८ मंसिर २०८१ शनिबार
image/svg+xml
अन्य

छेउको सियो छेउमै छ कि माझमा पुग्यो मामा ?

‘दुःखी भनी नगर हेला
छेउको सियो माझैमा कोही बेला’
पहिलोचोेटि यो गीत मैले उनकै मुखबाट सुनेको हुँ। मानौँ, यो गीत उनको ‘सिग्नेचर म्युजिक’ हो, जतिखेर पनि गाइरहने।उनी अरू गीत पनि नगाउने होइनन्। सायद यही उनको प्रिय गीत थियो। मेरा लागि भने उनी प्रिय थिए, कारण उनले मलाई विभिन्न नामका मिठाई–बिस्कुट दिन्थे। सानो छँदा, जसले मीठो खान दिन्छ, उही मामा।

कान्छो दमै, हाम्रो घरमा लुगा सिउन आउने मानिसको नाम।सबैले उनलाई ‘कान्छा’ भन्थे। उनी हाम्रो घरमा लुगा सिउन आउँदा मलाई मिठाई दिन छुटाउँदैनथे। उनी मलाई भान्जा बाबु भन्थे। म उनलाई मामा भन्थेँ। सिलाई मेसिन बोकेर अघि–अघि उनी आउँथे,पछि–पछि माइजू। उनीसँगै छोरो किस्ने(मेरो साथी कृष्णबहादुर नेपाली, उसलाई हामीले किस्ने भन्थ्यौँ) पनि आएको हुन्थ्यो।ऊ र म एउटै आँगनमा खेल्थ्यौँ। लुगा सिउन कम्तीमा वर्षको दुईचोटि कान्छा मामा हाम्रो घरमा आउँथे– दशैँअगाडि र हिउँदमा। यीबाहेक अन्य चाडबाडमा पुहुन्की उठाउन कहिले मामा आउँथे,कहिले माइजू आउँथिन्। मलाई चाहिँ मामा नै आए हुने भन्ने लाग्थ्यो।

राजधानीसित मुटु जोडिएको भक्तपुरकोसुडाल–वागेश्वरी क्षेत्रमा पनि पढ्न गतिला स्कुल थिएनन्।ध्याम्पेपाटीमा महेन्द्र स्कुल थियो। खरिपाटीमा श्रीकृष्ण स्कुल। श्रीकृष्ण स्कुल हाम्रा लागि दूरदेशको कथा थियो। ध्याम्पेपाटी स्कुलमा पढाइ राम्रो छैन भन्ने हल्ला थियो। सरस्वती थानमा सरस्वती स्कुल थियो, ठिकै खालको। त्यो स्कुल भएको ठाउँलाई थाकलमाथभन्छन्। मेरो स्कुल मामाको गाउँमा थियो।किस्ने र म एउटै कक्षाको साथी भएकाले पनि स्कुल जाँदा मामासँग मेरो भेट भइरहन्थ्यो।। स्कुलको हाफ–टाइममा नजिकैको चिया पसलमा खाजा खान जाँदा कहिलेकाहीँ कान्छा मामा पसलको बाहिरपट्टिको ढुंगामा बसेर चिया सुर्काइरहेका हुन्थे। चिया खाइसकेपछि साहुजीले गिलासमा अलग्ग पानी हालिदिन्थे, अनि मामा मस्काई–मस्काई गिलास माझेर घाममा सुकाइदिन्थे।

कुनै शनिबार सरस्वती मन्दिरमा पुग्दा मामा बाहिरबाटै सरस्वतीको पूजा गर्थे। मलाई एक किसिमको नरमाइलो लाग्थ्यो। कान्छामामाले लुगा नसिएसम्म घरमा दशैँ आउँदैनथ्यो। गाउँका कसैको बिहे–बटुलमा कान्छा मामाले कलाँट(सनई जस्तो बाजा) फुकेर सन्ध्या नजगाएसम्म शुभ साइत सुरु हुँदैनथ्यो। मेरा मनमा यस्ता अनेक प्रश्न उब्जन्थे– किन मामालाई कसैले घरभित्र पस्न नदिएका होलान् ? किन पसलमा चिया खाएको भाँडा मामा आफैँले माझ्नुपरेको होला? किन मन्दिर बाहिरबाटै सरस्वती माताको पूजा गर्नुपरेको होला? ती प्रश्न सुइरो जसरी उब्जन्थे,तर पानीको फोकासरि बिलाई पनि हाल्थे। उपत्यकाको प्रमुख जिल्ला भक्तपुरमा पनि किन यस्तो भइरहेको छ ? त्यतिखेर मलाई थाहा थिएन, धेरै पछि थाहा पाएँ, खासमा यो अलिकति अशिक्षा र अन्धविश्वासको परिणति थियो। त्योभन्दा बढी अनुदार समाज र सत्ताले युगौँदेखि थोपरेको अत्याचारको शृंखला थियो।

