७ वैशाख २०८१ शुक्रबार
अन्तर्वार्ता

‘सन्ततिलाई धनगढीमै बस्न मनलाग्ने बनाउँछु’

सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढी यस प्रदेशको अस्थाइ राजधानीका साथै शैक्षिक, औद्योगिक, व्यावसायिक केन्द्र पनि हो। प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाको संघीय निर्वाचन क्षेत्र समेत रहेको यस उपमहानगरपालिकालाई ठूला राजनीतिक दलले विशेष महत्व दिएका थिए।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका साझा उम्मेदवार नेपाली कांग्रेसका नृपबहादुर वडलाई १२ हजारभन्दा बढी मतान्तरले हराउँदै स्वतन्त्र उम्मेदवार गोपाल हमाल प्रमुखमा बिजयी भएका छन्। विजयी भएपछि हमालसँग नागरिककर्मी दिलबहादुर छत्यालले गरेका कुराकानी:

तपाईको जन्म कहाँ भएको थियो?

हाम्रो बसोबास टीकापुर नगरपालिका, साविकको मनिकापुर गाविसको झन्झटपुरमा थियो। म कैलालीमा जन्मेर र हुर्केको हुँ। २०२० सालमा मेरो जन्म भएको हो।

त्रिनगर माध्यमिक विद्यालयमा अध्ययन गरेँ। एसएलसी उत्तीर्ण गर्ने म पहिलो ब्याच हो। अहिलेको कैलाली बहुमुखी क्याम्पस त्यतिबेला कैलाली कमर्श क्याम्पस थियो। त्यहाँ पनि प्रमाणपत्र तह उत्तीर्ण गर्ने मेरो पहिलो ब्याच हो। म भारत्तोलनको राष्ट्रिय खेलाडी पनि हो। राष्ट्रिय खेलकुद परिषद्मा पनि आबद्ध भएँ। २०३९ सालदेखि धनगढीमा टिनको बाकस बनाउने पसलबाट व्यवसाय सुरु गरेँ।

तपाईलाई मेयर हुने चाहना किन जाग्यो?

मान्छेहरू एउटा तह पार गरेपछि धनगढी छाडेर जाने परिपाटी थियो। धनगढी तबसम्म मात्र बस्ने भए जबसम्म अन्त बिक्दैनन्। धनगढीमै बस्ने, यहीँ टिक्ने र यसैलाई गन्तव्य बनाउने भनेर हामीले विभिन्न गतिविधि सुरु गर्‍यौँ। विमानस्थलमा कालोपत्रे गर्ने एक पैसा अभियान, २१ बुँदे मागसहित २१ के.जी.को मालालगायतका जति गतिविधि गर्‍यौँ धनगढी अथवा सुदूरपश्चिमका लागी गेम चेन्जरको रूपमा होस् भनेर गरेका थियौँ।

धनगढीमा भविष्य नदेख्ने युवालाई यहीँ भविष्य खोज्ने वातावरण सिर्जना गर्नुपर्छ। देश संघीयतामा गएर अधिकार सम्पन्न स्थानीय सरकार बनेपछि यो हाम्रो लागि अवसर हो। बजेट पनि छ, अधिकार पनि छ, यसमा गएर काम गर्न सकेमा एउटा ट्रयाक बनाउन सकिन्छ। हाम्रो धनगढीका सन्ततिलाई यहीँबस्न सकिने नमुना धनगढी बनाउनुपर्छ भनेर मेयर बन्ने सोच बनाएको हुँ।

ठूला राजनीतिक दललाई छाडेर जनताले यति धेरै मत दिएर तपाईँलाई जिताउनुको कारण के हो?

