१० फाल्गुन २०८० बिहीबार
अन्तर्वार्ता

‘सामूहिक लगानी कोषहरूको औसत प्रतिफल १४ प्रतिशत’

पुष्प शर्मा, प्रमुख कार्यकारी अधिकृत, कुमारी क्यापिटल लिमिटेड

अहिले नेपालमा ४३ वटा कोष सञ्चालन गरिरहेका कोष व्यवस्थापकहरूले करिब ४४ अर्ब रूपैयाँको सामूहिक लगानी योजनाहरू व्यवस्थापन गरिरहेका छन्। ती योजना कुनै बन्दमुखी छन् भने कुनै खुलामुखी। यही मेसोमा कुमारी क्यापिटलले १० वर्षमा परिपक्व हुने एक अर्बको बन्दमुखी योजना सार्वजनिक गरेको छ। यही विषयमा केन्द्रित रही कुमारी क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्मासँग गरिएको कुराकानीको संक्षेपः

नेपालमा सामूहिक लगानी कोष (म्युचुअल फन्ड) का सेवाहरूको अवस्था कस्तो छ? धितोपत्र बजारलाई सन्तुलनमा राख्न यी कोषहरूले केही भूमिका निर्वाह गर्न सक्ने अवस्था छ?

हाल नेपालमा १३ वटा कोष व्यवस्थापकहरूले ४३ वटा सामूहिक लगानी कोष योजनाहरू व्यवस्थापन गरिरहेका छन्। जसमा ३६ वटा बन्दमुखी र सात वटा खुलामुखी छन्। सञ्चालित योजनाहरूको कुल कोष लगभग ४४ अर्ब रूपैयाँ रहेको छ। जुन बजार पुँजीकरणको तुलनामा न्यून भए तापनि नेपालमा म्युचुअल फन्डको सुरुवाती चरणभन्दा धेरै गुनाले आकार बढी सकेको पाइन्छ।

धितोपत्र बजारलाई यसले केही हदसम्म सन्तुलन कायम गर्ने भूमिका निर्वाह गर्दै आएको छ। म्युचुअल फन्डहरूले घट्दो बजारमा माग सिर्जना गर्न र  बढ्दो बजारमा आपूर्ति गर्न योगदान गर्दै आएका छन्।

म्युचुअल फन्डहरूले साना बचतकर्ताहरूलाई पुँजीबजारमा परिचालन गर्न मदत गरेका छन्। यी कोषहरूले अनुसन्धानमा आधारित कुशल व्यवस्थापन गरी विविध लगानी योजना बनाएका हुन्छन्, जसले गर्दा प्रतिकूल अवस्थामा पनि एकाइ धनीको पुँजी संरक्षण गर्न योगदान पु¥याएको हुन्छ।

अझ कतिपय नयाँ लगानीकर्ताको लागि त म्युचुअल फन्डको पोर्टफोलियो एउटा ‘नमुना पोर्टफोलियो’ सरह लगानीको आधार बनेको हुन्छ।

हालसम्ममा सामूहिक लगानी कोषले पुँजी बजारमा हुने जोखिमलाई न्यूनीकरण गर्दै लगानीकर्ताहरूलाई राम्रो प्रतिफल प्रदान गर्दै आइरहेको छ। तीन वर्षभन्दा बढी समयदेखि सञ्चालनमा रहेका कोषहरूको औषत प्रतिफल १४ प्रतिशत हाराहारी छ। यो मुद्दती खाता र डिबेञ्चरबाट पाउने ब्याजभन्दा माथि हो। सानासाना लगानीकर्ताहरूका लागि यसलाई उत्तम लगानीको साधनको रूपमा लिन सकिन्छ।

विभिन्न योजनाहरूले आकर्षक प्रतिफल प्रदान गर्न सक्षम हुँदासमेत यसप्रति सर्वसाधारण लगानीकर्ताले खासै ध्यान दिएको देखिँदैन। तथापि केही लगानीकर्ताहरूको चासो भने देखिन्छ । यही कारणले गर्दा सूचीकृत योजनाहरू खुद सम्पत्ती मूल्यभन्दा भारी छुटमा किनेबेच भइरहेको छ। यसको प्रमुख कारण सामूहिक लगानी कोषमा लगानी गर्दा हुने फाइदाबारे लगानीकर्ताहरूमा चेतनाको कमी हुनु हो।

नेपालमा म्युचुअल फन्डप्रति लगानीकर्ताको आकर्षण कम हुनुको कारण के देख्नुहुन्छ?

