७ वैशाख २०८१ शुक्रबार
समाज

खाँडोमा बाढी पूर्वसूचना प्रणाली

सप्तरीको रूपनीस्थित खाँडो पुलमा बाढी पूर्वसूचना प्रणाली जडान गरिँदै। तस्बिर ः नागरिक

राजविराज - भारतीय पक्षको उदासिनता र नेपाली पक्षको मौनताका कारण पछिल्लो आठ वर्षदेखि अन्तर्राष्ट्रिय सीमाक्षेत्र दसगजामा थुनिएर रहेको खाँडो नदीको बहाव यस वर्ष पनि खोल्न सकिएको छैन। वर्षाअगावै बहाव खोलिने सम्भावना पनि सकिएको छ। यस वर्ष पनि बहाव नखोलिने भएपछि तिलाठीलगायत सप्तरीको दक्षिणी भेगका गाउँलेमा डुबानको त्रास र चिन्ता बढेको छ।

यद्यपि स्थानीय तह र विपद्को क्षेत्रमा काम गर्ने केही दातृनिकायको सहयोगमा बाढीको जोखिम न्यूनीकरणका लागि भने वर्षाअगावै पूर्वतयारी भने थालिएको छ। जोखिम न्यूनीकरणको उद्देश्यका साथ नदीमा बाढी पूर्वसूचना प्रणाली जडान गरिनुका साथै पूर्वतयारीका अन्य कार्यहरू पनि तदारुकताका साथ थालिएको तिलाठी कोइलाडी गाउँपालिकाका विपद् व्यवस्थापनसम्बन्धी कार्यक्रम संयोजक राजेश झा बताउँछन्। स्थानीय तहलगायत सरोकारवालाहरूको सहकार्यमा थालिएको यस्ता कार्यले बाढीको बेला थोरै भए पनि राहत अनुभव हुने स्थानीयको विश्वास छ। तिलाठी कोइलाडी बाढीप्रकोपबाट अत्यधिक प्रभावित गाउँपालिका हो। २०७४ सालको साउन महिनामा आएको बाढीले यस गाउँपालिकाको ८५ प्रतिशत भूभाग जलमग्न भएको थियो। बाढीकै कारण एक बालकको मृत्यु भएको थियो। बाढीबाट दुई हजार दुई सय ७१ घर पूर्णरूपमा क्षति भएको थियो भने साढे ६ हजारभन्दा बढी घरमा क्षति पुगेको थियो।

खाँडो खोलाको बाढीले तिलाठी कोइलाडी गाउँपालिकाको सम्पूर्ण भूभाग मात्र होइन, रूपनी गाउँपालिकाको दुईवटा वडा र राजविराज नगरपालिकाको चारवटा वडाहरू बर्सेनि प्रभावित हुँदै आएका छन्। यता तिलाठी कोइलाडी गाउँपालिकाका बासिन्दालाई खाँडो खोलाले सबैभन्दा बढी दुःख दिने गरेको छ भने जीता, महुली र कोसी नदीबाटसमेत बर्सेनि डुबान हुँदै आएको छ।
गाउँपालिकामा युनिसेफको आर्थिक तथा प्राविधिक सहयोगमा बालकेन्द्रित विपद् जोखिम न्यूनीकरण कार्यक्रम (सिसिडिआरआर) सञ्चालन गरिएको छ। जसअन्तर्गत बाढीलगायत प्रकोपको पूर्वतयारीका लागि आठवटै वडामा स्थानीय विपद् व्यवस्थापन समिति गठन गरी अभिमुखीकरण गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजुकुमार झाले बताए।

बाढीबाट अत्यधिक प्रभावित गाउँपालिका भएकाले खाँडो नदीमा बाढी पूर्वसूचना प्रणाली जडान गरिएको छ। युनिसेफको आर्थिक तथा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को प्राविधिक सहयोग र सबल नेपालको संयोजनमा गाउँपालिकाले खाँडोे खोलामा समुदायमा आधारित बाढी पूर्वसूचना प्रणाली मनसुन अगाडि नै जडान गरेको हो। नेपाली प्राविधिकहरूको कम्पनी सस्टनेवल इको इन्जिनियरिङले बाढी पूर्वसूचना प्रणाली निर्माण गरेको हो। ‘इसिमोडले बाढीको सम्बन्धमा विभिन्न अनुसन्धान गर्छन् र उपकरणमा केही सुधार गर्नुपर्ने भयो भने हामी त्यसरी नै सुधार गरेर विकसित उपकरण उत्पादन गर्ने गरेको छौं,’ कम्पनीका प्रबन्ध निर्देशक महेन्द्रमान शाक्यले भने, ‘बाढी पूर्वसूचना प्रणालीले बाढीको उच्च जोखिममा रहेका समुदायमा कम्तीमा एक घण्टा अगाडि बाढी आउँदै छ है भनेर सूचना दिन सकियो भने पनि ठूलो क्षति हुनबाट जोगाउन सक्छौं।’

