नेपाल फेरि एक पटक चुनावको सँघारमा उभिएको छ। फागुनको चुनावलाई कतिपयले नियमित राजनीतिक प्रक्रिया ठानिरहेका छन्। यथार्थमा यो सामान्य चुनाव होइन। यो केवल सत्ता परिवर्तनको अभ्यास होइन, राष्ट्रको दिशा, प्राथमिकता र भविष्य तय गर्ने निर्णायक मोड हो। भोट हाल्नु कुनै सप्ताहान्तको कार्यक्रम होइन। यो मनोरञ्जन पनि होइन। यो आवेग, रिस वा पार्टीको अन्धनिष्ठाबाट गरिने कर्म पनि होइन। भोट हाल्नु भनेको देश कस्तो बनाउने भन्ने सामूहिक निर्णय हो।
आज नेपालले व्यवस्था परिवर्तनदेखि संविधान निर्माणसम्मका धेरै ऐतिहासिक चरण पार गरिसकेको छ तर यति धेरै परिवर्तनपछि पनि केही गम्भीर प्रश्न अझै अनुत्तरित छन् -के आमनेपालीको जीवनस्तर साँच्चै सुध्रिएको छ? के युवाले देशमै भविष्य देख्न थालेका छन्? के समृद्ध र सुखी नेपालको आधार बलियो बनेको छ?
यी प्रश्नको उत्तर खोज्ने समय यही चुनाव हो। जेनजी आक्रोश होइन, चेतनाको आवाज हो। पछिल्ला महिनामा नेपालका सडक, क्याम्पस र डिजिटल माध्यमहरूमा देखिएको आवाज कुनै दलको झन्डामुनि उठेको थिएन। आक्रोशको आवाजले कुनै नेताको जयजयकार गरेन। त्यो आवाज थियो - नयाँ पुस्ता अर्थात् जेनजीको।
यो पुस्ता केवल परिवर्तनको इतिहास सुनेर हुर्किएको होइन। यस पुस्ताले विकास खोजेको हो, सुशासन खोजेको हो। स्वदेशमै रोजगारी खोजेको हो, अर्थात् यो पुस्ता परिणाम खोज्दै हुर्किएको हो।
शिक्षा हासिल गरेपछि पनि रोजगारी किन सुनिश्चित छैन? योग्यता र क्षमताको मूल्याङ्कन किन हुँदैन? भ्रष्टाचार किन सामान्य व्यवहारजस्तै स्विकारिएको छ? राजनीति जनजीवन र अर्थतन्त्रबाट किन टाढिँदै गएको छ? नेतृत्व किन पुस्तौंदेखि सीमित घेराभित्र घुमिरहेको छ? यी प्रश्न असन्तोषका मात्र संकेत होइनन्। यी राष्ट्रप्रतिको जिम्मेवारीबोधबाट जन्मिएका प्रश्न हुन्।
यी प्रश्न राष्ट्रलाई सुशासनसहित विकासको गतिमा अघि बढाउन आएका हुन्। जेनजी आन्दोलन लोकतन्त्रविरोधी होइन। यो लोकतन्त्रलाई अझ जिम्मेवार र परिणाममुखी बनाउन उद्घोष गरिएको आवाज हो। यो पुस्ता व्यवस्था भत्काउन होइन, व्यवस्थालाई कर्मठ र सक्रिय बनाउन चाहन्छ अनि आफ्नै देशमा बस्न चाहन्छ।
विश्व-परिघटनाको पाठ
अरूको गल्तीबाट नसिके भविष्य महँगो पर्न सक्छ। आज नेपाल एक्लै छैन। विश्वका धेरै देश गम्भीर राजनीतिक, आर्थिक र सामाजिक सङ्कटबाट गुज्रिरहेका छन्। हामीले अरूको अनुभवबाट पाठ नसिके भविष्य झनै जोखिमपूर्ण हुन सक्छ।
श्रीलङ्का: गलत शासन र भ्रष्टाचारको मूल्य
श्रीलङ्का कुनै समय दक्षिण एसियाको तुलनात्मक रूपमा स्थिर देश थियो, विकासको बाटोमा लम्कँदै थियो। तर दीर्घकालीन कुप्रशासन, भ्रष्टाचार, परिवारवादी राजनीति र अव्यवस्थित आर्थिक निर्णयले देशलाई अभूतपूर्व सङ्कटमा पुर् यायो। जनताको आक्रोश सडकमा विस्फोट भयो, राज्य संरचना नै हल्लियो। यो हाम्रा लागि चेतावनी र पाठ हो -गलत नेतृत्वलाई पटक पटक स्वीकार गर्दा राष्ट्र नै धराशायी हुन सक्छ।
बङ्गलादेश: स्थिरता र असन्तोषको दोहोरो कथा
बङ्गलादेशले आर्थिक वृद्धिमा उल्लेखनीय प्रगति गरेको देखिए पनि राजनीतिक दमन, संस्थागत कमजोरी र असन्तुष्ट युवाको आवाजलाई बेवास्ता गर्दा त्यहाँ पनि सामाजिक तनाव गहिरिँदै गएको छ। आर्थिक तथ्याङ्क मात्र पर्याप्त हुँदैन, राजनीतिक समावेशिता र विश्वास अनिवार्य हुन्छ। जनविश्वास गुमाउँदा बङ्गलादेश दिन प्रतिदिन अस्थिर बन्दै छ।
