८ वैशाख २०८१ शनिबार
अन्तर्वार्ता

सूर्याेदय नगरलाई नमुना बनाउने अभियानमा छौं: मेयर रणबहादुर राई

अन्तर्वार्ता

इलामको पर्यटकीय नगरी सूर्याेदय नगरपालिकाको मेयरमा रणबहादुर राई पुनः निर्वाचित भएका छन्। अघिल्लो कार्यकालमा भौतिक पूर्वाधारदेखि शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायत क्षेत्रमा नयाँनयाँ अवधारणा अघि सारेर चर्चामा आएका राईलाई सूर्याेदयका मतदाताले पुनः नगरको मेयर चुनेका हुन्। 

पूर्वाधार निर्माण मात्र होइन, महामारीका रूपमा फैलिएको कोभिड–१९ नियन्त्रणमा सूर्याेदयले गरेको व्यवस्थापन प्रयास पनि जिल्लामै १ नम्बरमा दरिएको थियो। हरेक आयोजनालाई दीर्घकालीन महत्त्वको पूर्वाधार र आर्थिक उन्नतिको अंग बनाउन सक्ने क्षमता भएका मेयर राईले अबको ५ वर्षमा नगरलाई देशकै नमुना बनाउने उद्घोष गरेका छन्। मेयर राईसँग इलामस्थित नागरिक संवाददाता भीम चापागाईंले गरेको कुराकानीको अंश:

तपाईलाई किन मतदाताले दोस्रो पटक चुनेका हुन्?

मेरो विगत ५ वर्षको कार्यकालको समीक्षा मतदाताले गरिदिएका हुन्। देश संघीयतामा गइसकेपछि स्थानीय तहको पहिलो अभ्यास र कोभिड महामारी नियन्त्रणको व्यवस्थापनमा गरिएको कामले म पुनः यहाँका मतदाताको नजरमा अनुमोदित भएँ भन्ने लाग्छ। स्थानीय तहमा मेरो नेतृत्वमा जनप्रतिनिधि चुनिएर आएपछि धेरैवटा कानुन बनेका छन्।

परिस्थिति निकै चुनौतीपूर्ण भए पनि नगरको विकासका लागि कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग, महिला, बालबालिका, ज्येष्ठ नागरिक लगायत चौतर्फी गरिएका गतिविधि हेरेर नागरिकले पुनः अहिलेको नेतृत्व चुनेका हुन्। विगत ५ वर्षमा थालिएका महत्त्वपूर्ण पूर्वाधारलाई पूर्ण बनाउन मेरै आवश्यकता देखेर मतदाताले पुनः जिम्मेवारी दिनुभएको छ।

तपाईले नै पूर्ण गर्नुपर्ने महत्त्वपूर्ण योजना चाहिं केके छन्?

 -हामीले अघिल्लो कार्यकालमा महत्त्वपूर्ण कामको सुरुआत मात्रै गरेका छौं। आवधिक योजना बनेका छन्, कतिपय क्षेत्रका रणनीतिक योजना बनेका छन्। भौतिक पूर्वाधारका रूपमा प्रशासनिक भवन पूरा भयो। एक वडा एक अलवेदर रोड बनाउन सुरु गरेका छौं। वडा कार्यालयहरू ९० प्रतिशत सम्पन्न भएका छन्। स्वास्थ्य कार्यालय पनि करिब पूरा भएका छन्। नेपालमै पहिलो टि टेस्टिङ एन्ड प्रोमोसन सेन्टर निर्माणको काम धमाधम भइरहेको छ।

खानेपानीको ठूलो आयोजना निर्माण हुँदैछ। नागरिकका शिक्षा, स्वास्थ्य, सिँचाइ लगायतका आवश्यकता पूरा गर्न सबैखाले योजना अघि बढाइएको छ। १५ हुँदै ५० शय्याको अस्पताल बनाउने सोचका साथ काम अघि बढेको छ। विद्यालयको आवधिक योजना बनाएर शिक्षा गुणस्तरीय बनाउने कार्यक्रम चलिरहेका छन्। विपन्न परिवारका बालबालिकालाई निःशुल्क स्वास्थ्योपचार लगायत निम्न आय भएका परिवारलाई सहुलियतका कार्यक्रम चलेका छन्। यस्ता दर्जनौं कार्यक्रम पूरा गर्नु हाम्रो महत्त्वपूर्ण जिम्मेवारी हो।

आउँदो ५ वर्षका लागि नयाँ योजनाचाहिं कस्ता छन्?

