२१ मंसिर २०७९ बुधबार
अन्तर्वार्ता

म्याग्दी खोलाको लागत घटाएर लगानीकर्तालाई मुनाफा दिन्छौं: अध्यक्ष कुँवर

धौलागिरी कालिका हाइड्रो कम्पनीले म्याग्दी खोलामा २५ मेगावाटको जलविद्युत आयोजनामा स्थानीयसाथै म्याग्दीमा जन्मिएर प्रवासमा रहेका लगानीकर्ताहरुको बाहुल्यता रहेको छ। एनआरएनए हङ्गकङ्ग समूह, काठमाण्डौ म्याग्दी इन्भेष्टमेण्ट कम्पनी र ग्लोबल फ्रेण्डसिप क्यापिटल लिमिटेड मुख्य प्रवर्द्धक रहेको आयोजनामा म्याग्देली हाल दक्षिण कोरियामा व्यवसाय गरिरहेका विनोद कुँवर अध्यक्ष छन्। 

मालिका गाउँपालिका–७,बिम र वडा नं ५,देविस्थान र धवलागिरि गाउँपालिका–७, को सिमा क्षेत्रमा रहेको फेदीमा बाँध रहने आयोजनाको साढे ५ किलोमिटर सुरुङ मार्ग रहनेछ। सुरुङमार्ग हुँदै ल्याईने पानीलाई १ सय मिटर हेडबाट रातोढुंगामा निर्माण हुने विद्युतगृहमा खसालेर विद्युत उत्पादन गरिने छ। पावरहाउस र इन्टेकसम्म नै सडक पहुँच रहेको आयोजनाबाट उत्पादित विद्युत ८ किलोमिटर लामो १३२ केभी प्रसारण लाइनमार्फत प्रस्तावित डाँडाखेत सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ। आयोजनाका बारेमा कम्पनीका अध्यक्ष कुँवरसँग म्याग्दी संवाददाता हरिकृष्ण गौतमले गरेको कुराकानी।  

धौलागिरि कालिका हाइड्रो लिमिटेडद्धारा प्रवद्र्धित म्याग्दी खोला जलविद्युत आयोजनाको वर्तमान अवस्था कस्तो छ?

सर्वप्रथम यो अवसरका लागि धन्यवाद।स्वदेश तथा विदेशमा रहेका म्याग्देलीको सक्रियतामा पश्चिम म्याग्दीको दरबाङमा निर्माणाधीन २५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाको काम तिब्र गतिमा अगाडी बढेको छ। अहिलेसम्म वित्तिय व्यवस्थापन (फाइनान्सीयल क्लोजर) भै सकेको, साईट अफिस, कर्मचारी आवास, लेवर क्याम्प निर्माण सम्पन्न भएको छ। आयोजनास्थल सम्म पहुंच मार्ग निर्माण भै सकेको अवस्था छ साथै परियोजनासंग सम्बन्धित अन्य पूर्वाधार निर्माणका काम भै रहेको छ।  आयोजनाको लागि आवश्यक विष्फोटक पदार्थ व्यवस्था गरी शुरुङ्ग निर्माण कार्यको शुभारम्भ भएको छ।

आयोजनाको कुल लागत कति हो, कुन–कुन बैंकले लगानी गरेका छन त?

म्याग्दी जिल्लाको म्याग्दी खोलामा निर्माण हुने २५ मेगावाटको जलविद्युत उत्पादनको लागि वित्तिय व्यवस्थापन सम्झौता सम्पन्न भएको छ। सानिमा बैंकको नेतृत्वमा प्रभू बैंक, कुमारी बैंक, सेन्चुरी बैंक, मुक्तिनाथ विकाश बैंक र महालक्ष्मी विकाश बैंकले ३ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी रहेको छ। ५ अर्ब १५ करोड रुपैयाँ कूल लागत अनुमान गरिएको आयोजनामा बाँकी स्वपूँजी रहनेछ। आयोजनाले यसको ३० प्रतिशत बराबरको शेयर सर्वसाधारणलाई दिइने छ। फागुन महिनासम्म प्रभावित क्षेत्र र म्याग्देलीलाई लगानीका लागि अवसर छ। यो आयोजनालाई हामीले सकेसम्म स्थानीयलाई नै धेरै लाभ हुने गरी ध्यान दिएर लगानीको वातावरण बनाइरहेका छौ।  

कोरोनाको कारण आयोजनाको काम सुस्त गतिमा अगाडी बढेको देखिन्छ, आयोजना कहिलेसम्म सकिन्छ?

