४ आश्विन २०७८ सोमबार
अन्तर्वार्ता

‘कोरोनासँग बच्न व्यवहारमा परिवर्तन गर्न आवश्यक छ’

सामूहिक रूपमा काम गरियो भने जस्तो सुकै काम पनि गर्न सकिन्छ भनेर शुक्रराज ट्रपिकल अस्पतालले देखाएको छ। सार्वजनिक सेवाका बारेमा धेरै मानिसले प्रश्न गर्छन्। सार्वजनिक सेवा राम्रो छैन भनेर आलोचना हुने गर्छ। तर सार्वजनिक सेवामा रहेर पनि राम्रो काम गर्न सकिन्छ भन्ने उदाहरण हो टेकु अस्पताल। कोरोनाको समयमा विशिष्ट योगदान पुर्‍याउन सफल भएकोमा यो वर्षको ‘नागरिक नायक’को सम्मान पाएको टेकु अस्पतालका प्रमुख डा. सागर राज भण्डारी, डा. किजन महर्जन र आइसियु इन्चार्ज उषा देवकोटासँग नागरिक नायक सम्मान कार्यक्रममा नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुईँटेलले गरेको अन्तरक्रिया।

गत वर्ष चीनमा कोरोना भाइरसको संक्रमण हुँदै थियो। त्यतिबेला यहाँहरू के सोच्दै हुनुहुन्थ्यो ?

डा. सागर राजभण्डारी: सुरुका दिनमा यो त चीनमा मात्र हुने होला, विकसित मुलुकमा मात्र हुने होला, नेपालमा हुँदैन होला भन्ने लागेको थियो। सगरमाथा, हिमाल पार गरेर यता आउँदैन होला भन्ने लागेको थियो। तर विडम्बना ग्लोबलाईजेसनको जमानामा यो भाइरसलाई एक कुनाबाट अर्काे कुनासम्म पुग्न एक दिन पनि लागेन। दुई महिनाको अवधिमा यो नेपालमा पनि आइपुग्यो। त्यस क्रममा हामीले संक्रमितहरूको उपचारसँगै यसको व्यवस्थापन गर्न खोज्यौं। अहिले कुनै पनि मुलुक यसबाट अछुतो छैन। विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथामा पनि यो पुगिसकेको छ।

डा. किजन महर्जनलाई प्रश्न, यहाँ एक जना जनरल फिजिसियन, सरुवा रोग अस्पतालमा काम गर्दा कस्तो हुँदो रहेछ ? यो एक वर्षको अनुभव कस्तो रह्यो ?

नेपालमा कोभिडको संक्रमण सुरु हुँदा पहिले सामान्य लक्ष्यण भएका बिरामीमात्र अस्पतालमा आएका थिए। संक्रमण बढ्दै गर्दा जटिल संक्रमण भएका बिरामीहरू पनि आउन थाले। संक्रमितको संख्या बढ्दै गर्दा इमर्जेन्सी, आइसियु तथा सामान्य बेड पनि भरिँदै जान थाले। त्यो बेलामा म मात्र नभएर अन्य स्वास्थ्यकर्मीहरूलाई पनि गाह्रो भयो। पिपिई लगाएर लामो समयसम्म उपचार गर्नुपर्ने अवस्था थियो। अहिले पुनः अवस्था जटिल हुँदै गएको छ। त्यसैले थप सचेत हुनुपर्ने अवस्था छ।

आइसियु इन्चार्ज उषा देवकोटालाई प्रश्न: यो बेलामा काम गर्न निकै गाह्रो भयो होला। कस्तो रह्यो यहाँको अनुभव ?

धेरै नै गाह्रो भयो। सुरुमा चीनमा भाइरस फेला परेको समाचार सुनेपछि निकै डर लागेको थियो। चीनमा आएपछि पक्कै पनि नेपालमा आउछ भन्ने लागेको थियो र कोरोनासँग पक्कै पनि लड्नुपर्छ भन्ने लागेको थियो। त्यसैले हामीले त्यही अनुसार तयारी गरिरहेका थियौं। सरुवा रोग अस्पताल भएका कारण सरुवा रोग आउन वित्तिकै डराइहाल्ने अवस्था थिएन। त्यसभन्दा पहिले पनि हामीले विभिन्न संक्रामक रोगसँग लडिरहेका हौं। चाइना हुँदै इन्डियामा आइसकेपछि अब पक्कै पनि नेपालमा आउँछ र हामीले तयारी गर्नुपर्छ भन्ने थियो र हामीले त्यसको तयारी पनि गर्‍यौं।

