१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

चिउराको भरमा चार सय किमि यात्रा

घर फर्कन पाउनुपर्ने भन्दै नाराबाजी गरिरहेका इँटा उद्योगमा कार्यरत भारतीय मजदुर। तस्बिर ः नागरिक

सन्तोष पोखरेल/नरहरि सापकोटा/विनोद ढुंगाना
पोखरा/गोरखा/तनहुँ  - पिठ्युँको झोलामा चिउरा, चाउचाउ र बोतलमा पानी। मजदुरको केही दिनको खान्की यही नै हो। पैदल हिँड्दै गर्दा बाटोमा कोही मनकारी भेटिएर दालभात खुवाए भने मात्र उनीहरुको पेट भरिनेछ। नत्र चिउरा, चाउचाउ र पानीको भरमा उनीहरुले झन्डै चारसय किलोमिटरको दूरी पार गर्नेछन्।

यस्तै खान्कीको भरमा गोरखाबाट मजदुरको एकहुल बर्दिया र कैलालीका लागि हिँड्यो। भूकम्प प्रभावित गोरखामा विभिन्न संरचना बनाउन आएका ती मजदुर कामविहीन भएको महिना दिन बितिसकेको थियो। भएको सामल सकिएको र खानेकुरा अभावमा भोकै पर्ने अवस्था देखेपछि घर फर्किन पाइला चाल्नु परेको मजदुरको भनाइ थियो। हिँडेर बर्दिया पुग्दा उनीहरुलाई कम्तीमा सात दिन लाग्नेछ। तर तीमध्ये अधिकांशसँग सात दिनका लागि पुग्ने खर्च पनि थिएन। 

भूकम्पको केन्द्रविन्दु बारपाकमा खानेपानी र सिँचाइ कुलो बनाउने काम गर्दै आएका ती मजदुर बिहीबार गोरखाको नाका पार गरेर तनहुँ पुगेका छन्। उनीहरु वैशाख ३ गते लकडाउन खुल्ने आश गरेर बसेका थिए। तर लकडाउन नखुलेको र अझै अनिश्चित भएपछि उनीहरुले हिँडेरै घर पुग्न यात्रा सुरु गरेका हुन्।

‘एकमहिना काम नपाउँदा चामल सामल सकियो, अब के खाएर बस्ने’, बर्दियाका शिव चौधरीले भने, ‘लकडाउन कहिले खुल्ने भन्ने निश्चित भएन। कामको पनि टुंगो छैन। जसोतसो घर फर्किन सकियो भने परिवारसँगै बस्न त पाइन्छ।’ जे त होला भनेर बाटो तताएका उनीहरुलाई हिँडाइका क्रममा केकस्तो अप्ठेरो आउने हो भन्ने ज्ञान छैन। ‘हामी ११ जना छौं, सबैजना हिँडेर घर जान लागेका हौं, गाडी कहिले खुल्छ थाहा भएन,’ चौधरीले भने।

सरकारले घर जाने व्यवस्था नगरिदिएको, पहिल्यै लकडाउन हुने समय यकिन नगर्दा दुःख पाएको गुनासो मजदुरको छ।

सडकमा फाट्टफुट्ट भेटिएका ट्रकले प्रहरीको डर भन्दै चढाउन नमानेको उनीहरुको गुनासो थियो। एक रात वा दिनमा गाडी चढेर बर्दियादेखि मजदुर गोरखा आएका थिए। तर अहिले हिँडेर जानुपर्दा उनीहरुलाई छोटो बाटो पनि थाहा छैन। ‘तैपनि कसैले दया गर्छ कि भनेर बाटो सोध्दै हिँडेका छौं’, चौधरीले भने।

गोरखाको सिरानचोक गाउँपालिकामा विद्यालय भवन निर्माणमा जुटेका कैलालीको जानकी गाउँपालिका–७ का ६१ मजदुर पनि हिँडेरै घर पुग्न निस्केका छन्। ‘काम बन्द भयो, अहिले हिँडेर जानुपर्ने बाध्यता आइलाग्यो,’ अर्का मजदुर नेत्रराम चौधरीले भने, ‘गाडीमा जान्छौं भन्दा पास दिइएन, अब हिँड्नुको विकल्प छैन। बाटोमा जे पर्ला पर्ला भनेर हिँडेका छौं।’ पिठ्युँमा बोरा र झोला बोकेर युवादेखि अधबैंसे उमेरका पुरुष चप्पल पड्काउँदै सडकमा हिँडिरहेको दृश्य कारुणिक देखिन्थ्यो। ‘पहाडमा त हिँडडुलमा सहज छ। अहिल्यै गर्मी पनि छैन। उकालो–ओरालो हिँड्दा छिटो दूरी तय हुन्छ,’ उनले भने, ‘तर तराई लागेपछि अप्ठेरो झनै बढी छ। समथर भूभागमा गर्मी खेप्नुपर्छ।’

