कर्णाली प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त भएको ६ दिन पुग्दासमेत सत्ता साझेदार दलबिच भागबन्डा नमिल्दा मन्त्रीमण्डल विस्तार हुन सकेको छैन। मुख्यमन्त्रीसहित सात मन्त्रीमण्डलमा नेकपा र एमालेबिच मन्त्री र मन्त्रालयको कुरो नमिल्दा मन्त्रीमण्डल विस्तार हुन नसकेको हो।
मंगलबार कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले मुख्यमन्त्री मंगलबहादुर शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। नियुक्त गरेको भोलिपल्ट बुधबार प्रदेश प्रमुखले संविधानको धारा १६८(२) बमोजिम पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए।
शपथ ग्रहणलगत्तै मुख्यमन्त्री कार्यालयमा पदभार ग्रहण गरे, तर एमाले र नेकपाबिच मन्त्री र मन्त्रालय भागबन्डामा कुरा नमिल्दा अँझै मन्त्रीमण्डल विस्तार अलमलमा परेको हो। मुख्यमन्त्री नियुक्त भएको हप्ता दिन पुग्न लाग्दासमेत दुई दलबिच मन्त्री संख्या र मन्त्रालयको कुरा मिल्न नसकेको हो।
स्रोतका अनुसार एमालेले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सहआयोजक सामाजिक विकास मन्त्रालयसहित चार मन्त्रालय मागेको छ, तर नेकपाले तीनतीन मन्त्रालय लिनुपर्ने अडान लिएको छ। पछिल्लो वार्तामा राज्यमन्त्रीसहित नेकपाले तीनवटा र एमाललाई चारवटा मन्त्री दिने सहमतिनजिक पुगेको जनाइएको छ, तर सामाजिक विकास मन्त्रालय नेकपालेले दाबी गरेपछि मन्त्रीमण्डल विस्तार हुन नसकेको जनाइएको छ।
मन्त्रीमण्डल विस्तार हुन नसक्दा ६ दिनदेखि मुख्यमन्त्रीले एकल रूपमा सरकार चलाएका छन्। मुख्यमन्त्री एकल हुँदा मन्त्रीपरिषद् बैंठकसमेत बस्न सकेको छैन। सोमबार वा मंगलबारसम्म मन्त्रीमण्डल गठन हुने सत्ता साझेदार दलहरूले जनाएका छन्।
प्रकाशित: १८ श्रावण २०८३ १२:०४ सोमबार

