तपाइँको राजिनामा समेत माग राखेर डाक्टर गोविन्द केसी अनसन बसेको आज ११ औं दिन भयो। अब राजिनामा दिने बेला भएन?
एउटा व्यक्तिले राजिनामा दिएर शिक्षा क्षेत्रका र यी सब विकृति सल्टिन्छ भने म राजिनामा दिन्छु। त्यसको ग्यारेन्टी चाहिँ कसले गर्नसक्छ।
तपाइँ सहकुलपति रहेको त्रिभुवन विश्वविद्यालयका पदाधिकारीसँग डा.केसीका मागबारे कुराकानी भएको होला नि। उहाँहरुलाई राजिनामा गराउन त सक्नुहुन्छ नि?
यो विषयमा उहाँहरु जवाफदेही हुने कुरा हो। मन्त्रीले चाहँदैमा उहाँहरुलाई राजिनामा गराउन सक्ने अवस्था छैन। सबैजना एउटा एउटा प्रक्रियाबाट आएका हुन्छन्।
तपाइँ मन्त्री भएपछि मेडिकल कलेजहरुको सम्बन्धन खुलाउन त प्रयास गर्नुभएको हो नि?
मन्त्री एक्लैले चाहेर सम्बन्धन दिन सक्दैन। १० वर्ष अगाडि मनसायपत्र दिने मन्त्रीले यो कुरा किन सोचेनन्? अरु निकायहरुका निर्देशनका पनि कुरा आउँछन् यसमा। यस्तो अवस्थामा मन्त्री बाधक बन्न मिल्छ र?
तपाइँमाथि मेडिकल माफियालाई संरक्षण दिएको आरोप लागेको छ। डा.केसीले राजिनामा माग्दै अनसन बसिरहेका छन्। यस्तो अवस्थामा आफैँ पदबाट हट्न मिल्दैन?
ममाथि लागेका आरोपको छानविन होस्। त्यसका लागि म तयार नै छु। न्यायिक छानवीन कमिटी बनाउने भनेर मन्त्रिपरिषदले निर्णय गरिसकेको छ। कानुनी दायराभित्र बसेर यो समस्याको समाधान गर्न सरकार तयार भइसकेको छ।
प्रकाशित: १८ चैत्र २०७१ ०१:३५ बुधबार





