नेपालका आन्दोलनकारीबाट नाकाबन्दी नगरिएका स्थानबाट पनि सामान नआइदिएको अवस्था औल्याउँदै नेपालले भने– 'दबाबको भरमा संविधान संशोधन हुँदैन।' मधेस आन्दोलनलगायत मुलुकको राजनीतिक परिस्थितिबारे नागरिकका विश्वमणि पोखरेल र मदन ठाकुरसँग नेपालले रौहतहको चन्द्रनिगाहपुरमा गरेका वार्ता :
मधेसमा अहिले आन्दोलन चलिरहेको छ। यस्तो बेला एमालेको वरिष्ठ नेता तपाईँ यहाँ आउनुभएको छ। के कस्ता कार्यक्रम ल्याउनुभएको छ?
कार्यकर्तासँग भेटघाट गर्न आएका हौँ। हाम्रो जिल्ला कमिटीले जिल्लास्तरीय बृहत् कार्यकर्ता भेला आयोजना गरेको छ। त्यसमा संविधानबारे पार्टीको धारणा स्पष्ट गर्ने उद्देश्यले हामी आएका हौँ।
भोलिदेखि संसद् बैठक सुरु हुँदैछ। यहीँ आएर संविधानबारे प्रष्ट पार्नुपर्ने आवश्यकता किन पर्यो?
आउने आउने भन्दाभन्दै पनि समय मिलाउन गाह्रो भो, आज पनि म आउने निश्चित भइसकेपछि पनि तीन दलको बैठक छ। मधेसवादी दलका नेताहरुसँग बैठक छ। नजानूस् भन्ने खबर आएको थियो। म त हिँडिसकेँ भनेर आएको हुँ। जिल्ला आउने कार्यक्रम ढिलो भएको हो। हिजोमात्र हाम्रो पार्टीमा बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, मकवानपुर, चितवन जिल्लाका कार्यकर्तासँग पार्टी कार्यालयमा बसेर अन्तरक्रिया गरेका थियाँै, अस्ति पनि कार्यकर्ता भेलामा व्यस्त थियौँ। यस्तैयस्तै कारणले काठमाडौँ छोड्न सकिरहेका थिएनौं। त्योभन्दा अगाडि काठमाडौँमा रहेर संविधान बनाउने भूमिका थियो हाम्रो। आज जिल्ला कमिटीले कार्यक्रम राख्यो। आइदिनुपर्छ भन्यो। त्यसैले आइयो।
डुल्ने क्रममा मधेसका जनतामा आक्रोश व्याप्त रहेको र प्रमुख राजनीतिक दलका कार्यकर्ता पनि मधेसी मोर्चामा लागेर 'जय मधेस' भन्दै आन्दोलनमा लागेको पाइयो। यो अवस्थालाई कसरी लिनुहुन्छ?
नेकपा एमालेका नेता/कार्यकर्तामा त्यस्तो भ्रम छैन। हाम्रा नेता/कार्यकर्ता त्यता लागेका पनि छैनन्। एक दुई जना गए भने ती पार्टीबाट अलग भइसकेका हुन्। पार्टी निर्णय नमान्नेलाई कसरी पार्टीमा बसिराख्नूस् भन्ने? पार्टी निर्देशन पालना गर्ने यसका कार्यकर्ताको कर्तव्य पनि हो। एमालेको नीति र धारणा ठीक छैन भन्ने लाग्छ भने बसेर छलफल गर्नु। पार्टीले बुझाउने प्रयास गर्छ। पार्टीप्रति विश्वासै रहेन भने त्यस्ता मानिस पार्टीमा रहन सक्दैन। पार्टी कार्यकर्ताले दोहोरो भूमिका खेल्न मिल्दैन।
पार्टीमाथि विश्वास हुँदाहुँदै पनि मधेसका गाउँमा अहिलेको परिस्थितिका कारण एमालेलगायत पार्टीका कार्यकर्ता कि परिस्थितिसँग सम्झौता गर्दै मधेसवादी मोर्चामा लागेका छन् कि त पलायन भएर अन्यत्र गएको अवस्था छ। यसबारे के भन्नुहुन्छ?