माइजूको अन्तर्नु
मामा रसिक थिए। लुगा सिउन आएका बेला हामीसित खुब जिस्कन्थे। हाम्रो घरमा पानासोनिक जापानी रेडियो थियो। हजुरबाले रेडियो झ्यालमा झुन्डाइदिन्थे। मामा रेडियोसितै गीत गाउँथे। रेडियोमा आउने विज्ञापनलाई बंग्याएर हामीलाई खुब हसाउँथे। एउटा यस्तो विज्ञापन आउँथ्यो– चिया खानुहोस् सधैँ तिनपाते। मामा यसलाई बंग्याउँथे, ‘चिया खानुहोस् सधैँ तिनपाथी।’ दाँत माझ्न ‘डाबर लाल दन्तमन्जन प्रयोग गर्नुहोस्’ लाई ‘गोबर लाल दन्तमञ्जन प्रयोग गर्नुहोस्’ भन्थे। ‘नेबिको बिस्कुट खानुहोस्’लाई ‘नबिकेको बिस्कुट खानुहोस्’ भन्थे। चुरोट खान मन लाग्यो भने ‘लौन मलाई खुकुरी खान मन लाग्यो’ भन्थे,खुकुरी नामको चुरोटको अर्थमा। एक दिन मामामाइजू लुगा सिउन आए। मेरा लागि मामा कालिगड थिए, कलाकार थिए। बित्ताले नापेर भित्ताको माटोले चिनो लगाएर स्वाइँस्वाइँ लुगा काटे अनि कलले खटट सिउन थाले। माइजू टाँक लगाउने र टाँकघरमा धागो लगाउने काम गर्न थालिन्।

माइजूको साइली औँलामा औँठी जस्तो एउटा वस्तु थियो। हाम्रा हजुरबाको औँलामा बेरुवा औँठी सुहाएजस्तै तिनको औँलामा त्यो वस्तु सुहाएको थियो। त्यो वस्तु मलाई एकदमै मन पर्‍यो। माइजूले त्यसलाई खोलेर नजिकै राखेकी थिइन्। म त्यसलाई जिप्टाउनेध्याउन्नमा थिएँ। आखिर मौका आइहाल्यो। मामा सायद शौचालय गएका थिए। माइजू त्यतै लिसिङ पिसिङ गर्दै थिइन्। मैले त्यो वस्तु उठाएर सुटुक्क गोजीमा हालेँ, बिस्तारै त्यहाँबाट उठेर दमपच भएँ। पछि माइजूले यता खोजिन्, उता खोजिन्। बसेको ठाउँका लुगा टकटकाइन्, त्यो वस्तुु भेटिएन। साँझ परेपछि हजुरआमाले बत्ती बाल्नुभयो। भित्तामा थाम थियो। त्यो थामको बीचमा डोरीले बाँधेर एउटा पानस राखिएको थियो।थामसितै जोडेर एउटा खाट पनि राखिएको थियो। त्यही खाटमा बसेर हामी साँझको पढाइ–लेखाइ गथ्र्यौं। मैले मेरो साइली औँलामा दिउँसो चोरेको वस्तुु लगाएँ। पानसको पहेँलो प्रकाशले मेरो साइँली औँलामा त्यो वस्तुु टिलिक्क टल्कियो।

घरमा अरूले देखे भने के भन्लान्, जवाफ के दिने भनेर सोच्दै थिएँ। कान्छी दिदीले कसो–कसो देखिहालिछन्। समाजले जे सिकाएको थियो, दिदीले त्यही बोलिन्, ‘ए दमै ! लौ न यसले कान्छी भाउजूको अन्तर्नु चोरेछ। बरु सँगै लुगा सिउन हिँडेको भए हुने नि। पख्, अब तेरो जात जान्छ।’ खासमा मलाई जात भनेकै थाहा थिएन। यो कहाँ जान्छ र कसरी जान्छ– थाहा हुने कुरै भएन। दिदी र काकाहरूले जिस्काउन थालेपछि यस्तो लाग्यो कि मैले चोरीभन्दा ठूलो कुनै अर्कोअपराध गरेँछु। मैले भने, ‘भोलि स्कुल जाँदा लगेरकिस्नेलाई दिन्छु।’ ‘अहिलेचाहिँ कहाँ राख्छस् नि ? जा बाहिर, कतै लगेर राख।’ मलाई चित्तै बुझेन। किन बाहिर राख्ने यति राम्रो कुरा? हरायो भने के गर्ने ? फेरि मामामाइजूले दिउँसो सिएका सबै लुगा घरभित्रै छन् त। यसलाई मात्रै किन बाहिर राख्ने ?मैले मनमनै तर्क गरेँ। तर केही बोलिनँ, किनभने म दोषी थिएँ, अपराधी थिएँ। त्यसलाई मैले बाहिर पालीमा लगेर राखेँ। मनमा धेरै कुरा खेल्न थाले।

