इजरायली सेनाले शुक्रबार गाजा सहरमा गरेको हवाई आक्रमणमा कम्तीमा सात बालबालिकासहित ५० जनाभन्दा बढी प्यालेस्टिनीहरूको ज्यान गएको छ। उत्तरी गाजाको सहरी केन्द्रमा इजरायलको आक्रमण शनिबार बिहानसम्म पनि जारी रहेको र प्यालेस्टिनीहरूको घरमा समेत घातक हमला भएको अन्तराष्ट्रिय सञ्चार माध्यममा देखाएको छ।
गाजा सहरमा एउटा गगनचुम्बी भवन ध्वस्त पार्ने इजरायली आक्रमणले यस क्षेत्रमा जातीय अन्त्यको अभियान सुरु भएको त्रास फैलिएको छ, बढ्दो हिंसाप्रति अन्तर्राष्ट्रिय समुदायले गम्भीर चिन्ता व्यक्त गरेको छ।
यसै सन्दर्भमा एम्नेस्टी इन्टरनेशनलले इजरायलको बढ्दो आक्रमणले प्यालेस्टिनीहरूका लागि विनाशकारी र अपरिवर्तनीय परिणाम ल्याउने चेतावनी दिएको छ भने विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले गाजामा भोकमरीका कारण मानिसहरूको मृत्यु भएको भन्दै यस विपत्ति रोक्न इजरायललाई आग्रह गरेका छन्। उनले युद्ध सुरु भएदेखि कुपोषणका कारण कम्तीमा ३७० जनाको मृत्यु भइसकेको बताएका छन्।
त्यसैगरी बेल्जियमका विदेशमन्त्री म्याक्सिम प्रेभोटले गाजामाथि इजरायलको युद्धमा युरोपेली संघले कारबाही गर्न नसक्दा विदेश नीतिमा संघको विश्वसनीयता ध्वस्त हुँदै गएको टिप्पणी गरेका छन्।
दुई देशको युद्धको दौरानमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिका हमाससँग वार्तामा रहेको बताएका छन्। उनले हमासले बाँकी इजरायली बन्दीहरूलाई रिहा नगरे अवस्था नराम्रो हुने चेतावनी पनि दिएका छन्। एजेन्सी
प्रकाशित: २१ भाद्र २०८२ १२:१३ शनिबार





