पत्रकारितामा २५ वर्षदेखि सक्रिय जगदीश खरेलले यति चाँडै मन्त्रीको जिम्मेवारीमा पुग्नुपर्ला भन्ने सोचेका थिएनन्। गत भदौको जेनजी आन्दोलनलगत्तै उनको काँधमा मुलुकको सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मेवारी आइपुगेको छ। सरकारको प्रवक्ताका रूपमा समेत सक्रिय हुनुपर्ने मन्त्री खरेलको जिम्मामा विभिन्न दलसँग निर्वाचनमा सरिक गराउने जिम्मेवारीसमेत छ।
ठुलो परिवर्तनपछिको संक्रमणकालीन अवस्थामा मन्त्रीको जिम्मेवारीसँगैका व्यस्तताले उनी किचिएका छन्। यसपटकको ‘नागरिक फ्रन्टलाइन’ मा प्रधानसम्पादक गुणराज लुइँटेलसँग उनले मंगलबार साँझ विगतको आफ्नो पत्रकारिता, नयाँ अनुभव, सरकारको निर्वाचन तयारी र भावी यात्राबारे मन्त्री खरेलले लामो संवाद गरेका छन्। मन्त्री भएको साढे तीन महिनामा उनले दिएको यो पहिलो अन्तर्वार्ता हो। प्रस्तुत छ– मन्त्री खरेलसँगको अन्तर्वार्ताको सम्पादित अंश।
कुनै बेला प्रश्न गर्ने ठाउँमा हुनुहुन्थ्यो आज जवाफ दिने स्थानमा हुनुहुन्छ, यो परिवर्तनलाई कसरी लिनुभएको छ?
कुनै समय प्रश्न सोध्ने ठाउँमा थिएँ। आज जवाफ दिने ठाउँमा छु। प्रश्न सोध्ने र जवाफ दिने दुइटै ठाउँ जिम्मेवारीपूर्ण, गहन, संवेदनशील र जवाफदेहीका क्षेत्र हुन्। प्रश्न सोध्ने ठाउँ पनि जवाफदेहीको क्षेत्र नै हो। मात्र भूमिका फरक हो।
सरकारको रस रमाइलो कि सञ्चारको?
जुन पृष्ठभूमिमा यो सरकार बन्यो, त्यसको त रसै बसिसकेको छैन। जेनजी आन्दोलनको जगमा त्यसलगत्तै सहिद परिवारलाई हेर्नुपर्ने, उहाँहरूसँग कुरा गर्नुपर्ने, सेयरिङ गर्नुपर्ने अवस्था रह्यो। घाइतेहरूको अस्पतालमा उपचार गराइरहेको अवस्था छ। जेनजी प्रतिनिधिका विभिन्न माग छन्। दलहरू यताउता भइरहेको अवस्था थियो। यी सबै अवस्थाबिच अहिले तीन महिना बढी भयो। मन्त्रालयका आफ्ना नियमितबाहेकका यी काम भए। यी सबैले सरकारको रस बसिसकेकै छैन। र धेरै रस पनि नबसोस् भन्ने लाग्छ तर पत्रकारिताको रसचाहिँ रगतमै गढेको छ।
पत्रकारितामा रहँदा कहिल्यै यस्तो खालको जिम्मेवारी लिनुपर्लाभन्ने सोच्नुभएको थियो?
पत्रकारिताको २५ वर्षको अवधिमा कुनैकुनै बेला होइन, पटकपटक आउँथ्यो। जुन मन्त्री, जुन प्रधानमन्त्री, जुन राजनीतिक नेता वा सरोकारवालासँग प्रश्न गरिराख्दा त्यो ठाउँमा भएको भए यसो गर्थें, यसरी अगाडि बढ्थें होला भन्ने आउँथ्यो। यो नढाँटी भनेको। सायद त्यो तपाईंलाई पनि आउँछ। पत्रकारले सोधिराख्दा कहिलेकाहीं कल्पनामा म यो ठाउँमा भएको भए यसो गर्थें भनेर आउँछ पनि।
मन्त्रीका रूपमा तीन महिनाको अवधि कस्तो रह्यो?
