१९ श्रावण २०८३ मंगलबार
image/svg+xml
खेल

सेरेना–भेनस विलियम्स फेरि कोर्टमा, सिनसिनाटी ओपनमा वाइल्डकार्ड

२०२२ पछि पहिलोपटक दिदीबहिनीको जोडीले महिला डबल्स खेल्ने

टेनिसकी चर्चित दिदीबहिनी सेरेना र भेनस विलियम्सले सिनसिनाटी ओपनको महिला डबल्समा वाइल्डकार्ड इन्ट्री पाएका छन्। प्रतियोगिता अगस्ट ११ देखि २३ सम्म अमेरिकाको ओहायोमा हुँदैछ। 

४४ वर्षीया सेरेना र ४६ वर्षीया भेनसले सन् २०२२ को अमेरिकी खुला प्रतियोगितापछि पहिलोपटक सँगै डबल्स खेल्न लागेका हुन्।दुवै दिदीबहिनीले यसै वर्षको विम्बल्डनमा पनि सँगै खेल्ने तयारी गरेका थिए। तर एकलतर्फको पुनरागमन खेलमा अस्ट्रेलियाकी माया जोइन्टसँग पराजित भएपछि सेरेनाको घुँडामा चोट लाग्दा योजना रोकिएको थियो। 

सिनसिनाटी ओपनमा सेरेनाको सहभागिताले यस वर्षको अमेरिकी खुला प्रतियोगितामा उनको सम्भावित पुनरागमनको बाटोसमेत खोल्न सक्छ। सेरेना चार वर्षअघि न्युयोर्कमा भएको अमेरिकी खुला प्रतियोगिताको तेस्रो चरणमा पराजित भएपछि लामो समय ग्रान्डस्लामबाट टाढा रहेकी थिइन्।

सेरेनाले अहिलेसम्म २३ ग्रान्डस्लाम एकल उपाधि जितेकी छन्। सर्वाधिक २४ ग्रान्डस्लाम उपाधिको कीर्तिमान बराबर गर्न उनी एक उपाधि मात्र टाढा छिन्। सेरेना र भेनसले जोडीका रूपमा १४ वटा ग्रान्डस्लाम डबल्स उपाधि तथा तीन ओलम्पिक स्वर्ण पदक जितिसकेका छन्। यसैबीच, भेनसले सिनसिनाटी ओपनको महिला एकलतर्फ पनि वाइल्डकार्ड पाएकी छन्।

प्रकाशित: १९ श्रावण २०८३ ०७:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App