१६ चैत्र २०८० शुक्रबार
अन्तर्वार्ता

'रोल्पालीहरु शान्त र शालीन भएको पाँए'

कुनै समय रोल्पा सुन्न समेत नचाहाने प्रहरी र प्रहरीको अनुहार समेत हेर्न समेत रोल्पालीहरु संग बर्तमानमा रहेको सम्बन्धका बारेमा रोल्पा बसाईको १४ महिना सकाएर भर्खरै सरुवा भएका रोल्पा प्रहरी प्रमुख डिएसपी नरेश राज सुवेदी संग गरिएको कुराकानी।

रोल्पा बसाई कस्तो रहयो?  

रोल्पा बसाई अत्यन्त सुखद रहयो। सम्पुर्ण रोल्पालीहरुको अत्यन्त धेरै माया र सहयोग पाए जसले आफुलाई काम गर्नको लागि सधै हौशला प्रदान गर्यो। कार्यालय तथा मातहत इकाईहरुमा कार्यरत प्रहरी टिम पनि अत्यन्त राम्रो रहेकोले कामको दौरानमा कुनै समस्या महशुश गर्न परेन। सबैको सहयोगी भावनाले दैनिक प्रहरी काम कारवाहीमा अत्यन्त सहज महशुश भयो। प्रदेश प्रहरी प्रमुख लगायतको कुशल नेतृत्व र निर्देशनले आफुलाई सधैं हौशला प्रदान गरिरहयो। आफु र आफ्नो नेतृत्वमा रहेको प्रहरी टिमले नागरिकलाई के कति सेवा प्रदान गर्न सक्यो त्यसको मुल्याङकन् गर्ने जिम्मा म रोल्पा बासीलाई नै छोड्न चाहन्छु। हाम्रो मुल्याङकन कर्ता उहाँहरु नै हो।  

जिल्ला प्रहरी प्रमुखको आखामा रोल्पाको अवस्था कस्तो छ?  

रोल्पाको वर्तमान अवस्थालाई विभिन्न दृष्टिकोणबाट हेर्न सकिन्छ। जिल्लाको समग्र शान्ती सुरक्षाको अवस्था सन्तोषजनक रहेको छ। हरेक चाड पर्वहरुमा मदिराको अत्यधिक प्रयोग गर्ने परम्परागत चलनले गर्दा रोल्पामा घरेलु हिंसा, महिला हिंसा, लगायत विभिन्न सामाजिक तथा जघन्य अपराधका घटनाहरु आत्म हत्या भईनै रहन्छन्। बाल विवाह तथा बहु–विवाहका घटनाहरु भईनै रहन्छन्। दैविक प्रकोपका घटनाहरु, सडक दुर्घटना, लागू औषधको प्रयोग लगायतका अपराधहरु रोल्पामा प्राय भईरहन्छन। विकास तथा समृद्धिको दृष्टिकोणले हेर्दा अहिलेको रोल्पा समृद्धि तर्फ लम्किरहेको छ। सम्पुर्ण जिल्ला भर सडकको संजाल फैलिएको छ। शिक्षा तथा स्वास्थ्यको अवस्थालाई सुधार गर्नको लागि संरचनाहरु निर्माण भईरहेको छ। रोल्पामा पर्यटकीय क्षेत्रको संभावना पनि धेरै रहेको छ। यहा जलजला(बराह क्षेत्र), सुनछहरी जस्ता पर्यटकीय स्थलहरु तथा अन्य महत्वपुर्ण ऐतिहासिक स्थलहरु रहेका छन् पर्यटकीय क्षेत्रको विकासको लागि विभिन्न गुरुयोजनाहरु तयार भईसकेका छन्।  

बाहिरबाट देखिने रोल्पा र रोल्पा बसेर देखिने रोल्पा कस्तो रैछ?  

