शान्ति ठटाल
नेपाली संगीत क्षेत्रकी एक हस्ती शान्ति ठटालको जन्म भारत, दार्जिलिङस्थित चोक बजारमा भएको हो, ४ अप्रिल १९३८ मा, बाबु मनुसिंह ठटाल र आमा चन्द्रमायाको कोखबाट। उनका पिता आर्य समाजी थिए। त्यसैले शान्तिले सानैदेखि भजन–कीर्तन गाउँथिन्। उनी भन्छिन्, ‘हाम्रो परिवारका सम्पूर्ण सदस्यलाई कला र संगीतका बारेमा केही न केही ज्ञान थियो, तर यो क्षेत्रमा पूर्ण रूपमा लाग्ने म मात्रै हुँ। आर्य समाजकी छोरी भएर नाचगानमा हिँड्दा गाउँ–समाजले विरोध ग¥यो। त्यसैले बहिनीलाई नृत्यबाट छुटाइयो, मलाई भजन मात्र गाउने अनुमति मिल्यो। तर गीत–संगीतप्रतिको लगावका कारण यस क्षेत्रमा लागिरहेँ।’
आफ्नो घरमा रेडियो नभएकाले उनले छिमेकीको घरमा गएर भारतीय गायिका लता मंगेशकर, नूरजहाँका गीत सुन्थिन् र जस्ताको तस्तै गाउने कोसिस गर्थिन्। उनको स्वर तथा संगीत रहेका दुई सयभन्दा बढी नेपाली भाषाका गीत छन्। उनलाई २०७४ मा पोखराको हार्मोनी (गायिकाहरुको साझा संस्था)ले अभिनन्दन गरेको थियो। प्रस्तुत छ, ठटाललाई २०७६ असोज १४ गते दार्जिलिङको रूपनारायण सिन्हा पथमा भेटेर साहित्यकार नगेन्द्रराज रेग्मीले लिएको अन्तर्वार्ताः
यहाँको स्वास्थ्यस्थिति अहिले कस्तो छ ?
बुढ्यौलीले छुन थालेको छ भाइ, अस्ति रनजित गजमेर आएका बखत कार्यक्रममा भाग लिन गएकी थिएँ। भोलिपल्टबाटै बिमार भइगएँ। चिसो छ, घुँडा दुखेर कहिलेकाहीँ हिँडडुल गर्न गाह्रो हुन्छ। विभिन्न सभा–समारोहमा बोलाइरहनुहुन्छ। भर्खरै पनि एउटा सांगीतिक कार्यक्रममा बोलाएका थिए, तर जान सकिनँ।
अचेल केमा व्यस्त हुनुहुन्छ ?
व्यस्त नै रहन्छु। कहिले सिलगुढीतिर बस्छु, कहिले सिक्किम पुग्छु, कहिले दार्जिलिङ आउँछु। विभिन्न संघ–संस्थाले बोलाइरहन्छन्। गीति एल्बमहरूको विमोचन गर्न डाकिरहन्छन्, त्यतातिर पनि पुगिदिन्छु। हालै बम्बईबाट वरिष्ठ संगीतकार रनजित गजमेर आएको थियो, ऊ दार्जिलिङमा जन्मे–हुर्केको मान्छे। उसलाई यहाँ सम्मान गर्ने भनेर मलाई पनि आमन्त्रित गरेकाले म पनि आएकी हुँ। ऊ पनि खुसी भएर गयो। कर्म योञ्जन, दिलमाया, कुमार सुब्बा र मलाई भेट्न ऊ आतुर थियो। उसले मलाई भेट्नासाथ ‘तपाईंको कुन स्केल हो ?’ भनेर सोध्यो। ‘मैले ट्युन गरेको छु, तपाईंले गाउनुप-यो’ भन्दै थियो। अहिले गीत गाउन सकेकी छैन भनिरहेकी छु।
‘सम्हालेर राख, सँगालेर राख’ बोलको गीतबाट तत्कालीन समयमा यहाँले नेपालमा सर्वाधिक चर्चा कमाउनुभयो। यो गीत गाउँदाको प्रसंग सम्झनुपर्दा !
