२२ मंसिर २०८२ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मेक्सिकोमा उग्र जेनजी प्रदर्शन : भ्रष्टाचार, हिंसाविरुद्ध हजारौं मानिस उत्रिए

अमेरिकाको छिमेकी मेक्सिकोमा जेनजी प्रदर्शन थप उग्र बनेको छ। शनिबार जेनजी युवाहरूले आयोजना गरेको प्रदर्शनमा अपराध, भ्रष्टाचार र दण्डहीनताविरुद्ध हजारौँ मानिस सडकमा उत्रिए। विपक्षी दलका पुराना समर्थकहरूको बलियो साथले यो प्रदर्शन सकिएको बताइएको छ। 

प्रदर्शन अधिकांश शान्तिपूर्ण रह्यो, तर केही युवाहरू प्रहरीसँग झडपमा गएपछि तनाव सिर्जना भयो। प्रदर्शनकारीहरूले ढुंगा, आतिशबाजी, लाठी र चेनले प्रहरीमाथि आक्रमण गरेका थिए। उनीहरूले प्रहरीबाट ढाल तथा अन्य सामग्री खोसेका थिए। उनीहरूले राष्ट्रपति क्लाउडिया शेनबाउम बस्ने महलको बाहिरी पर्खाल भत्काएका छन्। त्यहाँ दंगा प्रहरीले अश्रुग्याँस प्रयोग गर्‍यो। 

राजधानीका सुरक्षा सचिव पाब्लो भाज्क्वेजले १२० जना घाइते भएको बताएका छन्। उनका अनुसार घाइतेमध्ये सय जना प्रहरी अधिकारी छन्। २० जनालाई पक्राउ गरिएको छ भने थप २० जनाले प्रशासनिक कारबाहीको सामना गर्नुपरेको छ।

यस वर्ष धेरै विश्वका धेरै देशहरूमा सन् १९९० को दशकको अन्त्य र सन् २०१० को दशकको सुरुवातमा जन्मेका युवाहरूले ठुलो प्रदर्शन गरेका छन्। उनीहरूले असमानता, लोकतन्त्रको पछाडि हटाइ र भ्रष्टाचारविरुद्ध विरोध गरेका छन्। सेप्टेम्बरमा नेपालमा सामाजिक सञ्जाल प्रतिबन्धपछि सबैभन्दा ठुलो जेनजी प्रदर्शन भयो, जसले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्‍यो। विश्वमा भएका सफल जेनजी प्रदर्शनमा नेपालको दुई दिने आन्दोलन उदाहरण बनेको छ। 

मेक्सिकोमा युवाहरू भ्रष्टाचार र हिंसात्मक अपराधको दण्डहीनताबाट निराश छन्। ‘हामीलाई थप सुरक्षा चाहिन्छ’, २९ वर्षीय व्यापार सल्लाहकार एन्ड्रेस मास्साले भने। उनले जेनजी विरोधको विश्वव्यापी प्रतीक बनेको समुद्री डाकूको खोपडीको झण्डा बोकेका थिए।

४३ वर्षीया चिकित्सक एरिजबेथ गार्सियाले सार्वजनिक स्वास्थ्य प्रणालीका लागि थप कोष र राम्रो सुरक्षाको माग गर्दै विरोधमा निस्किएको बताइन्। उनले भनिन्, ‘चिकित्सकले पनि देशमा फैलिएको असुरक्षाको सामना पनि गरिरहेका छन्, जहाँ तपाईंको हत्या हुन सक्छ। तर कारबाही केही पनि हुँदैन।’

अपराध विरोधी पश्चिमी राज्य मिचोआकानमा लोकप्रिय मेयर कार्लोस मान्जोको हत्यासहित हालैका उच्च ओहदाका मानिसहरूको हत्याले राष्ट्रपति शेनबाउमप्रति जनआक्रोश बढाएको छ। प्रदर्शनअघि शेनबाउमले दक्षिणपन्थी दलहरूलाई जेनजी आन्दोलनमा घुसपैठ गर्ने र सामाजिक सञ्जालमा बट प्रयोग गरेर उपस्थिति बढाउने गरेको आरोप लगाएकी थिइन्।

यस हप्ता केही जेनजी सामाजिक सञ्जाल इन्फ्लुएन्सले शनिबारको प्रदर्शनलाई समर्थन नदिने बताए। तर पूर्व राष्ट्रपति भिसेन्टे फक्स र अर्बपति रिकार्डो सालिनास प्लिगो जस्ता वृद्ध व्यक्तित्वहरूले समर्थनमा देखिए। प्रदर्शनमा विभिन्न उमेरका मानिसहरू सहभागी थिए। मिचोआकानका हालै मारिएका मेयर मान्जोका समर्थकहरूले उनको प्रतीक परालको टोपी लगाएर भाग लिए।

‘राज्य मर्दै छ,’ मिचोआकानको पाट्ज्कुआरोबाट आएकी ६५ वर्षीया घर जग्गा एजेन्ट रोजा मारिया अविलाले भनिन्। ‘उनी मारिए किनभने उनी अपराधीहरूसँग लड्न पहाडमा अधिकारीहरू पठाउँथे। उनीसँग तिनीहरूको सामना गर्ने हिम्मत थियो,’ उनले मान्जोबारे भनिन्। यो प्रदर्शन ५० भन्दा बढी सहरमा फैलिएको जनाइएको छ। ‘जेनजी मेक्सिको’ समूहले गैर–दलीय घोषणापत्र जारी गर्दै हिंसा, भ्रष्टाचार र सत्ताको दुरुपयोगविरुद्ध युवा आक्रोश व्यक्त गरेको छ। एजेन्सी

प्रकाशित: ३० कार्तिक २०८२ १०:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App