुकेको ‘किन’ को जवाफ खोज्न पाठशालाले अभिप्रेरित गर्दैछ। कृषि प्रणाली र अन्य विषयवस्तुको आधारभूत विज्ञान बुझेर किसानलाई आफै नवप्रवर्तन गर्न सक्षम बनाउँछ। सिरहा र सप्तरी जिल्लामा राष्ट्रिय कृषक समूह महासंघ नेपालले केएर नेपालसँगको साझेदारी तथा स्थानीय सरकारसँगको सहकार्यमा कृषक पाठशाला तीन सय समूहमा सुरु गरेको छ। समूहहरूमा कृषक पाठशाला सञ्चालन गर्ने सहजकर्ता र अगुवाको भूमिकामा समूहबाट छनोट भएका किसान स्वयंसेवकले गर्छन्। कृषक पाठशालाले कृषक स्वयंसेवकको समस्या पहिचान र समाधानको खोज गर्न सक्ने नेतृत्व क्षमता र सिप विकास गरी स्थानीय सरकार तथा किसानबीचको सेतुको काम गर्न सक्ने जनशक्ति विकास गर्ने अवधारणा लिइ गतिविधि सञ्चालन गरिरहेको छ।  

 माटोको प्राकृतिक स्वरूप जोगाइराख्न साथै माटोको भौतिक, रासायनिक र जैविक अवस्थामा सुधार ल्याइ माटोको परिपुरक हुने भएकाले माटो र वातावरणको गुणस्तरमा सुधार ल्याउन कोशेबाली लगाउन किसानलाई प्रेरित गरिएको छ। बढी स्याहार नचाहिने, कम सिँचाइमा पनि मनग्य फल्ने साथै तराईको हकमा खेत–बारी खाली हुने समयमा अतिरिक्त उत्पादन लिन सकिने भएकाले कोशेबालीअन्तर्गत मुग खेती प्रवद्र्धन गरिएको छ।  

यस पाठशालाले समूहमा कृषि प्रविधिसँगै जलवायु परिवर्तन, जलवायुमैत्री कृषि अभ्यास, लैङ्गिक समानता तथा महिला सशक्तीकरणको विषयहरूमा काम गरिरहेको छ। समावेशिता तथा महिला सशक्तीकरणका कृषक स्वयंसेवामा महिला छनोटलाई प्राथमिकता दिइएको छ। कृषक पाठशालाको दिगोपनाका लागि समूहले अपनाइ स्वामित्व लिनुपर्ने हुँदा समूहको संस्थागत विकासका लागि आर्थिक सबलीकरण, वित्तीय पहुँच र सुशासन कायम गर्ने हेतुले किसानलाई समूहमा गई छलफलको माध्यमबाट समूह र जलवायु अनुकूलन कार्ययोजना निर्माण अनि परिचालनको काम भइरहेको छ। साथै लैङ्गिक समानता तथा समावेशीकरणको विषयमा छलफल चलाई समूहलाई नै समाजिक मुद्दामा अघि बढाउन उत्प्रेरित गरिएको छ।  

कृषक पाठशालाको पहिलो चरणमा गहुँको सहभागितामूलक जात छनोट र मुंग खेती प्रवद्र्धनको काम सुचारु अवस्थामा छ। वर्षे बालीमा धानको सहभागितामूलक जात छनोट र युरियाको उचित प्रयोगका लागि लिफ कलर चार्टको प्रयोग बढाउन पाठशाला सञ्चालन गरिनेछ। सँगै किसानलाई बिउ उपचार तथा उमारशक्ति परीक्षणको सरलीकृत विधि सिकाइ अभ्यास लागु गर्न लगाइएको छ। पाठशाला समूहको निर्णय तथा कृषक स्वयंसेवकको अगुवाइमा स्थान छनोट गर्ने र प्लट निर्माण गरी सामूहिकरूपमा व्यवस्थापन गरी सञ्चालन गरिन्छ। गहुँको सहभागितामूलक जात छनोटका लागि छ नयाँ तथा एक स्थानिय गरी सात जात खनजोत तथा बिनाखनजोत विधिबाट लगाई पाठशाला सञ्चालन गरिएको थियो।  