यो गीतको शब्द र संगीत दुवै अम्बर गुरुङको हो। सन् १९६४ मा दार्जिलिङको चिया बगान टिङ्लिङ भन्ने ठाउँमा हामी ‘लोक मनोरञ्जन शाखा, दार्जिलिङ’बाट कार्यक्रम गर्न गएका थियौँ। त्यहीँ अम्बर गुरुङले यो गीतको ट्युन कम्पोज गर्नुभएछ। गीतको ट्युन सुरुमा अलि अर्कै खालको थियो, कता–कता पश्चिमेली धुनजस्तो, पूर्ण त्यस्तो नभए पनि त्यसैमा आधारितजस्तो।
मलाई भने अलि गहन खालका ट्युन मनपर्ने भएकाले मेरो विचार बुझेर उहाँले फेरि धुन निकालेर मलाई दिनुभयो। मलाई असाध्यै मनप-यो। यसलाई मैले सर्वप्रथम दार्जिलिङको ‘गोर्खा दुःख निवारक सम्मेलन’को मञ्चमा गाएँ। त्यही दिनदेखि यो गीतको चर्चा हुन थालेको हो।
सन् १९६५ मा तत्कालीन राजा महेन्द्रको जन्मोत्सवमा अरुणा लामा, शरण प्रधान, म लगायतलाई काठमाडौं बोलाइएको थियो। यो गीत मैले त्यो समारोहमा पनि गाएँ, त्यसपछि यसको चर्चा झनै चुलियो। त्यतिखेर हामीहरू न्युरोडको पारस होटलमा एक महिना जति बसेका थियौँ। मैले ‘सम्हालेर राख’ र ‘मेरो दुःखी मन सपना नखोज’ (शब्दः वैरागी काइँला, संगीतः अम्बर गुरुङ) बोलको गीत रेडियो नेपालबाट गाएँ।
‘मेरो दुःखी मन’लाई बौद्धिक समुदायले खुबै मन परायो। पारिजातलाई पनि खुबै मनपरेको थियो।
‘रेकर्ड भएताका यो गीत खुबै बज्यो। युवा जमातले पनि मन पराइदियो। आजकाल प्रकाश सायमीले आफ्नो कार्यक्रममा बजाउने गरेको सुन्छु।
‘सम्हालेर राख’ नगाएको भए ?
(केहीबेरको मौनतापछि) दार्जिलिङमा यो गीत गाउनुअघि नै म परिचित सर्जक थिएँ। अरुणा लामा, दिलमाया खातीभन्दा केही अघिदेखि मैले गाउन थालेकी हुँ। दार्जिलिङबाट गीत रेकर्ड गर्ने प्रथम महिला गायक मै हुँ सायद। मलाई यो थाहा थिएन, सबैले भनेपछि थाहा पाएकी हुँ। मभन्दा अगाडि नेपालबाट गीत रेकर्ड गर्ने महिला कोइलीदेवी, तारादेवी लगायत हुन् भने कलकत्ताबाट उर्मिलाकुमारी श्रेष्ठ। अझअगाडि नै जाने हो भने मेलवादेवीलाई बिर्सन मिल्दैन।
उर्मिला श्रेष्ठबारे अलिकति बताइदिनुहुन्थ्यो कि ?
त्यति धेरै त थाहा छैन। उर्मिला श्रेष्ठका मामा (गोपाल श्रेष्ठ) नेपालबाट कलकत्ता बकुलवागमा गएर बसेको थाहा हुन्छ। उहाँले आफ्नी भाञ्जीलाई पनि लगेर गीत–संगीतको प्रशिक्षण दिनुभएको रहेछ। मलाई सिक्किमका एकजना व्यक्तिले उर्मिला श्रेष्ठ दिल्लीको लालकिल्ला नजिकै बसेको बताउनुभयो। त्यहाँ जाँदा मैले बडो अनौठो तरिकाले उहाँलाई भेटेकी छु। गार्डले निकैबेर मेरो सोधपुछ गरेपछि मात्र माथि गएर मैले भेट्ने अवसर पाएकी थिएँ। उहाँ मोटी–मोटी, फरासिली र मजाकी हुनुहुन्थ्यो।
उहाँले भन्नुभएको थियो, ‘मेरो मामाले बिहान ४ बजे नै उठाएर रियाज गराउनुहुन्थ्यो, सुत्न नदिएको भनेर मलाई रिस उठ्थ्यो। अहिले लाग्छ, मामाले मलाई त्यसो नगराउनुभएको भए आज म यो अवस्थामा हुन्थे होला त ?’ यतिबाहेक म उहाँको बारेमा अरु धेरै बताउन सक्दिनँ।
कहिलेदेखि संगीतकार हुनुभयो ?
