क्युबाको सरकारले भेनेजुएलामा अमेरिकी सेनाको कारबाहीका क्रममा आफ्ना ३२ नागरिक मारिएको दाबी गरेको छ। मारिनेहरू क्युबाका सशस्त्र बल वा गृह मन्त्रालयका सदस्य थिए, जसलाई भेनेजुएलाको अनुरोधमा सुरक्षा मिसनमा खटाइएको थियो।
यो घटनापछि क्युबाले मारिएकाहरूको सम्मानमा जनवरी ५ र ६ मा दुई दिन राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ।
जनवरी ३ मा अमेरिकी विशेष फौजले राजधानी काराकासमा छापा मारेर राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरी न्यूयोर्क लगेका थिए। यो कारबाहीमा क्युबाली सुरक्षा कर्मीहरूले मादुरोको रक्षा गर्ने प्रयास गरेका थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘धेरै क्युबाली मारिए’ भनेका थिए तर सङ्ख्या उल्लेख गरेका थिएनन्।
क्युबाली राष्ट्रपति मिगेल डियाज–कानेलले यो कारबाहीलाई अमेरिकी साम्राज्यवादको आपराधिक आक्रमण भन्दै निन्दा गरेका छन्। यो घटनाले क्षेत्रीय तनाव बढाएको छ र क्युबामा पनि अमेरिकी कारबाहीको चिन्ता बढेको छ।
प्रकाशित: २१ पुस २०८२ ०७:५४ सोमबार