म जुन संस्थामा प्रधानसम्पादकको रूपमा काम गर्थें, मन्त्री शपथको दिन दिउँसो एक बजेसम्म त्यही भूमिकामा थिएँ। धेरै काम त गरिनँ तर त्यही कुर्सीमै थिएँ। तीन बजे शपथ लिनुपर्यो। चार बजे कुर्सीमा आएँ। यो तीन महिनाको अवधिमा मन्त्रालयले गरेका कामबारे अस्ति सार्वजनिक पनि गरें। तीन महिनामा हासिल गरेका ३० महत्त्वपूर्ण उपलब्धि सार्वजनिक रूपमै पनि भनेको छु। जुन नीति तथा कार्यक्रम आफ्नो होइन, बजेट आफूले ल्याएको होइन। मबाहेकका सबै संरचना पुराना हुन्। त्यस बिचमा यति गर्न सकियो भनेर सार्वजनिक पनि गरें। त्यसबाहेक मुलुकका विभिन्न गतिविधिमा सरकारको तर्फबाट चाल्नुपर्ने कदम चालें। मुलुक असामान्य अवस्थाबाट सामान्य र सामान्य अवस्थाबाट निर्वाचनमय बनेको छ। त्यसमा सरकारको प्रवक्ताका रूपमा आफ्नो तर्फबाट जे जति काम गर्न सकेको छु, त्यसमा सन्तुष्ट छु।
सञ्चारकर्मीमा रहँदा कतिपय यस्तो चिज हुन्छ जुन गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो नि, मन्त्रालय पुगेपछि त्यसमा के गर्नुभयो?
सानो कुरा हो तर एकदमै गर्न मन लागेका कुरा पत्रकार सुरेश रजकको विषय थियो। सुरेश रजकको मृत्युलाई एकदमै अस्वाभाविक, असामान्य ढंगले लिएको थिएँ। एउटा पत्रकारले क्यामेरा चलाउँदा चलाउँदै, काम गर्दा गर्दै जसरी मर्नुपर्यो, त्यतिबेला उनलाई सहिद घोषणा गर्नुपर्छ भन्ने महसुस हुन्थ्यो। उनलाई सहिद घोषणा गरिँदा मनमा सन्तुष्टि मिल्यो। उनको जीवन साथीलाई सानोतिनो रोजगारीको प्रबन्ध गरियो। पत्रकारिताको हिसाबले त्यो ठिक लागेको छ। त्यसबाहेक राज्यद्वारा सञ्चालित संस्थानका पत्रकारलाई सामाजिक सुरक्षाको दायरामा ल्याइएको छ। सेक्युरिटी प्रिन्टिङ प्रेस मार्फत लाइसेन्स छाप्नेदेखि फ्री वाइफाई एक्सेसका कुरा, सात सय ५३ पालिकामध्ये आठवटामा अझै इन्टरनेटको पहुँच थिएन। यही तीन महिनाको अवधिमा हामीले कर्णाली, सुदूरपश्चिम र गण्डकीका चार पालिकामा फोरजी इन्टरनेटको पहुँच पुर्यायौं।
चलचित्र सम्बन्धी, प्रिन्टिङ प्रेससम्बन्धी, टेलिकम्युनिकेसनसम्बन्धी काम छन्। यही बिचमा हामीले ८७ वटा टावरहरूको काम अगाडि बढाएका छौं। मन्त्रालयअन्तर्गतका आन्तरिक कुरामा अनलाइन दर्तादेखि नवीकरणसम्मका थुप्रै कुरा अगाडि बढेका छन्। म मन्त्री योजना नै गरेर आएको होइन। आकस्मिक आउनुपर्यो, त्यो हिसाबले सिक्दै, गर्दै अगाडि बढें।
पत्रकारितामा प्रमाण जुटाउनुपर्दा स्रोतको भर पर्नुपर्थ्याे। बाहिरबाट हेर्दाको संसार र राज्यको मुख्य सञ्चालन अंगभित्र बसेर हेर्दा बिचको फरक के हुँदो रहेछ?