युक्रेन: राष्ट्रिय एकता र नेतृत्वको परीक्षा
युक्रेनले देखाएको साहसले विश्वलाई सिकाएको छ– जब राष्ट्र सङ्कटमा पर्छ, तब स्पष्ट दृष्टि, बलियो नेतृत्व र जनताको एकता नै सबैभन्दा ठुलो शक्ति बन्छ। राष्ट्रलाई कमजोर बनाउने होइन, सङ्कटमा राष्ट्रलाई जोगाउने नेतृत्व आवश्यक हुन्छ।
इजरायल: सुरक्षा, राजनीति र समाजको संवेदनशील सन्तुलन
राजनीतिक विभाजन, आन्तरिक असहमति र संवेदनशील निर्णयहरू कसरी राष्ट्रिय सुरक्षासँग गाँसिन्छन् भन्ने पाठ इजरायलले विश्वलाई सिकाएको छ। गलत निर्णयले पुस्तौंसम्म असर पार्न सक्छ। राजनीति हल्का विषय होइन। राजनीतिमा चुकाइएको मूल्य र गरिएका गलत निर्णयको सजाय पुस्तौंपुस्ताले भोगिरहेका हुन्छन्।
यी सबै उदाहरणले हामीलाई एउटै पाठ सिकाउँछ– राष्ट्र निर्माण गम्भीर विषय हो। राजनीति लहडको हलुका खेल होइन।
राजनीतिक मानसिकतामा आत्ममन्थन अपरिहार्य
विश्वलाई नै धेरै धारबाट सन्देश दिने तवरले नेपालमा जेनजी विद्रोह भयो। यो विद्रोहले देशको सत्ता हेरफेर मात्र होइन, राजनीतिक चेतना, कुशासनको परिणाम, युवा शक्ति, परम्परागत एकात्मक केन्द्र तथा समयको आह्वानजस्ता विषयमा गम्भीर बहसको सुरुवात गरिदिएको छ।
दुर्भाग्यवश अधिकांश राजनीतिक दलहरूले जेनजीको आवाजलाई गम्भीरतापूर्वक सुन्न सकेनन्। कसैले यो आवाजलाई भावनात्मक आवेग भने, कसैले दिशाहीन आन्दोलन। कसैले यसलाई बाह्य निर्देशनको प्रभाव भन्ने आरोप लगाए। यस्ता प्रतिक्रियाले स्पष्ट देखाउँछन् - समस्या सडकमा होइन, सोचमा छ। राजनीति जनताको सेवाका लागि हुनुपर्छ। तर व्यवहारमा राजनीति अझै पनि सत्ता जोगाउने, असफलता ढाकछोप गर्ने र प्रश्नबाट भाग्ने माध्यम बनेको देखिन्छ।
जब नेतृत्व प्रश्न सुन्न डराउँछ, जब आलोचनालाई शत्रु ठानिन्छ, त्यसले सुधार होइन, अवनति निम्त्याउँछ।
भोट हाल्नुअघि हामीले के सोच्नुपर्छ?
चुनाव नजिकिँदै छ। यस घडीमा हरेक नागरिकले गहिरो आत्ममन्थन आवश्यक छ। हामीले पार्टीभन्दा माथि उठेर देश सोच्नुपर्छ। इतिहासभन्दा अघि भविष्य हेर्नुपर्छ। भावनाभन्दा पहिले विवेक प्रयोग गर्नुपर्छ। हामीले आफैंसँग यी प्रश्न सोध्नैपर्छ:
– को नेतृत्वले देशलाई सही दिशामा लैजान सक्छ?
– को व्यक्ति स्पष्ट सोच, स्थिर मानसिकता र नैतिक चरित्रको छ?
– को भ्रष्टाचारमा संलग्न छैन?
– को कुलत, दुरुपयोग र सत्ताको दम्भबाट मुक्त छ?
– कसले युवालाई नारा होइन, मार्गदर्शन र अवसर दिन सक्छ?
– कसले सत्ताका लागि होइन, सेवाका लागि राजनीति गर्छ?
देश एक जनाले मात्र बनाउन सम्भव छैन तर गलत नेतृत्वले देशलाई दशकौं पछाडि धकेल्न सक्छ।
इतिहासले हाम्रो निर्णय सोध्नेछ - जेनजीले ऐना देखाइसकेको छ। अब आँखा चिम्लने कि त्यो ऐनामा हेर्ने? निर्णय हाम्रो हो। राष्ट्र निर्माण कुनै खेल होइन। यो पुस्तागत दायित्व हो। भोट हाल्दा रिस, भ्रम, डर होइन, विवेक प्रयोग गरौं। नेपालको भविष्य मतपत्रमा छ।
निर्वाचनका सन्दर्भमा प्रश्न उभिएको छ - हामी सही व्यक्ति छान्छौं कि फेरि गल्ती दोहोर्याउँछौं? फेरि गल्ती दोहोर्यायौं भने इतिहासले हामीलाई माफ गर्दैन। हामीले विगतको गल्तीबाट पाठ नसिकेर आफ्नै भविष्य जोखिममा पार्यौं भने भविष्यले हामीलाई माफ गर्दैन। देश बनाउन राष्ट्रमा राम्रो काम गरेको व्यक्ति चुनौं। देशलाई विकासको मार्गमा दौडाऔं।
प्रकाशित: २५ पुस २०८२ ०८:०३ शुक्रबार

