लक्ष्मी निरौला आदर्शवादी साहित्यकार हुन्। उनका प्राय सिर्जनाहरू समाकालीन राजनीतिक, समाजिक र प्राकृतिक परिस्थितिसँग जोडिएको हुन्छ। वि.स २०२५ साल माघ ३ गते तोपगाछी झापामा जन्मिएका निरौला पेशाले निजामती सेवाका सह सचिव हुन्। उनै निरौलासँग नागरिक दैनिकले गरेको कुराकानीको सम्पादित अंशः
साहित्य यात्राको सुरुवाती दिन कसरी सम्झनुहुन्छ?
सुरुमा त मैले नजानेर साहित्य लेख्न थालेछु। विद्यालयस्तरदेखि नै साहित्यमा मेरोे निकै झुकाव थियो। कक्षा पाँचमा पढ्दादेखि अलिअलि साहित्य लेखेको सम्झना छ कक्षा पाँचमा पढ्दा विद्यालयस्तरीय कविता प्रतियोगिता भएको थियो त्यस प्रतियोगितामा म प्रथम भएको थिएँ। त्यसपछि थप हौसल र चासो बढ्यो। विद्यालयमा बाल भित्ते पत्रिका संचालन गर्नेदेखि लिएर अतिरिक्त क्रियाकलापमा सधै सहभागी हुन्थेँ, त्यही कारणले मेरो यात्रामा थप इँटा थपियो। औपचारिक रूपमा २०४३ सालबाट साहित्यिक यात्राको आरम्भ भयो। त्यसयता कुनै न कुनै रुपमा क्रियाशील छु।
अहिलेको फेसबुक साहित्यप्रति तपाईँको धारणा के छ?
साहित्यमा युगबोध जरुरी छ। युगलाई प्रतिनिधित्व गर्न सक्ने साहित्य लेखियो भने मलाई लाग्छ प्रचार गरिरहन जरुरी छैन। संख्यात्मकभन्दा पनि गुणस्तरमा ध्यान दिनु आवश्यक छ। आफूले सिर्जना गरेको सिर्जनाबाट आफू कति सन्तृष्ट छु भन्ने कुरा महत्वपूर्ण हुन्छ। साहित्य समाकालीन नेपाली समाजलाई कुनै न कुनै तरिकाले प्रतिनिधित्व गर्न सक्ने खालको हुनु जरुरी छ।
खहरेमा बाढी आएको जस्तो होइन। एउटा समय बाढी आउने–सेलाउने भएमा त्यसको खास अर्थ रहँदैन। त्यो हिसावले भएको साहित्यलाई म वास्तवमा साहित्य नै मान्दिनँ। युगलाई नेतृत्व गर्ने, युग बोक्ने र समाजलाई परिवर्तन गर्ने, सामाजिक परिवेशलाई जीवन्त दिने साहित्य नै वास्तविक साहित्य हो।
सामाजिक सञ्जाललाई प्रयोग गर्ने र दुरुपयोग गर्नेहरुबाट प्राज्ञिक थलो टाढा रहनुपर्छ भन्ने मेरो धारणा छ। खासगरी यसलाई सस्तो प्रचारबाजीले सबै विषयहरुलाई एउटै डालोमा राखेकाले पनि साहित्यको वास्तविक अर्थलाई वेवास्था गरेको देखिन्छ।
कतिवटा कृति प्रकाशन गर्नुभयो?
फूटकर रचना धेरै भए, त्यसमध्येबाट २०७१ सालमा प्रेरणाका धुन गजलसंग्रह प्रकाशन गरेँ। सार्वजनिक प्रसासनका मूलभूत पक्षहरू गरेर दुइवटा किताब प्रकाशनमा रहेका छन्। साथै फुटकर कविता र कथाहरु प्रकाशन प्रकाशन्मुख रहेका छन्। फूटकरचाहि धेरै छन्।
साहित्य र सरकारी जागिर विच कस्तो सम्बन्ध छ?
साहित्यमा समाजको प्रतिविम्बत हुन्छ। यसमा दैनिक जीवनका विविध पक्षहरू जोडिएका हुन्छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सबै घटना परिघटनाहरुलाई साहित्यमा प्रतिविम्बित गर्न सकिन्छ। हरेक मान्छे केही न केही माध्यबाट साहित्यसँग जोडिएको हुन्छ।
साहित्यमा मलाई कुनै रुचि छैन भन्नेहरू पनि साहित्यसँग जोडिन्छन् । प्रशासनिक जिम्मेवारीमा दुइ खालको धारणा हुन्छ। एउटाचाहिँ प्रशासनिक जिम्मेवारीका कारणले सिर्जनाका पक्ष कमजोर भयो भन्ने पनि पाइन्छ, अर्कोचाहि प्रशासनिक जिम्मेवारीले झन सबल र परिपक्व बनाएको। साहित्य र सिर्जनाका लागि कुनै निश्चित समय हुन्छ जस्तो मलाइ लाग्दैन। कहिलेकाहिँ त मध्यरातमा पनि साहित्य फुरिरहेको हुन्छ, कहिले हिड्दा हिड्दै पनि शब्दहरु मनपटलमा घुमिरहेका हुन्छन्। समय व्यवस्थापनको पक्ष त छँदै छ तर यसले कुनै असर नै गर्दैन।
अहिले भएको नेपाली गजलको विवादलाई कसरी हेर्नुहुन्छ?