हामीसँग बिरामी नआउँदासम्म हामीलाई त्रास थियो। कसरी सामना गर्ने होला र आइसियु इन्चार्ज भएको नाताले स्टापलाई कसरी परिचालन गर्नेहोला, कार्यालय सहयोगीहरूलाई कसरी परिचालन गर्ने होला भन्ने जुन त्रास थियो। अस्पतालभित्र इमरजेन्सी हुँदै आइसियुसम्म कोरोनाका बिरामी आइसकेपछि हामीले कोरोना भन्ने शब्द नै बिर्सिएर काम गर्न थाल्यौं। अन्य बिरामी आउँदा हामीले जसरी उपचार गथ्र्यौं, कोरोनालाई पनि त्यसरी नै उपचार गर्यौं।

हामीसँग प्रसनल प्रोटेक्ट इक्यिुपमेन्ट (पिपिइ) थियो। हामीले त्यो लगाएर उपचार गर्यौं। काम गर्दै जाँदा एक हप्ता दुई हप्ता हुँदा झन झन गम्भीर बिरामीहरू आउनु भयो। हामीले उहाँहरूको उपचार गर्‍यौं। अर्काेतर्फ एक दुई हप्तासम्म बिरामीको उपचार गर्दा हामी कोही पनि संक्रमित भएनौं। त्यसले हाम्रो मनोबल एकदमै बढ्यो। पिपिइ लगाएर बिरामीको उपचार गर्दा यो रोग सर्दाे रहेनछ भन्ने भयो र हामी डराएनौं। हामीले बिरामीहरूको राम्रोसँग केयर गर्दै उपचार गर्‍यौं। बिरामीले निको भएर गएपछि धन्यवाद दिनुभयो। विभिन्न मिडियामार्फत प्रतिक्रिया आए। हामीलाई एकदमै आनन्द लाग्छ। यसमा प्रमुख देन सरकार स्वास्थ्य मन्त्रालय, अस्पताल टिम सबै जना मिलेर नै हामीले बिरामीको उपचार गरेको हो। यसमा हामी सफल भएको हो भन्ने लाग्छ।

अर्काे प्रश्न डा. राजभण्डारीलाई: यहाँहरू सबै सरुवा रोगकै क्षेत्रमा काम गर्दै आउनु भएको छ। अस्पतालको नाम पनि त्यसरी नै राखिएको छ। भाइरसका बारेमा विभिन्न अनुमान गरिन्छ। कोरोना भाइरसको सन्देश के हो ?

लामो समयदेखि कोरोना भाइरसको संक्रमण जनावरहरूमा हुनेगथ्र्याे। जुनसुकै भाइरसको पनि प्रकृति कस्तो हुन्छ भने यसको विकास हुने क्रममा उस्तै किसिमको कपी बनाउने गर्छ। यसको बनोटको संरचना पनि उस्तै हुन्छ। तर कहिले काहीँ असाधारण संरचना बन्न पुग्छ। यसले हरेक पटक म्युटेसन परिवर्तन गर्दा म्युटेसनको आधारमा मान्छेलाई पनि संक्रमण गर्न सक्ने, कडा लक्षण देखाउने, हल्का लक्षण देखाउने, सार्ने क्षमता कम वा बढी भएको भन्ने हुन्छ।

अहिले कोरोना भाइरसको कुरा गर्दा यो १४/१५ महिना पहिले चीनमा पत्ता लागेको हो। अहिले यो विश्वका धेरै जसो मुलुकमा पुगिसकेको छ। पछिल्लो दुई महिनादेखि यसका वेभहरू परिवर्तन गर्दै आएको छ। कतिपय ठाउँमा दोस्रो लहर र तेस्रो लहर पनि आइरहेको छ। अहिले नेपालमा यसको नयाँ भेरियन्ट आएको छ। यो निकै संक्रामक छ। मानौं यहाँ एक जना व्यक्तिलाई कोरोना लागेको छ भने एक घन्टाको बीचमा उसले सयौंलाई सार्ने सम्भावना हुन्छ।

अहिले हामीले खोप पनि लगाइरहेका छौं। तर खोप लगाइसकेपछि मानिसहरूले जनस्वास्थ्यका मापदण्डहरू राम्रोसँग पालना गरेको देखिँदैन। हेलचक्राईँअझै पनि बढीरहेको छ। यसबाट बच्नका लागि हामीले तीनवटा कुरामा मुख्य ध्यान दिनुपर्छ। सामाजिक दूरी बनाइराख्ने, अनावश्यक भिडभाडमा नजाने, मास्कको अनिवार्य प्रयोग गर्ने र हात साबुन पानीले राम्रोसँग धुने गर्नुपर्छ। हात नधोइ नाक, मुख, कानमा नछुने जस्ता विषयमा ध्यान दिनुपर्छ। कोरोना भाइरसको व्यवस्थापन गर्ने क्रममा झण्डै ८७/८८ वर्ष पुरानो अस्पताललाई अवसरका रूपमा सदुपयोग गर्न पाएका छौं। 

