क्यानडामाथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका ट्यारिफविरुद्ध अमेरिकी कांग्रेस (संसद) मा मतदान भएको छ। यस सम्बन्धी प्रस्ताव ‘हाउस अफ रिप्रेजेन्टेटिभ्स’ बाट पारित भएको छ।
क्यानडामाथि लगाइएका ट्यारिफ खारेज गर्नेसम्बन्धी प्रस्ताव २१९–२११ मतले पारित भएको हो। मतदानका क्रममा क्रस भोटिङ पनि भएको थियो। ट्रम्पको पार्टी रिपब्लिकनका छ सांसदले प्रस्तावको समर्थनमा मत दिएका छन् भने डेमोक्रेटिक पार्टीका एक सांसदले प्रस्तावको विपक्षमा मत दिएका छन्।
मतदानका क्रममा राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत रिपब्लिकन सांसदहरूलाई चेतावनी दिएका थिए कि ट्यारिफविरुद्ध मत दिने जो–कोहीले चुनावका बेला ‘गम्भीर परिणाम’ भोग्नुपर्नेछ। ट्रम्पले क्यानडाले धेरै वर्षदेखि व्यापारको मामिलामा अमेरिकाको ‘फाइदा उठाउँदै आएको’ दाबी गरेका छन्।
उनले क्यानडामाथि विभिन्न प्रकारका ट्यारिफ लगाएका छन्। हालै क्यानडा र चीनबीच प्रस्तावित व्यापार सम्झौताप्रति प्रतिक्रिया स्वरूप ट्रम्पले क्यानडामाथि १०० प्रतिशत ट्यारिफ लगाउने धम्की दिएका छन्। अब यो प्रस्ताव अमेरिकी संसदको माथिल्लो सदन अर्थात् सिनेटमा जानेछ, जहाँ रिपब्लिकन पार्टीको बहुमत छ। यद्यपि यो प्रस्ताव सिनेटबाट पारित भए पनि कानुन बन्ने सम्भावना कम रहेको बताइएको छ। एजेन्सी
प्रकाशित: २९ माघ २०८२ ०९:०८ बिहीबार