मामाका घरमा लुगा लिन जाँदा हामी उनका चोटा, कोठा सबैतिर पुग्थ्यौँ। उनका घरका कसैले पनि बिस्टका घरका दैला नाघ्न पाउँदैनथे। थुक्क ! यस्तो नियम कसले बनायो होला ? मैलेचाहिँ यो अन्तर्नु पनि बाहिर लगेर राख्नुपर्ने ! भोलिपल्ट स्कुल जाने बेला पालीमा राखेको अन्तर्नुलाई जतनले बगलीमा हालेँ। स्कुल पुग्नेबित्तिकै किस्नेलाई दिन्छु भन्ने सोचेको थिएँ। स्कुल जान ४५ मिनेट जति हिँड्नुपथ्र्यो। बाटो गतिलो थिएन। किस्ने कक्षाभित्र साथीहरूसित किताबका मान्छे गन्ने खेल खेल्दै थियो। ‘ए कृष्ण, बाहिर आऊ त।’ ऊ हतारिँदै बाहिर आयो। मैले उसको हात तानेर स्कुलको करेसाको साइडमा लगेँ। बगलीमा हात हालेँ। त्यहाँ अन्तर्नु  थिएन। अब के गर्ने? किस्नेलाई के भन्ने?

‘किन बोलाको मलाई ?’ किस्नेले हतारिँदै सोध्यो। ‘त्यसै बोलाको। अहिले जाऊ।’ किस्ने आँखा तर्दै रिसाएर भित्र गयो। म पनि भित्र गएँ, तर मेरो मन भित्र गएन। अब अन्तुर्न के गर्ने ? दिदीलाई थाहा भइसकेको छ। दिदीबाट बाआमा र हजुरबालाई पनि थाहा हुन्छ। बिस्तारै आफूलाई मिठाइ दिने मामालाई पनि थाहा हुन्छ। यो चिन्ताले मलाई धेरै दिन सतायो। केही महिनापछि माइजू फेरि घरमा आइन्। मलाई एकदम डर लाग्यो। धन्न भगवान् ! त्यो दिन कसैले अन्तर्नुको कुरा निकालेनन्। त्यस दिनपछि पनि कसैले कहिल्यै अन्तुर्नको कुरै गरेनन्। अहिले भेटेर भन्न मन छ, ‘तिम्रो अन्तर्नु मैले चोरेको थिएँ माइजू। सरी है !’

मानवताको हुर्मत
४ कि ५ कक्षामा पढ्थेँ। मेरो व्रतबन्ध हुने भयो। कान्छा मामाले लुगा सिलाइदिए। व्रतबन्धमा कान्छा मामाले नै नाइके भएर बाजा ठोके। मेरो कर्म चल्यो। त्यसको केही महिनापछि कान्छा मामा कताबाट हाम्रो गाउँमा टुपुल्किए। उनले बगलीबाट चकलेट झिकेर दिए। मैले चकलेट खुरुक्क मुखमा हालेँ। रसिलो र गुलियो चकलेटले मेरो मुख भरियो। गाउँका एकजना काकाले देखेछन्। उनले बेसरी हपारे। ‘अस्ति भर्खर तेरो बर्तमान गरेको होइन ? दमाईले छोएको खान्छस्। थुक्क...। पख्, तेरो घरमा कुरा लगाइदिन्छु। अब फेरि तेरो बर्तमान गर्नुपर्छ।’ मेरो सातो गयो। उनले यसरी डर देखाइदिए, मानौँ मैले ठूलै अपराध गरेको छु। नभन्दै म घर पुग्नुभन्दा पहिले नै खबर पुगेछ। आँगनमा पुग्नेबित्तिकै आमाले गाली गर्नुभयो। ‘खान पाएँ भन्दैमा जे पनि खान्छस्? अब तेरो बर्तमान भइसकेको छ। कर्म चलेको मान्छेले आफ्नो कर्मको ख्याल गर्नुपर्छ। अबदेखि सान्जातिले दिएको नखानू।’ म फेरि छक्क परेँ। तिनै मामाले सिलाएको लुगा मेरो जिउमा थियो, त्यो लगाउन हुने। तिनले छोएको खान किन नहुने ? यो प्रश्न अटेसमटेस भएर घाँटीसम्म आयो, तर मनमा गुम्साएर राख्न बाध्य थिएँ।