फरक हुन्छ, जुन मैले अनुभूति गरें। २५ वर्ष पत्रकारितामा रहँदा राज्य सञ्चालनका स्रोत, अवस्था, राज्य सञ्चालकहरूको मनोवृत्ति, उनीहरूका मनस्थिति, अप्रोच र गम्भीरताका कुरा जुन रूपमा बाहिरबाट लाग्थ्यो, भित्र त्यो हुँदो रहेनछ। भित्र नितान्त फरक हुन्छ। अधिकांश सञ्चारमाध्यममा आएका समाचारलाई सत्यताको कसीमा राख्ने हो भने धेरै कम प्रतिशत समाचार वस्ताविक, सन्तुलित र विश्वसनीय छन्।
यतिचाहिँ भन्न सक्छु - यी कुरामा धेरै कम समाचार, पत्रकार र सञ्चारमाध्यमले ध्यान दिएका छन्। कतिका आधा सत्य, कतिका आधा असत्य, कतिका चाहनाजस्तो देखिने, कतिका आरोप बढी देखिने, अधिकांश मिडिया ट्रायलहरू देखिने हुन्छन्। अहिले त्यो महसुस भएको छ।
२५ वर्षको पत्रकारिताका क्रममा अहिले आएर त्यस्तै गरें कि भन्ने महसुस हुन्छ?
पत्रकारका रूपमा मेरो अवधारणा यस्तो थियो, तर त्यो होइन रहेछ भन्ने कुरा सरकारमा आइसक्दा महसुस भयो।
आजै (मंगलबार) एउटा समाचार आएको थियो। तीन जना मन्त्री (कुलमान घिसिङ, तपाईं र बब्लु गुप्ता) सँग प्रधानमन्त्रीले राजीनामा माग्नुभएको समाचार थियो त्यो। वास्तविकता के हो?
त्यो होइन। मलाई त सम्माननीय प्रधानमन्त्रीज्यूले भन्ने कुरा पनि होइन। तपाईंकै कार्यक्रममार्फत प्रस्ट पारौं - अहिलेसम्म म कुनै पार्टीमा पनि छैन। चुनावमा उठ्छु या उठ्दिनँ पनि भनेको छैन। म कुनै पनि दलको पार्टीका कार्यक्रममा गएको पनि छैन। त्यो भन्दै गर्दा एउटा अर्को प्रस्टीकरण दिनुपर्यो - जान त कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा, राप्रपा र जनमत सबैका कार्यालय गएको छु। सबै नेतासँग भेटेको पनि छु। शीर्ष नेताहरूका घरघरमा पनि भेटेको छु तर त्यसको प्रयोजन सबैलाई थाहा छ। चुनाव गराउन लाग्नु हो।
जेनजी आन्दोलनको जगमा बनेको सरकार त्यसको मर्मअनुसार सञ्चालन भएको छ?
त्यसैको मर्मअनुसार मात्रै यो सरकार सञ्चालन भएको छ। जनादेश पनि त्यो मात्रै छ। त्यो जनादेश पहिलो फागुन २१ मा चुनाव गर्ने र दोस्रो सुशासन कायम गर्ने हो।
तेस्रो भ्रष्टाचार नियन्त्रणका लागि कामको सुरुवात गर्ने हो। इतिहासमा स्वार्थै नमिसिएको निःस्वार्थ आन्दोलन कुनै थियो भने त्यो जेनजीकै थियो किनभने आन्दोलन भइसकेपछाडि जेनजीहरूले सरकार मागेनन्, सत्ता मागेनन्। उनीहरूले हामीलाई पठाए। २०६२/६३ को आन्दोलनमा त्यो भयो त? जो आन्दोलनकारी थिए, उनीहरू नै सत्ता र सरकारमा आए। २०४६ साल पनि त्यही भयो। त्यो हिसाबले यो निःस्वार्थ आन्दोलन थियो। उहाँहरूका माग नै हाम्रो मुख्य जनादेश हो। कार्य त्यही हो। त्यसअनुसार नै सरकार अगाडि बढिरहेको छ। उहाँहरूलाई हामीले बेवास्ता गर्नै मिल्दैन। हाम्रो जग नै त्यही हो। त्यही रूपमा हामी अगाडि बढिरहेका छौं।
जेनजीमा पनि धेरै समूह देखिएका छन्, ती समूहका विभिन्न मागले सरकारलाई कहिले अप्ठ्यारो जस्तो परेको छैन?