नेपालमा म्युचुअल फन्डको आकर्षण कम हुनुको कारण चेतनाको अभाव र आमलगानीकर्ताको गलत धारणा हो। अल्पकालीन मानसिकताका कारण लगानीकर्ताले म्युचुअल फन्डको खुद सम्पत्ति मूल्यभन्दा बढी बजार मूल्यलाई प्रथामिकता दिएको पाइन्छ। साथै लगानीकर्ताहरूलाई म्युचुअल फन्डको फाइदाबारे पर्याप्त जानकारी नभएको देखिन्छ।

 जस्तैः म्युचुअल फन्डले गरेको लगानीमा कुनै किसिमको कर लाग्दैन। साथै म्युचुअल फन्डहरूलाई सार्वजनिक निष्कासन (आइपिओ) मा पाँच प्रतिशत कोटा छुट्याइएको हुन्छ। सो कारणले म्युचुअल फन्डको समग्र खुद सम्पत्ति मूल्यमा योगदान गरेको हुन्छ। जसले गर्दा अन्त्यमा म्युचुअल फन्डको एकाइ धनीहरूलाई नै फाइदा हुन्छ।

परिपक्व भइसकेका र हाल सञ्चालनमा रहेका म्युचुअल फन्डहरूले औसतमा १४ प्रतिशतसम्म प्रतिफल दिएका छन्। त्यसकारण यस्ता जानकारीमूलक सूचनाहरू नियामक निकाय तथा ‘मर्चेन्ट बैंकिङ एसोसिएसन’द्वारा नेपालको विभिन्न भागमा अभियान चलाउन सके यसप्रति आकर्षण बढाउन सकिन्छ।

साथै जसरी जीवन बिमाबापत तिरेको ४० हजारसम्मको प्रिमियम रकम करयोग्य कमाइमा समायोजन गर्न मिल्छ, त्यसैगरी फन्डमा गरेको निश्चित रकमको लगानीलाई पनि करमा समायोजन गर्न दिने व्यवस्था गर्न सके यसप्रति सर्वसाधारणको आकर्षण अझ बढाउन सकिने थियो।

कुमारी सबल योजना म्युचुअल फन्डको विशेषता के हो? यसैमा किन लगानी गर्ने?

कुमारी सबल योजना म्युचुअल फन्डको अनेक विशेषता छन्ः  

यो १० वर्षमा परिपक्व हुने एक अर्बको बन्दमुखी योजना हो। जुन नेपाल स्टक एक्स्चेञ्जमा सूचीकरण भएपछि सहजै कारोबार गर्न सकिन्छ।

यसले प्रत्येक वर्ष आफ्नो खुद सम्पत्ति मूल्यको आधारमा नगद लाभांश वितरण गर्छ।  यो फन्ड अनुभव प्राप्त कोष प्रबन्धकहरूले अनुसन्धान गरी दीर्घकालीन प्रतिफलको लागि विविधिकरण गरेर लगानी गर्ने गर्छन्।

कुमारी सबल योजना म्युचुअल फन्डको फाइदाहरू यसरी औंल्याउन सकिन्छः बजार जहिले पनि उच्च (अल टाइम हाइ) बाट ३५ प्रतिशतमा झरेको हुँदा दीर्घकालीन रूपमा लगानी गर्ने यो सुनौलो समय हो। सबल योजनाले यो समयमा लगानी गरी आफ्ना एकाइ धनीहरूलाई उच्चतम प्रतिफल दिन सक्छ। यसको प्रतिफलले मुद्दती निक्षेप र मुद्रास्फीतिलाई परास्त गरी राम्रो प्रतिफल दिने उद्देश्य राखेको छ।

सबल योजनाका कोष प्रबन्धकहरूले कुमारी क्यापिटलमा रहेर करिब तीन वर्षदेखि म्युचुअल फन्ड सञ्चालन गरेको अनुभव सँगालेका छन्।

सबल योजनामा लगानी गर्दा हामीले दीर्घकालीन लगानीको उद्देश्यका साथै पुँजी बचाउने सिद्धान्तलाई पनि कायम राखेर काम गर्ने हुँदा यसमा आउने लगानी सुरक्षित हुनुका साथै उच्चतम प्रतिफल दिने खालको हुन्छ।

कुमारी सबल योजनाको पोर्टफोलियो विनियोजन कसरी गरिएको छ? यसबाट लगानीकर्ताले पाउने प्रतिफललाई कसरी प्रक्षेपण गरिएको छ?