-हामीले दिगो विकासका लक्ष्यलाई टेकेरै सम्पूर्ण काम गरिरहेका छौं। हाम्रो अबको मुख्य लक्ष्यचाहिं सूर्याेदयलाई देशकै नमुना नगरपालिका बनाउने हो। सुशासन प्रत्याभूति, गुणस्तरीय, सुलभ, सरल सार्वजनिक सेवा दिने र भ्रष्टाचार अन्त्य गर्दै पूर्वाधार निर्माणदेखि नगरका चौतर्फी काम हाम्रा एजेन्डा हुन्।

हामीले गरेका सबै काम समाजका लागि हुन्, लुकाउनुपर्ने केही छैन भन्ने सोचलाई व्यवहारमा उतार्न नगरले सबै कार्यपालिका र नगरसभा बैठकको प्रत्यक्ष प्रसारण गर्ने योजना बनाएको छ। यो योजना हेर्दा जति सामान्य लाग्छ, उत्ति नै चुनौतीपूर्ण पनि छ। तर, नगरका सबै काम–कारबाही पारदर्शी हुनु निकै महत्त्वपूर्ण विषय हो। यो हाम्रा लागि एक अवसर पनि हो। यसले नागरिकलाई वास्तविक रूपमा स्थानीय सरकारको अपनत्व गराउँछ र सार्वजनिक निकायको जवाफदेहिता कार्यान्वयनमा सघाउँछ। नागरिकले नगरका सबै काम र गतिविधिबारे पूर्ण सूचना लिन पाउनुपर्छ भन्ने हाम्रो उद्देश्य हो।

नगरले आउँदो ५ वर्षका लागि कस्तो रोडम्याप बनाएको छ त?

- शिक्षा, स्वास्थ्य, भौतिक, पूर्वाधार, कृषि, पर्यटन, सामाजिक सुरक्षा, महिला, बालबालिका, ज्येष्ठ नागरिक लगायतका विषय प्राथमिकतामा छन्। नगरका सबैखाले विवरण संकलन गरी त्यसअनुसार योजना बनाउने छौं। विवरण आएपछि अति विपन्न, विपन्न किसान–श्रमिक परिवारका आधारभूत आवश्यकता (गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य लगायत)को व्यवस्था गर्नेछौं। उनीहरूलाई पारदर्शी हिसाबले रोजगारीको पनि विशेष व्यवस्था गर्नेछौं। सुरु त्यहाँबाट हुनेछ।

सूर्याेदय नगरपालिका चियाको राजधानी पनि हो, विशेषगरी चियाको विकासका लागि के योजना छन्?

-नगरपालिकाले हाम्रै कार्यकालमा चियाको गुुणस्तर कायम गर्ने र न्यूनतम् समर्थन मूल्य निर्धारण गर्नेसम्मको काम गरेको छ। यससम्बन्धी कार्यविधि नै निर्माण भइसकेको छ। अब चिया क्षेत्रको अध्ययन गरी सुझाव दिन एउटा समिति गठन गरिनेछ। समितिले किसान, उद्योगी, व्यापारी, प्रदेश र संघीय सरकार लगायत सबै क्षेत्रसँग छलफल र अध्ययन गरी प्रतिवेदन तयार गर्नेछ। त्यसअनुसार चिया क्षेत्रको विकासका लागि नगरले योजना बनाउनेछ। नगरले माथिल्ला दुवै तहका सरकारसँग समन्वय गर्नेछ।

तपाईको अघिल्लो कार्यकालमा दूध उत्पादन र विक्रीमा महत्त्वपूर्ण लक्ष्यसाथ काम अघि बढेको थियो? अब त्यसले निरन्तरता पाउँछ कि पाउँदैन?

-दूध यहाँको उच्च सम्भावना भएको क्षेत्र हो। हामीले प्रत्येक दिन कम्तीमा २ लाख लिटर दूध नगरमै उत्पादन गर्ने लक्ष्यले काम गरिरहेका छौं। यो हाम्रो दिगो सोच हो। किसानलाई व्यावसायिक बनाउन गाई वितरण गरेका छौं। घाँस वितरण गरेका छौं। तर, त्यसले मात्र उपलब्धि हासिल भएन। अबचाहिं दूधका लागि अझ महत्त्वपूर्ण योजना छ। अब यहाँका गाईको नश्ल सुधार गरिने छ। यसका लागि अध्ययन गर्न म आफैं डेनमार्क, हल्यान्ड गएको थिएँ। यो नश्ल सुधारको प्रविधि अत्यन्त राम्रो रहेछ।

सूर्याेदय नगरमा क्यानाडाबाट १ हजार डोज सेक्स सिमेन ल्याउँदैछौं। सम्भवतः यो प्रयास देशका ७ सय ८३ पालिकामध्ये यहीं पहिलोपटक हुन लागेको छ। यो सिमेन प्रयोग गर्दा बाछी जन्मिने सम्भावना ९० प्रतिशत हुनेरहेछ। यसरी उत्पादन भएको गाईले राम्रो स्याहार गर्दा पहिलो बेतमै दिनमा २३ लिटरसम्म दूध दिनेरहेछ। अरूतिरबाट यो सिमेन ल्याउँदा खोरेत रोगको जोखिम हुने सम्भावना रहेकाले नेपाल सरकारको सिफारिसमा क्यानाडाबाट ल्याउन लागिएको छ। १ हजार डोजको उपलब्धि हेरेर थप पनि ल्याउन सकिन्छ।

सूर्याेदय नगरपालिका तपाइँकै कार्यकालमा ‘पर्यटकीय नगरी’ घोषित भयो। पर्यटन क्षेत्रमा कति काम भए, अबका योजना के छन्?