बाहिरबाट हेरिने रोल्पा र नजिकबाट महशुश गरिने रोल्पा पुरै फरक छ। बाहिरबाट हेर्दा रोल्पा दुर्गम र विकट होला भन्ने मान्छेले महशुश गर्छन तर वास्तविक रोल्पा त्यस्तो छैन। विकास तथा समृद्धको यात्रामा अहिलेको रोल्पा द्रुत गतिमा लम्किरहेको छ। विविध जातजाती र समुदायको बसोबास भए पनि रोल्पालीहरुमा अत्यन्त बलियो एकता र भाईचाराको भावना रहेको छ। नागरिकहरुमा अत्यन्त सकारात्मक सोच र सहयोगीपन पाईन्छ। रोल्पालीहरु मनको धनी हुनुहुन्छ। सम्पुर्ण जिल्ला सडक संजालले घेरिएको छ। विकासका पुर्वधारहरु धमाधम निर्माण भईरहेका छन्। संचार विद्युत तथा वजारीकरण र पक्की भवनहरुको विस्तारले रोल्पामा धेरै परिवर्तन ल्याएको छ। अहिलेको रोल्पा विकट छैन र रोल्पा शान्तीको पथमा हिड्न थालेको छ।  

रोल्पामा फेरी द्वन्द्वको खतरा छ कि छैन?

रोल्पामा अब फेरी अर्को द्वन्दको कुनै खतरा छैन। कुनै पनि नागरिकमा द्वन्दको भावना, रिस, इर्श्या प्रतिशोधको भावना केहि पनि छैन। हरेक नागरिकमा एकताको भावना रहेको छ। रोल्पालीहरु शान्त र शालिन भएको पाए।

रोल्पालीहरु कुनै समय प्रहरी देख्दा तर्सिन्थे अहिले जनता संग प्रहरीको सम्बन्ध कस्तो छ?  

अहिले जनतासँग प्रहरीको अत्यन्त सुमधुर सम्बन्ध रहेको छ। प्रहरी प्रति नागरिकको अत्यन्त सकारात्मक भावना रहेको हामीले पायोँ। पिडित व्यक्तिहरु आफै प्रहरी कार्यालयमा आउने वातावरण बनेको छ। न्यायमा सहज पहुँच र न्यायिक उपचारका प्रक्रियाहरु सरल र प्रभावकारी बनुन भन्ने उदेश्यले जिल्ला स्थित विभिन्न निकायहरु सँग समन्वय गरी हामीले जिल्लाको ग्रामीण एरियाहरुमा पनि विविध सचेतनामूलक कार्यक्रमहरु संचालन गर्यो, जसले प्रहरी र नागरिक बीचको दुरीलाई नजिक ल्याउने काम गर्योम। सभ्य समाज निर्माणको लागि आमा समुहहरु अत्यन्त सक्रिय रहेका छन्।

द्वन्द्वले थलिएको रोल्पामा शान्ती स्थापनाको लामो समय भयो। हाल अपराधको अवस्था कस्तो छ?

रोल्पामा अपराधको ग्राफ बढ्दो अवस्थामा रहेको छ। वालविवाह, बहु–विवाह, आत्महत्या, घरेलु हिंसा, महिला हिंसाका घटनाहरु रोल्पामा बढिरहेको देखिन्छ। सामान्य झै–झगडा देखि हत्या सम्मका घटनाहरु पनि हुने गरेका छन्। लागु औषधको खेती, प्रयोग र सेवनमा युवाहरुको आकर्षण बढिरहेको पाईन्छ। सडक दुर्घटना तथा दैवि प्रकोप घटनाहरु रोल्पामा बारम्बार भईरहन्छन्। पछिल्लो समयमा साईबर क्राईमा अपराधहरु पनि बढिरहेको पाईन्छ। अधिकंश नागरिकहरु कानुनको बारेमा जानकार छैनन्।

गत आर्थिक बर्षको अपराधको तथ्यांक देखाईदिनु न?

रोल्पा जिल्लामा प्राय धेरै थोरै सबै प्रकारका आपराधिक घटनाहरु घट्ने गरेको छ। जिल्लामा आत्महत्याको अवस्था डर लाग्दो छ भने बाल विवाहको अवस्था पनि भयावह नै छ। बालविवाह सम्बन्धी लिखित उजुरीहरु प्रहरी कार्यालयमा नपरे पनि मौखिक उजुरीको आधारमा गत आ.व.मा हुनै लागेका त्रिचालिस (४३) वटा बालबिवाह प्रहरीको सक्रियतामा रोकिएको थियो। रोल्पा जिल्लामा गत आ.व.मा कर्तव्य ज्यान ८ वटा, कर्तव्य ज्यान उद्योग ४, जवरजस्ती करणीका १७, सार्वजनिक शान्ती विरुद्धको कसुरका २४, लागु औषध सम्बन्धी ५, सवारी दुर्घटना सम्बन्धी ९, आत्महत्याका ८१ र अन्य विभिन्न अपराध गरी जम्मा २०५ वटा मुद्दाहरु दर्ता भएको अभिलेखमा देखिन्छ। गत आ.व. मा रोल्पा प्रहरीले २३ के.जी. भन्दा बढि तयारी अफिम पक्राउ गर्नुका साथै झन्डै ६ रोपानी जग्गामा लगाईएको अफिम खेती प्रहरीले नस्ट गरेको थियो।गत आ.व. मा नै घरेलु हिंसा सम्बन्धी ९९ वटा उजुरीहरु महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा दर्ता भएका थिए।  