एमालेमा खास त्यस्तो भएको छैन। एमालेको कुरा गर्दै हुनुहुन्छ भने त्यो होइन। नेपाली काँग्रेसका बारे हो भने मलाई थाहा भएन। एमाओवादीको कुरा हो भने पनि मैले भन्ने कुरा होइन।
नागरिकको अध्ययनमा सबै दलको त्यही अवस्था त्यस्तै देखिन्छ त?
तपाईँहरुले भनेजस्तो होइन। सभासद डा. वंशिधर मिश्र र लालबाबु यादव यहीँ हुनुहुन्छ। सभासद रामकुमार भट्टराई पनि यहीँ हुनुहुन्छ। म पनि अहिले रौतहटमै छु। त्यस्तो होइन। अहिले यहाँ रौतहटका सबै कार्यकर्तासँग भेट हँुदैछ। हाम्रो पार्टीसँग सम्बन्धितहरु अन्यत्र गएका छैनन्। हो, अवश्य पनि धम्की दिइएको छ। डर पैदा गर्ने कोसिस भएको छ। तर्साउने प्रयास भएको छ। यी सबै कुराबाट नेकपा एमालेका कार्यकर्ता त्रसित नभइकन अगाडि बढिरहेका छन्। तर जुन कुरा यहाँ आइरहेका छन् त्यो पनि मैले सुन्न बुझ्न चाहेको छु। साँचो यथार्थ हो वा भ्रम पैदा गर्न खोजिएको हो, त्यो बुझ्न आवश्यक छ। यहाँ उठिरहेका माग ठीक सही हुन् वा होइनन् भन्ने अवश्य पनि हामी छानविन गर्दैछौँ।
मैले बुझेसम्म जहाँसम्म मागभन्दा पनि यो प्रतिष्ठाको विषय, इगोको विषय, जुँगाको लडाइँ, हाम्रा नेताहरुको बोली र व्यवहारले उत्पन्न गरेका प्रतिक्रिया हुन्। मधेसका माग संविधानमा सम्बोधन भएका छन्। मधेसी जन अधिकारको रक्षा संविधानले गरेको छ। नेकपा एमाले मधेसी, मुस्लिम, थारू, आदिवासी, जनजाति, महिलाको हक अधिकारका निम्ति जसरी लड्दै आएका थियो, अहिले पनि त्यही पंक्तिमा छ। हामीले यी सबै कुरा संविधानमा समावेश गरेका छौँ। मधेस र मधेसीको मामलामा यो संविधान संसारका कुनै पनि संविधानको तुलनामा बढी समावेशी छ। यसले बढी समानुपातिक सिद्धान्त अवलोकन गरेको छ। बढी न्याय प्रदान गरेको छ। यो संविधान हक अधिकारका कुरामा निकै अगाडि छ।
समानुपातिक समावेशी सिद्धान्तलाई अन्तरिम संविधान जति पनि यो संविधानले ठाउँ दिएन भन्ने गम्भीर आरोप मधेसवादी दलहरुको छ नि?
त्यस्तो छ भने देखाउनूस्। जुन अभ्यास गरिसकेका थियौँ त्योभन्दा पछि हट्ने कुरा हुँदैन। लेखनमा कतै त्यस्ता त्रुटि छन् भने त्यो मिलाउन सकिन्छ।
तराई मधेसमा कहिले दीपावली हुन्छ तपाईँको विचारमा ?
दीपावली त गरिहाल्नुपर्छ। ढिलो गर्ने कुरा छैन। मधेसले यति अधिकार कहिले पनि प्राप्त गरेको थिएन। मधेसी जनताले, महिलाले, अदिवासी जनजातिले, यति धेरै अधिकार कहिले पनि पाएका थिएनन्। अधिकार प्राप्ति भनेको गर्दै जाने कुरा हो। त्यसलाई व्यावहारिक पनि बनाउनुपर्ने हुन्छ। १२५ जातजाति भएको यो देश, १२३ भाषाभाषी भएको देशमा सन्तुलन मिलाउन त्यति सजिलो छैन। हामी मुलुकलाई समृद्ध बनाउन चाहन्छौँ। जनतालाई सुखी बनाउन चाहन्छौँ। समाजिक सद्भाव कायम गराउन चाहन्छौँ। देशको राष्ट्रिय एकता र अखण्डता बलियो बनाउन चाहन्छाँै। नेपाली भएकामा गौरव बोध गर्न चाहन्छौँ। नेपाली स्वाभिमानको रक्षा गर्न चाहन्छौँ। हाम्रो देशको मामलामा अरु कसैले हस्तक्षेप नगरुन् भन्ने चाहन्छौँ। हामी अरु कसैको इशारामा कसैको आदेशमा होइन, नेपाली जनताको हकहितमा, नेपाल राष्ट्रको हकहितका आधारमा अघि बढ्न चाहन्छौँ। यो कुरा सबैले बुझ्नुपर्छ। हामी सबैको सम्मान गछर्ौं र हाम्रो पनि सम्मान चाहन्छौँ।
मधेसी मोर्चाहरुको मागका कुरा गर्दा तीन राजनीतिक दलबाट माग पूरा गर्ने प्रष्ट मार्गचित्र, राजनीतिक प्रतिबद्धता र सम्बोधन हुनुपर्छ भन्ने छ। के भन्नुहुन्छ?