धेरै परेको छ। आन्दोलनलगत्तै सम्माननीय प्रधानमन्त्रीज्यूले बिहान सात बजेदेखि राति २÷३ बजेसम्म पनि जेनजी प्रतिनिधिसँग वार्ता गर्नुभयो। जति समूह आए, कसैलाई पनि बेवास्ता गरेनौं। प्रधानमन्त्रीज्यूले सबैका कुरा सुन्नुभयो। उहाँहरूकै मागका आधारमा जेनजी प्रतिनिधिहरूसँग सम्झौता गर्यौं। त्यो सम्झौताले स्थिरताको बाटोतर्फ मुलुकलाई अगाडि बढाएको छ। जेनजी एउटा आन्दोलन हो, जेनजी एउटा पुस्ता हो र जेनजी एउटा समय हो। यो सबै कुरालाई सम्बोधन गर्न चुनौतीहरू पक्कै थिए तर जेनजी प्रतिनिधिले पनि साथ दिनुभयो, जसका कारण अहिले सामान्य अवस्थातिर फर्किरहेका छौं।
बिचमा प्रधानमन्त्री आफैलें पनि आजित भएँ भन्नुभएको थियो, अहिलेको अवस्था के हो?
त्यसबाट समय अगाडि बढिसक्यो। अहिलेको अवस्था सामान्यतर्फ अगाडि बढेको छ। सहज अवस्था बन्दै गएको अनुभूति हामीले गरेका छौं।
सरकारका विभिन्न मुलुकसँगको सम्बन्ध, हाम्रा छिमेकी भारत र चीनसँगको सम्बन्ध कस्तो छ?
सरकार बनेपछाडि एउटा भ्रम भयो - यो सरकारलाई समर्थन छैन कि? असंवैधानिक छ कि? यो लोकप्रिय कार्यक्रममार्फत आम नेपाली जनता र सरोकारवालालाई भन्न चाहन्छु - मुख्य दलहरूकै सहमतिमा सम्माननीय सुशीला कार्कीज्यू प्रधानमन्त्रीमा आउनुभएको हो। जेनजी आन्दोलनले यो सरकार बनाएको हो। जहाँ जनताको समर्थन छ। सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यू नेतृत्वको यो सरकारलाई हाम्रा छिमेकी मुलुक भारत, चीनलगायत अरू तेस्रो मुलुक र अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि समर्थन प्राप्त छ।
हामी फागुन २१ मा चुनाव गराउँदै छौं। चुनाव सम्पन्न गर्न सबै अन्तर्राष्ट्रिय जगत्ले हामीलाई शुभकामना भन्नुभएको छ। भारत र चीनले त चुनाव गराउन हामीलाई आर्थिक र भौतिक सहायता पनि आवश्यक परे गरौंला भन्नुभएको थियो। केही पैसा हामीसँग छ। चुनाव गराउन गाडी लगायतका सामग्रीमा भारतले सहयोग गर्दै छ, त्यस्तै केही सहयोग चीनले गर्दै छ। अलिकति सहयोग जापानले गर्दै छ। यो सरकारले छिमेकीदेखि बाहिरसम्म र राष्ट्रिय रूपमै यति अधिक समर्थन छ। सबैतिरको समर्थन पाएको पछिल्लो एक दशकयताको यो पहिलो नागरिक सरकार हो।
सरकार चुनावमा व्यस्त छ, तर केही नेताहरू भारत दौडाहामा छन्, त्यसबारेमा सरकार जानकार छ?
सरकार जानकार छ। मिडिया मार्फत पनि जानकारी आइरहेको छ। पार्टीका गतिविधिका विषयमा नेताले भनिराख्नुभएको छ। दृश्य देखिराखिएको छ। भारत गएको, पुगेको, आएको यसलाई हामीले अन्यथा लिएका छैनौं। भारत, चीन, अमेरिका भ्रमण जानै नहुने होइन। हाम्रो अर्जुनदृष्टि चुनावमा छ। चुनावका लागि सबै राजनीतिक दल तयार भएका छन्। हामी चुनाव गर्छौं। चुनावपछि दलहरू आउँछन्, सरकार सम्हाल्नु हुन्छ। यसमा हामी स्पष्ट छौं।
फर्केर आएपछि सरकारलाई ब्रिफिङ गर्ने गरेका छन्?