विश्वव्यापी कोरोनाको पहिलो र दोस्रो लहरबाट आयोजना पनि अछुतो रहन सकेन तथापि  हामीले आयोजनास्थलमा कामलाई निरन्तरता दिने गरी थप योजना सहित अगाडी बढेका छौ। कोरोनाको जोखिमलाई मध्यनजर गरी जनस्वास्थ्यका मापदण्डको समेत प्रयोग गरिएको छ। बाहिरी जिल्लाबाट आउने मजदुरलाई लक्षण नदेखिएपछि मात्रै काममा खटाउने गरेका थियौं। अहिले धमाधम काम भइरहेको छ। अर्को महिनाबाट सुरुङ खन्ने काम राति र दिउँसो गरि दुई सिफ्टमा काम गर्नेछौ। आगामी साढे दुई देखि तिन वर्ष सम्ममा सम्पूर्ण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ काम भै रहेको छ।

आयोजनामार्फत प्रभावित क्षेत्रमा सामाजिक उत्तरदाहित्वका काममा कस्ता सहयोग भइहरेको छ त?

सबैभन्दा पहिले हामीले स्थानीय समुदाय र प्रभावित क्षेत्रका बासिन्दालाई लक्षित गरी काम गछौ। रोजगारी, स्थानीयको आवश्यकतालाई समेत आयोजनाबाट प्राथमिकता दिइएको छ। जलविद्युत आयोजनावाट स्थानीयवासी आधिकाधिक मात्रामा लाभान्वित हुन सकुन् भन्ने तर्फ आयोजना व्यवस्थापन विशेष चनाखो रहेको छ। हामीले स्थानीय समुदायलाई हित कुने काममा आयोजना निर्माणधिन अवस्थामा मात्रै होइन सम्पन्न भएपछि पनि निरन्तर सक्रियता देखाउने छौ। सामाजिक उत्तरदायित्वका सन्दर्भमा स्थानीय निकाय र जनसमुदायसंग निकटतम समन्वयमा रहि कार्य भै रहेको छ।

आयोजनामा प्रति मेगावाट धेरै खर्च हुदाँ लगानीकर्ताको लगानी नै जोखिममा पर्ने गरेको देखिन्छ, म्याग्दी खोलामा प्रति मेगावाट लागत छ?

नेपालमा अधिकांस जलविद्युत कम्पनीका कुल परियोजना लागत रू २१ करोड प्रति मेघावाटभन्दा पनि बढी रहेको छ। लागत वृद्धिमा कोरोनाको कारण काम ठप्प, ठेकेदारको लापरबाही तथा ढिला सुस्तीबाट परियोजना अवधि थप, प्रर्वधकहरूमा आर्थिक अनुशासनमा कमी जस्ता विविध कारणले भएको देखिन्छ। हामीले नेपालमा निर्माणधिन अवस्थामा रहेका अन्य आयोजनबाट समेत पाठ सिकेका छौ। अर्को कुरा लागत कमबाट नै आयोजनाले भविस्यमा दिने प्रतिफल निर्धारण गर्छ। आयोजनाका हरेक खर्चलाई सकेसम्म कम गदैं अगाडी बढेका छौं। आयोजनाको प्रति मेघावाट अनुमानित लागत २१ करोड भन्दा तल नै हुने देखिन्छ।

कुनै समय म्याग्दीमा जलविद्युतमा लगानी गर्ने भनेको राम्रै नाफा गर्ने र फाइदा गर्ने भन्ने हुन्थ्यो, अहिले चासो कम छ, कारण के होला?

