दक्षिणी रूसको व्यस्त समुद्री तटमा युक्रेनी ड्रोनको भग्नावशेष खस्दा तीन बालबालिकासहित कम्तीमा सात जनाको मृत्यु भएको छ। हालैका हप्ताहरूमा यसलाई सबैभन्दा घातक घटनाहरूमध्ये एक मानिएको छ।
स्थानीय समय अनुसार सोमबार गेलेन्जिक सहरको ब्ल्याक सी रिसोर्ट क्षेत्रमा भएको उक्त घटनामा अन्य ४० जना घाइते भएका छन्। घाइतेको उपचार भइरहेको छ। क्रास्नोडार क्षेत्रका गभर्नर भेनियामिन कोन्ड्रात्येभले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरे। उनले युक्रेनले नागरिकहरूमाथि जानाजानी हमला गरेको आरोप समेत लगाएका छन्।
घटना कसरी भयो भन्नेबारे दुवै पक्षका दाबी फरक छन्। रूसी अधिकारीहरूले यसलाई युक्रेनी आक्रमणको रूपमा लिएका छन्। युक्रेनी पक्षले भने यो दाबीलाई अस्वीकार गरेको छ। युक्रेनी सरकारको काउन्टरिङ डिसइन्फर्मेसन केन्द्रका प्रमुख एन्ड्री कोभालेन्कोले भने, ‘यो रूसी वायु रक्षा बलको काम थियो, जसले छुट्टी मनाउनेहरूले भरिएको समुद्र तटमा ड्रोनलाई खसालेको थियो।’
उनले थपे, ‘गेलेन्जिकको समुद्र तटमा रूसीहरूको मृत्यु पूर्णतया रूसी वायु रक्षा बलको गल्ती हो।’ युक्रेनले आफ्ना हतियारहरू केवल रूसको सैन्य-औद्योगिक परिसर र युद्ध वित्त पोषणमा असर पार्ने आर्थिक पूर्वाधारमाथि मात्र प्रयोग गरिरहेको दाबी गरेको छ।
सामाजिक सञ्जालमा जारी भएको भिडियो फुटेज तथा प्रत्यक्षदर्शीहरूको भनाइअनुसार ड्रोन समुद्र तटमा खस्नुअघि गोलीको आवाज सुनिएको थियो। भिडियोमा ड्रोन अचानक दिशा परिवर्तन गरेर तटतिर खसेको देखिन्छ। प्रत्यक्षदर्शीहरूले आक्रमणअघि कुनै साइरन नबजाइएको बताएका छन्। एक प्रत्यक्षदर्शीले भने, ‘हामीले यो कहाँ विस्फोट भयो देखेनौं।’ अर्काले भने, ‘यो सबै मेरा बच्चाहरूको अगाडि भयो।’
यो क्षेत्र नजिकै रूसी राडार स्थापना र सैन्य सम्बन्धित केन्द्र रहेको बताइएको छ। युक्रेनले पछिल्लो समय रूसको भित्रसम्म पुगेर सैन्य हार्डवेयर, ऊर्जा पूर्वाधार र व्यावसायिक गोदामहरूलाई लक्षित गर्दै ड्रोन आक्रमणहरू बढाउँदै आएको छ। यसअघि जुलाई महिनामा भएका विभिन्न आक्रमणहरूमा पनि नागरिकहरूको ज्यान गएको थियो। दुवै पक्षले नागरिकलाई जानाजानी निशाना नबनाएको दाबी गर्दै आएका छन्।
विश्लेषकहरूका अनुसार यस्ता घटनाहरूले युद्धको विस्तार र नागरिक सुरक्षाको चुनौतीलाई झन् गहिरो बनाएको छ। दुवै पक्षका विरोधाभासी बयानबाजीका कारण घटनाको पूर्ण जिम्मेवारी स्पष्ट हुन बाँकी छ।
प्रकाशित: १९ श्रावण २०८३ ०७:५० मंगलबार





-1200x560-600x400.jpg)