म बिगतमा व्यावसायिक क्षेत्रको मान्छे भए पनि २०३८ सालदेखि हामीबाट धेरैले लाभ लिएका छन्। हामीबाट सिकेर सयौँ मान्छे सफल व्यवसायी र उद्यमी बनेका छन्। उद्यम उत्पादन गर्ने इन्स्टिच्युट जस्तै बन्यो। हामी पनि अगाडि बढ्यौँ, उनीहरू पनि अगाडि बढे। पहलमानपुरमा मेरो मिल हुँदा त्यतिबेला त्यहाँ एन्टिस्नेक भेनम राखेर गाउँका जनताको सेवा गरेका थियौँ।

त्यतिबेलादेखि नै सामाजिक काम गर्न सुरु गरेको हुँ। भूतपूर्व स्टाफ एकीकृत भएर पैसा पनि उठाएर सहयोग गरे र चुनावी अभियानमा पनि लागे। यसैगरी सामाजिक काम गर्दै आयौँ। नारायण गोपाल, हरिवंश आचार्यलगायतका कलाकार ल्याएर च्यारिटी सो गरेर धनगढीमा ब्लड बैंक हामीले बनाएको हो। खेलकुद क्षेत्र, सामाजिक क्षेत्रमा सहयोग गर्दै आएँ।

धनगढीका जनताले यिनीहरूले बेइमानी गर्दैन, बोलेको कुरा पूरा गर्छन् भनेर हामीलाई पत्याएका हुन्। जनताले हिजोका दिनमा सबैलाई विश्वास गरेका हुन्। राजनीतिक दलका उम्मेदवारलाई पनि विश्वास गरेका हुन। जितेर गएपछि त्यसअनुसारको काम नगरेकाले जनतालाई धोका महसुस भयो। अघिल्लो चुनावमा बजार क्षेत्रका जनतालाई सबै कुरा थाहा थियो हामीलाई मत दिए तर गाउँकालाई थाहा थिएन। ५ वर्षमा हामीले गाउँगाउँमा गएर अजेन्डा चिनायौँ।

सबैभन्दा ठूलो कुरा भ्रष्टाचारले आक्रान्त बनाएको छ। भ्रष्टाचार गर्न प्रणालीको विकास हुन दिनुहँुदैन। अहिले जुन पार्टीको मेयरले जित्यो उसको पार्टीबाहेक अरू पार्टीका कार्यकर्तालाई पाखा लगाइने गरेको पाइयो। हामी जितेपछि सबैको साझा हुन्छ, हामी कसैलाई काखा र पाखा गर्दैनौँ भनेर पनि विश्वास दिलाउन सक्यौँ। धनगढीको विकासको जनताको चाहना र हाम्रो लक्ष्य एउटै थियो। त्यसैले जनताले पत्याए।

तपाईलाई जीतपछि के महसुस भएको छ?

गठबन्धनका बाबजुद जुन यति धेरै मत प्राप्त भयो, मेरो चुनावमा चुनौती लागेको र अहिले गर्वको विषय बनेको के छ भने विगतमा धनगढीमा जातीय, भेगीय नारा लाग्थ्यो। तर मेरो चुनावको अभियानमा सबै भेग, सबै जात, सबै धर्म, क्षेत्रका मान्छे लागे।

यो मेरा लागि गर्वको विषय हो। यसमा मैले खरो उत्रनुपर्ने भएको छ। यसले भोलिका दिनमा काम गर्ने प्रतिस्पर्धा बढाउँछ र यसले विकास हुन्छ। जातीय, भेगीय आवरणमा बसेर चुनाव जित्ने तर काम नगर्ने अवस्था थियो। हामीले राम्रो काम गर्न सक्यौँ भने काम गर्ने व्यक्ति जित्ने नयाँ मार्गमा यहाँको राजनीति अघि बढ्छ।

मेयर बनेपछि तपाईको पहिलो प्राथमिकता के हुन्छ?