खाँडो नदीले पूर्व–पश्चिम राजमार्गदेखि दक्षिण रूपनी गाउँपालिका, राजविराज नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकालाई प्रभावित गर्दै आएको छ। तिलाठी कोइलाडी गाउँपालिका, सबल नेपाल र इसिमोडको संयुक्त पहलमा वैशाख २७ गते सम्पन्न राजविराज नगरपालिका र रूपनी गाउँपालिकासँग त्रिपक्षीय संयुक्त समन्वय बैठकले तीनवटै पालिकाले सहकार्य गर्ने निर्णय नै गरेको छ।
समुदायमा आधारित बाढी पूर्वसूचना प्रणालीको दीगोपनका लागि तीनवटै पालिकाबीच सहकार्य गर्ने निर्णयले थप बल पु¥याएको रूपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव बताउँछन्। बाढी पूर्वसूचना प्रणालीको दीर्घकालीन व्यवस्थापनका लागि तीनवटै पालिकाको संयुक्त लगानीमा कोषसमेत खडा गर्ने सहमति भएको छ।

पूर्व–पश्चिम राजमार्गको रूपनी गाउँपालिकास्थित खाँडो खोलाको पुलमा पूर्वसूचना प्रणालीको उपकरण जडान गरिएको छ भने खोला किनारमा रहेको केयर टेकरको घरमा डाटा अपलोडिङ युनिट जडान गरिएको छ। खोलामा खतराको अवस्थासम्म बाढी आएमा केयर टेकरको घरमा रहेको डाटा अपलोडिङ युनिटमा साइरन बज्ने र केयर टेकरले सम्बन्धित सरोकारवालाहरूलाई खबर गर्ने प्रणालीको विकास गरिएको गाउँपालिकाका विपद् जोखिम न्यूनीकरण अधिकृत झाले बताए। गाउँपालिकाका बासिन्दालाई बाढीबाट जोगाउनका लागि गाउँपालिकाले पूर्वतयारीको क्रममा विभिन्न क्रियाकलापहरू अगाडि बढाएको छ। गाउँपालिकाभित्र रहेका सामुदायिक तथा संस्थागत गरी २४ वटै विद्यालयमा बाढीबाट जोगिन अपनाउनुपर्ने सावधानी र गर्नुपर्ने पूर्वतयारीका बारेमा फ्लेक्समा सन्देश छपाई वितरण गरिएको छ। विद्यालयमा हरेक दिन प्रार्थनापछि उक्त सन्देश विद्यार्थीहरूलाई सुनाउने गरिएको अधिकृत झा बताउँछन्।

झाका अनुसार गाउँपालिकाभित्रका मठ मन्दिर तथा मस्जिदमा रहेका माइकबाट तथा रिक्सामा माइक राखेर बाढीबाट जोगिने उपायहरूका बारेमा सन्देशसमेत प्रवाह गर्ने गरिएको छ। स्थानीय सरकार सञ्चालन ऐनले गाउँपालिका तथा नगरपालिकाहरूलाई स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना गर्ने अधिकार दिएको छ। तिलाठी कोइलाडी गाउँपालिकाले केन्द्रको लागि आवश्यक कार्यविधि कार्यपालिकाबाट पारित गराई केन्द्र स्थापना कार्य भइरहेको गाउँपालिकाका अध्यक्ष सतीशकुमार सिंहले बताए। आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना गर्नमा पनि बालकेन्द्रित विपद् जोखिम न्यूनीकरण कार्यक्रममार्फत युनिसेफको सहयोग रहेको अध्यक्ष सिंहले जानकारी गराए। गाउँपालिका उत्पात मच्चाउने तीनवटा खोलाबाट घेरिएको हुँदा आपतकालीन कार्य सञ्चालन केन्द्र आवश्यक रहेको ठानेर स्थापना गरिएको सिंहको कथन छ। केन्द्रमा बाढीको समयमा उद्धारका लागि चाहिने लाइफ ज्याकेटलगायत आवश्यक सामग्रीहरू समेत व्यवस्थापन गरिएको छ।

सप्तरीमा स्थानीय चुनाव हुनुभन्दा दुई महिनाअघि आएको बाढीले राजविराज नगरपालिकाको चारवटा वडालाई नराम्ररी प्रभावित गरेको थियो। २०७४ साल साउनमा आएको बाढीले सबैभन्दा बढी राजविराज नगरपालिकामा क्षति पु¥याएको नगर प्रमुख शम्भु यादवको कथन छ। जिल्ला विपद् व्यवस्थापन समितिको अनुसार करिब २८ करोड २७ लाख ५९ हजारको धनमाल क्षति भएको थियो भने दुईजनाको मृत्युसमेत भएको थियो। ‘यस्तो भयावह अवस्थामा हामी निर्वाचित भएर आयौं, नगरपालिकाका जनतालाई बाढीबाट कसरी जोगाउन सकिन्छ भन्ने कुरा त्यति बेलैदेखि मनमा खेलिरहेको थियो,’ नगर प्रमुख यादवले भने, ‘अब समयमै सूचना दिएर बाढीबाट हुन सक्ने क्षति कम गर्न सक्छौं।’

प्रकाशित: १२ जेष्ठ २०७६ ०१:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App