८ वैशाख २०८१ शनिबार
समाज

बालश्रम र बलात्कारका घटना बढे

फाइल फाेटाे

काठमाडौं - समितिले प्रत्येक चार महिनामा देशभरी बालबालिका माथि भएका घटनाबारे तथ्य संकलन गर्दै आएको छ।

पछिल्लो चार महिनामा बालश्रम र बालबालिकामाथि बलात्कारका घटना बढेका छन्। केन्द्रीय बालकल्याण समितिले सोमबार सार्वजनिक गरेको चौमासिक प्रतिवेदनमा बालबालिकामाथि बालश्रम र बलात्कारको घटना बढेको उल्लेख छ। गएको चार महिनामा ६ सय ७५ बालबालिका माथि बालश्रम र बलात्कारका घटना भएको देखिन्छ। यो संख्या अघिल्लो चार महिनाभन्दा २ सय ७२ ले बढी हो।

प्रतिवेदनअनुसार गत आर्थिक वर्षको ०७४/०७५ चैतदेखि ०७५ असारभित्र सबैभन्दा बढी बालश्रमका घटना भएका थिए। सो अवधिमा २ सय ३१ जना बालबालिका जोखिमपूर्ण बालश्रममा प्रयोग भएका थिए। ती मध्ये सबैभन्दा बढी १ सय जना अर्थात् ४३ प्रतिशत सार्वजनिक यातायातमा, ७२ जना अर्थात् ३१ प्रतिशत पर्यटकलाई घोडामा घुमाउने काममा, होटेल श्रमिकको रुपमा ७ प्रतिशत, इँटा उद्योगमा ४ प्रतिशत, राजमार्गमा भारी बोक्ने तथा डुंगा चलाउने काममा काममा ४ प्रतिशत प्रयोग भएका थिए। त्यस्तै, लागूऔषध ओसारपोसारमा १ प्रतिशत बालबालिका प्रयोग भएका थिए।

प्रतिवेदनले सो अवधिमा १ सय २० बालबालिका बलात्कृत भएको जनाएको छ। जसमा २ बालक जर्मन नागरिकबाट बलात्कृत भएका घटना पनि छन् । यी मध्ये ३ बालिका सामूहिक बलात्कारमा परेका थिए। घटनाको प्रकृतिअनुसार सबैभन्दा बढी ३७ प्रतिशत चिनजाका व्यक्तिवाट बलात्कृत भएका थिए भने छिमेकीबाट २७ प्रतिशत बालिका बलात्कृत भएका छन्। बलात्कारमा संलग्न ९९ प्रतिशत वयश्क पुरुष थिए।

सो अवधिमा १ सय १५ जना बालबालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा सबैभन्दा बढी नदी तथा पोखरीमा डुबेर मृत्यु हुने २७ जना छन्। खाल्डो र पहिरोमा परी ३४ जनाको मृत्यु भएको थियो भने ३२ बालबालिकाको हत्याको कारण मृत्यु भएको छ। जसमा अपहरणपछि हत्या ७, घरकलहका कारण मृत्यु ९, सौतेनी आमाबाबुबाट मृत्यु ३१ प्रतिशत भएको देखिन्छ। सो अवधिमा २३ बालबालिका बेचबिखन तथा ओसारपोसारमा परेका थिए भने ८ बालबालिकाले आत्महत्या गरेको तथ्याकं छ।

केन्द्रीय बालकल्याण समितिका प्रशासकीय अधिकृत रामबहादुर चन्दले देशमा विद्यमान वैदेशिक रोजगारी, बढ्दो गरिबीजस्ता कारणले बालबालिकामाथिको हिंसा घट्न नसकेको बताए। उनका अनुसार समाजमा व्याप्त मद्यपान, धूमपान, गरिबी जस्ता पक्षले बालबालिकामाथि हिंसा बढ्दै गएको छ। सरकार, आमसञ्चारका माध्यम, अविभावक बालबालिकाप्रति संवदेनशील बन्न नसक्दा घरमै बालबालिका असुरक्षित बन्दै गएको अधिकृत चन्दले बताए। अविभावक नभएका बालबालिकाको संरक्षणका लागि सरकार गैरसरकारी संस्थाको भर पर्ने प्रवृत्तिले पनि बालबालिकामाथिको अपराध बढेको उनले बताए।

प्रकाशित: ५ भाद्र २०७५ ०३:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App