व्यवस्था परिवर्तन पछि रोल्पामा शान्ती कायम भएको छ त?  

रोल्पामा १० वटा स्थानीय तहहरु रहेका छन्। सबै स्थानिय तहहरुमा प्रहरीका इकाईहरु रहेका छन्। विभिन्न ठाउहरुमा अस्थाई प्रहरी चौकीहरुको स्थापना गरिएको छ। शान्ती सुरक्षा, अपराध अनुसन्धान लगायत अन्य प्रहरी गतिविधिहरुलाई प्रभावकारी तवरले संचालन गर्न स्थानीय तहहरु सँगको समन्वयले धेरै सजिलो भएको छ। शान्ती सुरक्षाको विषयलाई सवै स्थानीय तहहरुले प्राथामिकता राखेको कारणले जिल्लाको सुरक्षा अवस्था मजबुत भएको हो। पछिल्लो समयमा प्रहरीको जनशाक्ती, स्रोतसाधन तथा भौतिक पुर्वधारको क्षेत्रमा उल्लेख्य मात्रामा वृद्धि भईरहेको छ।नेपाल सरकार तथा प्रदेश सरकारको सहयोगमा प्रहरीका भौतिक संरचनाहरु निर्माण भईरहेका छन। प्रहरी इकाईहरुको स्तर उन्नति समेत भई रहेको छ। विभिन्न घुम्ति तालिमहरुको माध्यमबाट सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई कार्यक्षेत्रमा नै प्रशिक्षण गर्ने काम भईरहेको छ। त्यसैले शान्ती सुरक्षाको अवस्था मजबुत छ। नागरिकले शान्तीको महशुश गर्न पाएका छन्।  

शान्ती सुरक्षाका हिसाबले रोल्पामा विद्यमान समस्याहरु के के हुन?  

शान्ती सुरक्षाको लागि सबै भन्दा ठुलो चुनौती भनेकै भुगोल हो। विकट भौगोलिक अवस्थाले गर्दा ग्रामीण  एरियामा प्रहरीको उपस्थितलाई बाक्लो बनाउन कठिनाई हुन्छ। सबै क्षेत्रहरुमा संचार सम्पर्क गर्न कठिनाई छ भने सबै ग्रामीण एरियाहरुमा यातायातको पहुँच छैन। समाजमा विद्यमान परम्परागत सोच, त्रुटिपुर्ण मान्यता, मदिराको उत्पादन तथा सेवन, लागु औषध प्रति बढ्दो आकर्षण, सामाजिक संजालको बढ्दो दुरुपयोग  मुख्य समस्याहरु हुन भने भौगोलिक विकटताकै कारण अपराध गर्ने व्यक्ति सहजै फरार हुन सक्ने सम्भावना देखिन्छ।  

अन्त्यमा रोल्पा र रोल्पाली बारे केहि भन्नु छ?  

धेरै कुराहरु माथि नै आईसकेका छन। विभिन्न क्षेत्रमा रोल्पालीहरुको सकारात्मक सोच र एकताको भावनाले रोल्पाको सम्बृद्धि अब धेरै टाढा छैन। जिल्लामा बसेर काम गर्दा सल्लाह, सुझाव, सहयोग र हौशला प्रदान गर्नु हुनेसम्पुर्ण रोल्पावासीहरु प्रति हार्दिक आभार व्यक्त गर्दछु। नेपाल प्रहरी जहिले पनि अग्रपंक्तीमा रहि नागरिकको सेवा गर्न प्रतिवद्ध छ। अपराधका घटनाहरुलाई समाजमै नलुकाई प्रहरी कार्यालयमा उजुर गर्ने बानी बसाल्दै असल प्रहरीलाई आफ्नो साथी बनाउनु होस् भन्न चाहन्छु। 

प्रकाशित: ५ मंसिर २०७८ ०९:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App