मैले यस्तो प्रश्न गरेँ भने म छाडा, टुप्पे, अजिरा र सडेको केटो ठहरिने थिएँ। आमाले तानेर पर लैजानुभयो, भित्रबाट पानीको लोटा ल्याउनुभयो। त्यसमा आफ्नो सुनका गहना डुबाउनुभयो र त्यो पानी मेरो जिउमा छर्किदिनुभयो। म शुद्ध भएँ रे। मेरो मनमा फेरि अर्को आगो बल्यो। मैले सोचेँ, ‘सुनपानी छर्केपछि शुद्ध भइने रहेछ। त्यसो भए त भएभरका सान्जातिलाई भेला पारेर सुनपानी छर्केपछि ती सबै शुद्ध भइहाल्छन् नि। यसो किन नगर्ने ?’ तर यसपालि पनि यो प्रश्न मेरो मनभित्रै निमोठियो। त्यसपछि पनि मामासित भेट त भइरहन्थ्यो, तर अलिनिरसखालको भेट हुन थाल्यो। उनले मलाई चकलेट दिनै छाडे। यसको कारण मलाई अहिले पनि थाहा छैन। म उमेरले ठूलो हुँदै गएकाले स्वाभाविक रूपमा चकलेट नदिएका हुन् या कसैको दबाबमा। तर उनको मप्रतिको माया र श्रद्धा कम्ती भएको थिएन। म त्यस्तै कक्षा ९ मा पढ्थेँ। मामा मेसिन बोकेर कतै जाँदै थिए। म स्कुल जाँदै थिएँ। बाटामा जम्का भेट भयो। मामाले एकछिन रोकेर भने, ‘पहिला भयौ रे होइन भान्जा। लौ यसै गरी राम्ररी पढ है। खै, हाम्रो किस्नेलाई पनि राम्ररी पढाउने रहर थियो। स्कुलै जान्न भन्छ।’

‘हुन्छ  मामा,’  म स्कुलतिर लागेँ। त्यसको लगत्तै एकदिन मामा हाम्रो घरमा लुगा सिउन आए। खाना खाने बेला भयो। मामा बाहिरै बसेर खाना खान थाले। हजुरआमा पनि हुनुहुन्थ्यो। हजुरआमा दयालु नै हुनुहुन्थ्यो। घरमा आउने जोकोहीलाई केही खुवाएर पठाउने उहाँको बानी थियो। घरमा दहीदूध टन्नै थियो। तर, मामालाई उहाँले दहीदूध दिनुभएन। म अलिअलि कुरा बुझ्ने भइसकेको थिएँ। हजुरआमालाई सोधेँ, ‘आमा कान्छा मामालाई किन दही–दूध नदिनुभएको ?खै गिलासमा हाल्दिनुस्, म लगिदिन्छु।’ हजुरआमाले बिस्तारै भन्नुभयो, ‘यस्तो कुरा नगर बाबु। हजुरबाले थाहा पाउनुभयो भने त मार्नुहुन्छ। दमाईलाई दूध दियो भने गाईवस्तु भाँडिन्छन्।’ मैले हजुरआमालाई सम्झाउँदै भने, ‘यो कुरा सब अन्धविश्वास हो आमा। यो त पापै हो। घरमा यत्रो दूध छ, मामालाई दिऊँ न के।केही पनि हुँदैन। त्यसमाथि मैले मेरो मामाघरको हवाला दिएँ। हाम्रो मामाघरमा त लुगा सिउन आउनेलाई दहीदूध दिन्छन्। त्यहाँका गाईवस्तुु भाँडिएका छैनन्।’

हजुरआमाले बिस्तारै भन्नुभयो, ‘यस्तो कुरा नगर बाबु। हजुरबाले थाहा पाउनुभयो भने मार्नुहुन्छ। दमाईलाई दूध दियो भने गाईवस्तु भाँडिन्छन्।’ मैले हजुरआमालाई सम्झाउँदै भने, ‘यो कुरा सब अन्धविश्वास हो आमा।’