गजलको विवादमा जानु अगाडि म नेपाली कविताको विकासक्रममा जान चाहान्छु। एउटा यस्तो समय थियो जतिबेला गद्य कवितालाई कविता नै मानिदैनथ्यो। अहिलेको समयमा गद्य कविता यति शक्तिशाली भयो कि,अहिले छन्दमा लेख्ने प्रवृत्तिमाथि नै प्रश्न उठ्न थालेको छ। त्यसैले एउटा समयमा वा एउटा सन्दर्भमा छन्दमा लेख्न सक्ने आए, कवितालाई छन्दलाई चलाउन सक्ने भए।
त्यसमा शशक्त ढंगले लेखिन थाल्यो। छन्दको कविता छन्दमा लेख्न नसक्ने तर गद्य लेख्ने त्यो हिसाबको प्रस्तुति दिन सक्नेलाई गद्य कविता राम्रो होला भन्ने लाग्यो। यो पनि कमजोर भयो भन्ने छैन, युगबोधलाई हाँकेको छ । बहरमा लेख्न सक्ने बहर खेलाउन सक्ने त्यसबाट पनि एउटा युगलाई हाक्न सक्ने कविहरु छन् । उहाँहरु त्यता क्रियशील हुनहुन्छ।
स्वतन्त्रमा राम्रो गर्न सक्नेले स्वतन्त्र लेखन रोज्दा राम्रो हो । एकले अर्काप्रति द्वेष राख्ने मारामारा गर्ने कित्ताकाट गर्ने एकले अर्कोको अस्तित्व स्वीकार नगर्ने प्रवृत्तिलाई चाहिँ हटाउनुपर्छ । दुवै पक्ष मिलेर सँगसँगै जानुपर्छ, आखिर पुग्ने गन्तब्य एउटै हो, फरक छैन।
तपाई आफ्नो सिर्जनामा विश्वास गर्नुहुन्छ कि विज्ञापनमा?
सिर्जना राम्रो भयो भने विज्ञापन गरिरहन जरुरी छैन। हाम्रा कतिपय नाम चलेका र आफूलाई अब्बल कवि, लेखक जे भन्नुस ती साथीहरुले पुस्तक प्रायोजन गर्नुहुन्छ। व्यवस्थापन समेत आफैँले गर्ने कुरा समेत हुन्छ। आफ्नो सिर्जना बलियो छ युग बोक्ने खालको छ भने विज्ञापन गरिहरनु पर्दैन। कुनै समयमा कुनै सन्दर्भमा विज्ञापनले कभरेज गरेर कमजोरलाई शशक्त देखाएपनि शशक्त त्यो बेलामा चर्चामा नआएपनि आखिर सिर्जनाको शक्ति सबैका अगाडि बलियो हुन्छ । विज्ञापन क्षणिक काम हो, अब्बल सिर्जनालाई यसको आवश्यकता पर्देन।
तपाईँको गजल संग्रहमा के के पाउन सकिन्छ?
गजल भन्ने वित्तिकै प्रेम सम्झिने प्रचलन पनि रहेको छ। समग्र युगलाई बढाउन सक्ने चेत समेटिएका छन्। कुनै सिर्जलाई विम्ब उतार्ने खालको रहेको छ। सबै खालका विषयवस्तुहरुलाई समेट्ने प्रयास गरेको छु। समसामयीक विषयहरुमा पनि गलज लेखेको छु। खासगरी गजलले दिने चेतायुक्त भाव मेरो गजलमा छ भन्ने मलाई लाग्छ, यद्यपि यो विषयमा समालोचना हुन जरुरी छ।
विश्वविद्यालयका प्राध्यापकहरुले पढाउँदाचाहिँ गजल र कविता फरकफरक विधा हो भन्ने तर समीक्षा गर्ने बेलामा चाहिँ कविता विधाअन्तर्गत राख्छन् ,दुइवटा अर्थ लाग्ने कारण के होला?