मैले कलकत्तामा गएर साढे तीन वर्ष संगीतको शिक्षा लिएँ। म त्यहाँ कुनै डिग्री लिन गएकी होइन, मात्र संगीतको ज्ञान प्राप्त गर्ने उद्देश्य थियो। त्यहाँबाट आएपछि मेरो गलामा एक प्रकारको भारीपना आयो। गायन नै मेरो मुख्य विषय थियो। तर, गलामा समस्या आएपछि गाउन धेरै कम गर्नैप¥यो। डाक्टरले स्वरमा जोखिम आउन सक्छ भनेर सचेत गराएका थिए। गाउन नमिल्ने भएपछि मैले संगीत गर्न र गीत लेख्नतर्फ केन्द्रित हुन थालेकी हुँ।
तपाईंको पहिलो संगीत रहेको गीत ?
मेरी भाउज्यू विमला ठटाल, जो शिक्षिका हुनुहुन्थ्यो, उहाँले भानुभक्तमाथि आधारित एउटा गीत लेखेर मलाई भन्नुभयो, ‘काइँली यो गीत गाउनुप¥यो।’ गीत हेरेँ राम्रो लाग्यो। मैले त्यसमा संगीत भरेँ र गाएँ, गीतको बोल थियो– साहित्याकाशमा उदाइ भानु, उज्याल्यौ नेपाली संसार, रहला याद अनन्त सम्म यो २९ गते असार...। त्यसपछि अम्बर गुरुङको शब्दलाई संगीत भरेँ, ‘म अचानक नै उडेँ, फूल पनि तर्सिदियो’ बोलको गीतमा।
त्यत्रो संगीतकारले ‘यो गीतको ट्युन भर त’ भनेर मलाई दिएपछि नगर्ने कुरै भएन। सन् १९६५ मै मैले यी दुवै गीतको काम सफलतापूर्वक सम्पन्न गरेकाले यो पनि राम्रै संगीत भर्न जान्ने रहेछ भन्ने जनमानसमा परेको थियो।
महेन्द्रको जन्मोसव बेलाको त्यो नेपाल भ्रमण तपाईंको पहिलो हो ?
हो। अरुणाको चाहिँ दोस्रो हो। अम्बरसँग अरुणा पहिला पनि नेपाल पुगिसकेकी थिइन्।
तपाईं भन्दै हुनुहुन्थ्यो, आफ्नो सांगीतिक यात्रा !
प्रताप सुब्बाले चलचित्र परालको आगोमा संगीत गर्ने अवसर दिए। यो काम सक्नासाथ ईश्वर बल्लभको लेखन र निर्देशन रहेको गीतिकथा ‘एउटा नीलो सूर्यास्त’मा पाश्र्व संगीत गरेँ। यसमा मेरा सहयोगीमा मणिकमल क्षेत्री, गौतम लेप्चा आदि थिए। यो अत्यन्त सफल कार्यक्रम रह्यो। यो दार्जिलिङमा दुईचोटि प्रस्तुत भयो। त्यसपछि सन् २०१२ मा काठमाडौंको पलेँटीमा पनि कार्यक्रम प्रस्तुत गरेँ।
फेरि प्रताप सुब्बाले ‘बाँच्न चाहनेहरू’ नामक नेपाली चलचित्रमा संगीत भर्ने अवसर दिए। मैले गीति नाटक, नृत्य–नाटिकामा पनि संगीत दिएकी छु। थुप्रै रेडियो फिचरमा काम गरेँ। गान्तोक, खर्साङ रेडियोमा काम गरेँ। भवानी भिक्षुको ‘त्यो फेरि फर्कला’ कृतिमा आधारित नाटकमा संगीत दिएँ। यसको निर्देशन सूर्य गिरीले गरेका थिए। उनी अगमसिंह गिरीका भाइ हुन्। यसमा नयन सुब्बाले त्यतिखेर नयाँ प्रयोग गरेका थिए। नाटकमा एफेक्ट हाल्ने काम उनैले गरेका हुन्। लाइटको व्यवस्थापन, अलिकति घाम झुल्केको, मध्यरात भएको, बिहान हुन लागेको, कुकुर भुकेको, फेरिवाला आएको आदि जस्ता काम गरेर देखाएका थिए। हामी पनि छक्क परेका थियौँ, नयाँ प्रयोग देखाएकाले रमाएका थियौँ।
कस्ता–कस्ता गीत गाउनुभयो, संगीत दिनुभयो ?’