विभिन्न जिल्लाबाट भित्रिएका मजदुर गोरखाका दुर्गम गाउँमा पुनःनिर्माणको काममा खटिएका छन्। बाँके, बर्दिया, बारा, कैलाली, कञ्चनपुरलगायत विभिन्न जिल्लाबाट मजदुर यहाँ आएका छन्। कोरोना त्रासले आकस्मिक भएको लकडाउनको मारमा तीन साता बिताएपछि विकल्प नदेखेर घरतिरको बाटो तताएको उनीहरुले बताए।

‘काम पनि बन्द भयो, घर परिवारको याद आयो, गाउँमा अरु हिँडेर पनि पुगेछन्, तिमी किन नआएको भन्दै सोध्न थाले, धेरै चिन्ता गरिरहने भएपछि हिँडेरै भए पनि जान लागेका हौं,’ गोरखादेखि बारा हिँडेका ओमप्रकाश शाहाले भने। ‘हामीलाई परेको पीडा ठूला मान्छेले भोग्नुपरेको भए थाहा हुन्थ्यो’, हिँड्दा परेको खुट्टाको ठेला देखाउँदै उनले भने, ‘नभोग्नेलाई सयौं किलोमिटर हिँड्नुपर्ने दुःख के थाहा ?’ सरकारले घर जाने व्यवस्था नगरिदिएको, पहिल्यै लकडाउन हुने समय यकिन नगर्दा दुःख पाएको गुनासो मजदुरको छ। 

जिल्ला प्रशासन कार्यालय गोरखाले लकडाउनको पहिलो साता पासको व्यवस्था गरेर मजदुरलाई घर पठाएको थियो। तर अहिले भने बन्द छ। बाटोमा पैदल हिँडेका मजदुरलाई खाने बस्ने ब्यवस्था गरिदिने गोरखाका स्थानीय तहले बताए पनि उनीहरु घर जाने भन्दै बस्न मानेका छैनन्। ‘यहाँ नै बस्ने खाने व्यवस्था हुन्छ भन्दा पनि मान्नुभएन’, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले भने, ‘हिँडेर घर जानेको जटिल समस्या र पीडा सम्बोधन गर्न सरकारको ध्यान पुग्नुपर्छ,हामीले मात्रै चाहेर गन्तव्यसम्म पु¥याउन सकिएन।’ 

यस्तै पोखराको लेकसाइडमा होटल भवन बनाइरहेका २६ मजदुर गत बुधबार दिउँसो बर्दिया जान पाइला चाले। पैदलै हिँडेर गृहजिल्ला पुग्ने लक्ष्यसहित निस्केका उनीहरुलाई संयोगवश प्रहरीले सघायो। सडकमा हिँडिरहेका उनीहरुलाई प्रहरीले ट्रकमा बुटवलसम्म पु¥याइदियो। त्यहाँबाट पनि हिँड्न थालेका उनीहरु प्रहरीकै सहयोगमा अर्को सवारीसाधनमा बर्दिया पुग्न पाए। ‘घर बनाउने काम गर्थे। कामविहीन भएको एक महिना बितिसकेको थियो,’ ठेकेदार जितेन्द्र शाहले भने, ‘अब कति दिनपछि लकडाउन खुल्छ भन्ने यकिन पनि भएन। लकडाउन लम्बिँदै गएपछि मजदुर झनै बढी आत्तिए।’ 

लकडाउनका कारण मजदुर निकै मारमा छन्। बुटवलदेखि हिँडेर पोखरा आउनेको पीडा पनि उस्तै छ। पायल चप्पलका भरमा गत सोमबार बुटवलबाट हिडेका केही मजदुर शुक्रबार बल्ल तनहुँको दुलेगौंडा आएका थिए। दुईजोर कपडा कोचेको झोला बोकेका उनीहरु थकित देखिन्थे। टोलीमा रहेका खोटाङ बुइँपाका मिलन कोइरालाले भने, ‘साहै्र कठिन यात्रा छ।’ पोखरा रामघाटमा दिदीको घरमा बस्नेगरी आएका उनले एकमुठी ‘परान’ मात्र बाँकी रहेको पीडा सुनाए। 

पछिल्ला दिनमा पृथ्वीराजमार्गमा पैदलै घर फर्किनेको लर्को देखिन्छ। गण्डकी प्रदेशका विभिन्न जिल्लामा ज्याला मजदुरी गर्न आएका देशभरका मजदुर भोकै मर्नुपर्ने स्थिति आएकाले घर फर्कन बाध्य भएको बताउँछन्।

प्रकाशित: ६ वैशाख २०७७ ०२:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App