मेरो पहिलो प्राथमिकता वडा क्लिनिक सञ्चालन गर्ने हुन्छ। एउटा महिला बिरामीको उपचार गर्न कुखुरा बेचेर सदरमुकाम आउने अवस्थाको अन्त्य गर्छु। क्यालेण्डर बनाएर प्रत्येक वडामा मिति निश्चित गरेर विशेषज्ञ सेवासहितको सुविधा उपलब्ध गराउँछु। अहिले तत्कालका लागि स्त्री रोग विशेषज्ञ सेवा सुरु गर्छु। मेयरले चढ्ने गाडी तत्कालका लागि त्यसमा प्रयोग गर्छु। अल्ट्रासाउन्ड, इसिजीलगायत जाँचहरू त्यो क्लिनकमा निःशुल्क उपलब्ध गराइन्छ। एउटा फिजिसियन चिकित्सक पनि राखिन्छ। गाउँका जनतालाई स्थानीय आफ्नो सरकार छ भन्ने आभास होस्।

तपाईले भनेको ‘धनगढी मोडेल’ के हो?

भ्रष्टाचारी राजनीतिलाई कल्याणकारी राजनीति बनाउने हो। अर्को कुरा राजनीति जुन पेसाका रूपमा बनाइएको छ, यसलाई पेसा होइन, सेवा बनाउने हो। पहुँचको आधारमा नभई प्राथमिकता र आवश्यकताका आधारमा विकास र काम गर्ने हो। प्रणालीको विकास गर्ने हो। एउटा शाखामा ५ जना कर्मचारीको आवश्यकता छ, २० जना राखेको छ। सरकारी विद्यालयकोे स्तरोन्नति गर्नु छ। स्वास्थ्य, शिक्षा, कृषि र रोजगार छ। ‘एक वडा एक उत्पादन’ गरेर गाउँको आर्थिक विकास र आर्थिक उन्नति गर्ने योजना छ। ग्राभेल, तालिम, उपभोक्ता समिति यसैमा अल्झने नभई नयाँ मोडेलबाट काम गर्ने सोच छ।

मैले अब एक वर्षमै धनगढीमा फूल उत्पादन गरेर आत्मनिर्भर बनाउँछु। बढी उत्पादन भएकालाई काठमाडौँ पठाउने व्यवस्था नगरपालिकाले गर्छ। कागजका गिलासलगायतका सामग्री बनाएर बिस्तारै प्लास्टिक मुक्त नगर बनाउँछु। श्रद्धाञ्जली वन बनाउँछु। ६ लेन सडकको बीचमा वृक्षरोपण गर्छु। पार्किङ, त्यसैमा शौचालय र रेस्टुरेन्ट बनाउँछु। तपाईँ जोकोहीलाई नवीनतम आइडिया आउँछ भने दिनुहोस्, सबै मिलेर धनगढी बनाउने हो। अन्य धैरे कुरा घोषणापत्रमा उल्लेख गरेको छु।

धनगढी डुवानको समस्या र सडक चौडा बनाउने तपाईको योजना के छ?

जो सडक बनिसकेका छन्, त्यसमा त केही गर्ने कुरो हुँदैन। अब बन्ने सडकमा क्षेत्राधिकारअनुसार चौडा बनाइन्छ। चुनौतीका रूपमा रहेको सार्वजनिक जग्गा अतिक्रमण हो। सार्वजनिक जग्गा कहाँ छन् त्यो खोजी गरेर खाली गराउँछु।

अनौपचारिक रूपमा हिजो कर्मचारी भेट्न आएका थिए, सार्वजनिक जग्गा खोज्नुहोस् भनेर मैले भनी पनि सकेँ। धनगढी डुबानको समस्या, खोलानाला अतिक्रमण गर्नु र नाला भएको ठाउँ पुरिनु हो। अहिले गरेन भने दीर्घकालीनरूपमा दुृःख पाइन्छ। मेरो प्रयास त्यही हुन्छ। म अर्को पटक चुनाव लड्ने होइन। त्यसैले सम्झाउने हो। मानेनन् भने पुरै शक्ति प्रयोग गरिन्छ किनभने आउने सन्तति वा तपाईँका छोराछोरी पुस्तालाई धनगढीमा डुबिँदैन भन्ने होस्।

प्रकाशित: ९ जेष्ठ २०७९ ०२:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App