हाम्रो टिमले जसरी पनि कोरोना भाइरसको व्यवस्था गर्नुपर्छ दुःखमा परेका बेला देशलाई सघाउनुपर्छ भनेर लाग्यौं र आज हामीलाई गर्व लाग्छ, झण्डै एक हजार दुई सय संक्रमितको उपचार गरेका छौं। यस क्रममा करिब ५३ जनालाई गुमायौं। काम गर्ने क्रममा मेरा ५५ जना सहकर्मीहरू संक्रमित भए। अहिले पनि भ्याक्सिन लगाएका कर्मचारीहरू समेत संक्रमित हुनुहुन्छ। त्यसैले भ्याक्सिन आउँदैमा सुरक्षित हुँदैनौं। हामीले व्यवहारमा परिवर्तन गर्नुपर्छ। व्यवहार परिवर्तन गर्दा कोरोना मात्र नभएर यस्तै किसिमका अन्य संक्रामक भाइरसबाट बच्न सकिन्छ भन्ने सन्देश दिएको छ।

अहिले मानिसहरूले भाइरससँगै बाच्नुपर्छ भन्ने थालेका छन्, न्यु नर्मलको प्रयास कसरी गर्ने ?  

डा. राजभण्डारी: सुरुमा यो भाइरसलाई जाडो महिनामा मात्र हुने रहेछ, गर्मी महिनामा हुँदैन भनियो। त्यसैले अब संक्रमण कम होला भनेका थियौं। मध्यपूर्वजस्तो ५५/६० डिग्री सेल्सियसको तापक्रम हुने ठाउँमा पनि यसले असर गरिरहेको छ। यसलाई तापक्रमले खासै फरक नपार्दो रहेछ। यसको म्युटेसन पनि हरेक पटक परिवर्तन भइरहेको छ। अब यो भाइरस लामो समयसम्म हाम्रो समुदायमा रहन्छ। यसैसँग हामीले जिउनुपर्छ। त्यसका लागि हाम्रो व्यवहार परिवर्तन गर्नुपर्छ। हुन त अहिले भ्याक्सिन पनि आइसकेको छ। भोली औषधी पनि आउला। तर मुख्य कुरा भनेको व्यवहारमा परिवर्तन नै हो। अहिले दोस्रो चरणको संक्रमण बढिरहेको छ। अस्पतालका बेडहरू खाली छैनन्। चुनौती थपिएको छ। एकै परिवारका ४/५ जना सदस्य संक्रमित भइरहेका छन्। उहाँहरूलाई मनोसामाजिक परामर्शसँगै चिकित्सकीय परामर्श दिनुपर्छ। व्यवहार परिवर्तन भनेको तपाई हाम्रैै परिवारका सदस्यहरूलाई बचाउनका लागि हो भन्ने बुझ्नुपर्छ।

कोरोना कालमा टेकु अस्पतालले यस किसिमका डेडिकेटिड अस्पताल धेरै हुनुपर्छ भन्ने देखायो। भविष्यमा के हुनुपर्छ जस्तो लाग्छ यहाँलाई ?

भविष्यमा यस्ता प्रकारका सरुवा रोग अस्पतालहरू व्यवस्थापन गर्नका लागि हामीले धेरै सिकिसकेका छौं। देशमा यस्तो प्रकारको एउटा डेडिकेटिड अस्पताल हुनुपर्छ, तीन सय शयया भन्दा पनि ठूलो सुविधासम्पन्न अस्पताल हुनुपर्छ। यसका लागि सरकारले पनि घोषणा गरिसकेको छ। केही वर्षमा होला। ती अस्पतालमा सबै सुविधा सम्पन्न हुनुपर्छ। आजका दिनसम्म हामीले देशका झण्डै एक तिहाई एचआईभि संक्रमितको उपचार गरिरहेका छौं। सबै समुदायले बिर्सिएको रोगहरू मलेरिया टिभि, चिकनगुनिया, डेंगुलगायतका रोगहरूको पनि सजिलै व्यवस्थापन गर्दै आइरहेका छौँ। यस्ता विषयमा हामीले देशभरका स्वास्थ्यकर्मीहरूलाई भविष्यमा तालिम दिन सकियोस्। पढाउन सकियोस्। देशमा त्यस किसिमको संक्रामक रोग विशेषज्ञहरूका लागि एमडी कार्यक्रम सञ्चालन गर्न सकियोस्। यस्ता रोगहरूको अनुसन्धान गर्न सकियोस्। त्यही हाम्रो सपना छ। सरकारले पनि हाम्रो सपनालाई पूरा गर्छ भन्ने मैले अपेक्षा लिएको छु।  

प्रकाशित: १३ वैशाख २०७८ ०८:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App