त्यो मेरो जानकारीमा आएको छैन। भारत जाने सन्दर्भमा उहाँहरूको निजी हो कि संस्थागत, पार्टीगत हो कि औपचारिक? पार्टीहरूले सरकारलाई जानकारी गराउने–नगराउने, परराष्ट्र मन्त्रालयलाई जानकारी गराउने–नगराउने? सम्भवतः उहाँहरूको औपचारिक कार्यक्रम भयो भने त्यही रूपमा कति र के जानकारी गराउने भन्ने होला। कतिपयका उपचारका कुरा पनि सुनेका छौं। त्यसैले सरकारले यो कुरामा एकदमै चासो राखेको छैन। हामी निर्वाचनमै केन्द्रित छौं।
पूर्वप्रधानमन्त्रीहरू जो राज्यसत्ताको माथिल्लो तहमा पुगेको व्यक्ति जाँदा, उहाँहरूले राजनीतिक कुराकानी पनि गर्यौं भन्दा सरकार यसमा जानकार हुनु पर्दैन?
सम्बद्ध मन्त्रालय र निकायमा पक्कै पनि यो कुराको जानकारी छ, हुनुपर्छ र भइहाल्छ तर अब सार्वजनिक रूपमा यति भन्छु – सरकारले यसलाई असाध्यै प्राथमिकता दिएको छैन तर हाम्रा सम्बद्ध निकायहरू त चनाखोपूर्ण अवस्थामा रहिहाल्छन् नि। त्यो त भन्नैपर्ने कुरा होइन।
सरकारको ध्यान निर्वाचनमै भए पनि कतिपय दैनिक र विकास निर्माणका कामको दबाब पनि होला नि?
मन्त्रालयअन्तर्गतका दैनिक काम सम्बन्धित मन्त्रीज्यूहरूले अहिले पनि गरिरहनुभएको छ। चुनावकेन्द्रित भनिराख्दा हाम्रा कयौं विकास, सेवा र प्रशासनसँग सम्बन्धित मन्त्रालय छन्। यी सबै मन्त्रालयहरूले पूर्णकालीन रूपमा निरन्तर काम अगाडि बढाइरहेका छन्। मात्र अहिले धेरै नयाँ काम गर्न सकिँदैन किनभने यो अन्तरिम सरकार हो।
निर्वाचनका कुरा धेरै गर्नुभयो, आशंकाहरू पनि जीवितै छन्, निर्वाचन हुने आधार केके हुन्?
निर्वाचन हुन्छ भन्ने स्पष्ट आधार त तपाईंहरूले तय गरिराख्नुभएकै छ। सरकार निर्वाचन गराउन तयार छ। सरकारले पटकपटक सर्वपक्षीय, सर्वदलीय, मुख्य राजनीतिक दल, एउटा राजनीतिक दल, एकजना नेता, समूहमा चरणबद्ध बैठक राखेर सम्माननीय प्रधानमन्त्रीज्यूले छलफल गर्नुभएको छ। बालुवाटार र सिंहदरबारमा धेरै बैठक गर्नुभएको छ, जसका कारण अहिले सबै दलहरू चुनावमा भाग लिन तयार भए। समानुपातिकको बन्दसूची बुझाइसके। उम्मेदवार छान्दै छन्। निर्वाचन कमिटी बनाइरहेका छन्। कतिपय उम्मेदवार घरदैलोमा पुगिसके। चुनावी आमसभा गर्न थालिसके। यस आधारमा दलहरू तयार छन् भन्नेमा द्विविधा रहेन। जहाँ सबैभन्दा बढी शंका थियो, त्यो निवारण भइसक्यो।
सरकारले सबै खालका स्रोतसाधन, जनशक्ति व्यवस्था गरिसकेको छ। निर्वाचन आयोग क्यालेन्डर नै बनाएर काम गरिरहेको छ। निर्वाचन आयोगले सम्झौता गरेको छैन। दलहरूले बन्दसूचीको अलिकति म्याद थप्ने कि भन्दा हुँदैन भन्यो। क्यालेन्डर पालना गर्नुपर्छ भन्यो। माघ ६ गते प्रत्यक्षतर्फको मनोनयन दर्ता हुन्छ। त्यसमा आयोग तयार छ। सुरक्षा निकायको मनोबल ह्वात्तै बढेको छ। २०७९ सालभन्दा १० लाख नयाँ मतदाता नामावली थपिएको छ। जनता चुनावका लागि तयार भइसके। गाउँ होस् वा सहरका चिया चौतारीमा मान्छेले चुनावकै कुरा गर्छन्।
विभिन्न दललाई भेट्नुभयो, चुनावको वातावरण बन्दै गएको छ, प्रधानमन्त्रीज्यूले शीर्ष दलका शीर्ष नेताको मुखै हेर्दिनँ भनेको स्थितिबाट आज सरकार यो अवस्थामा आइपुगेको छ, यहाँसम्म पुग्न केके गर्नुपर्यो?