‘मैले भजन, लोक आधारित गीतहरू, आधुनिक गीत तथा देशभक्तिका गीतहरू गाएकी छु, संगीत कम्पोजिसन गरेकी छु।
गीत लेख्न, गाउन र संगीत भर्नमध्ये कुन सहज ?
कुनै सहज होइन। गाउनका लागि स्वर राम्रो हुनैप-यो। शब्द र संगीत राम्रो नभई स्वर मात्रै भएर हुँदैन। शब्दको अर्थ र भाव बुझेर संगीत दिन सक्नुप¥यो। त्यसैले सहज कुनै छैन। तर, निरन्तरको अभ्यास र साधनाबाट असम्भव पनि छैन। साधनाबाट खारिएको स्वर, शब्द र संगीत भयो भने गीत श्रोताको ढुकढुकी बन्न सक्छ। गीतले मागेजस्तो संगीत भर्न सकिएन, गायकले हृदय खोलेर गाउन सकेन, गीतकारले सतही वा नारा मात्र लेख्यो भने गीत गीत हुन्न।
नेपाली संगीत क्षेत्रलाई योगदान गर्नुभएको छ, नेपालसँग केही अपेक्षा छ कि ?
म नेपालप्रति धेरै–धेरै आभारी छु। रेडियो नेपाल, नारायणगोपाल संगीत कोष, नातिकाजी स्मृति परिषद्, छिन्नलता पुरस्कार गुठी, नेपालयजस्ता संघ–संस्थाप्रति हार्दिक आभार प्रकट गर्छु। हेटौँडाको भीम विराग संगीत प्रतिष्ठानले दिएको बिजुली बन श्रेष्ठ पुरस्कारप्रति पनि आभारी छु।
विवाह किन गर्नुभएन ?
‘मैले गीत–संगीतसँग विवाह गरिसकेपछि फेरि अरुसँग किन घरबार गरिरहनू ? संगीतलाई नै मैले सबथोक मानेँ।
तपाईंले सबैभन्दा बढी कसको गीत गाउनुभएको छ ?
सिक्किमका शिक्षा विभागका पूर्वनिर्देशक रुद्र पौडेलका गीतमा मैले धेरै संगीत भरेकी छु। त्यसपछि कालुसिंह रनपहेँलीका गीत पनि गरेँ। सिक्किमका पूर्वमुख्यमन्त्री पवन चाम्लिङ किरणका गीत गरेँ। परालको आगो, बाँच्न चाहनेहरूजस्ता चलचित्र, नरदेन रुम्बा, मन्दिप लामा, मेनुका प्रधानका गीतलाई पनि संगीतबद्ध गरेँ।
कुनै खुसीको क्षण ?