म्याग्दी जिल्लामा सञ्चालित केही आयोजनाहरुमा भएको ढिलासुस्तीका कारण यस्तो आशंका उव्जेको हुन सक्दछ। तर समग्रतामा हेर्दा चासो कम छ भन्ने मलाई लाग्दैन। म्याग्दी जिल्ला जलविद्युत उत्पादनको हवकोरुपमा विकास हुदै गएको छ, साथै उत्पादित जलविद्युतलाई राष्ट्र्रिय प्रसार लाईनमा जोडनका लागि आवश्यक सवस्टेशन लगायतका पूर्वाधार निर्माणमा प्राथमिकता साथ नेपाल सरकारवाट काम भै रहेछ। 

जलविद्युत आयोजनावाट स्थानीयवासी आधिकाधिक मात्रामा लाभान्वित हुन सकुन् भन्ने तर्फ ध्यान दिएको र स्थानीय सर्वसाधारणवाट समेत जलविद्युत आयोजनामा आवश्यक सहयोग भै रहेको पाईन्छ। आयोजनाले हिउँदको चार महिना प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र बर्षायामको ८ महिना प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा नेपाल विद्युत प्राधिकरण सँग विद्युत खरिदबिक्री हुने सम्झौता गरेको छ। हामीले हिउँदमा पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न सक्ने प्रसस्तै आधार भएकाले पनि म्याग्दी खोलाका लगानीकर्तालाई फाइदा छ।  

सर्वसाधारणहरुले म्याग्दी खोलामा किन लगानी गर्ने, यसका सवल पक्ष र लगानीकर्तालाई प्रतिफल दिन सक्ने आधार के छन्?

आयोजनामा संस्थागत सूशासन राम्रो रहेको, संचालक तथा व्यवस्थापन टिम अनुभवि र दक्ष रहेको, वित्तिय दृष्टिकोणवाट समेत आकर्षक रहेको र उल्लेख्यरुपमा स्थानीयवासी  लगानीकर्ता रहेको र उनिहरुवाट निरन्तर साथ र समर्थन रहेको छ। साथै नेपाल सरकारवाट समेत आवस्यक पूर्वाधार निर्माणका कार्य तिव्रता साथ भै रहेकोले कावु वाहिरको अवस्थामा वाहेक निर्धारित समयमै परियोजना सम्पन्न भै लगानीकर्तालाई प्रतिफल दिन सक्नेमा विश्वस्त छौं।

म्याग्दी खोलाको साधारण सेयर निश्कासन गर्नेका लागि अझै कति समय कुर्नुपर्छ त?

आगामी डेढ वर्ष सम्म सर्वसाधारणका लागि शेयर निस्कासन गर्ने लक्ष्यका साथ काम भै रहेको छ। सेयर बजारमा लगानीकर्तालाई निकै लाभ हुने अवस्था छ। साधारण सेयर निश्कासनको अवधिसम्म फागुन महिनाभित्र आयोजनामा लगानी गर्नेहरुबाट राम्रो आम्दानी हुने अवस्था  देखिन्छ। एक सय लगानी गर्दा दोस्रो बजारमै अहिलेको अवस्थामा पनि तीन गुणा फाइदा हुन्छ। आयोजनाले उत्पादन गरेको बिजुली कालीगण्डकी करिडोरको डाँडाखेत सवस्टेसनस्थित १३२ केभी प्रसारण लाइनमा जोडिनेछ। प्राधिकरणले नै बनाउने प्रक्रिया अगाडि बढाएकाले आयोजना बनिसक्दा प्रसारण लाइन पनि बनिसक्न भएकाले उत्पादन खेर जादैंन्।

अन्तिममा केही भन्न चाहनुहुन्छ?

आयोजनामा सकेसम्म स्थानीयवासीको आधिकाधिक लगानी हुन सकोस् भन्ने उद्देश्य अनुरुप स्थानीय संस्थापक लगानी कर्ता र लगानी गर्न चाहना राख्ने लगानीकर्ताको लागि संस्थापक शेयर लगानीका लागि यही २०७८ फागुन मसान्त सम्म लगानी गर्नका लागि अनुरोध गर्न चाहान्छु। साथै किस्ता तिर्न बांकी लगानीकर्ताहरुलाई समेत यही २०७८ फागुन मसान्त सम्म वांकी किस्ता भुक्तानी गर्न अनुरोध गर्दछु। आयोजना कार्यान्वयनका सन्दर्भमा हालसम्म प्राप्त सहयोगका लागि आभारी छौं र भविष्यमा समेत साथ र सहयोगको अपेक्षा गरेको छु।

प्रकाशित: २७ माघ २०७८ १८:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App