लद्दाखका सामाजिक कार्यकर्ता सोनम वाङचुकलाई शुक्रबार पक्राउ गरिएको छ। दुई दिनअघि लेहमा भएको हिंसाको लागि सरकारले दोषी ठहर गरेपछि उनलाई नियन्त्रणमा लिइएको हो।
दैनिक भास्करका अनुसार उनलाई कुन मुद्दामा पक्राउ गरिएको भन्ने कुरा अझै स्पष्ट भएको छैन। पीटीआईले वाङचुकलाई लद्दाखबाट बाहिर निकालिएको जनाएको छ। लेहमा इन्टरनेट बन्द गरिएको छ।
बुधबार भएको हिंसापछि लेहमा लगातार तेस्रो दिन कर्फ्यू लगाइएको छ। स्कूल र कलेजहरू शनिबारसम्म बन्द छन्।
पूर्ण राज्यको दर्जा र छैटौं अनुसूचीमा समावेशको माग गर्दै लेहमा भएको विरोध प्रदर्शनले हिंसाको रुप लिएको हो। सो घटनामा चार युवाको मृत्यु भएको छ। ४० प्रहरी अधिकारीसहित ८० जना घाइते भएका छन्। अहिलेसम्म ६० जना अभियुक्तहरूलाई पक्राउ गरिएको छ।
प्रकाशित: १० आश्विन २०८२ २०:०३ शुक्रबार