सन् २०१२ मा नेपालयको ठूलो हलमा कार्यक्रम भएको थियो। पहिलो दिन अम्बर गुरुङको, दोस्रो दिन फत्तेमानको, तेस्रो दिन मेरो र चौथो दिन आभाषको प्रस्तुति थियो। प्रथम दिन अम्बरले आफ्ना भनाइ राख्ने क्रममा भने, ‘सुश्री शान्ति ठटाललाई म आन्तरिक हृदयदेखि नै धन्यवाद अर्पण गर्छु। उनले कुशलतापूर्वक ‘सम्हालेर राख’ बोलको गीत गाइदिएर मलाई लोकप्रिय बनाइदिनुभयो।’ उनले यसो भन्दा म हर्षविभोर भएकी थिएँ।
त्यस्तै, एकपटक अम्बर गुरुङका माहिला छोरा राजु गुरुङले ‘मेरो बाबाको गीत आन्टीले जस्तो त कसैले गाउन सक्दैन’ भनेको सम्झन्छु। जबकि मसँगै विमला सेन्चुरी पनि बसेकी थिइन्, उनले अम्बरका कति गीतहरू गाइसकेकी थिइन्, मलाई उनले त्यसो भन्दा लाज पनि लागेर आयो।
नारायणगोपालसँगका सम्झना ?
नारायणगोपाल दार्जिलिङ आउँदा पाँच–सात दिन बसेर गए। त्यतिखेर मैले दुईवटा गीत कम्पोज गरेकी थिएँ, उनले ती गीत सिकेर गए। एउटा हो, मनबहादुर मुखियाका शब्द ‘मेरो कथा खाली–खाली’, अर्काे हो, गगन गुरुङका शब्द ‘मैले बोल्नै भएन’। यी दुवै गीतको संगीत मैले नै गरेकी थिएँ। ‘मैले बोल्नै भएन’लाई नेपालमा प्रतिबन्ध गरिदिएछ र नारायणगोपालले गाउन पाएनन्। पछि प्रजातन्त्र आइसकेपछि रामकृष्ण ढकालले यो गीत गाए। अरुणा लामाको एउटा कार्यक्रममा ‘मैले बोल्नै भएन’ बोलको गीत नारायणगोपालले मञ्चमा गाएर उद्घोष गरिदिएछन्, शान्ति ठटालको संगीत र गगन गुरुङको शब्द भनेर, त्योबाहेक उनको स्वरमा यो गीत रेकर्ड हुन पाएन। यो एउटा अनुद्घाटित कुरा बताइदिएको हुँ।
यो गीत प्रतिबन्ध हुनुको कारण ?
अरु त के होला र, गीतको शब्दकै कारण होला। यस गीतमा ‘साँचो कुरा भनिदिँदा सबै कान थुन्छन्, मलाई मेरै आफ्नैहरू कर्के आँखा हेर्छन्, सत्यहरू हारेजस्तो असत्यले जितेजस्तो...’ यस्तै–यस्तै शब्द छन्।
तपाईंले नारायणगोपालसँग गाउनुभएन ?
उनले युगल गाउँ भनेका थिए, तर मैले ‘तिम्रो र मेरो रेन्ज मिल्दैन, म लोमा गाउँछु, तिमी हाई रेन्जमा’ भनेँ। यसैले गाइएन। अहिले भने विभिन्न इलेक्ट्रोनिक साधनका कारण यो सम्भव थियो, त्यतिखेर त्यस्तै थियो।
नयाँ पुस्तालाई केही सल्लाह–सुझाव ?
हामीले यस क्षेत्रमा लाग्दा भोगेको दुःख, संघर्षहरूको वर्णन गर्नै सकिन्न। अरुका घरमा गएर गीत–संगीत सुन्नुपर्ने अवस्था, बाजागाजाहरूको अभाव कत्ति थिए–थिए। तर अहिले त्यस्ता कुराको अभाव छैन। मात्र निरन्तर अभ्यासजस्ता कुराहरूको अभाव अहिले खट्किरहेको पाउँछु। अग्रजहरूलाई हेरेर उनीहरूले कोरेका गोरेटोलाई पनि ध्यान दिँदै उनीहरूले के के गरे ? कसरी बदलाब ल्याए गीत–संगीतमा, उनीहरूले नेपाली सांगीतिक क्षेत्रलाई कसरी विश्वभर फैल्याए, चिनाए भन्ने बुझेर, यो योगदानलाई सम्झिएर, अगाडि बढ्न हार्दिक अनुरोध गर्छु।
प्रकाशित: ५ पुस २०७६ ०४:४४ शनिबार