२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
शिक्षा

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि १९ जनाको आवेदन

सरकारले खुल्ला प्रतिस्पर्धाबाट विश्वविद्यालयको उपकुलपति नियुक्ति हुने भएपछि सुदूरपश्चिम विश्वविद्यालयमा एक महिलासहित १९ जनाले आवेदन दिएका छन्। 

सुदूरपश्चिम विश्वविद्यालयमा कार्यरत प्राध्यापकदेखि  विभिन्न शैक्षिक संस्थामा रहेका र सेवा निवृत्त कर्मचारीले उपकुलपतिका लागि आवेदन दिएका छन् । गत वैशाख २५ गते विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि सिफारिस समितिले दरखास्त आह्वान गरेको थियो।  

सरकारले  ल्याएको नयाँ अध्यादेशपछि  विश्वविद्यालयका उपकुलपतिहरू पदमुक्त भएसगैं सुदूरपश्चिम विश्वविद्यालयमा कार्यवहाक उपकुलपतिको जिम्मेवारी प्राध्यापक यज्ञराज पाठकले सम्हालेका छन् । उनी  सुदूरपश्चिम विश्वविद्यालयका पूर्वरजिष्ट्रार हुन् ।  

आवेदन दिएका मध्ये प्रारम्भिक मूल्याङ्कन गरी उच्च अङ्क प्राप्त गर्ने दश जनाको ‘सर्ट लिस्ट’ सार्वजनिक गर्ने तयारी छ । विसं २०६७ मा सुदूरपश्चिम विश्वविद्यालयको स्थापना भएपछि सुदूरपश्चिमका नागरिकले न्यून शुल्कमा प्राविधिक शिक्षादेखि विद्यावारिधिसम्म घरआँगनमै अध्ययन गर्न पाएका छन् । विश्वविद्यालयको स्थापनापछि उच्च शिक्षा, प्राविधिक शिक्षा र विद्यावारिधिका लागि अन्यत्र जानुपर्ने बाध्यता सुदूरपश्चिमवासीका लागि हटेको छ। 

सुदूरपश्चिम विश्वविद्यालको महेन्द्रनगरमा केन्द्रीय क्याम्पससहित यहाँका नौ वटै जिल्लामा गरेर १६ आङ्गिक क्याम्पस सञ्चालनमा छन् । सम्बन्धन प्राप्त निजी र सामुदायिक गरी अन्य प्रदेश (सुदूरपश्चिम र कोशी प्रदेशबाहेक)  ३१ वटा क्याम्पस पनि सञ्चालनमा रहेको विश्वविद्यालयले जनाएको छ। 

प्रकाशित: ५ जेष्ठ २०८३ १८:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App