१४ फाल्गुन २०८० सोमबार
विचार

पृथ्वी र ‘विशाल नेपाल’

‘विशाल-नेपाल’-सम्राज्यवादी शक्तिसँग भिडेर स्थापित भएको राष्ट्र हो। ‘मेरा साना दुःखले अर्ज्याको मुलुक होइन, सबै जातको फूलबारी हो, सबैलाई चेतना भया’ भन्ने पृथ्वीनारायण शाहले दिव्य उपदेशबाट सबैलाई सन्देश दिएका थिए। भारतमा अंग्रेजको दबदबा बढ्न लागेपछि हिमवत्खण्ड नेपालका ५४ भन्दा स–साना राज्यहरू पनि गम्भीर संकटमा पर्न लागेका थिए। यस अवस्थामा यहाँका ससाना हिन्दु राज्यहरूको एकीकरण गरेर गोर्खाका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा विशाल नेपालको सिर्जना हुन सकेको हो। पृथ्वीनारायण शाहले विक्रम संवत् १८०० मा वनारस भ्रमण गरेका बेला अंगे्रजले भारतीय परम्परा र संस्कृति ध्वस्त पार्दै भारतीय जनतालाई कुट्ने मार्ने र जहीँतहीं लुटपिट मच्चाउने गरेको अनेकौँ प्रकारले सताउने काम गरेको कैयौँ जानकारी हासिल गर्ने मौका मिल्न गएको थियो।

यो देखेर नेपाललाई फिरङ्गीबाट खतरा देखेर परेको बेलामा आक्रमण गर्न पृथ्वीनारायण शाहले वनारसको भ्रमण गरेको बेलामा नै हातहतियार बनाउने कारखाना निरीक्षण गरी हतियार मर्मत गर्ने कालीगढ मुसलमानहरू र केही हातहतियार समेत ल्याएका थिए। पृथ्वीनारायण शाहबाट एकीकरणका बेला मुसलमान समुदायबाट पनि सहयोग जुटाएकाले नेपाली मुसलमान राष्ट्रियताका पक्षधर छन्। यसरी दाम, दाम, दण्ड, भेदको नीति लिएर त्यसबेला राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेर यस क्षेत्रको राष्ट्रियता, स्वतन्त्रता र समानताको लागि मार्गदर्शन गरेका थिए।

पृथ्वीनारायण शाहको नेतृत्वमा कीर्तिपुर विजय गरेपछि जयप्रकाश मल्लको सहयोगार्थ कर्नेल किन्लोकको नेतृत्वमा आएको २४०० सय अंग्रेजी फौजलाई सिन्धुलीबाटै डाँडो कटाएको थियो। अंग्रेजी फौज आक्रमण गर्न आउन लागेको कुरा सिन्धुलीबाट रामचन्द्र प्रसाईले पृथ्वीनारायण शाहलाई पत्र लेखेर पठाएका थिए। त्यही पत्रको आधारमा रामचन्द्रलाई उतिउत्तर पठाइ आफ्ना सेनापति रामकृष्ण कुँवर र अन्य फौज पठाइएको थियो। सिन्धुलीबाट अंग्रेजी फौज उकालो लाग्न थालेपछि जयनारायण मगर लगायत गोर्खाली फोजले अंग्रजी फौज लखेटेका थिए, जसमा केही मारिए, केही औलोको ज्वरोबाट मरे, अरू केही भागेका थिए। त्यसपछि काडमाडौँमा आक्रमण गर्न मिरकासिमको नेतृत्वमा आइलागेका मुस्लिम फौज र अंग्रेजी फौजको षडयन्त्रलाई मकवानपुरगढीबाटै लखेट्ने काम भयो।  

यता जयप्रकाश मल्लको समयमा कान्तिपुरमा अंग्रेजको दूत भएर इसाई धर्मको प्रचार गर्ने पादरीहरू ‘व्यापारको साथ बाइबल र बाइबलको साथ तरबार’ भन्ने उक्ति पृथ्वीनारायण शाहलाई जानकारी भइसकेको थियो। यस क्षेत्रमा इसाईकरण गर्न कटिबद्ध यस्ता परचक्रीहरूलाई थुम्थुम्याएर राखिछाड्नु भन्दा, उपत्यका विजय गरेपछि, क्रिस्चियन धर्म प्रचारक पादरीलाई यहाँबाट धपाएर चर्चलाई अर्कै काममा प्रयोगमा ल्याएका हुनाले केपुचिन पादरी आक्रोशित हुँदै पृथ्वीनारायण शाहलाई बदनाम गर्ने किसिमका तथ्य बेलायतका रमन्ते कर्कपेट्रिकलाई लेख्न लगाएका थिए। पृथ्वीनारायण शाह क्रूर थिएनन् र आफ्नो कब्जामा आइसकेका राज्यका जनताको संरक्षण गर्नु राजाको कर्तव्य हो भन्ने कुरा उनलाई राम्ररी थाहा थियो।

