coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

जनतालाई बनाए देश बन्छ !

घुमिफिरी फेरि एक पटक नेपाली नागरिकहरुले संवैधानिक नागरिक परिचायक मत दिने अवसर प्राप्त गरिसकेका छन्। नेपाली नागरिकताको प्रमाण पाइसकेका सबै मतदाता अब संवैधनिक नेपाली ठहरिएका छन् कानुनतः। नेपाली नागरिकहरुका निर्वाचित जनप्रतिनिधिहरुद्वारा संरचना भई राष्ट्रपतिद्वारा सहीछाप लगाइएका संसदीय विधेयकको अन्तिम संज्ञा कानून हो । यस कानुनी प्रावधानपूर्ण अधिकारलाई अख्तियार गर्न लगाउन नेपाल सरकारले मतदान प्रमाणपत्र पनि प्रदान गरिसकेको छ सबै जिल्लामा ।

                संविधानतः नेपाली नागरिक सार्वभौम छन् । नेपालीहरुले आफूलाई सार्वभौम साबित गर्ने एक मात्र सार्वभौम अवसर पनि निर्वाचनको बेला मतदान गर्न पाउनु रहेको छ । दलीय उम्मेदवार वा स्वतन्त्र बनाम् दलगत आस्था बोकेका उम्मेदवारहरुले नेपाली मतदाताहरुलाई सार्वभौम ठानी पछ्याउने आस्थाको बेला पनि यही हो । यही नै बेला हो कि नेपाली मतदाताहरुले प्रजातान्त्रिक पात्रका मन, मुख र आचरणको मूल्याङ्कन गर्न पाउँछन् ।

                लोकतन्त्र एक विशुद्ध आचरण पद्धति सहितको शासन व्यवस्था हो । आचरण पद्धतिले कस्तै बाँकटे अवस्था झेल्नु परे पनि लोकतन्त्र प्रजातन्त्रकै नाम संज्ञामा अडिग रहेको पनि छ । जनताले जनताकै हितकर शासन सञ्चालन गर्ने यथायोग्य भएकाले लोकतन्त्र लोककै तन्त्र मान्नु पर्दछ । अनि प्रजाको शासन यन्त्रलाई यथायोग्य सन्तुलनमा राखी सञ्चालित राख्न राष्ट्र प्रमुख भनौं अथवा राष्ट्रपतिको पनि अहम् दायित्व रहेको हुन्छ । यसलाई संसद्का निर्णयमुताबिक पालन गरिन्छ ।

                चुनावको बेला छ । चुनावकै सन्दर्भ छ । चुनाव दलगत स्वार्थ भन्दा पर राखेर सम्पन्न हुनुपर्छ । यो आम नेपालीको चाहना हो । यो अन्तर्राष्ट्रिय अपेक्षा पनि हो । यो राष्ट्रिय र अन्तर्राष्ट्रिय चासोको सन्दर्भलाई लोकतन्त्र सापेक्ष बनाउन जनता, दलहरु, दलीय स्वार्थ र आचरणहरु सापेक्ष रुपमा दलगत स्वार्थ निरपेक्ष बन्न सक्नु वर्तमानको खाँचो हो ।

                दलीय स्वार्थ निरपेक्षता लोकतन्त्रको सबैभन्दा गरिमामय आचरणसंहिता बन्दछ आम निर्वाचनको सन्दर्भमा । दलीय स्वार्थ सापेक्षतामा आचरण संहिता स्वार्थ लिप्साका आवरण बन्न सक्छ । दलगत महŒवाकांक्षाबाटै आचरणसंहिता कागजी त्यान्द्रोमा परिणत हुन सक्छ । आचरण संहिताहरु निस्क्रिय बन्न पुगे निर्वचन धाँधलीपूर्ण बन्न जान्छ । धाँधलीको बीउ अनाचार हो, दुराचार हो । जहाँ आचार छ, त्यहाँ धाँधली उत्पन्न हुन सक्दैन ।

