८ वैशाख २०८१ शनिबार
अन्तर्वार्ता

‘पहिला माग पूरा अनि सत्ता सहकार्य’ (अन्तवार्ता)

जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतो।

वर्तमान सरकार परिवर्तन गरि नयाँ सत्ता समिकरण निर्माण गर्ने कि असहिलकै सरकारलाई टिकाइराख्नेमा मुलुकको राजनीति विभाजित बनेको छ। माओवादी केन्द्रले समर्थन फिर्ता नलिँदासम्म केपी शर्मा ओली नेतृत्वले सरकारको बहुमत कायमै हुने छ। ओली नेतृत्वको सरकार ढालेर नयाँ सरकार बनाउन नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिल्नुपर्ने अनिवार्य छ। माओवादी केन्द्रले समर्थन फिर्ता लिए एमालेलाई सरकार टिकाउन १८ जना सांसद आवश्यक पर्छ। त्यसका लागि जसपा ओली नेतृत्वको सरकारका लागि वा नयाँ सत्ता समिकरणका लागि समेत निर्णायक बनेको छ।

निर्णायक शक्ति जसपा एमाले नेतृत्वको सरकार र इत्तरका दलसँग पनि छलफल गरिरहेको छ। तर बढ्ता ओली नेतृत्वकै सरकारसँग जसपाको वार्ता/छलफल केन्द्रित बनेको देखिन्छ। सत्तारुढ नेकपा एमाले नेतृत्वको सरकारसँग जारी वर्ता सकारात्मक भनिएको छ। अहिलेसम्म कुनै निर्णय भने भएको छैन। अब सत्ता समिकरण कसरी अगाडि बढ्छ ? यसै विषयमा जसपाका नेता राजेन्द्र महतोसँग नागरिककर्मी मिथिलेश यादवले गरेको कुराकानी।

सरकारसँग जनता समाजवादी पार्टीको वार्ता कहाँसम्म पुग्यो?

सरकारसँग मात्र नभई हामी काँग्रेस, माओवादी केन्द्रसँग पनि छलफल वार्ता गरिरहेका छौं। हाम्रा नेता कार्यकर्तामाथि झुठा मुद्दा लगाइएको छ। रेशम चौधरीलगायतका नेताहरूलाई झुठा मुद्दामा जेल हालिएको छ। यी मुद्दाहरू खारेजीका लागि सरकारसँग अनौपचारिक रूपमा छलफल भइरहेको छ। जसका लागि हाम्रा दुई जना नेता (लक्षणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला) को कार्यदल गठन भएको छ। सरकासँग कार्यदलको वार्ता सकारात्मक भइरहेको छ। तर उपलब्धि केही भएको छैन। मधेस थरूहट आन्दोलनका बन्दी रिहाइ, मुद्दा फिर्ता सम्बन्धमा कार्यदलसँग सरकारले हुन्छ गर्छु भनेको छ। गरेको छैन। हामी माग राखेका छौं।  

कार्यदलबारे जनता समाजवादी पार्टीमा विवाद छ?

कुनै विवाद छैन। हामी एक ढिक्का छौं। सरकारसँग मुद्दाका विषयमा वार्ता÷छलफल गर्नुपर्ने भएकाले दुई जना नेताको कार्यदल बनाइएको छ। यसमा अझै नेताहरूलाई थप्न सकिन्छ। यसमा कुनै विवाद छैन। सरकारसँग भएका छलफलको निचोड कार्यदलले पदाधिकारीसँग छलफल गरेको छ, गर्छ।  

तपाईंहरूले पनि प्रधानमन्त्रीसँग भेट्नु भयो, के विषयमा कुराकानी भयो ?

प्रधानमन्त्रीले बोलाएपछि हामी गएका हौं। हामीले सबै विषयवस्तु बारे प्रष्ट जानकारी गरायौं। प्रधानमन्त्रीले सकारात्मक जवाफ दिनुभयो। सरकारको गृहकार्य पनि सुन्यौं। गम्भीरतासाथ गृहकार्य गरेको पायौं। आन्दोलनका क्रममा झुठा मुद्दा लगाइएका आरोपीहरू कति छन् ? कुन–कुन जिल्लाको मुद्दा हो ? उनीहरू कुन अवस्थामा छन् भन्ने विषमा सरकारको गम्भीरता देखिएको छ। प्रधानमन्त्रीले सबै काम गर्छु भन्नुभएको छ।

यी काम कहिलेसम्म पूरा हुन्छ?

यसका लागि समय तोकिएको छैन। उहाँहरूको हातमा छ। सरकारले जति छिटो काम पूरा गर्छ उति छिटो हामीले धन्यवाद दिन्छौं। सरकारी कार्यदलले हाम्रो पार्टीको कार्यदल प्रतिनिधिसँगको समन्वयमा कुन मुद्दा जिल्ला प्रशासनमा छ, कुन अदालतमा छ, कति बन्दी छन्। त्यसको सूची तयार गर्दैछन्। छिट्टै गर्नुपर्छ भन्ने हामीले भनेका छौं। नगरेसम्म त केही भन्न सकिँदैन।

सरकारले माग पूरा गरे जसपाका लागि सत्ताको ढोका खुल्यो भन्दा हुन्छ ?  