विशाल नेपालको एकीकरणपछि नेपालको कसरी संरक्षण गर्नुपर्छ भन्नेमा पृथ्वीनारायण शाह अत्यन्त सचेत थिए। उनले उत्तरमा ठूलो राष्ट्र चीन र दक्षिणमा ठूलो राष्ट्र भारतको बीचमा कसरी सुरक्षित भएर कस्तो कूटनीति अवलम्बन गर्नुपर्छ भन्ने उसैबेला राम्ररी बुझेका थिए। ‘चीनको बादशाहसँग ठूलो घाहा (राम्रो संबन्ध) राख्नु, दषिनको समुन्द्रको वादशाहसित घाहा त राख्नु तर त्यो महाचतुर छ। देशका महाजनहरू हम्रा मुलुकमा आया भन्या दुनियाँ कंगाल गरी छाड्छन्’ भन्ने कुरा उनले आफ्ना उपदेशमा उल्लेख गरेका थिए।

अब पनि पृथ्वीनारायण शाहका विचारहरूलाई राष्ट्रिय मूलनीतिका रूपमा नेतृत्वबाट अपनाउन पहल गर्न सकिन्छ। पृथ्वीनारायण शाहले एकीकरणपछि सबै राज्यका जातजातिलाई एक नेपाली जातिमा समाहित गर्न सकेका र त्यो क्षेत्रका ससाना राज्यका रीतिथिति, संस्कृति, धर्म, भाषा र भेषभूषालाई नेपालकै साझा सम्पत्तिका रूपमा ग्रहण गराइयो। अनेकौँ जातीय भाषाहरूको बीचमा नेपाली भाषा व्यापक भइसकेकाले सबै नेपालीको साझा भाषाका रूपमा राज्यको सरकारी भाषाका रूपमा स्वतः रूपान्तर हुँदा नेपालको राष्ट्र्यि एकतामा थप बल पुग्न गयो।

एकीकृत नेपालको पूर्व र पश्चिमका सबै साना राज्यहरू मिथिला प्रदेश, विराट प्रदेशमा हिन्दुपति सेनवंशी राज्य हिन्दु र बौद्ध धर्मका अनुयायी भएकाले एकीकरणमा थप सहयोग पुग्न गएको थियो। भारतमा हिन्दु धर्म र संस्कृतिको नास गराएर हरक्षेत्रमा इसाई धर्म लाद्ने र फिरङ्गीहरूको अत्याचार फैलिन लागेकामा यहाँका सबै जनता पृथ्वीनारायण शाह जस्ता कर्मठ संरक्षक पाउँदा अत्यन्तै आशावादी हुन पुगेका थिए। नेपालको राष्ट्रिय एकीकरणको अभियानमा काठमाडौँ उपत्यका विजयपछि शाक्य वंशकी कुमारीको हातको टीका लगाएर नेवार, मगर, गुरुङ, खस, ठकुरी, ब्राह्मणलगायत कामी, दमाइँ, सार्की आदि जातिहरूबाट सहयोग पुग्न गएकाले सम्पूर्ण जातजातिले आत्मसात गरेर सहयोग गर्न पुगेका थिए।

यस क्षेत्रका सबै जातजातिको नेपाल एक साझा भूमि हो। स्मरण रहोस्-हिमवत्खण्ड नेपालको एकीकरण भएको बेला अहिलेको विश्वका प्रभावशाली राष्ट्रहरू टुक्रा टुक्रामा विभाजित थिए। नेपालको एकीकरण भएको १०० वर्षपछाडि टुक्रा टुक्रामा विभाजित जर्मनीलाई विस्मार्कले एकीकरण गरे। त्यस्तै १०० वर्षपछाडि इटालीको एकीकरण भएको र १०० वर्षपछाडि अन्धकारमा गुज्रिरहेको जापानमा मेजी राजाको नेतृत्वमा आधुनिक जापान बन्यो। नेपालको एकीकरण हुनुभन्दा २०–२५ वर्षसम्म पनि अमेरिका बेलायतको उपनिवेश थियोे। अमेरिका, जर्मन, इटाली, जापानलगायत यस्ता कैयौँ देश अन्धकारमा रहेका अवस्थामा पनि अंग्रेजले यस क्षेत्रलाई आफ्नो कब्जामा राख्न असफल भएको थियो।