पर्यटनसँग सम्बन्धित निजी क्षेत्रसँग पनि सहकार्य गरेर काम गरिरहेका छौं। नगरले पूर्वाधार विकासका काम गरिरहेको छ। चियाबारीमा साइकल रुट, अन्तुडाँडाछेउमा नमुना बस्ती बनाउने कार्यक्रम चल्दै छन्। १ नम्बर प्रदेश सरकारले प्रदेशका १० पालिकामध्ये सूर्याेदयलाई पनि छानेर पर्यटन पूर्वाधारको काम गर्दैछ। नगरले पर्यटकीय क्षेत्रका रूपमा बुद्धपार्क, चित्रेगुम्बा, रेड पान्डा क्षेत्रमा सडक बन्दैछ। अन्तुमा नमुना बस्तीका लागि ७ करोड रुपैयाँ विनियोजित छ। यो बस्ती घरको झ्यालबाटै पर्यटकले सूर्याेदय दृश्यावलोकन गर्न सक्नेगरीको अवधारणामा बन्नेछ। सिद्धि सरोवरको योजना पनि इलामका लागि नयाँ बन्नेछ। सिद्धि खोलामा सरोवर निर्माण गरी र्‍याफ्टिङ र डुंगा सञ्चालन गर्ने योजना हो यो। पर्यटनमा दर्जनौं साना र ठूला आयोजना छन्।

एक कार्यकाल पूरा गरिसक्नुभएको छ, नयाँ संविधानको मर्मअनुसार स्थानीय सरकार सञ्चालन गर्न के–कस्ता चुनौती थिए र छन्?

-चुनौती प्रशस्त छन्। संघीय सरकार र प्रदेश सरकारसँग कतिपय काममा समन्वय, सहकार्य आवश्यक भए पनि त्यो अभाव नै हुँदोरहेछ। नीतिगत हिसाबले कतिपय काममा बाधा–अड्चन नआएका होइनन्। मलाई त के लाग्छ भने हामी जनप्रतिनिधिले नै संघीयता भनेको के हो भन्ने बुझ्न सकेका छैनौं। यसको मर्म बुझेका छैनौं।

बजेट वितरणलाई मात्रै हामी संघीयता बुझिरहेका छौं। अधिकारको बाँडफाँट र कानुन निर्माणको अधिकारचाहिं संघीयता हो भन्ने बुझ्न जरुरी छ। यो बुझ्न नसकेर हामी जनप्रतिनिधिले प्रस्ट रूपमा आफ्नो धारणा पनि राख्न सकेका छैनौं। यो चालले चाहिं स्थानीय सरकार ‘माग्ने सरकार’का रूपमा चल्न बाध्य छन्। सानोतिनो बजेट माग्न पनि सिंहदरबार र प्रदेश सरकार धाउनुपर्ने अवस्था अहिले पनि छ। यो तरीका संविधानको मर्मअनुसारको होइन। संविधानले त तीन तहको सरकार सहकार्य, सहअस्तित्व र समन्वयको सिद्धान्तले चल्ने कल्पना गरेको छ। व्यवहारमा त्यो भएन। यसलाई सुधार्नचाहिं जनप्रतिनिधि नै सक्षम हुनुपर्छ।

गठबन्धनको उम्मेदवारका रूपमा निर्वाचित हुनुभएको छ, काम गर्न कतिको सहज होला?

-सकारात्मक कामका लागि प्रसस्त सुझाव आउँछन्। असल नियतले आउँछन्। त्यसमा विचार पुर्‍याउनैपर्छ। काम गर्दै जाँदा कहिलेकाहीं चुकेको ठाउँमा सही सुझाव आउनुचाहिं आवश्यक पनि छ। तर, समाज विविध हिसाबले बनेको हुन्छ। समाज, संस्कृति र संस्कार परिवर्तन अहिले पनि जरुरी छ। सही र गलत छुट्याउने ठाउँमा हामी पुगेकै छैनौं। छुट्याए पनि कतिपय बाध्यताले सहीलाई सही र गलतलाई गलत भन्न हामी सकिरहेका छैनौं। यसले चाहिं कहिलेकाहीं समन्वयमा समस्या पर्नेगर्छ। तर, आउँदो पुस्ताबाट यसमा सकारात्मक आशा गर्ने ठाउँ छन्।

अबको ५ वर्षपछि सूर्याेदय नगरपालिका कस्तो हुनेछ?

-सूर्याेदयको भविष्य नै मैले चियामा देखेको छु। चियाको विकासलाई उपलब्धिमूलक बनाउन सकें भने म सबैभन्दा बढी सन्तुष्ट त्यसैमा हुनेछु। बाँकी अघि भनिएकै छ, हामी सूर्याेदयलाई देशकै नमुना बनाउने छौं।

प्रकाशित: १४ जेष्ठ २०७९ ०३:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App