१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बैकाल तालमा बस डुब्दा सात चिनियाँ पर्यटकको मृत्यु

रुसको साइबेरियास्थित प्रसिद्ध बैकाल तालको जमेको हिउँमा शुक्रबार एउटा पर्यटक बस दुर्घटना हुँदा सात चिनियाँ पर्यटकको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूका अनुसार बस तीन मिटर चौडा हिउँको चिरामा खसेर तालमा डुबेको हो।

रुसको विपद् व्यवस्थापन मन्त्रालयले सामाजिक सञ्जालमा विज्ञप्ति जारी गर्दै उद्धारकर्ताहरूले पानीमुनि क्यामेरा प्रयोग गरेर सात जनाको शव फेला पारेको जनाएको छ। इर्कुत्स्क क्षेत्रका गभर्नर इगोर कोब्जेभले मृतकहरू चिनियाँ नागरिक भएको पुष्टि गर्दै यसबारे चिनियाँ महावाणिज्य दूतावासलाई जानकारी गराएका छन्।

गभर्नर कोब्जेभले एक प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै भने, ‘पर्यटक बस डुब्न थालेपछि एक यात्रु दुर्घटना हुनबाट उम्कन सफल हुनुभएको थियो ।’

अधिकारीहरूका अनुसार उक्त बस सतहबाट १८ मिटर तल पानीमा फेला परेको थियो। विश्वकै सबैभन्दा गहिरो बैकाल ताल साइबेरियाको प्रमुख पर्यटकीय गन्तव्य हो, जहाँ जाडोमा पानी जमेर आकर्षक क्रिस्टल जस्तो देखिन्छ।

सुरक्षाका लागि अधिकारीहरूले जमेको तालमा निश्चित सडकहरू मात्र सवारी साधनका लागि खुला गर्ने गर्छन्। कोब्जेभले भने, ‘सडक प्रयोगको लागि खाली गरिएको छैन र यस घटनाबारे थप छानबिन सुरु भएको छ ।’ प्रतिबन्धित क्षेत्रमा गाडी चलाएका कारण यो दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। एजेन्सी 

प्रकाशित: ९ फाल्गुन २०८२ ०८:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App