१३ आश्विन २०८३ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

क्यानडाको सामानमा अमेरिकाले लगायो नयाँ प्रतिबन्ध

अमेरिका र क्यानडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मंगलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए।

प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्।

सेप्टेम्बर ८ मा क्यानडाले अमेरिकी निर्यातमा करिब २० अर्ब अमेरिकी डलर बराबरको प्रतिशुल्क लगाएपछि अमेरिकाले पछिल्लो कदम चालेको हो।

राष्ट्रपति ट्रम्पले क्यानडाली मदिरामाथिको प्रतिबन्धलाई अमेरिकी उत्पादनमाथि क्यानाडाले गरेको ‘भेदभावपूर्ण’ व्यवहारको जवाफ बताए।

अगस्टमा वासिङ्टनमा व्यापारिक सङ्कट समाधानका लागि भएको वार्ता असफल भएपछि दुई देशबीचको तनाव थप बढेको हो।

क्यानाडाको करिब ६० प्रतिशत आयात अमेरिकाबाट हुने गरेको छ भने करिब ७० प्रतिशत निर्यात अमेरिकी बजारमा जाने गरेको छ।

क्यानडा सरकारले व्यवसायी तथा कामदारलाई सहयोग गर्न पाँच अर्ब ४० करोड अमेरिकी डलरको आर्थिक प्याकेज सार्वजनिक गरेको छ।

स्पिरिट्स क्यानाडाका अनुसार अमेरिका क्यानडाली मदिराको प्रमुख निर्यात बजार हो र क्यानडाको स्पिरिट उत्पादनको करिब ५० प्रतिशत अमेरिकी मागमा निर्भर छ।

प्रतिबन्धका कारण क्यानडाली उत्पादकलाई तत्काल अमेरिकी बजारमा गुमेको माग अन्यत्रबाट पूर्ति गर्न सीमित अवसर मात्र रहने सङ्गठनले जनाएको छ।

प्रकाशित: १३ आश्विन २०८३ १४:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App