जापानमा विदेशी जनसंख्या बढ्नुमा नेपालीले पनि ठुलो योगदान पुर्याएको पाइएको छ।
मंगलबार सार्वजनिक गरिएको सन् २०२५ को अन्तिम जनगणना नतिजाअनुसार जापानमा विदेशी बासिन्दाको संख्या ३८ लाख ४० हजार ३९ पुगेको छ। यो सन् २०२० को तुलनामा १० लाख ९३ हजार ५२५ अर्थात् ३९.८ प्रतिशतले बढी हो।
विदेशी जनसंख्या बढ्नुमा भियतनामी र नेपाली बासिन्दाको संख्या बढ्नु पनि योगदानमध्ये रहेको तथ्यांकले देखाएको छ।
यसैबिच, जापानमा ६५ वर्षभन्दा माथिका मानिसको हिस्सा अहिलेसम्मकै उच्च पुगेको छ। कुल जनसंख्याको २९.४ प्रतिशत (तीन करोड ६२ लाखभन्दा धेरै) मानिस ६५ वर्षभन्दा माथिका छन्।
यो सन् २०२० को तुलनामा ०.९ प्रतिशत विन्दुले बढी हो। यसले जापानमा वृद्ध जनसंख्या तीव्र रूपमा बढिरहेको देखाउँछ।
विदेशी बासिन्दासहित जापानको कुल जनसंख्या सन् २०२५ अक्टोबर १ मा १२ करोड २९ लाख ७२ हजार ५२८ थियो। यो सन् २०२० को तुलनामा ३१ लाख ७० हजारले कम हो। कुल जनसंख्या २.५ प्रतिशत घटेको छ। पछिल्लो जनगणनामा जापानको कुल जनसंख्या लगातार तेस्रो पटक घटेको हो।
जापानको कुल जनसंख्याको ३०.१ प्रतिशत टोकियो महानगर क्षेत्रमा बसोबास गर्छन्। पहिलो पटक टोकियो क्षेत्रमा जापानको कुल जनसंख्याको ३० प्रतिशतभन्दा बढी हिस्सा केन्द्रित भएको हो।
६५ वर्षभन्दा माथिका मानिसको हिस्सा भने विभिन्न प्रिफेक्चरमा फरक छ। आकिता प्रिफेक्चरमा कुल जनसंख्याको ४०.० प्रतिशत ६५ वर्षभन्दा माथिका छन्। यो सन् २०२० को तुलनामा २.५ प्रतिशत विन्दुले बढी हो।
आकितामा यस्तो हिस्सा जापानका ४७ प्रिफेक्चरमध्ये सबैभन्दा बढी छ। सन् २०१० यता लगातार चौथो जनगणनामा आकितामा वृद्ध जनसंख्याको हिस्सा सबैभन्दा उच्च देखिएको हो।
आकितापछि कोची प्रिफेक्चरमा ६५ वर्षभन्दा माथिको जनसंख्या ३६.९ प्रतिशत छ। आओमोरीमा यस्तो हिस्सा ३६.३ प्रतिशत रहेको छ। सबैभन्दा कम भने टोकियोमा २२.८ प्रतिशत छ।
जापानमा हरेक पाँच वर्षमा जनगणना हुँदै आएको छ। यसको सुरुवात सन् १९२० मा भएको थियो। जनगणनाको तथ्यांक केन्द्र र स्थानीय सरकारले घट्दो जन्मदरलाई सम्बोधन गर्ने तथा औद्योगिक विकासका उपाय बनाउन प्रयोग गर्छन्। यो तथ्यांक प्रतिनिधिसभाको एकल निर्वाचन क्षेत्रको सीमा निर्धारणमा पनि प्रयोग हुन्छ।
तर सन् २०२५ को जनगणनाको विश्वसनीयतामाथि भने प्रश्न उठेको छ। जापानको आन्तरिक मामिला मन्त्रालयका अनुसार मध्य जापानको टोयामा सहरले जनगणनामा आफ्नो जनसंख्या कम्तीमा दुई हजारले बढी देखाएको आशंका गरिएको छ।
मन्त्रालयका अनुसार जनसंख्या बढी देखाउन सर्वेक्षण फाराम पुनः लेखिएको आशंका छ। यसमा सहरका एकभन्दा बढी अधिकारी संलग्न भएको हुनसक्ने जनाइएको छ।
जनगणना कर्मचारीले कुनै सम्पत्तिमा मानिस बसेको संकेत नदेखिएको रिपोर्ट गरे पनि त्यहाँ परिवार नरहेको मान्न अस्वीकार गरिएको आशंका गरिएको छ। यस्तो निर्णयका लागि कुनै विशेष प्रमाणसमेत नभएको मन्त्रालयले जनाएको छ।
आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले मंगलबार जनसंख्या बढी देखाइएको घटनामा तथ्यांक ऐन उल्लंघन गरेको आरोपमा टोयामा प्रहरीमा एक अज्ञात अधिकारीविरुद्ध उजुरी दिएको छ। जनगणनासँग सम्बन्धित विषयमा मन्त्रालयले यस्तो कदम चालेको यो पहिलो पटक हो।
अन्तिम जनगणना तथ्यांकमा टोयामा सहरको जनसंख्या ३ लाख ९९ हजार १९७ देखिएको छ। यो मेमा सार्वजनिक गरिएको प्रारम्भिक तथ्यांकभन्दा २ हजार ९३६ कम हो।
जनसंख्या तथ्यांकमा शंका उत्पन्न भएपछि आन्तरिक मामिला मन्त्रालयको तथ्यांक विभागका अधिकारीले सेप्टेम्बरमा टोयामा सहरको तीन पटक भ्रमण गरेका थिए। एजेन्सी
प्रकाशित: १३ आश्विन २०८३ २२:३२ मंगलबार





