युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त अरब इमिरेट्स, कतार, जोर्डन र बहराइनका नेताहरूसँग कुरा गरेका छन्।
यसबारे जानकारी गराउँदै उनले युक्रेनसँग इरानी ड्रोन र क्षेप्यास्त्रको सामना गर्ने राम्रो अनुभव भएको बताएका हुन्।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘हामीलाई निरन्तर मिसाइल र ड्रोन आक्रमणहरू के हुन् र तिनीहरूको सामना कसरी गर्ने भन्नेबारे राम्ररी थाहा छ। हामीले यस क्षेत्रमा कसरी सहयोग गर्न सक्छौं भनेर छलफल गर्यौं र हाम्रा टोलीहरू सम्पर्कमा रहने कुरामा सहमति जनायौं।’
यो निर्णयपछि उनले आफ्ना मन्त्री र सुरक्षा निकायहरूलाई युक्रेनको सुरक्षामा असर नपर्ने गरी सहयोगका विकल्प तयार पार्न निर्देशन दिएका छन्।
यसैबिच, अमेरिका र इजरायलको आक्रमणपछि इरानले खाडीमा रहेका अमेरिकी सैन्य अड्डाहरूमाथि ड्रोन र क्षेप्यास्त्र प्रहार गर्दै जवाफी हमला जारी राखेको जनाएको छ।
युक्रेनसँगको युद्धमा रुसले इरानबाट हजारौंको संख्यामा शहीद ड्रोनहरू र ब्यालिस्टिक मिसाइलहरू प्राप्त गरेको छ, जसले गर्दा उसलाई आफ्नो सैन्य क्षमता कायमै राख्न मद्दत पुगेको छ। एजेन्सी
प्रकाशित: २१ फाल्गुन २०८२ १४:३१ बिहीबार