पहिले उहाँहरुको माग आउनुपर्योभ नि। मागै आएको छैन, के को प्रतिबद्धता?
मधेसी मोर्चाको प्रमुख माग अन्तरिम संविधानमा भएको व्यवस्था लागु गर्ने प्रतिबद्धता आउनुपर्छ भन्ने हो। यो संविधान अन्तरिम संविधानको व्यवस्थावाट पछि हटेको आरोप छ। हो त?
अन्तरिम संविधानअनुसार नै तपाईँहरु पनि संविधान सभाको चुनावमा जानुभएको होला, एमाले पनि गएको होला, नेपाली कांगे्रस पनि गएको होला। आन्दोलनभन्दा पनि अन्तिम त चुनावै होला। लोकतन्त्रवादीले विश्वास गर्ने त चुनावै हो। चुनावको परिणाम नै हो। बलको कुरो हुँदैन होला। बलभन्दा पनि चुनावको विधिबाट सबै समस्याको समाधान गर्नुपर्छ भन्ने मान्यतामा विश्वास गर्नेले चुनावको आधारमा आएको शक्ति सन्तुलनलाई मान्ने कि नमान्ने? चुनावबाट आएको शक्ति सन्तुलन स्वीकार गर्ने कि नगर्ने?
मुख्य राजनीतिक माग जनसंख्याको आधारमा प्रतिनिधित्व, संघीयताको सीमांकनबारे छ। यसलाई कसरी लिनुहुन्छ?
जनसंख्या र भूगोललाई आधार मानेर गर्नुपर्छ भन्ने मान्यता संसारभर छ। भारतमा पनि यही व्यवस्था छ, अमेरिकामा पनि यही व्यवस्था छ। अरु देशमा जस्तो व्यवस्था छ यहाँ पनि त्यस्तै व्यवस्था हुन्छ। संघीयताको बारेमा पनि जसरी भनिएको छ, त्यो होइन। यो संविधानले कोही एउटालाई मात्रै सम्बोधन गरेको छ भने त्यो मधेसकै लागिमात्रै हो। एउटा मधेसका लागिमात्रै छुट्टै प्रदेश बनाइएको छ। अरु कुनै जातिका नाममा प्रदेश बनाइएको छैन।
त्यसो भए तराई मधेसमा किन यति ठूलो असन्तोष त?
संविधान सभाको चुनावमा हारेको पीडा होला। ३१ दलीय मोर्चा बनेको थियो, त्यो मोर्चाबाट एमाओवादी छाडेर हिँडेकोले एमाओवादीप्रतिको आक्रोश होला। आफैँले निर्णय गरेर संविधान सभामा नबसेको, सहभागी हुन नपाएको कुरा होला। आफूले गरेको गल्तीको दोष अरुलाई दिनुभएन। पछिसम्म पनि उहाँहरुसँग वार्ताको कोसिस भएको छ। प्रधान मन्त्रीको तर्फबाट भएको छ। समय बढाउने काम पनि भएको छ। यति समय बढाएर यो यो काम हुन्छ भनेर नेपालभित्रबाट कुरा आइदिएको भए हुन्थ्यो। बाहिरबाट आएपछि नेपालको स्वाभिमानको कुरा भयो। यो कूटनीति नमिल्दो अपरिपक्व तरिका अपनाइयो। त्यसले गर्दा यो झन् बिग्रियो भन्ने म ठान्छु।
अहिले मुलुक समस्यामा छ। नाकाबन्दी लागेको छ। काठमाडौँ र मुलुकका सबै भागमा नाकाबन्दीको पीडा छ। समाधान के त?