                चुनावलाई निष्पक्ष बनाउनुपर्छ सबैले भन्छन् तर यस भनाइलाई हात्तीको दाँत नबनाउने कसरी ? यो वर्तमानको सरोकार रहेको छ । यो वर्तमान शिशु गणतान्त्रिक लोकतन्त्रले भुक्तमान गर्नुपरेको यथार्थ बनेको छ । आम नेपाली त्यसका भुक्तभोगी छन् । एक छाक पीठो सहज सुलभ हुनुपर्ने ठाउँमा अर्कै दुर्लभ ऐसी पदार्थ सस्तो सुलभ बन्छन् । लोकतन्त्रमा लोककै हित निमित्त लोककै प्रतिनिधि सरकार यस्ता नीति र आचरण राख्छन् भने पेटमाथि ढुंगा हाली बाँच्नुपर्ने निमुखा नेपालीले क्राइस्ट र मुहम्मदको आश्रय नलिई कसको लेओस् ? दलगत नेताहरुले चुनावी बोली चुनाव पछिको रित्तो झोली र तातो गोलीमा परिणति नदिए हुन्थ्यो ! यो सम्भाव्य असम्भव र असम्भाव्य सम्भव दुवै एक साथ बनिरहेको छ नेपाली गणतान्त्रिक लोकतन्त्रमा !

                देश डामाडोल स्थितिमा जकडिन गणतन्त्रका अग्रदूत नेताहरुको नासमझदारीको नाङ्लो ठोकाइले चरम चुली उक्लेको छ । देश नेपालीकै हो । देशको सेवक नेपाली नै हुन् र हुनुपर्छ । कसैको बुइ चढेर वा कसैले बुई चढाएर देश सेवा हुन्न । यो राजनैतिक सुझबुझ र समझदारीको मामलालाई राष्ट्र निर्माणका सीप र शैलीसित गाँसिनु अपरिहार्य छ । राष्ट्र निर्माण कार्य विरोधको राजनीतिभन्दा अलग्ग अस्तित्वधारी सम्पदा हो, वर्चस्व हो । चुनावी आचरण संहिताका मार्मिक पक्षका चरम चुली यिनै तिनै आस्था हुन् जस्तो लाग्छ ।

                विरोधै विरोधको राजनैतिक आग्रहले ग्रस्त नेपाली राजनीति अझै पनि विरोधग्र्रस्त र विरोधाभासपूर्ण अन्योलको ज्ञापन बनेको छ । जनताले विरोधग्रस्त विरोधाभाषपूर्ण अन्योल अन्यमनष्कता त्यागी संयुक्त प्रयासमा लाग्न चुनावी आदेश दिए । त्यसको राम्रो सुझबुझ राखिएन । बुझ पचाइयो । जन आदेशको पालन जनताको पनि अपेक्षा थियो । जनताले जस्तोलाई त्यस्तै ढिँडोलाई निस्तै निलिदिने त होइन ? प्रश्न गर्न मन लाग्छ यो चुनावी पूर्व सन्ध्यामा !

                टंगङ्ग्र फुटि नै नहाले पनि चरक्क चर्केका घ्याम्पोझैं चर्किएका घ्याम्पे दलहरु र प्राकप्रुक्कै फुटी तीन तिकट महाविकट बनेका यावत् दलहरु अहिले आत्मसम्मानहीन मर्यादा जोगाउनैका लागि कङ्कण लुब्ध पान्थ कथा हाल्दै छन् । यसबेला पनि बहुसंख्यक नेपाली जनता चाहे मतदाता होउन्, चाहे भविष्यका मतदाता सही नेपाली प्रजातन्त्र मिलिजुली नेपाली प्रजातान्त्रिक शासन व्यवस्थाकै पक्षपाती रहेको गुनगुनाहट गुञ्जिरहेको छ । आचरण शुद्धि र संहिताका दुहाइ दिने अग्रज प्रजातन्त्रका नाइकेहरु बुढोबाघका आचरण नगरुन् !

