लेबनान र इजरायलबिच १० दिने युद्धविराम सम्झौता भएपछि इरानले रणनीतिक रूपमा महत्त्वपूर्ण होर्मुज जलमार्ग अस्थायी रूपमा खोलेको छ। शुक्रबारदेखि जलमार्ग खुलेपनि यो कदमले विश्वव्यापी शान्ति वार्ताप्रति केही आशा जगाए पनि तेहरान र वासिङ्टनबिचको तनाव भने कायमै देखिएको छ।
इरानी विदेशमन्त्री अब्बास अराघाचीले सामाजिक सञ्जालमार्फत इजरायल र लेबनानबिच भएको १० दिने युद्धविरामको अवधिसम्मका लागि सबै व्यावसायिक जहाजलाई यो मार्ग खुला गरिएको जानकारी दिए। तर उनले चेतावनी दिँदै भने, ‘यदि अमेरिकाले इरानी बन्दरगाहहरूमा गरेको नाकाबन्दी जारी राख्यो भने यो जलमार्ग फेरि बन्द हुन सक्छ।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौतामा अब कुनै जटिलता बाँकी नरहेको दाबी गरेका छन्। उनले इरान आफ्नो आणविक कार्यक्रम अनिश्चित कालका लागि स्थगित गर्न र समृद्ध युरेनियमको भण्डार अमेरिकालाई बुझाउन सहमत भएको उल्लेख गरे। एरिजोनामा आयोजित एक र्यालीमा ट्रम्पले भने, ‘होर्मुजको जलमार्ग पूर्ण रूपमा खुला छ, तर इरानसँगको हाम्रो लेनदेन १०० प्रतिशत पूरा नभएसम्म नौसेनाको नाकाबन्दी भने जारी रहनेछ।’
यता, इरानका संसदका सभामुख मोहम्मद बाघेर गालिबाफले ट्रम्पका दाबीहरू 'झूटा' भएको बताएका छन्। उनले अमेरिकी नाकाबन्दी कायमै रहे होर्मुज जलमार्ग खुला नरहने चेतावनी दिए। इरानी अधिकारीहरूका अनुसार उनीहरू आफ्नो नागरिक आणविक अधिकार रक्षा गर्ने प्रतिबद्ध गर्दै प्रसोधित युरेनियम कतै स्थानान्तरण नगरिने स्पष्ट पारेका छन्।
इरानले जलमार्ग खोल्ने घोषणा गरेसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा करिब १० प्रतिशतले गिरावट आएको छ। ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ९० डलरभन्दा तल झरेको छ। यसैगरी, अमेरिकी सेयर बजारमा पनि उछाल आएको छ।
होर्मुज जलमार्ग खुलेको घोषणा भए पनि ढुवानी कति चाँडो सामान्य हुन्छ भन्नेमा अझै अन्योल छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले सबै जहाजले आफूसँग समन्वय गर्नुपर्ने र तोकिएको बाटो मात्र प्रयोग गर्नुपर्ने सर्त राखेको छ। जानकारी अनुसार अमेरिका र इजरायलसँग सम्बन्धित सैन्य जहाजलाई भने अझै पनि प्रवेश निषेध गरिएको छ।
यसैबिच, अमेरिकी नौसेनाले जलमार्गमा बारुदी सुरुङ (माइन) को खतरा हुन सक्ने भन्दै जहाजहरूलाई सतर्क रहन चेतावनी दिएको छ। उता, ट्रम्पले इरानले अमेरिकाको सहयोगमा माइन हटाउने काम भइरहेको दाबी समेत गरेका छन्। बेलायतसहितका केही देशले जलमार्गको सुरक्षाका लागि अन्तर्राष्ट्रिय मिसनमा सहभागी हुने इच्छा व्यक्त गरेका छन्।
शान्ति प्रक्रियामा पाकिस्तानले महत्त्वपूर्ण मध्यस्थकर्ताको भूमिका खेलिरहेको छ। पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले ट्रम्पको कूटनीतिक प्रयासको स्वागत गर्दै लेबनानमा भएको युद्धविरामले दिगो शान्तिको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरे। ट्रम्पले पनि पाकिस्तानी प्रधानमन्त्री सरिफ र फिल्ड मार्शल आसिम मुनीरको प्रशंसा गरेका छन्। साथै, साउदी अरेबिया, युएई र कतारलाई पनि इरानविरुद्धको लडाँइमा बहादुरीका साथ सहयोग गरेको भन्दै ट्रम्प धन्यवाद ज्ञापन गरेका छन्।
आगामी आइतबार इस्लामाबादमा पुनः शान्ति वार्ता हुने अपेक्षा गरिएको छ। कूटनीतिज्ञहरूका अनुसार सो बैठकले प्रारम्भिक समझदारीपत्र तयार गर्न सक्छ, जसले ६० दिनभित्र व्यापक शान्ति सम्झौताको रूप लिन सक्नेछ। इरानले यस वार्तामार्फत आफूमाथिको प्रतिबन्ध हटाउने र युद्ध क्षतिको क्षतिपूर्ति पाउनुपर्नेसहितका माग राखेको छ। एजेन्सी
प्रकाशित: ५ वैशाख २०८३ ०८:१० शनिबार





