३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

बंशिलाघाटमा जन्तेढुंगा गाउँपालिकाको हेल्पडेस्क

खोटाङ– कोरोना भाइरस भित्रिन नदिन खोटाङको जन्तेढुंगा गाउँपालिकाले प्रमुख नाकामा हेल्पडेक्स खडा गरेको छ। जताततै कोरोनाको त्रास फैलिरहेका बेला जन्तेढुंगा गाउँपालिकाले बराहपोखरी गाउँपालिका–५ पौवासेरामा पर्ने बंशिलाघाटमा स्वास्थ्यकर्मी खटाएर हेल्पडेस्क खडा गरेको हो। गत शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार बंशिलाघाटमा आइतबारदेखि हेल्पडेक्स स्थापना गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक पवन पोखरेलले बताए।

सुरुका दिन जन्तेढुंगा गाउँपालिका-२ देस्थिान स्वास्थ्यचौकीका अहेवलाई पठाएर हेल्पडेस्क सुरु गरिएकामा मंगलबारदेखि थप अनमीलाई खटाइएको छ। तराई भित्रिने र बाहिरिने प्रमुख नाका भएकाले गाउँपालिकाले बंशिलाघाटमा हेल्पडेस्क स्थापना गरेको जनाएको छ। सुनकोसीको पुल तरेर भित्रिने स्थानीयको चेकजाँच गर्ने, ज्वरो आएको पाइएमा औषधि दिने र सामान्य निगरानीमा राख्ने, घर गएर सुरक्षित तरिकाले बस्नका लागि सुझाव दिने गरी नाकामा हेल्पडेस्क खडा गरिएको हो। ज्वरोको समस्या भेटिए र सुधार नदेखिए जिल्ला स्वास्थ्य कार्यालय र स्वास्थ्य प्रदेश निर्देशनालयसँग समन्वय गरेर तोकिएको ठाउँमा पठाइने संयोजक पोखरेलले बताए।

हालसम्म यात्रु आवत–जावत गर्ने समय बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म हेल्पडेस्क सञ्चालन गरिएकामा केही समयपछि चौबिसै घण्टा सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ। ‘अहिले हामीले पुल तरेर आउने नागरिकको स्वास्थ्य जाँच गर्ने, जरो नाप्ने, औषधि वितरण गर्ने र सावधानीका विषयमा काउन्सिलिङको काम गरिरहेका छौँ,’ संयोजक पोखरेलले भने, ‘चेकजाँचका क्रममा हालसम्म ज्वरो आएको मान्छे फेला परेको छैन।’

कोरोनाको संक्रमण रोक्नका लागि जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाका हरेक नाकामा हेल्पडेस्क स्थापनाको तयारी गरिरहेको जनाएको छ। जिल्लाको जयराम, रेग्मीटार, रसुवाघाट, ऐसेलुखर्क, लामीडाँडा लगायतका नाकामा हेल्पडेस्क राख्ने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए। सिग्देलका अनुसार कोरोनाबाट बच्नका लागि जिल्लाका १० वटै स्थानीय तहले पनि सचेतनामुलक सन्देश प्रवाह गरिरहेको जनाइएको छ।

प्रकाशित: ५ चैत्र २०७६ ०७:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App