                प्रजातन्त्र नरहे देश रहन्न भन्नु सहज छ । ‘धाइम्हेस्या अःपू धरहरा तःपू’ वा ‘भन्न सजिलो गर्न गाह्रो’ स्रोताहरु पनि तीन छक परी सुन्छन् । प्रश्न छ, प्रजातन्त्र कसले बचाउने ? आचारलाई अचार बनाउनेले कि भोजनलाई रुचिकर बनाउन अचार बनाइएका निमुखा जनताले ? खोई र जनताले नेताहरुबाट लोकतन्त्र बचाउने आचरणका पदचिह्नपछि लाग्न सक्ने पाठ पढ्न पाएका ? खोई त तिनीहरुले मान्छेको नाताले मान्छे भएर जीवन निर्वाह गर्ने अस्मिता जगेर्ना गर्न पाएका ? यिनै मर्माहट दुर्भग्य भावि चुनावको फल बन्न पुगोस् ! नेपाली जनताका लोकतान्त्रिक आकांक्षा हुन् झैं लाग्छ ।

                केवल नेपाली नागरिक नभनौं बरु अन्तर्राष्ट्रिय दाता संस्थाहरु पनि अनाचार र दुराचार देखि पोलिएर अ‍ै्यया–अ‍ै्यया, आत्था–आत्था गर्न थालेको राष्ट्रका चौथो अङ्गले छ्यापछ्याप्ती प्रकाशमा ल्याएकै तथ्य हो । यसो हुनुको मूल कारण लोकतन्त्रको दुहाइमा रसबरी चमचम मीठा भोजन हजम हुनु नै त थियो । दशकौं यात्रा राज्य सञ्चालन पद्धति र सीपभन्दा अलग कुरो हुनु यसको महसुसी हुनु रहेछ भन्ने कुरो वर्तमानले बुझाइरहेको तथ्य हुन आएको छ । यसलाई राज्य सञ्चालनका बागडोर हत्याउने सबै प्रकारका चेष्टाहरुले एकपटक सोच्नुपर्ने सन्दर्भ हुन आएका छन् ।

                देश अनुभवले बन्छ र चल्छ । अनुभव शून्य मनस्थिति नाच्न नजान्नेले आँगनै टेढो देख्नु जतिकै सिवाय अरु के हुन सक्ला ? आफू असक्षम भएपछि अरुलाई आलोचना गर्ने बानी हुर्कन्छ । वर्तमान त सिस्नोको घारीझैं छ । सिस्नोघारीभित्र प्रवेश गर्न पर्ने नेपालीका जिउ कति मात्र पोलिएका हुन सक्छन् ? अचेलको चिच्याहट यिनै वेदनाका विह्वल आर्तनाद सिवाय अरु के हुन् भनौं ? सबै आत्मा अ‍ै्यया, आत्थाका चित्कार जीवी बनेका छन् ।

                लोकतन्त्र र राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई एक सिक्काका दुई अनुहार देख्ने आँखाहरुले आफ्नै आँखालाई आँखे–खोपिल्टाबाट एक पटक पर्लक्क अन्तरमुखी बनाउने धृष्टता गर्नुपर्ने अवस्था छ अचेल। तन्त्र सहज छैन । लोकतन्त्र नाराबाजी मात्र रहनेछ । लोकतन्त्र विरोध मात्र पनि रहनेछ । लोकतन्त्र सिकलाई पनि रहेछ । लोकतन्त्र प्रवृत्ति पनि रहेछ । लोकतन्त्र आचरण पनि रहेछ । अनि लोकतन्त्र विवेक बोध पनि रहेछ । विवेकहीन उफ्राइमा मात्र कहाँ पो लोकतन्त्र फस्टाउन सकेको पाइन्छ ?

                एकपटक जोड जोडले भन्न मन लागिरहेछ, ‘नेता हो ! लोकलाई बनाऊ ! लोक आफैँले देश बनाउने छ।’ यो उक्ति हो। उक्ति मेरो होइन । जुलियस नाइरेरेका हुन् – उक्ति वचन यो । हाम्रा जनतालाई अगुवाइ गर्न संविधान बनाउने विधायक वर्गले छुन सक्लान् जुन चासोका मर्माहत सरोकारहरुलाई!

प्रकाशित: १५ मंसिर २०७३ ०३:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App