२५ असार २०८३ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इराकमा खामेनीको अन्त्येष्टिमा हजारौँ सहभागी

इरानका दिवंगत सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टिका लागि पार्थिव शरीर इराक पुर्‍याइएपछि पवित्र सहर नजाफ र कर्बलामा बुधबार हजारौँ व्यक्ति सहभागी भएका थिए। अन्त्येष्टि यात्रामा सहभागीहरूको भीड बढी भएपछि केही स्थानमा सुरक्षा व्यवस्थापनमा चुनौती देखिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। 

नजाफमा पार्थिव शरीर बोकेको शवयात्रा अघि बढ्दै गर्दा श्रद्धाञ्जलि दिन आएका समर्थकहरूले इराक र इरानका झण्डासहित विभिन्न ब्यानर प्रदर्शन गरेका थिए। केही सहभागीहरूले राजनीतिक नारा पनि लगाएका थिए। शवयात्रामा इरान समर्थित इराकी शिया समूहका समर्थकहरूको पनि उपस्थिति रहेको बताइएको छ। 

शिया मुस्लिमहरूको प्रमुख धार्मिक केन्द्रमध्ये एक मानिने नजाफस्थित इमाम अलीको पवित्र मजारमा अन्त्येष्टि प्रार्थना सम्पन्न गरिएको थियो। त्यसक्रममा श्रद्धाञ्जलि अर्पण गर्न आतुर भीड अत्यधिक भएको थियो।  

रोयटर्सका अनुसार खामेनीको पार्थिव शरीर मंगलबार नजाफ अन्तर्राष्ट्रिय विमानस्थल पुगेको थियो। त्यहाँ इराकी सरकारी अधिकारी, धार्मिक नेतृत्व तथा इरानी प्रतिनिधिमण्डलले स्वागत गरेका थिए। इरानी राष्ट्रपति मसुद पेजेस्कियानसहित केही वरिष्ठ अधिकारीहरू पनि अन्त्येष्टि कार्यक्रममा सहभागी भएका थिए।

इराकका धार्मिक तीर्थस्थलहरूको कार्यक्रम सम्पन्न भएपछि पार्थिव शरीर अन्तिम संस्कारका लागि पुनः इरान फर्काइने जनाइएको छ।  

प्रकाशित: २५ असार २०८३ १३:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App