मेरो जिद्दीका अगाडि हजुरआमाको केही चलेन। उहाँले लुकाएर मामालाई एक गिलास दूध दिनुभयो। मामाले पनि छक्क परेर दूध खाए। मलाई बहुत खुसी लाग्यो। उफ्, त्यो मेरो खुसी चौबिस घन्टा पनि टिक्न पाएन। बेलुका भैँसी भाँडियो। भैँसीले दूध दिएन। हजुरआमाले आँखा तर्दै सुटुक्क भन्नुभयो, ‘देखिस्, तँलाई खुब जान्ने बन्नुपर्‍यो नि। आजै दमैलाई दूध दिएको, आजै भैँसी भाँडियो।’ मैले पछि थाहा पाएँ, भैँसी बिरामी रहेछ। मैले चाल पाइसकेको थिएँ–यस्तो कुरागर्नु खासमा मानव सभ्यताकै हुर्मत थियो। अन्ध परम्पराको विषालु जरा थियो।

सुखको भ्रम
उल्लिखित घटना तीस–पैँतीस वर्ष अघितिरको हो। राजधानीभित्रैको समाज अझै पनि छुवाछुतमुक्त हुन सकेको छैन। वास्तवमा छुवाछुत मानवताविरुद्धको अपराध हो। म पनि कथित माथिल्लो जातिको मानिस हुँ। यो अपराधको भागिदार कहीँकतै म पनि छु।मामाले दिनुभएको चकलेट खान नपाएपछि मेरो मनमा त्यतिखेरै केही सबाल उब्जिएका थिए। ‘भैँसीले छोएको खान हुने, कुकुर, बिरालाले छोएको खान हुने, एउटा मान्छेले छोएको कुुरा अर्को मान्छेले खान किन नहुने ? एसएलसीपछि उच्च शिक्षाका लागि मैले गाउँ छाडेँ। कृष्णबहादुर नेपाली आर्मीमा गयो। यसबीचमा सहरीकरणको प्रभाव गाउँगाउँसम्म छिर्‍यो। घरमा सिलाएका लुगा लगाउने चलन हट्दै गयो। कान्छा मामाको पुख्र्यौली पेसा संकटमा पर्‍यो। उनले कमलविनायकमा टेलरिङ सेन्टर खोले रे भन्नेसुनियो। ०७२ सालको भूकम्पमा उनको घरमात्र ध्वस्त भएन,कृष्णकी छोरी पनि घरले थिचेर मरिछ। खरिपाटी ब्यारेकमा पोस्टिङ भएको मेरो बालसखा कृष्णबहादुर नेपाली ०७३ सालतिर कार्यालय जाने क्रममा हर्टअट्याक भएर बाटैमा बितेछ ।

करिब एक वर्षअघिको कुरा हो। कमलविनायकबाट चरेलीको मोटर चढेर घर जाँदै थिएँ। कान्छामामा पनि त्यही मोटरमा चढेका रहेछन्, हामी एउटै सिटमा पर्‍यौँ। मेरो घर पनि भुइँचालोले ध्वस्त भएको थियो।  उनको पहिलो प्रश्न थियो, ‘घर कहिले बनाउने भान्जा ? तिम्रा बाआमाले पनि धेरै दुःख गरेका छन्। अब बूढाबूढीलाई सुख दिने पालो तिम्रो हो।’ मैले घर बनाउन सुरु गरेको कुरा बताएँ। उनको मुख उज्यालो भएर आयो। उनका तीन छोरा थिए। जेठो  बितिहाल्यो। उनीचाहिँ अझै पनि टहरामा बस्दा रहेछन् । मैले सोधेँ, ‘अनि के छ त मामा मेलोमेसो ? अचेल के गर्नुहुन्छ ?’ उनको जवाफ थियो, ‘माइजू गाउँतिरै यसो सिउनेसाउने काम गर्छे। अरू काम गरेर उँभो नलागिने रहेछ भान्जा। म त यसो जग्गाको काम पो गरौँ भन्ने सोचिरहेको छु।’

राजनीतिले अधिकार र उन्मुक्तिको भ्रम छरेको छ। पिँधे मनुवा र सीमान्तकृतहरू कहिल्यै नझर्ने सुखको फल झर्ने आशामा आकाशतिर हेरिरहेका छन्। मामालाई उनकै गीतले भनेको अर्को एउटा प्रश्न सोध्न मन थियो। ‘छेउको सियो छेउमै छ कि माझमा पुग्यो त मामा ?’ तर मैले सोधिनँ। मलाई थाहा छ दलित र दुःखीको सियो माझमा पुग्न यो मुलुकले अझै केही समय कुर्नुपर्नेछ। सायद, समाजको जर्जर मानसिकतालाई भत्काएर नफालेसम्म त्यो समय आउनेछैन।

प्रकाशित: ८ चैत्र २०७६ ०४:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App