२२ पुस २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रूसी विदेशमन्त्रीसँग राष्ट्रपति सीको भेटवार्ता

रूसी विदेशमन्त्री सर्गेई लाभरोभले मङ्गलबार बेइजिङमा चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेको मस्कोले जनाएको छ। यो भेटवार्ता साङ्घाई सहयोग सङ्गठनको बैठकमा भाग लिन आएका शीर्ष रूसी कूटनीतिज्ञको भ्रमणका क्रममा भएको हो।  

‘सीले चिनियाँ राजधानीमा लाभरोभलाई साङ्घाई सहयोग सङ्गठन (एससिओ) को विदेशमन्त्रीहरूको परिषद्को बैठकमा उनको सहभागिताको एक भागका रूपमा स्वागत गरे,’ रूसको विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ।  

एससिओ शिखर सम्मेलन र दोस्रो विश्वयुद्धको वार्षिकोत्सव समारोहमा सहभागी हुन रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको चीन भ्रमणको तयारीसहित उच्चतम र उच्च स्तरमा द्विपक्षीय राजनीतिक सम्पर्कका धेरै मुद्दामा छलफल भएको पनि मन्त्रालयले बताएको छ।  

चिनियाँ राष्ट्रपतिले एससिओका विदेशमन्त्रीहरूसँग ‘सामान्य बैठक’ गरेपछि लाभरोभलाई भेट गरेको रूसको तास समाचार एजेन्सीले जनाएको छ।  

लाभरोभले आइतबार आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग युक्रेन र संयुक्त राज्य अमेरिकासँगको सम्बन्धका बारेमा छलफल गरेका थिए।  

रूसी विदेशमन्त्री उत्तर कोरियाको भ्रमणपछि चीन आएका हुन्। उत्तर कोरियामा रहँदा उनले युक्रेनसँगको द्वन्द्वमा समर्थनको आश्वासन प्राप्त गरेका थिए।  

मस्कोको कूटनीतिक र आर्थिक सहयोगी बेइजिङले रूस र युक्रेनबीचको द्वन्द्वमा तटस्थ रहेको दाबी गरेको छ।  

तर चीनले रूसको तीन वर्षभन्दा लामो सैन्य अभियानको कहिल्यै निन्दा गरेको छैन न त आफ्नो सेना फिर्ता लिन आह्वान गरेको छ। युक्रेनका धेरै सहयोगीले बेइजिङमाथि मस्कोलाई समर्थन गरेको विश्वास गर्छन्।  

चीनले नियमित रूपमा लडाइँ अन्त्य गर्न आह्वान गरेको छ भने युक्रेनलाई हतियार प्रदान गरेर पश्चिमी देशहरूले द्वन्द्वलाई लम्ब्याएको आरोप लगाएको छ।  

बेइजिङले लामो समयदेखि १० सदस्यीय साङ्घाई सहयोग सङ्गठनलाई नाटो जस्ता पश्चिमी नेतृत्वका शक्ति समूहहरूको प्रतिकारको रूपमा प्रस्तुत गर्न खोजेको छ भने राजनीति, सुरक्षा, व्यापार र विज्ञानमा यसका सदस्य देशहरूबीच सहयोग बलियो बनाउन जोड दिएको छ। एएफपी

प्रकाशित: ३१ असार २०८२ १३:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App