साहित्यका कुनै पनि विधाहरु आफैँमा कुनै विन्दुबाट प्रारम्भ भएर आएका हुन्छन्। त्यसको सुरुवाती कुनै न कुनै विन्दु त छ नि। साहित्यमा कुनै विधा स्थापित हुँदै जान्छन्। त्यो माथिको प्रहारचाहिँ अरु विधामा हुनेहरुले त्यो माथि प्रहार गर्दै जान्छन्। गजलको सन्दर्भमा भन्नुपर्दा गजल आफैँमा इन्डिपेन्डेन (स्वतन्त्र)कुरा हो।
गजल आफैमा स्थापित विधा हो। त्यो गीत र कविताभन्दा आफूलाई फरक किसिमले स्थापित गरिसकेको छ। कविता भन्दा अब्बलपनि छ। जुन सुकै क्षेत्रबाट त्यो माथि प्रहार भएतापनि विस्तापित गराउन सक्ने अवस्था छैन। हाम्रा एकेडेमीक क्षेत्रका गुरुहरुसँग मेरो विनम्र अनुरोध के छ भने उहाँहरुले अब त्यो पुराना सोचभन्दा माथि उठ्नुपर्छ। कविता र गजल अलग विधा हुन् । मोतिराम भट्टको समयदेखिनै हेरौ न यसमा विभेद गर्नुपर्ने अवस्था छैन।
नेपाली गजलको इतिहास निकै पुरानो छ तर विधागत रुपमा स्थापित गर्ने क्रममा चाहिँ उहाँहरु कहाँनिर चुक्नुभयो?
हाम्रा विज्ञ प्राज्ञहरुको अन्तर्रकुन्तरमा रहेको कुण्ठायुक्त सुसुष्त सोचबाट माथि उठ्नुपर्छ। यो भन्दा बाहेक अर्को कुनै विधा जन्मियो भने पनि स्थापित भएर आएरपछि त्यसलार्ई स्वीकार गर्नुपर्छ। त्यसका निश्चित मूल्य मान्यताहरु होलान् त्यसलाई स्वीकार गरेर आउने चेतना उहाँहरुको विकास हुनुपर्याो । अझ भन्ने हो भने समयलाई बुझ्नसक्ने अवस्थामा पुग्नुपर्छ।
गजलसँग सम्बन्धित धेरै पुस्तकहरु बाहिर आएका छन्। ती पुस्तकका लेखक उहाँहरुनै हो तर गजललाई विधागत मान्यता दिन भने उहाँहरु हिच्किचाउनु हुन्छ। गजल इन्डिपेन्ड विधा हो भन्न पनि नसक्ने उसको अस्तित्व स्वीकार पनि गर्न नसक्ने समस्या छ। मलाई लाग्छ अब यो लामो समय लाग्दैन होला पछिल्लो पुस्ताले यसलाई प्रतिनिधित्व गर्दै जान्छन।
हामीसँग भएको साहित्य चेतना परक हो कि पदार्थ परक हो? हामी चेततासँग जोडिएका छौ कि पदार्थसँग?
चेतनासँग गाइडेट भएर नै सिर्जना गर्ने शशक्त बनाउने कुरामा चाहिँ कमजोर छ । नेपालमा एउटाले चेतनालाई अस्वीकार गर्ने र अर्कोलाई पदार्थलाई अस्वीकार गर्ने अवस्था छ। दुवैको संयोजनमा साहित्य बाहिर आउन सकेको छैन। समालोचकहरुले व्यक्तिमुखी भएर चेतना र पदार्थको विश्लेषण गरेको पाउछु। एकले अर्कोको अस्तित्व अस्वीकार गर्नुनै सबैभन्दा ठूलो समस्या हो। आफ्नो बाहेक अर्काको चेतनामा पस्न नसक्ने र पसेपछि निस्कन नसक्ने समस्या छ।
पुरानो पुस्ता र नयाँ पुस्ताविचको अन्तर चाहिँ कहाँनिर छ?
सिर्जनानको क्रम सुरुवात गर्दागर्दै प्रारम्भको विन्दुमा कमजोरीहरु ग्राह्य हुन्छन् स्वकीर्य हुन्छन् र स्थापित भनिएका व्यक्तिहरुबाट त्यो माथि औला उठाउँछन् त्यसकारण भर्खरभर्खरै सिर्जनामा जाने भाइबहिनीले भरमार सिर्जना गर्ने हो। के पढ्ने सिर्जना गर्ने कस्तो गर्ने, देशकाल परिस्थितिको मूल्यांकन गर्ने अनि मात्रै सार्वजनिक गर्ने तर्फ लाग्नुपर्छ।
तर सार्वजनिक गर्नु अगाडि सोच्नुपर्छ भन्ने चेतनाको विकास पनि आवश्यक छ। तर स्थापित भनिएका साहित्यकार वौद्धिक व्यत्तित्वहरुबाट पनि त्यो हिसावले चाहिँ हाम्रो सिर्जनाकर्मीलाई गाइड गर्न नसकेको अवस्था छ। स्थापित बौद्धिक, प्राज्ञिक व्यक्तिले सही मार्गतिर लैजान सहयोग गर्नुपर्छ। यहाँनिर कवि भुपी शेरचनलाई सम्झनुपर्छ। उहाँले हामीलाई कालजीय सिर्जना दिएर जानु भएको छ। एउटा चीज लेख्यो फुत्त फाल्यो अर्को चीज लेख्यो फुत्त फाल्यो धेरै फालेपछि मात्र सफलतामा पुग्न सकिन्छ भन्ने विषयलाई ध्यान दिन जरुरी छ।
प्रकाशित: २६ फाल्गुन २०७८ ०६:१४ बिहीबार