नाकाबन्दीको कुरा गलत हो। नाकाबन्दीको आधारमा हामी कुनै कुरा गर्दैनौं। यो कुरा बुझ्नुपर्छ नाकाबन्दी सामु हामी झुक्दैनौँ। यस्ता कुरामा झुक्न नेपाली स्वाभिमानले दिँदैन। यस्तो गर्न पनि हुँदैन। भारतप्रति हाम्रो जुन विश्वास छ, हामी सुसम्बन्ध कायम गर्न चाहन्छौँ। नेपाली जनताको पीडा भारतले बुझ्नुपर्छ। कुनै बहाना बनाएर होइन, औपचारिकता पूरा गरेर होइन, नाकाबन्दी पूरै हटाउनुपर्छ। आन्दोलनमा उत्रेकाहरुलाई आन्दोलन नगर, शान्तिपूर्ण ढंगले कुराकानी गर्नुपर्छ भन्ने हिसाबले प्रस्तुत हुनुपर्छ। अरु केही मिलाउनुपर्ने, सम्झाउनुपर्ने कुरा छन् भने, एकले अर्कालाई चित बुझाउनुपर्ने कुरा छन् भने ठूला भनिएका दलहरुले अहंकार नराखी लचिलो भएर समाधानका निम्ति अग्रसर हुनुपर्छ।
नाकाबन्दी त हामीले गरेको हो, भारतले होइन भनीरहेका छन् नि मधेसी मोर्चाका नेताहरु?
त्यो हुँदै होइन। भैरहवाको नाकामा कोही मान्छे नै छैनन्। काकडभिट्टाको नाकामा कोही मान्छे नै छैनन्, ती दुवै ठाउँमा आन्दोलनकारीका मान्छे छैनन्। विराटनगरकै नाकामा कोही मान्छे बसेका छैनन्। नेपालगञ्जमा कोही बसेका छैनन्। त्यहाँ त यताबाट नाकाबन्दी छैन। यताबाट केको नाकाबन्दी ?
भोलिदेखि संसद बस्दैछ। केही नयाँ कुरो आउला तराई मधेसको आन्दोलन सम्बोधन गर्नेबारे?
सम्बोधन भन्दा पनि संविधानअनुसार नै सरकार अगाडि बढ्ने हो। दबाबको भरमा संविधान संशोधन गर्नुहुँदैन। गर्न मिल्दैन। बसेर छलफल गर्ने। राम्रो वातावरण बनाएर विश्वासको स्थिति बनाउने। कुराहरु मिल्दा हामी जहिले पनि संशोधन गर्न तयार हुनुपर्छ। अहिलेको संसदले त नयाँ सरकारको कुरो गर्छ। पुरानो सरकारको ठाउँमा नयाँ सरकार आउनुपर्छ, नयाँ सरकारले शक्तिको या पदाधिकारीको व्यवस्थापन गर्छ।
रौतहटमा कार्यक्रम गर्न सदरमुकाम गौर, गरुडा जस्ता स्थान पनि थिए। किन चन्द्रनिगाहपुर नै रोज्नुभयो?
जहाँ गडबडी हुन्छ, त्यहाँ जाँदा अशान्ति हुन्छ, त्यहाँ त गर्न मिल्दैन। जहाँजहाँ गडबडी हुन्छ त्यहाँ त्यहाँ कार्यक्रम गरिन्छ र? जुन ठाउँमा शान्तिपूर्ण जम्मा हुन सकिन्छ, कार्यकर्ताको व्यवस्थापन गर्न सकिन्छ त्यही ठाउँमा हुन्छ। कहिले गौरमा हुन्छ, कहिले गरुडामा हुन्छ, कहिले चन्द्रनिगाहपुरमा हुन्छ। चन्द्रनिगाहपुरमा पहिलो चोटि भएको पनि त होइन। अहिले यहाँ शान्ति छ। यहीँ गरियो। चन्द्रनिगाहपुरमा अशान्ति भएको भए गौरमा गरिन्थ्यो या गरुडामा गरिन्थ्यो जहाँ शान्ति हुन्छ त्यहीँ कार्यक्रम हुन्छ।
तस्बिर : सन्तोष सिंह/नागरिक
प्रकाशित: १४ आश्विन २०७२ २१:३८ बिहीबार