सत्ताको कुरा अहिले सोचेका छैनौं। पहिला मुद्दा र माग पूरा गरेर देखाओस्। त्यसपछि धन्यवाद सहित समर्थन गर्ने कि सरकारमा जाने विषयले पार्टीभित्र प्रवेश पाउँछ। अहिले नै यो सरकार वा त्यो समिकरणलाई समर्थन गर्छौं भन्ने होइन। विगतसँग पाठ सिक्दै हामी यस पटक हतारमा कुनै निर्णय लिने छैनौं। पहिला माग पूरा त्यसपछि सत्ता समर्थनको कुरा, यो हो हाम्रो मन्त्र। पहिला कागजमा सम्झौता गरेर ठग्यो। अहिले गृहकार्य गर्दै छौं भनेर मान्नेवाला छैनौं। होमवर्क राम्रो छ तर नतिजा ल्याउनुपर्यो भनेका छौं। विगतमा पाएको धोकाले हामीलाई झस्काइरहेको छ। यसपाली गृहकार्य राम्रो भएर मात्र पुग्दैन काम पूरा गर्नुपर्छ। अनि मात्र सहकार्य हुनसक्छ।

रेशम चौधरीको रिहाइ, मुद्दा फिर्ता भयो भने वर्तमान सरकारसँग सहयात्रा हुन्छ ? 

रेशमलगायतका नेताहरू राजनीतिक आस्थाका बन्दी हुन्। राजनीतिक आस्थाका आधारमा उहाँहरूलाई जेलमा बन्द गरेको छ। जती पनि राजनितिक आस्थाका बन्दी छन् सबैको एकसाथ रिहाइ हुनुपछ। नश्लीय चिन्तन छाडेर यी सबै काम अघि बढाउनुपर्छ। सरकारले हाम्रो माग पूरा होइन कि आफ्नो कर्तब्य निर्वाह गर्न त सुरु गरोस्। मुद्दा फिर्ता, बन्दी रिहाइको कामबाट सुरुवाता गरोस्। त्यसपछि बाँकी कुराअघि बढ्छ।

जसपा कुन अवस्थामा केपी ओलीको सरकारलाई समर्थन गर्न सक्छ ?

हामीले उठाउँदै आएको र केपी ओली सरकारसँगै भएको सम्झौता कार्यान्वयन गर्नुपर्यो। हामीसँग भए गरेका सम्झौता पालना गरेर सरकार अघि बढ्यो भने हामी सकारात्मक सहयोग गरिहाल्छौं। हामीले उठाउँदै आएको माग जसले पूरा गरिदिन्छ हामी उसैलाई धन्यावाद सहित सहयोग गर्न तयार छौं। यसमा यो वा त्यो भन्ने नै छैन। केही माग सरकारले मात्रै चाहेर पूरा हुने खालका छैनन्। केही माग कांग्रेस माओवादी केन्द्र र नेकपा एमाले चाहे पूरा हुने छन्। त्यही भएर हामीले तीन वटै दलसँग सहयोग माग्दै हिँडेका छौं। मागहरू सम्बोधन नभएसम्म सरकारमा जाँदैनौं विश्वस्त हुनुहोस्।  

जसपाका नेतालाई सत्ताको नेतृत्व गर्न अफर आयो भन्ने चर्चा छ ?

कसले गर्‍यो अफर। अरू पार्टीले सत्ताको नेतृत्व गर्न सक्ने तर जनता समाजवादी पार्टी नेतृत्व लिन नसक्ने कुनै कारण छ र ? हामीले नेतृत्व पाए अरूभन्दा कुशलतापूर्वक निर्वाह गरेर देखाउँछौं। सबै दल सत्ता नेतृत्वमा परिक्षण भइसकेका छन। अब हामीलाई पनि परिक्षण गर्छनुस् भन्न नहुने हो र ? जसपाको नेतृत्वमा सरकार बनाउनुहुँदैन भनेर कतै त्यस्तो व्यवस्था छ र ? बाहिर भए नभएको विषय उठाएर मिडियाबाजी भएको छ। अवस्था त्यो होइन। हामी आफ्नो माग र मुद्दामा केन्द्रित छौं। हाम्रो अर्जुन दृष्टि माग पूरा गराउनमै छ। सत्ता हाम्रा लागि सहायक विषय हो मूल विषय मुद्दा हो। हामी अहिले सत्ताको खेलमा प्रवेश गरेकै छैनौं।

तेस्रो मधेस आन्दोलन बेला केपी ओलीको मनोविज्ञान र अहिले प्रधानमन्त्री केपी ओलीको मनोविज्ञानमा फरक पाउनु भएको छ?