अंग्रेजले भारतमा हिन्दुत्वको अस्तित्वलाई चकनाचुर पारेर साम्राज्य स्थापना गर्‍यो। तर यस क्षेत्रमा चन्द्र-सूर्य अंकित झण्डाको प्रतापले हिमवत्खण्ड नेपालको मौलिकता जीवन्त रहिरह्यो। यसरी हिमवत्खण्डका ससाना हिन्दु राज्यहरूको एकीकरण गर्नमा पृथ्वीनारायण शाह र उनीपछि उनका कान्छा छोरा बहादुर शाहको नेतृत्वमा पूर्वमा टिष्टा र पश्चिममा सिमलासम्मका ५४ भन्दा बढी हिन्दु राज्यहरू एकीकरण गरेर त्योबेलादेखि हिन्दु अधिराज्यको रूपमा नेपाल स्थापित हुन सकेको हो।

 एकीकृत नेपालको पूर्व र पश्चिमका सबै साना राज्यहरू मिथिला प्रदेश, विराट प्रदेशमा हिन्दुपति सेनवंशी राज्य हिन्दु र बौद्ध धर्मका अनुयायी भएकाले एकीकरणमा सहयोग पुग्न गएको थियो। पृथ्वीनारायण शाहमा प्रजाको इच्छाअनुसार राज्य चल्नुपर्छ भन्ने धारणा थियो। उसबेलामा पृथ्वीनारायण शाहले बिराज बखेतीलाई मूलकाजी अर्थात प्रधानमन्त्री बनाउन इच्छा गरेका थिए। तर जनताको इच्छा कालु पाण्डेप्रति रहेकाले मूलकाजीमा उनले कालु पाण्डेलाई नै नियुक्त गरेका थिए।

पृथ्वीनारायण शाहको व्यापार नीति भोटबाट सुन खरिद गर्ने र उक्त सुन भारतमा लगेर बिक्री गर्ने र त्यहीबाट सस्तोमा चाँदी खरिद गरी उक्त चाँदीको टक बनाइ तिब्बतमा पठाउने नीति ल्याएका थिए। चाँदीका नेपाली टक तिब्बतमा प्रचलित थियो। महेन्द्र मल्लका पालादेखि चलेको चाँदीका मोहर केहीपछिदेखि खोटा मोहर बन्न लागेकोमा टक्सार पनि चोखो चलाउनु भन्दै शुद्ध मोहर मात्र तिब्बतमा पठाउन आदेश गरेका थिए। पृथ्वीनारायण शाहले उद्योग-धन्दाको विकास र देशलाई स्वावलम्वी बनाउनका लागि भाइ-भारदारहरूलाई निर्देशन गरेका थिए-खानी भएका ठाउँमा गाउँ भए पनि गाउँ अरू जग्गामा सारीकन पनि खानी चलाउनु। खेतीयोग्य जग्गामा घर भए पनि घर अरू जग्गामा सारी कुुलो काटी खेत बनाई आवाद गर्नु।’

नाचगानबारे पृथ्वीनारायण शाहले दिव्य उपदेशमा उल्लेख गरेका छन्-‘राग–तानमा बढो ठूलो मोह हुन्छ र दौलत पनि रित्तिन्छ, देशको भेद पनि तिनै नाँचगाँन गर्ने मुग्लानीयालेले लैजान्छन् र हरीपले दगा गर्छ। आफ्नो शोख-सयललाई शास्त्र बमोजिमको तीन सहर नेपालका नेवारहरूका नाँच भिकाई हेरे पनि हुन्छ। यिनमा दिएको पनि आफ्नै देशका रहन्छ। यसो भए आफ्नो देश सुरक्षित हुन्छ।’

अतः नेपालको राष्ट्रियता तथा यहाँका राष्ट्रियताका आधारभूत मान्यताहरूलाई निरन्तरता दिलाएर नेपालको अस्मिता, एकता, सार्वभौमसत्ता अटल राख्न राष्ट्र निर्माता पृथ्वीनारायण शाहका दिव्य उपदेशहरू मनन् गरौँ। नेपाल र नेपालीका कर्णधार पृथ्वीनारायण शाहको योगदानलाई हामी सम्पूर्ण नेपालीले आत्मसात गरौँ। राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०१औँ जन्मदिनको अवसरमा हामी नेपाली जो जहाँ छौँ श्रद्धापूर्वक श्रद्धाञ्जलि अर्पण गरौँ। 

प्रकाशित: २७ पुस २०७९ ००:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App