बिनाखनजोत विधि जलवायुमैत्री र उत्पादन लगानी कम गर्न सहयोगी तरिका भएकाले छनोट गरी किसानलाई क्षमता विकास तालिमपश्चात पाठशाला सुरुवात गरिएको थियो। खनजोत नगरी खेती गर्न सकिँदैन भन्ने विश्वास रहेकामा पाठशालामा बिनाखनजोत प्लटमा गहुँ छरेर बाली भित्राउने अवस्थासम्म आइपुग्दा किसानको सोचमा फरकपना आएको छ। समूहले सहभागितामूलक मूल्यांकन गर्ने र उत्पादन साथै उत्पादनसँग जोडिएका विशेषताहरूको रेकर्ड राख्ने क्रम जारी रहेको छ। माटोको प्राकृतिक स्वरूप जोगाइराख्न साथै माटोको भौतिक, रासायनिक र जैविक अवस्थामा सुधार ल्याइ माटोको परिपुरक हुने भएकाले माटो र वातावरणको गुणस्तरमा सुधार ल्याउन कोशेबाली लगाउन किसानलाई प्रेरित गरिएको छ। बढी स्याहार नचाहिने, कम सिँचाइमा पनि मनग्य फल्ने साथै तराईको हकमा खेत–बारी खाली हुने समयमा अतिरिक्त उत्पादन लिन सकिने भएकाले कोशेबालीअन्तर्गत मुग खेती प्रवद्र्धन गरिएको छ।  

कृषक स्वयंसेवकको परिचालनलाई नियमित गरी कृषक पाठशालालाई कृषि प्रसारको माध्यम बनाउँदा किसान र राज्यबीच टुटेको कृषि प्रसारको साङ्लो जोडिन्छ। कृषि नवीनता ल्याउन साथै स्थानीय आवश्यकता, क्षमता र औचित्यतामा आधारित उपयुक्त प्रविधि विकास गर्न सकिन्छ। पालिकाभित्र कृषि सिकाइ केन्द्र विकास गर्न सकिने हुँदा सहभागितामूलक विधिबाट ज्ञानको समसिर्जना, आर्थिक रूपान्तरणको अभ्यास तथा परम्परागत ज्ञान प्रवद्र्धनको संगम जस्ता फाइदा स्थानीय पालिकाले लिन सक्छ। यसर्थ कृषक पाठशालालाई स्थानीय सरकारको नीति तथा कार्यक्रमले सम्बोधन गर्नुपर्छ। किसान स्वयंसेवक परिचालनको अभ्यासलाई स्थानीय सरकारको नीति तथा कार्यक्रमले सम्बोधन गर्नुपर्छ। दिगो कृषिका अभ्यासहरू कृषक पाठशालामार्फत सञ्चालन गर्दै कृषक समूह र अगुवा किसानहरूलाई दक्ष बनाइ कृषिमा आत्मनिर्भरता बनाउनका लागि पालिकाहरूले भूमिका निर्वाह गर्नुपर्छ। कृषि प्रविधि र सिकाइ आदानप्रदान गर्ने कृषक चौतारीको रूपमा कृषक पाठशालालाई विकास गर्न सकिनेछ।  

कृषक पाठशाला कृषि क्षेत्रमा मात्र सीमित छैन। यसको दायरा फराकिलो भई बहुक्षेत्रले अपनाएको विधिमा रूपान्तरित हुँदै गएको छ। किसानले आफ्नो समस्या पहिचान गर्न, कारण पहिल्याउन र समाधान खोज्न सक्ने सिप विकास गर्ने, हक अधिकारका लागि आवाज उठाउने क्षमता वृद्धि गर्ने, सामाजिक विकास र एकता दरिलो बनाउने थलो भएको छ। नेपालमा यसको प्रयोग कृषि क्षेत्रमा पनि सीमित विषयमा मात्र सुरुवात भएको छ। किसानका लागि मात्र नभै समस्त समुदाय रूपान्तरणका लागि महत्वपूर्ण विषयहरू पाठशालामार्फत अभ्यास गराउन सके देश आत्मनिर्भरताको बाटोमा लम्कनेमा दुई मत छैन।

(लेखकहरू किसान पाठशाला अभ्यास सहजीकरणमा संलग्न छन् ।)

प्रकाशित: १३ वैशाख २०८० २३:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App