डा. धवलशम्सेर राणाले अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्न सरकारसँग आग्रह गर्दै राष्ट्रवादी नेता दुर्गा प्रसाईंको तत्काल रिहाइको माग गरेका छन्।
सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा राणाले आलोचना, फरक मत तथा विचार अभिव्यक्ति लोकतान्त्रिक शासन व्यवस्थाका आधारस्तम्भ भएको उल्लेख गर्दै सरकारको आलोचना गर्न नपाइने अवस्था लोकतन्त्रसँग मेल नखाने बताएका छन्।
उनले नागरिकप्रति सरकारको जवाफदेहिता, प्रजातान्त्रिक सन्तुलन तथा समाजको उन्नतिका लागि विचार तथा अभिव्यक्ति स्वतन्त्रता आधारभूत अधिकार भएको बताए।
विज्ञप्तिमा पछिल्ला दिन देशका केही क्षेत्रमा देखिएको आपसी द्वन्द्व, झडप, आगजनी तथा जनधनको क्षतिप्रति चिन्ता व्यक्त गर्दै विविध धर्म, संस्कृति र आस्थाबीचको सद्भाव तथा सहिष्णुता कायम राख्न सबै पक्ष जिम्मेवार हुनुपर्ने उल्लेख गरिएको छ।
राणाले यस्तो संवेदनशील अवस्थामा नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न, दिगो शान्ति कायम गर्न तथा सरकारको जवाफदेहितामाथि निगरानी राख्नु नागरिकको कर्तव्य भएको बताएका छन्।
विज्ञप्तिमा साउन १७ गते राति निवासबाट पक्राउ गरिएका दुर्गा प्रसाईले संविधानप्रदत्त विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार प्रयोग गरेको दाबी गर्दै उनको पक्राउको निन्दा गरिएको छ। साथै, प्रसाईको तत्काल रिहाइका लागि सरकारको ध्यानाकर्षण गराइएको छ।
प्रेस विज्ञप्ति:
२०८२ साउन १८ गते
प्रेस विज्ञप्ति
आलोचना, फरक मत, मत–अभिमत लोकतान्त्रिक पद्धतिका आधारस्तम्भ हुन्। नागरिकप्रति सरकारको जवाफदेहिता, प्रजातान्त्रिक सन्तुलन र समाजको उन्नति–प्रगतिका लागिसमेत विचार एवं अभिव्यक्ति स्वतन्त्रता आधारभूत छन्। सरकारको आलोचना गर्नै नपाइने हो भने, त्यस्तो शासन प्रणाली लोकतान्त्रिक रहन सक्दैन।
विविध आस्था, धर्म, संस्कृति, परम्पराबीचको सद्भाव, सम्मान र मिलन नेपाली समाजको मौलिक चरित्र हो। सामाजिक सहिष्णुता र सद्भावको विरासत बचाएर राख्नु हामी सबैको साझा कर्तव्य हो। तर पछिल्ला दिन देशका केही भूभागमा देखिएको आपसी द्वन्द्व, झडप, आगजनी र जनधनको क्षतिबाट हामी सबै चिन्तित छौं। यस संवेदनशील घडीमा नागरिकको जिउधन सुरक्षाको प्रत्याभूति माग गर्नु, दिगो शान्तिको अपेक्षा राख्नु, सरकारको जवाफेहिताका लागि पहरेदारी गर्नु नागरिकको कर्तव्य हो।
यही सन्दर्भमा विश्वव्यापी रूपमा स्थापित मानव अधिकार र संविधानप्रदत्त विचार एवं अभिव्यक्ति स्वतन्त्रताको हक प्रयोग गरेर अभिव्यक्ति दिएकै कारण राष्ट्रवादी नेता दुर्गा प्रसाईलाई सरकारले हिजो साउन १७ गते राति उहाँको निवासबाट पक्राउ गर्नु निन्दनीय छ। उहाँको तत्काल रिहाइको लागि सरकारको ध्यानाकर्षण गर्दछु।
डा. धवलशम्सेर राणा
प्रकाशित: १८ श्रावण २०८३ १०:३७ सोमबार

