coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्वार्ता

कांग्रेसको १४औं महाधिवेशनमा हिन्दुराष्ट्रको एजेण्डा गम्भीरताका साथ उठ्छः शेखर कोइराला

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा हिन्दु राष्ट्रको विषय प्रमुखताका साथ उठ्ने बताएका छन्। केही महिनाअघि सम्पन्न महासमिति बैठकमा समेत हिन्दू राष्ट्रको एजेण्डा अत्यन्त गम्भीर रुपमा आएको उल्लेख गर्दै नेता कोइरालाले भने, ‘कांग्रेसमा धर्म निरपेक्षता र हिन्दू राष्ट्रको विषय एकदमै फराकिलो रुपमा विभाजित छ। आगामी महाधिवेशनमा पनि हिन्दू राष्ट्रको मुद्दा आउँछ, हेरौं अब कसरी अघि बढ्छ।’

कांग्रेसभित्र विपीपुत्र एवं महामन्त्री शशांक कोइरालादेखि बहुसंख्यक महासमिति सदस्यले हिन्दु राष्ट्रको पक्षमा आवाज उठाएका बेला शेखरले पनि यो विषयमा पार्टीमा चर्काे रुपमा उठ्ने संकेत गरेका हुन्। यसअघि महासमिति बैठकमा सदस्यहरुले हिन्दु राष्ट्रका पक्षमा हस्ताक्षर अभियान नै चलाएका थिए। 

बुधबार नागरिक नेटवर्कको साप्ताहिक कार्यक्रम फ्रन्टलाइनमा नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलसँगको कुराकानीमा नेता कोइरालाले सभापति शेरबहादुर देउवा महाधिवेशन सार्ने खेलमा लागेको भन्दै आफूहरु त्यसको विरोध रहेको उल्लेख गरे। समयमै १४औं महाधिवेशन नभए कांग्रेस झन कमजोर हुने उनको चेतावनी छ। 

नेता कोइरालाले महाधिवेशनमा आफू सभापतिको दाबेदार रहेको संकेत पनि गरे। ‘पार्टीमा लागिसकेपछि माथिल्लो तहमा पुग्ने सबैको प्रयासमा हुन्छ। मेरो पनि प्रयास रहन्छ। कार्यकर्ता र साथीहरुले कति सहयोग गर्नुहुन्छ हेरौं’, उनले भने, ‘तर, महाधिवेशन समयमै हुनुपर्छ। महाधिवेशन सरे पार्टी कमजोर हुन्छ। तदर्थवादमा चलाउन खोज्नुहुँदैन।’

नेता कोइरालाले कांग्रेसमा चौतर्फी परिवर्तनका लागि महाधिवेशन र युवामुखी नेतृत्व आवश्यक भएको बताए। ‘परिवर्तित रुपमा कांग्रेस आउँछ। तर, अहिलेको नेतृत्वबाट आउँदैन्’, उनले भने।  

आफू पार्टीको कुनै गुटमा नरहेको दाबी गर्दै कोइरालाले कमजोर मान्छेले गुट बनाइरहेको बताए। ‘पार्टी सभापतिले नै गुट चलाउन थालेपछि अरुले के गर्छन? समस्या यहाँ छ’, उनले भने।  

नेता कोइरालाले सुजाता र शशांकसँग आफ्नो समझदारी रहेको भन्दै तीनै कोइराला पार्टीलाई जीवन्तता कसरी दिने भन्नेमा चिन्तित रहेको सुनाए। उनले पार्टी नेतृत्वमा कोइराला परिवारै आउनुपर्ने भन्ने पनि अनिवार्य नभएको बताए। 

कांग्रेसले युवालाई आकर्षित गर्ने नीति अख्तियार गर्नु अहिलेको आवश्यक रहेको उनले औल्याए। ‘यसरी चल्न सक्दैन, विश्व एकदमै फास्ट गतिमा छ। त्यो बेला र अहिलेको परिस्थिती फरक छ। युवापुस्तालाई कांग्रेसमा कसरी आकर्षित गर्ने? ५० लाख युवा श्रम बजारमा छन्। ५ लाख वार्षिक श्रम बजारमा। तिनीहरुलाई कसरी पार्टीमा ल्याउने। महिलालाई कसरी ल्याउने भन्ने नीति अख्तियार गर्नु जरुरी छ’, उनले जोड दिए।

कांग्रेसको जागरण अभियानमा कार्यकर्ताले हामी जागृत छौं, नेताहरु एकढिक्का हुनुस्, कांग्रेसको संरचना तुरुन्त संघीय ढाँचामा ल्याउनुस् भन्ने सुझाव दिएको जानकारी गराउँदै नेता कोइरालाले भने, ‘यसमा हामी लागिरहेका छौं। केन्द्रीय समितिमा उठ्छ।’

नेता कोइरालाले सरकार संघीयता विरोधी गतिविधिमा लागेको आरोप लगाए। मिडिया काउन्सिल विधेयकमा सञ्चार मन्त्रालय हाबी भएको उनको बुझाई छ। प्रधानमन्त्रीले कमजोर र हतास मनस्थिती बनाउँदा सरकार कमजोर देखिएको उनले टिप्पणी गरे। ‘राजसंस्था वालाले गुठी विधेयक उचाल्यो, कांग्रेसले मलजल गर्यो भन्नुभयो। राम्रो काम गरेर राजसंस्था चाहने मान्छेको संख्या घटाउने हो। तर प्रधानमन्त्रीको अभिव्यक्तिले, सरकारले कामले त्यसलाई मलजल गरेको छ’, उनले भने।

वर्तमान सरकार लोकतन्त्र चरित्रभन्दा अधिनायकवाद तर्फ अग्रसर भइरहेको भन्दै उनले लोकतन्त्रमाथिको खतरा नेपालमाथिकै खतरा हुनसक्ने चेतावनी दिए। लोकतन्त्रमाथि आउने खतरा रोक्न बुद्धिजिवी, नागरिक समाज, पार्टीपंक्तिसँग छलफल गरेर अघि बढिने उनको भनाई छ। 

नेता कोइरालाले इण्डो प्यासिफिक रणनीति र बिआरआईमा सचेत रहन सरकारलाई सुझाव समेत दिए। ‘यसलाई सरकारले गम्भीर रुपमा लिनुपर्छ। सम्वेदनशील र संयमित भएर अघि बढ्नुपर्छ। अन्यथा नेपाल फस्न सक्छ’, उनले भने। 

प्रकाशित: ११ असार २०७६ १५:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App