हाम्रो बजारमा हाल ‘इक्विटी मार्केट सेग्मेन्ट’ मात्र चलायमान भएको देखिन्छ। भोलिका दिनहरूमा ऋणपत्र बजार (बोन्ड मार्केट) लगायत नियमन निकायले लगानीका अन्य साधन (इन्स्ट्रुमेन्ट) को दायरा फराकिलो पारिदिएको खण्डमा हाम्रो लगानीको पोर्टफोलियोको पनि विविधिकरण हुने र जोखिम न्यूनीकरणका साथै बढी प्रतिफल निकाल्न सकिने अवस्था रहन्छ।

हामीले विद्यमान अवस्थामा नियमक निकायले तोकिदिएको लगानीयोग्य क्षेत्रका आधारमा यस योजनाको १० वर्षको प्रक्षेपण गरेका छौं। जस अनुसार हामीले इक्विटी इन्स्ट्रुमेन्ट सूचीबद्ध धितोपत्रहरूमा ६० प्रतिशत, प्राथमिक निष्कासनमा पाँच प्रतिशत, अग्राधिकार (प्रिफ्रेन्स) सेयर वा ऋणपत्रमा १५ प्रतिशत, मुद्दती निक्षेपमा १५ प्रतिशत र नगदमा पाँच प्रतिशत लगानी विविधिकरण योजना बनाएका छौं।

म्युचुअल फन्डमा लगानी गर्ने लगानीकर्ताले पाउने प्रतिफल भनेको नगद लाभांश र पुँजीगत लाभ हो।

यस योजनाबाट लगानीकर्ताले दोस्रो र तेस्रो वर्ष पश्चात् १०÷१० प्रतिशत अनि चौथोदेखि छैंटौ वर्षसम्म वार्षिक १२ प्रतिशत र ७ देखि ९ वर्षसम्म वार्षिक १५ प्रतिशतका दरले लाभांश प्रतिफल स्वरूप पाउने प्रक्षेपण गरिएको छ।

दश वर्षको अन्त्यसम्ममा योजनाको खुद सम्पत्ति मूल्य २२.७४ रूपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ, अर्थात् १० वर्षमा लाभांशसहित कुल २२८.३६ प्रतिशतको दरले प्रक्षेपित प्रतिफल प्राप्त हुनेछ। यसर्थ यसको सामान्य वार्षिक प्रतिफल २२.८४ प्रतिशत हुन आउँछ, तथा चक्रवृद्धि वार्षिक वृद्धिदर १२.६३ प्रतिशत र आन्तरिक प्रतिफल दर १७.९८ प्रतिशत हुन आउँछ।

कुमारी क्यापिटल अन्तर्गत हाल कतिवटा म्युचुअल फन्ड सञ्चालनमा छन् र तिनको अवस्था  कस्तो छ?

कुमारी क्यापिटलअन्तर्गत तीन वटा म्युचुअल फन्ड सञ्चालन भइरहेका छन्, ती योजनामध्ये दुई वटा बन्दमुखी (कुमारी इक्विटी फन्ड ‘केइएफ’ र कुमारी धनवृद्धि ‘केडिबिवाई’) छन् भने एउटा खुलामुखी योजना (कुमारी सुनौलो लगानी ‘केएसएलवाई’ योजना रहेको छ। सोमध्ये कुमारी धनवृद्धि योजना सञ्चालनमा आएको डेढ वर्ष मात्र भएको छ।

त्यस्तै कुमारी सुनौलो लगानी सञ्चालनमा आएको नौ महिना मात्रै भएको छ। यसमार्फत व्यवस्थित लगानी योजना (सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान ‘एसआइपी’) सेवा पनि सुरु भइसकेको छ। यी तीनैवटा फन्डहरूले सञ्चालन भएदेखि नै नेप्सेको प्रतिफललाई उछिनेको देखिन्छ।

२०८० सालको पुस मसान्तसम्म घटिरहेको बजारमा पनि यी कोषहरूको आन्तरिक प्रतिफल दर ‘आइआरआर’ क्रमशः ६.८२ प्रतिशत, १०.३५ प्रतिशत र १५.९७ प्रतिशत रहेको छ।

बजार घटिरहेका बेलामा पनि यी तीनवटै फन्डहरूले एकाइ धनीहरूको सम्पत्ति उचित प्रतिफलसहित संरक्षण गर्न सकेको छ र खुद सम्पत्ति मूल्यलाई १० रूपैयाँ भन्दामाथि राखिरहन सफल भएको देखिन्छ।

२०८० पुस मसान्तसम्म आइपुग्दा कुमारी इक्विटी फन्ड ‘केइएफ’ को खुद सम्पत्ति मूल्य १०.४४ रूपैयाँ रहेको छ। त्यस्तै कुमारी धनवृद्धि ‘केडिबिवाई’ को खुद सम्पत्ति मूल्य ११.०६ रूपैयाँ, र कुमारी सुनौलो लगानी ‘केएसएलवाई’ को खुद सम्पत्ति मूल्य ११.१९ रूपैयाँ रहेको छ। यी सबै फन्डसँग अझै पनि पर्याप्त नगद संरक्षणमा रहेको छ। क्रमिक रूपमा अहिले घटिरहेको बजारमा लगानी बढाउन पनि यो उपयोगी रहने देखिन्छ।

बजारका म्युचुअल फन्डहरू मध्येबाट कुमारी क्यापिटलले ल्याएकै योजना किन छान्ने?

