इरानमाथि अमेरिकी आक्रमणको सम्भावित खबरहरूका बिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक महत्वपूर्ण बयान दिएका छन्।
उनले इरानी सर्वोच्च नेता अली खामेनीलाई अन्तिम चेतावनी दिँदै यदि कुनै अर्थपूर्ण सम्झौता नभएमा तेहरानले गम्भीर परिणाम भोग्नुपर्ने भन्दै धम्काएका हुन्। उनले इरानसँग परमाणु हतियार हुन नसक्ने कुरा स्पष्ट पारेका छन्।
ट्रम्पले शान्ति परिषद्को बैठकमा भने, ‘इरानको चित्र १०-१५ दिनमा स्पष्ट हुनेछ।’ उनले वार्ता सकारात्मक भए पनि एउटा ठोस सम्झौता आवश्यक रहेको बताए। यदि सम्झौता भएन भने परिणाम निकै गम्भीर हुने उनले चेतावनी दिए। उनले थपे, ‘हामी इरानसँग मिलेर काम गर्न चाहन्छौं, तर उनीहरूले परमाणु हतियार राख्न पाउँदैनन् र यो कुरा स्पष्ट पारिसकिएको छ।’
अमेरिकी प्रशासनले इरानलाई आफ्नो परमाणु कार्यक्रममा सहमति जनाउन १०-१५ दिनको समयसीमा दिएको छ। स्रोतका अनुसार इरानविरुद्ध ठूलो सैन्य कारबाहीको तयारी पनि भइरहेको छ, जुन पूर्ण स्तरको युद्धमा परिणत हुन सक्छ।
अमेरिकाले मध्यपूर्वमा आफ्नो सैन्य शक्ति बढाएको छ। दुईवटा ठूला विमानवाहक युद्धपोत समूहहरू तैनाथ गरिएका छन् र दर्जनौं थप लडाकु विमान, इन्धन ट्यांकर र अन्य सैन्य विमानहरू पठाइएका छन्।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि इरानले आक्रमण गरेमा ‘कल्पना नै गर्न नसकिने कडा जवाफ’ दिने धम्की दिएका छन्।
बेलायतले इरानमाथि आक्रमणका लागि आफ्ना सैन्य अड्डाहरू प्रयोग गर्न रोक लगाएको छ, जबकि पोल्याण्डले आफ्ना नागरिकहरूलाई इरान छोड्न आग्रह गरेका छन्।
यसैबिच, इरान उच्च सतर्कतामा छ। देशका केही भागमा उडानहरू प्रतिबन्धित गरिएको छ। सर्वोच्च नेता खामेनीले अमेरिकाले आक्रमण गरेमा कडा प्रतिवाद गर्ने बताएका छन्। तर इरानले स्पष्ट पारेको छ कि उसले पहिले कसैलाई आक्रमण गर्ने छैन। एजेन्सी
प्रकाशित: ८ फाल्गुन २०८२ ०७:१८ शुक्रबार