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीज्यू, एक अभियन्ता, एक सचेत नागरिक भन्ने कुरा एउटा भयो तर सम्माननीय प्रधानमन्त्री सुशीला कार्की त सबैको सरकार हो र यो देशका तीन करोड नागरिकको प्रधानमन्त्री हो। त्यसकारण उहाँ जब प्रधानमन्त्री बन्नुभयो, तब उहाँले सम्माननीय प्रधानमन्त्रीका रूपमा आफूलाई प्रस्तुत गरिराख्नुभएको छ। व्यवहार त्यही गर्नुहुन्छ। काम त्यसैगरी गर्नुहुन्छ। जेलमा बस्ने कैदीको पनि उहाँ प्रधानमन्त्री हो। कुनै एउटा अमूक दलका नेताको पनि प्रधानमन्त्री हो। आमजनताको प्रधानमन्त्री हो र तपाईंको पनि प्रधानमन्त्री हो। पछिल्लो समयमा उहाँले गरेका व्यवहार एउटा प्रधानमन्त्रीका रूपमा जुन भयो त्यो सबै राजनीतिक दलमा सर्वस्वीकार्य भयो। त्यो उदारता, हृदयता र लचकता प्रधानमन्त्रीले देखाउनुपर्छ। आफ्नो लक्ष्य प्राप्तिका लागि उहाँले मिजासिलो ढंगले सबै राजनीतिक दलका नेतासँग बसेर छलफल गरी चुनावका लागि तयार छौं भनिरहनुभयो। यसैले नै चुनावी वातावरण बन्यो, जसलाई सबैले सकारात्मक रूपमा लिनुभएको छ भन्ने लाग्छ।
एमाले अध्यक्ष केपी शर्मा ओली सरकारसँग अलि टाढा भएको हो कि जस्तो थियो। उहाँलाई मनाउने बेलामा अलि अप्ठेरो पर्यो कि?
राजनीतिक अडान, मूल्यमान्यता, व्यक्तिगत स्वभाव, शैली यो पृथ्वीका हरेक मान्छेको फरक–फरक हुन्छ। यस सन्दर्भमा उहाँहरू जुनबेला सरकारमा हुनुहुन्थ्यो, एक्कासि बाहिरिनुपर्यो, विस्थापित हुनुपर्यो। सामान्य अवस्थामा फर्कन उहाँहरूलाई समय लागेको हो। मलाई त्यस्तो लाग्दैन कि नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेतालगायतका अभिव्यक्ति, वक्तव्य, व्यवहार सुरुसुरुमा सरकार वा जेनजीप्रति अलि बढी आलोचनात्मक देखिए पनि प्रधानमन्त्रीज्यूसँगको संवाद, सोच र व्यवहारका कारण उहाँहरू लचिलो हुँदै आउनुभयो। त्यसमा सरकारलाई अप्ठ्यारो महसुस भएन। प्रधानमन्त्रीज्यूलाई पनि भएन।
कुनै न कुनै हिसाबमा चुनाव अलिकति सार्ने हिसाबले दलहरूको चाहनामा सरकार पनि भित्रभित्रै मिलेको छ भन्ने कुरा पनि सुनिन्छ, खास कुरा के हो?
