नेपाली कांग्रेस भक्तपुर पनि दुई खेमामा बाँडिएको छ। एउटा खेमा नियमित महाधिवेशन र चुनावमै केन्द्रित हुनुपर्छ भन्ने र अर्को विशेष महाधिवेशनतर्फ लाग्नुपर्छ भन्ने खेमा।
एउटा खेमाले भोलि पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भनिएको विशेष महाधिवेशनमा भाग लिन सबै भक्तपुर कांग्रेससँग आह्वान गरेको छ।
यसअघि जिल्ला पार्टी कार्यालयले पत्रकार सम्मेलन नै गरी जिल्ला पार्टी नियमित महाधिवेशनको पक्षमा रहेको स्पष्ट गरेको थियो। पत्रकार सम्मेलनमा ७० प्रतिशत नियमित महाधिवेशनको पक्षमा मात्रै रहेको भन्दै हस्ताक्षरसमेत पत्रकारहरूलाई वितरण गरेको थियो।
यता विशेष महाधिवेशनको पक्षमा रहेकाहरूले भने जिल्लास्तरीय भेला नै गरी विशेष महाधिवेशनको पक्षमा वातावरण सृजना गरेको छ। नेपाली कांग्रेसको परम्परागत प्रभाव क्षेत्र मानिने भक्तपुरमा समेत असन्तुष्टि खुला रूपमा प्रकट भएको हो।
भक्तपुरको दुवाकोट बैंक्वेटमा करिब सात सय बढी नेता–कार्यकर्ताको सहभागितामा सम्पन्न ‘छुट्टै जिल्ला भेला’लाई पार्टी नेतृत्वप्रतिको असन्तोष र संगठन सुधारको दबाबका रूपमा हेरिएको छ।
नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. १ का क्षेत्रीय सचिव समुन्द्र थापाको संयोजकत्वमा विशेष महाधिवेशन सन्दर्भमा आयोजित उक्त भेलामा वक्ताहरूले विधानअनुसार विधिको शासन कायम गर्नुपर्ने, कार्यकर्ताको आवाज दबाउने प्रवृत्ति अन्त्य गर्नुपर्ने र संगठनलाई जरा तहसम्म बलियो बनाउनुपर्नेमा जोड दिए।
उनीहरूले पछिल्लो समय उदाएको ‘जेन–जी आन्दोलन’लाई सम्मान गर्दै त्यसलाई पार्टीको राजनीतिक ऊर्जाका रूपमा उपयोग गर्नुपर्ने धारणा राखे। साथै, आगामी निर्वाचनमा १६५ वटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले रुख चिन्हमै चुनाव लड्नुपर्ने र गठबन्धनका नाममा पार्टीको मौलिक पहिचान कमजोर बनाइनु नहुने चेतावनीसमेत दिए।
भेलामा सहभागी अधिकांश नेताहरूले नेपाली कांग्रेसप्रति जनविश्वास कमजोर बन्दै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गरेका थिए। जनतासँग टाढिँदै गएको नेतृत्वले आत्म समीक्षा नगरे संगठन थप कमजोर हुने उनीहरूको निष्कर्ष थियो।
कार्यक्रममा बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ, जिल्ला सभापतिका उपविजेता अष्ट कवे, क्षेत्र नं. १ ‘क’ का उपसभापति दिनेश अवाल, चाँगुनारायण नगरपालिका–१ का सभापति नरेन्द्र अवाल, पूर्व जिल्ला सदस्य कृष्णहरि खड्का, क्षेत्रीय सभापति भेषबहादुर कार्की, कविर राणालगायतले आफ्नो कुरा राखेका थिए।
पार्टी सभापति शेरबहादुर देउवाको बलियो पकड रहेको मानिने भक्तपुरमै यसरी दमित आवाजहरू खुला रूपमा उठ्नुले पार्टीभित्रको आन्तरिक लोकतन्त्र र शक्ति सन्तुलनबारे नयाँ बहस सिर्जना गरेको छ। महासमिति सदस्य सरु बानियाँ, महाधिवेशन प्रतिनिधि संगीता फुयाल, पूर्व जिल्ला सदस्य जनक शर्मा, मुरारीप्रसाद आचार्य, किरण न्यौपाने, रविन केसी, सविन ढुंगेल, शिवप्रसाद अवाल, सोम प्रधान, युवा नेता जनक खत्रीलगायतले गुटगत राजनीति, अवसरको असमान वितरण र एकपक्षीय निर्णयप्रति आलोचना गरेका हुन्।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरू एकजुट भई विशेष महाधिवेशनको माग गरेपछि पार्टीका जिल्ला तहका संरचनाहरू खुलेरै यस पक्षमा उभिन थालेका छन्।
अब पुस २७ र २८ गते हुने यी दुई समानान्तर राजनीतिक गतिविधिले नेपाली कांग्रेसको नेतृत्व संरचना, आन्तरिक शक्ति सन्तुलन र भावी राजनीतिक दिशा कता मोडिन्छ भन्ने चासो राजनीतिक वृत्तमा तीव्र रूपमा बढेको छ। पार्टी एकताको कसौटीमा उभिएको यो क्षणले कांग्रेसको भविष्यको बाटो तय गर्ने संकेत देखिन थालेको छ।
प्रकाशित: २५ पुस २०८२ ०९:३१ शुक्रबार