हो, बजारमा थुप्रै म्युचुअल फन्डहरू ल्याइएका छन्। कुमारी सामूहिक लगानी कोषका योजनाहरू नै किन छनोट गर्ने भन्ने बारेमा केही कुरा मननीय छन्। हामीले तीन वर्षदेखि यस्ता योजना सार्वजनिक गरिरहेका छौं। यस अवधिको अभिलेख हेर्ने हो भने केइएफ, केडिबिवाई र केएसएलवाई योजनाका प्रतिफल सन्तोषजनक देखिन्छन्।

यी सबै योजनाहरू जारी भएका अवस्थामा नेप्से परिसूचक घट्दो क्रममा रहेको थियो। अहिले पनि नेप्से परिसूचक न्यूनविन्दुमै रहेको छ। यस्तो हुँदा पनि हाम्रो सबै म्युचुअल फन्डले सकारात्मक प्रतिफल दिन र एकाइ धनीहरूको पुँजी संरक्षण गर्न सफल छ।

सर्वसाधारणमा म्युचुअल फन्ड सम्बद्ध जानकारी कमै छ, यसलाई बढाउन के कस्ता काम भइरहेका छन्?

सर्वसाधारणमा म्युचुअल फन्डबारे कम जानकारी मात्र होइन गलत धारणासमेत रहेको देखिन्छ। बन्दमुखी योजनाहरू साधारणतया दोस्रो बजारमा भारी छुटमा कारेबार हुने भएकाले लगानीकर्ताहरू म्युचुअल फन्डको बजार मूल्य हेर्ने गर्छन् जबकि उनीहरूको ध्यानाकर्षण खुद सम्पत्ती मूल्यमा हुनुपर्ने थियो। किनभने परिपक्व भएको अथवा हाल सञ्चालनमा रहेको म्युचुअल फन्डहरूले औसतमा १४ प्रतिशतसम्म प्रतिफल दिएको पाइन्छ। यसैले अहिले कुमारी क्यापिटलले लगानीकर्ता सचेतना सञ्चालन गर्दै आएको छ।

यीबाहेक विभिन्न जानकारीमूलक इन्फोग्राफिक भिडियो, एनिमेसन भिडियो, रेडियो जिंगल तथा युट्युब, फेसबुक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जाल मार्फत जानकारीमूलक सन्देश प्रवाह गर्दै आएका छौं।

हाल बजारमा अधिक तरलता रहे पनि सेयर बजार उकालो लाग्न नसकेको अवस्थामा एक अर्बको १० करोड एकाइ सहजै बिक्री हुने आधार के छन्?

अहिलेको बजारमा तरलता केही सहज भए पनि देशको अर्थतन्त्र चलायमान हुन सकेको छैन। बजारको समग्र मागमा ह्रास आएका कारण उत्पादनमा वृद्धि हुने अवस्था पनि रहेन। यसले तरलता सहज हुँदासमेत त्यसको परिचालन हुन सकेको छैन। यसले दोस्रो बजारमा मात्र होइन हरेक क्षेत्रलाई प्रभावित पारेको छ।

हामीले बिक्री गर्ने एकाइको सम्भावित लगानीकर्ताहरू व्यक्तिगत तथा संस्थागत लगानीकर्ता हुन्। अर्थात् साना ठूला दुवै छन्। हाल ६० लाखभन्दा धेरै डिम्याट खाता सञ्चालनमा रहेका छन्, तीमध्ये अधिक खुद्रा लगानीकर्ताहरूले हाम्रो अघिल्लो म्युचुअल फन्डहरू (केइएफ, केडिबिवाई र केएसएलवाई) मा जसरी सहभागिता जनाएका थिए त्यसैगरी यसमा पनि लगानी गर्नेछन् भन्ने आशा हामीले लिएका छौं।

यसैगरी बैंक तथा वित्तीय संस्था ‘बिएफआई’ हरूले नियमानुसार अल्पकालीन लगानी गर्न नपाएको हुनाले सबल योजना उनीहरूका लागि एउटा राम्रो प्रतिफल दिने साधन हुनसक्छ।

हामीले सञ्चालन गरिरहेका तीन वटा योजनाहरू पनि सकारात्मक खुद सम्पत्ति मूल्यमा चलिरहेका छन्। विगतका वर्षमा पनि हामीले एक तहका एकाइ धनीहरूलाई डेभिडेन्ड बाँड्न सफल भएका थियौं। यी कारणले पनि यो योजना बिक्री हुनेमा हामी ढुक्क भएका छौं।  

प्रकाशित: २८ माघ २०८० ०७:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App