त्यो होइन। कुरा के हो भने फागुन २१ मा चुनाव गर्दा १५/२० वटा हिमाली जिल्लामा के होला? हुन सक्ला कि नसक्ला भन्ने चिन्ता थियो। तराईमा होलीको चिन्ता थियो। केही नेता र राजनीतिक दलले गलत नियत राखेर पनि होइन, सद्भावै राखेर सार्न सकिन्छ त भने। त्यसपछाडि हामीले बुझ्यौं, अहिलेसम्मको हिसाबले ‘ग्लोबल वार्मिङ’ ले जुन ‘क्लाइमेट चेन्ज’ को कारणले उच्च पहाडी र हिमाली जिल्लामा सुन्तला फल्न थाल्यो, पहाडीमा आँप फल्न थाल्यो भनेपछि त्यो चिसोको धेरै प्रभाव नपर्ला कि भन्ने अपेक्षा छ।
विशेष अवस्था नआईकन चुनाव हामीले पर सार्न पनि मिल्दैन। किनभने हामीलाई सम्माननीय राष्ट्रपतिज्यूले सरकार बनाउँदै दिएको मिति नै फागुन २१ हो, यही मितिमा गराउनैपर्छ र गराउने हो। सम्भव छ भन्नेमा हामी स्पष्ट पार्न चाहन्छौं। कुनै पनि राजनीतिक दल र नेतासँग चुनाव सार्ने भन्नेमा वार्ता भएकै छैन र हुँदैन। क्यालेन्डरअनुसार नै फागुन २१ मा चुनाव गर्नेमा सम्माननीय प्रधानमन्त्रीज्यू दृढ हुनुहुन्छ। उहाँ नेतृत्वको सरकार पनि दृढ छ।
यो आन्दोलनको एउटा उद्देश्य विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउनुपर्छ भन्ने थियो, त्यसका लागि अप्ठ्यारा र तयारी केके छन्?
यसमा तीनवटा कुरा छन् - एउटा, विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने कुरा, बेजिल्ला भोटिङका कुरा र नो भोटका कुरा। यी तीनवटै सन्दर्भमा सरकारले सरोकारवाला सबै राजनीतिक दल, निर्वाचन आयोग, सम्बन्धित निकायसँग छलफल गर्यो। कतिपयले गरौं भने, कतिपयले अहिले सकिँदैन भने। धेरै जेनजीको तर्फबाट यो गर्नुपर्छ, सम्भव छ भन्ने कुरा पनि आयो। सरकारले आइभोटिङका बारेमा विभिन्न विज्ञसँग प्राविधिक विषयमा सल्लाह गर्यो। छलफल भयो। मुख्य राजनीतिक दलका मुख्य नेताहरूले भन्नुभयो, ‘अहिले सम्भव छैन। पछि गरौं। यसतर्फ लाग्दा फागुन २१ मा चुनाव नहुन सक्छ। बिथोलिन सक्छ।’
उहाँहरूले ठ्याक्कै बोलेको शब्द भन्छु, ‘खेल सुरु भइसकेपछि खेलको नियम नबदलौं, विधि बनिसकेपछि प्रविधि नबदलौं।’ किनभने निर्वाचनको खेल सुरु भयो। अर्को निर्वाचनका लागि तयारी गरौं भनेपछि सरकार होल्डमा बसेको कुरा सत्य हो।
विदेशमा रहेका नेपालीको नोट चल्ने भोट किन नचल्ने? चल्नुपर्यो नि। कसलाई भनेको भने जसको नागरिकता, पासपोर्ट नेपाली छ, जसले कमाएको पैसा नेपाल पठाउँछ, जसका जहान, छोराछोरी, बाबुआमा नेपालमा छन्, जसको घर नेपालमा छ, जसको भविष्य नेपालमा छ। मात्र पसिना बगाउन जो मान्छे खाडी मुलुक, मलेसिया कतार, दुबई, जापान र कोरिया गएका छन्। सबै कुरा उसको यहाँ छ भने उसको भोटमा नचल्ने हुन्छ? हामीले अमेरिकी नागरिकता लिएका नेपाली मूलको भोटिङको कुरा गरेको होइन। खास नेपाली भनेको जसको सबथोक यहीं छ, उसलाई त भोटिङ दिनुपर्यो। त्यो सरकारको चाहना, इच्छा पनि हो। जेनजी आन्दोलनको जनादेश पनि हो, तर हाम्रा चाहना र इच्छा मात्रैले भएन।
राष्ट्रियसभाको निर्वाचन हुँदै छ, त्यसको तयारी कस्तो छ?
तयारी छ। त्यो सरल हिसाबले जान्छ। दलहरूले विभिन्न अलायन्सका कुरा गरिरहेका छन्। त्यो सहज ढंगले सम्पन्न गर्छौं।
प्रतिनिधिसभा रहेको अवस्थामा राष्ट्रियसभाको अधिवेशन बोलाउनुपर्ने होइन?