त्यो बेला हाम्रो मागका विषयमा उहाँले कुरै सुन्न चाहानुहुँदैन्थ्यो। अत्यन्त कठोर व्यक्ति भनेकै केपी ओली थिए। अहिले नरम, लचक हुनुभएको छ। यो उहाँमा आएको सकारात्मक परिवर्तण हो। अहिले केपी शर्मा ओली नेतृत्वकै सरकारले ‘माग सम्बोधन गर्छु’ भनिरहेको छ। यसलाई सकारात्मक रूपमा लिएका छौं। माग पूरा गर्‍यो भने हाम्रो सहयोग नै रहन्छ। गरेन भने त हामी जहिल्यै संघर्षमा नै छौं। सरकारले ‘म काम गर्छु’ भनेको छ। केही फरक पाएका छौं। तर हामीलाई त प्रतिफल चाहिएको छ। मधेसी, थारू, आदिवासी जनजाती मुस्लिम, दलितलाई राज्यमा समान सहभागिता र हिस्सेदारी चाहिएको छ। यसमा काम भएको छैन।  

प्रधानमन्त्री ओलीसँग नजिकिँदै जानुको कारण के हो ? 

सबै कुरा खुलस्त छ। हामी केपी ओलीसँग मात्र होइन। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता रामचन्द पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) सँग पनि उतिकै नजिक छौं। हाम्रो नजरमा त तीनै दल मधेसका लागि उतिकै क्रूर छन्। संविधान जारी गर्दा त नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र तीन नै दल मिलेर प्रतिगमन गरेको होइन र ? मधेसमा गोली चलाएर संविधान जारी गर्ने यी तीनै दल होइन? हाम्रो नजरमा त यी दल प्रतिगमनकारी हुन्। केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर। प्रतिगमनमाथि प्रतिगमन गरे। हामीले आन्दोलन गरेर ठिक ठाउँमा ल्यायौं। हिजो देउवाले पनि प्रतिगमन गरेकै हुन् ज्ञानेन्द्रलाई सत्ता दिएर। प्रचण्डले पनि यही सरकारलाई समर्थन दिएर जोगाइराखेका छन्। त्यसकारण हाम्रो माग जसले सुन्छ, जसले पूरा गर्छ त्यही हाम्रो आफ्नो हो।  

जसपाभित्र सत्ता समिकरणका लागि तीव्र ध्रुवीकरण भइरहेको देखिन्छ ?

सबै मिडियाबाजी कुरा हुन्। त्यस्तो केही पनि छैन। पार्टी एक ढिक्का छ, रहन्छ। हामीले उठाएको माग पूरा गराउनका लागि जसपा एकढिक्का छ। यसमा कसैको दुईमत छैन। मैले अघि पनि भने माग पूरा जसले गर्छ हामी उसैलाई धन्यवादसहित सयोग गर्छौं। यसमा पनि कसैको दुईमत हुँदैन। कसैलाई कसैको अनुहार मन परेन। कसैको बोली ब्यवहार मन परेन होला। 

त्यो व्यक्तिगत कुरा हो। विभिन्न कालखण्डमा भएका संघर्षमा कांग्रेस कम्युनिष्ट दुवै मिलेर घात गरेका छन्। कोही उन्नाइस कोही बीस मात्रै हो। तर हामी अनुहार हेरेर आग्रह पूर्वाग्रह राख्ने पार्टीको कुनै नीति छैन। पार्टीको कुरा हो ‘माग पूरा गर, सहयोग लेऊ’। यसभन्दा दायाँ बायाँ पार्टी जाँदैन। आजसम्म कांग्रेस कम्युनिष्टलाई हामीले सहयोग गर्यौ। अब त्यस्तो केही चल्नेवाला छैन। हाम्रो नीति स्पष्ट छ। धार प्रष्ट छ। दुई धार, ध्रुव छैन। एउटै धार छ। यो पार्टी विभाजनका लागि होइन वैकल्पिक शक्तिको रूपमा उदय भएको छ। फुट्नका लागि निर्माण भएको होइन।  

वर्तमान सरकारले माग सम्बोधन गरिदिए जसपा एक ढिक्का भएर समर्थन गर्छ ?

एकदम गर्छ। समर्थन मात्रै होइन। धन्यवाद सहित समर्थन गर्छ। हाम्रो सवाललाई सामाधान गर्ने एमाले होस् वा कांग्रेस अथवा माओवादी जसले गर्छ उसैलाई धन्यवादसहित समर्थन गर्छौं। हाम्रो लागि घर घर देखा एके लेखा (सबै एकै खालका) जस्तो हो। केपी ओली, प्रचण्ड वा देउवा कुनै व्यक्तिका लागि पसन्द ना पसन्दको विषय हुन सक्छ। तर पार्टीका लागि होइन।

प्रकाशित: १३ चैत्र २०७७ ०२:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App