यसमा मैले पनि राष्ट्रियसभाका सम्माननीय अध्यक्षज्यूसँग कुराकानी गरेको थिएँ। राष्ट्रियसभाका सम्माननीय अध्यक्षज्यू र सम्माननीय प्रधानमन्त्रीज्यूका बिचमा पनि कुराकानी भइरहेको छ। सरकारको तर्फबाट अब छिटै राष्ट्रियसभा बोलाउन सम्माननीय राष्ट्रपतिज्यूलाई आग्रह गर्ने तयारी भइरहेको छ। समयावधिभित्रै सरकारले राष्ट्रियसभा बोलाउन सम्माननीय राष्ट्रपतिज्यूलाई आग्रह गर्छ।
चुनाव नजिकिँदै गर्दा धेरै व्यक्ति कुनै न कुनै दलमा जाने क्रम चलेको छ, तपाईंको योजना के छ? कुनै दलबाट प्रस्ताव आएको छैन?
सरकारको प्रवक्ता पनि भएका कारण चुनावको वातावरण बनाउन, जनताका धारणा बुझ्न, सरकारप्रति के चाहन्छन् ती कुरा बुझ्न पछिल्लो समय जनताका घरदैलो, चोक चौतारी देशभरि नै भ्याएसम्म गएँ। अधिकांश जनताले तपाईंले राजनीतिलाई निरन्तरता दिनुपर्छ। छोटो समय दुई/तीन महिनामा के काम गर्न पाउनुभयो र? तपाईंको परीक्षण नै गर्न पाएनौं। पत्रकारका रूपमा एक तहको सन्तुष्टि जनतालाई दिनुभयो, सफल हुनुभयो, त्यसबाट खुसी छौं। तर नेता वा मन्त्रीका रूपमा राजनीतिक परीक्षण हुन पाएन, त्यसकारण तपाईं निरन्तरता दिनुस् भनेर धेरैबाट अनुरोध आएको सत्य हो। तर मैले राजनीतिमा जाने वा नजाने, चुनावमा उठ्ने या नउठ्ने भन्ने निर्णय गर्न सकेको छैन। त्यो समयलाई छोडिदिएको छु।
पार्टीहरूबाट विभिन्न प्रस्ताव आएका छन्। पुराना दल, राम्राराम्रा दलहरू र ठुलाठुला दलबाट पनि प्रस्ताव आएको सही हो। नयाँ दलबाट पनि प्रस्ताव आएको सही हो। विभिन्न स्टेकहोल्डर र जनताबाट पनि आएको सत्य हो। सबैका कुरा सुनिरहेको छु, ग्रहण गरिरहेको छु तर निर्णयचाहिँ गरेको छैन।
तपाईंले लिने गरेको अन्तरवार्ताको अन्त्यमा जहिले पनि आफ्ना पाहुनासँग सोध्ने गर्नुहुन्थ्यो– यो देश बन्छ? कसरी बन्छ? आज म तपाईंलाई त्यसरी नै सोध्छु, ‘यो देश कसरी बन्छ?’
देश बन्छ। देश तपाईंहाम्रै पालामा बन्छ। देश पुरानाको अनुभव र युवाको जोसजाँगरले बन्छ। यो दुइटैको फ्युजन भएर नेपाली राजनीतिमा युवाहरूको बाहुल्य बढ्ने छ। युवाहरूको बाहुल्य बढिसकेपछाडि देशलाई राजनीतिक सचेततामा लगेर जनताका जीवनका सरोकारहरू व्यवस्था बदल्यौं तर अवस्था त बदलेनौं हामीले।
अवस्था बदल्ने गरेर युवा पुस्ताले देश हाँकिराख्दा फागुन २१ पछिको दृश्य एकदमै सुन्दर देख्दै छु। जुनजुन पार्टीबाट जो आए पनि सुन्दर देख्दै छु। त्यसमा एउटै सावधानी अपनाउनुपर्छ - त्यो हो - राजनीतिक परिपक्कता। अरू कसैको पैसा ल्याउनु पर्दैन, ऋण गरेर, विदेशीको सहयोग लिएर यो देश बनाउनै पर्दैन। नेपालभित्रकै स्रोत साधन र जनशक्तिले देश बनाउन सक्ने प्रशस्त आधार छन्। पाँचदेखि १५ वर्षमा राम्रो मुलुकको सुन्दर तस्बिर देखिरहेको छु।
प्रकाशित: २५ पुस २०८२ ०८:२५ शुक्रबार





